काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई जिम्मा दिने लक्ष्यअनुसार उक्त अवधारणा अगाडि सारिएको हो ।

हाल ७३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो विमानस्थललाई सरकारी कम्पनी वा संस्थाले नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयालाई सैद्धान्तिक स्वीकृति दिइएको छ । धावनमार्ग कालोपत्रे सम्पन्न भइसकेको सो विमानस्थल आगामी भदौको अन्तिम सातादेखि व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको छ ।
यही जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि उक्त अवधारणा अगाडि सारिएको र प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिए ।






