गणेश पुन
राजनीतिक ‘डबलीको रंगमन्चमा
हाम्रा नेताहरुको प्रहसन निरन्तर जारी छ । यथार्थ हो, ओली सरकारमा प्रतिपक्ष कांग्रेसको भूमिका गौण र शून्य देखियो । भन्नै परेन, प्रधानमन्त्री केपी ओलीलाई हटाउन आफ्नै पार्टीभित्र सरकार परिवर्तनको छक्कापन्जा खेल सुरू भएपछि यो राजनीतिक प्रहसन अझ लम्बिँदो र रंगिलो बन्दै गएको हो ।
सरकारको काम गराईमा स्वेच्छाचारिता र स्वयं प्रम ओलीको प्रवृत्तिमाथि अनेक टिप्पणीहरु बर्सिरहे पनि उनी सहिष्णु हुनुको साटो आफ्ना विरोधी गुटविरुद्ध निरन्तर कटाक्ष र गिल्ला गर्न छाडेका छैनन् । ओलीको यो राजनीतिक चरित्रको भूमिकाले चिढिएका विरोधी पक्ष यतिखेर ओलीविरुद्ध सम्भव भए जति जे हर्कत पनि गर्ने स्थितिमा उभिएका छन् । जसको कारण देशको पूरै राजनीति अहिले पेन्डुलम बनेर झुलिरहेको अवस्था छ । यो अवस्था सिर्जित हुनुमा एक्लो प्रम ओलीमात्र जिम्मेवार छन् भन्न मिल्दैन किनकि उनका कमजोरीलाई छोपेर ओलीको देवत्वकरण गर्न उद्यत उनकै गुट र आन्तरिक कलह सिर्जना गरी सरकार परिवर्तन गर्न उद्यत समूह पनि उत्तिकै ज़िम्मेवार देखिन्छन् ।
यसैबीच राजनीतिक परिघटनाहरुका केही ‘एपिसोड’ हरुलाई नियाल्दा नेपाली राजनीति र यसभित्र खेल्ने पात्रहरुको चारित्रिक मनोदशाको अवस्थालाई चित्रण गर्न त्यति गाह्रो छैन । समग्रमा नेपाली राजनीतिको विशेषता नै प्रतिशोध र ईगोको राजनीति हो त्यो हाम्रा नेताहरुको चरित्र र तिनले स्थापित गर्न खोजिराको संस्कृतिले इंगित गर्दछ, जुन राजनीतिले जनतासँग जोडिनेभन्दा पनि जनतालाई नेताहरुबाट विरक्त बनाउने काम गर्दछ । देशका विद्यमान हरेक राजनीतिक पार्टी नै बेमेल व्यक्तिहरुको क्लबजस्तो प्रतीत हुन्छ जसले व्यक्तिको सुविधा र स्वार्थलाई नै बढी महत्व दिने हो ।
सामान्य एउटा क्लबको सदस्यता प्राप्त गर्न क्लबले व्यक्तिको चारित्रिक पृष्ठभूमिसहित अनेक सूचना र तथ्यहरुको आवश्यकता र अपेक्षा राख्दछ र ठान्दछ भने हाम्रो देशका राजनीतिक पार्टीहरुले यही सामान्य नियमलाई अवलम्बन गरे पनि देशमा व्याप्त बेथिति धेरै कम हुने सम्भावना हुन्थ्यो । हाम्रा नेताहरुका जीवनशैली फेरिएको छ तर सोंच र चिन्तन उही र उस्तै रह्यो । उनीहरुका हावभावबाट लाग्छ-नेताहरु कुनै राजनीतिक पार्टीका सदस्य होइनन् बरु कुनै सम्पन्न क्लबका सदस्यहरु हुन् । झनै जनयुद्धका नायक र योद्धा भनिनेहरुको हावभावहरुमा यो परिवर्तितशैली बढ़ी देखिनु अनौठो दृश्य लाग्दछ । जस्तोकी वर्षमान पुनको टाईधारी शैलीले उनलाई फरक उचाई प्रदान गरेको आभास हुन्छ, त्यस्तै प्रचण्डको हावभावबाट लाग्छ के उनी साँच्चिकै जनयुद्धका नायक थिए या मात्र कुनै मिथक पात्र ? यस्ता धेरै पात्रहरुका दृष्टान्त र तिनका चरित्रहरुले नेपाली राजनीतिको समूल चित्रलाई पुनरावोलकन र पुनर्मूल्यांकन गर्नुपर्ने प्रशस्त आग्रह राख्दछ ।
नेपाली राजनीतिका चरित्र पात्रहरु आखिर यिनै हुन् जसलाई हाम्रो निन्दा र उपेक्षाले परिवर्तन भइहाल्ने होइनन् । यद्यपि चरित्र पात्रहरुको सोंच चिन्तन र भूमिकामा सकारात्मक परिवर्तन आवश्यक छ । आफ्नो राजनीतिक पहिचान वा लेगसि बनाउन राजनीति गरिन्छ र यस्तो राजनीति आफैमा सृजनशील आयमिक र गतिशील हुन्छ नत्र भने राजनीति दिक्दारी र प्रतिशोधी नै बन्ने हो पूर्णकालीन राजनीतिमा लागेर राष्ट्र र जनताको सेवा गर्छु भन्नेहरुमा निष्ठा र समर्पण-भाव हुन पर्यो र यो स्वयं आफैभित्र वोधन वा इनलाइट्नमन्टन आइकन सम्भव छैन । नेपाली राजनीतिक इतिहासमा कमसेकम बीपी कोइरला उनको जीवनकालसम्म यिनै कुराका लागि साधनारत बने र आफ्नो पलिटिकल लेगसि बनाएर भन्न सकिन्छ ।
त्यस्तैगरी सन्त नेता कृष्णप्रसाद भट्टराईका आध्यात्मिक चेत र राजनीतिक ज्ञान/अनुभवको नेपाली राजनीतिमा गज्जबको संयोजन र सृजनात्मक प्रयोग भएको मान्दा उनको राजनीतिक पहिचान झल्किन्छ । यति भन्दैमा यी दुई राजनेताहरुलाई यहाँनेर ग्लोरिफाई गर्न खोजिएको होइन तथापि आजका हाम्रा आत्मरतिक नेताहरुका लागि यो मनन योग्य कुरो हुनसक्छ ।
वर्तमान प्रधानमन्त्री केपी ओलीले कस्तो पलिटिकल लेगसी बनाई छोड्लान त्यो भोलिका दिनमा हेर्न/पढ़न पाइएला, यद्यपि प्रम ओलीका केही राजनीतिक क्रियाकलापहरु नि:सन्देह आलोच्य छन् । त्यत्ति हुँदाहुँदै पनि नेपाली राजनीतिबाट निरस र उदासीन बन्दै गएको पुस्ता र समूहका लागि यो आकर्षक र रोचक बन्नसक्छ यदि यसलाई सकारात्मक रूपबाट हेर्ने हो भने । प्रम ओलीको असंवैधानिक भनिएको राजनीतिक कदमका कारण नेपाली राजनीतिक वृत्तमा अनेक बहस र तर्क निरन्तर जारी छ मात्र होइन नेताहरु कति पानीमा छन् ? कुन धान कुन भूस जनताले थाह पाउने अवसर पनि भयो यसलाई पनि सकारात्मक मानौं ।
यसको अर्थ ओलीका राजनीतिक जवाफदेहीतालाई बेवस्ता गरे हुन्छ भन्ने नलागोस् । उनको काम र आचरणलाई हरेक कोणबाट निगरानी हुन र मूल्यांकन हुन आवश्यक छ परन्तु उनका किस्सा उखानटुक्का र कटाक्षरूपी सम्प्रेषण शैलीको उपेक्षा गर्नु त्यत्ति आवश्यक देखिन्न किनकि उनको यिनै लत, शैली र विचार नै भोलि राजनीतिक पहिचान बन्ने भए । बरु हाम्रा अरु नेताले पनि आफ्नो फरक राजनीतिक पहिचानको आजैबाट खोजी गरेको राम्रो होला । अचेल सडक, सदन, संजालमा र नेता जनता सबैका सबै कसले बढी उपेक्षित भाषा बोलेर चिच्याउन सक्ने होडबाजीको लहर चलेको देखिन्छ । त्यसैले हाम्रो देशका प्रधानमन्त्रीलाई कसैले जित्छु नभनेको राम्रो ।
देशको प्रमुख नेतालाई नकारात्मक रुपबाट दुत्कार्ने संस्कारलाई टेवा दिनुभन्दा पनि नेताका राम्रा पक्षलाई अभिलेखिकरण गर्ने र दुर्बल पक्षलाई सिर्जनात्मक आलोचना गर्ने संस्कारको विकास भएको मुलुकहरु नै आज विकसित राष्ट्रका रुपमा दर्ज छन् । हामीमा पनि यो संस्कारको सुरूवात हुनसके कति फलदायी हुने थियो ।
अन्त्यमा राजनीतिक डबलीको प्रहसनमा केपी ओलीलाई दर्शकहरुको अभाव अझै खटकेको देखिन्न यद्यपि उनले आफ्नो प्रहसनको विषयवस्तु र प्रस्तुतिलाई अब नवीकरण नगर्ने हो भने चैं यो अवस्था धेरैबेर नरहन सक्छ किनकि उनका लागि ताली कम बज्र सुरू भएको संकेत देखिन्छ । यसर्थ प्रधानमन्त्री केपी ओलीले आफ्नो राजनीतिक पहिचान जोगाउन र बनाउन पनि आफ्ना कमजोरीलाई स्वीकारेको राम्रो । आफ्ना कमजोरी स्वीकार्नु पनि बडो सिर्जनात्मक काम हो ।






