संस्मरण : खाडी युद्ध जानु अघिल्लो रात !

SHARE:

गतांकबाट क्रमश…
बोर्नियो लाइन्स, सेकङमा एउटा अर्को एकदिन सुनौला दिन भएर उदाएको थियो । समयले त्यस्तै मध्याह्न पार गरिसकेको थियो । हामी त्यसबेला बेलायततिर बरालिनको लागि ब्लक नम्बर तीनलाई बिदाई गर्नै लागेको थियौं । सरकारी सन्दुक, किटब्याग र गोर्खा ह्याट साथमा लिएर हामी मुनि जमिनमा झर्दा हामीलाई बिदाई गर्ने एकजना मानिस पनि देखापरेका थिएनन् । तैपनि एसक्युएमएसकोमा थोत्रो म्याट्रेस बुझाउँदा र तीन नम्बर ब्लकको कोठालाई सधैको लागि छाड्नु पर्दा रोहितले हल्का सानो मन गरिरहनुभएको थियो । तर मलाई भने खासै केही फरक परिरहेको थिएन । त्यसको बाबजुत कहिले यूके पुगेर महिनावारी तलब थापेर नयाँ नयाँ स्टर्लिङ पाउन्ड क्याटक्याट गन्न पाइएला नि भन्ने पो सोचिरहेको थिएँ ।

तिनै पाउन्ड कमाएर काठमाडौंमा घडेरी किन्नको लागि हुण्डी गर्ने सोच बनाइरहेको बेला चालक राजकुमार तामाङ (हाल गल्लावाल)ले ३७ सिटे सेतो कोच हामीतर्फ ल्याउँदै गरेको झल्यास्स देखापर्‍यो । त्यसपछि मोरोले घन्द्रङ्गै आवाज आउने गरी रिभर्स गियर लगाएर हाम्रो नजिकसम्म रिभर्स गरे । चालक कोच रोकिने बित्तिकै, ‘यूके टोली,’ भन्दै सिटबाट कस्सेर कराउँदै कोचबाट मुनि झरेका थिए । उनी झर्नेबित्तिकै हामीले समानहरु कोचको मुनिको भागमा थन्क्यायौं । र, हतारहतार कोचभित्र पसिहाल्यौं । एकछिनपछि चिनियाँहरुले पहरादिने बोर्नियोलाइन्स चौकी काटेर चट्टै क्याम्पलाई छाड्दा कताकता दिल रोइरहेको थियो । आँखाको झिमिक्कमा रोएको दिललाई काबुमा राख्ने प्रयत्न गरें । र, पातहाङ्ग प्रहरी अड्डालाई दायाँ छाडि राखेपछि कोच सर्लक्कै फानकाम रोडतर्फ मोडिहालियो ।

त्यो सडक कोच हाक्नको लागि त्यति ठूलो र आरामदायि सडकचाहिँ निश्चय पनि छँदै थिएनन् । तिनै सडकमा मेरो कोच परीक्षा लिने क्युटिओ तत्कालीन स्टाफ सार्जन्ट आसमान राईले, “बिस्तारै चलाउँ, बिस्तारै चलाउँ । धेरै स्पिड गरेर के फाइदा हुन्छ र ? पक्राउ पर्‍यो भने २ नम्बर ड्रेस लगाएरमात्र होइन । टोपी र पेटी खोलेर ओसी साहेबकोमा चार्ज हुनुपर्छ । तिमीजस्तो कलिलोलाई कसरी २५२ फाराम भर्नु हात मान्छ र ? अझै हप्ता दश दिनको पैसा पनि झरप्पै काटिन्छ । त्यसपछि पदोन्नति हुनु बेस्सरी मुस्किल पर्छ । उता नेपालमा आमा, बाबा, स्वास्नी र छोराछोरीहरु भोकै हुन्छ ।” भनेर सम्झाई बुझाई खाको झलझली स्मरण गरिरहें । उहाँको त्यस्तो अभिव्यक्तिले वास्तवमा म एकदम धमासे मान्छे रहेछु भन्ने साबित भएको थियो । त्यसबेला दिनु भएका उहाँका तिनै बाणीहरु अहिलेसम्म मेरो मष्तिस्कदेखि तिरष्कृत भएका छैनन् र हुँदैनन् पनि ।

फानकाम रोड सानो भए तापनि त्यसबेला कोचको अगाडि सिटमा म बाहुनी बुढोझैँ खन्तरिदै बसिरहेको थिएँ । त्यसैत राईको चिम्से आँखा । सिधै अगाडिबाट भिमकाया ट्रकहरु आउँदा मेरो आँखा चिम्मचिम्म भइरहेको थियो । आ जेसुकै मरोस है भनेर ढुक्कै मन भएका रोहितले कोचभित्र पस्नेबित्तिकै फाङ्स दिन थालेका थिए । उनले त्यसरी मज्जाले जिपिएस दिइरहँदा मलाई भने अब सार्जन्ट र कर्पोरल गरुजीहरुले एक वर्षमा कतिको शेष बनाउने होला भनेर खन्तर पैदा हुन थालिसकेको थियो । किनभने पल्टन घरमा काम गर्दा ग्रह र नक्षत्र मिलेन भने चाँदे मात्रै भेटिने होइन । आरटियुसम्म भएका उदाहरणहरु प्रशस्त देखिएकै थिए । त्यसैले तिनै विविध कुरोहरु सम्झँदै बिर्सदै गर्दा थोरै ब्याकुल बनिरहेका थिएँ ।

कोचले बिस्तारै फ्यानलिङ गल्फ कोर्सलाई बिदा गर्‍यो । त्यसपछि न्यू टेरिटोरिजका रमणीय स्थानहरु सेङ्गसुई, फ्यानलिङ, टाइपो, सातिनलाई छिचोलेर लाइनरक टनल भित्र सर्लक्कै छिर्‍यो । टनलभित्र छिर्नेबित्तिकै अचानक चालक राजकुमारले मलाई एक झलक हेर्‍यो अनि, ‘गुरुजीलाई दुई-दुई चोटी यूके, हगि ?’ भन्दै उनले च्व च्व गर्‍यो । उनको कुरो सुनेर म केहीबेर नाजवाफ बनें । उनी मभन्दा एक वर्ष पछि भर्ती भएका हुन् । र, काकताली के परेको थियो भने उनको घर पनि रोहितको झैं भोजपुर नै थियो ।

चालकको कुरो सुनेर म केही बोल्दै नबोलेपछि फेरि उनैले मलाई जिस्क्याउँदै बोल्न थाल्यो । “धातु त तपाईं पनि एक नम्बर धातु नै हो । तर मोलमाल चाहिँ निक्कै कडा छ कि के हो ? त्यसैले तपाईंकै लम्पट छ त ? अब बेलायत पुगेर जुली र म्याण्डीहरुको सेतो फिला हेरेर मोजमस्ती गर्नुहोला ? तर फर्केर आएपछि सिएफसीमा एक डालो चिप्ससँग एक जग बियरचाहिँ किन्न नभुल्नोस् नि फेरि । हुन त मान्छे पनि तपाईं मेरो नम्बरी रवीन्द्रजस्तै अलिक लोभी हुनुहुन्छ ?” उनले त्यति भनेर एकसुरमा कोच हाँकिरह्यो । उनको कुरो सुनेर मलाई थोरै हाँसो उठ्यो । त्यसैले फिसिक्कै मुस्कानसहित प्रतिउत्तरमा, –

“बियरको मात्र के कुरा गर्छौं । निख्खुर काँचो राईको छोरा हुँ । तिमीलाई सेकङ भिलेजमा बङ्गुर काटेर मेसिङ नै खुलाउँला नि ! आकाशजस्तो छाति छ के ? भाइ ! के फिकर गर्छौं ? बरु एउटा कुराचाहिँ याद राख्नु । म जतिसुकै धातु भए पनि अब तिमीचाहिँ धातु हुने कोशिस नगर्नु नि ! तर अरुले कुक हाउसमा गएर मासु र भात हसुर्दा तिमी जुली क्लबमा गएर टनेला र अल्टर खाने । रातको समयमा अरु बिस्तारामा मज्जाले फाङ्स दिँदा तिमी पासा थापेर झरल झरल भन्ने । त्यतिले मात्र नपुगेर आरएमपीसँग पैठेजोरी खेल्न खोज्ने गरौ भनेत फेरि जाने बाटो त उही बिएससम्म मात्र हो,” सम्म भने ।

मेरो त्यस्तो कुरो सुनेर उनले मुन्टो निघुँर मुन्टे न पार्‍यो । सिंहको मुखजस्तो आकृति भएको लाइन रक टनलबाट सुस्तरी निस्केर कोच एकाध ओराली झरिरह्यो । तिनै टनल पार गरेर काउलुन सहर छिरेपछि चालकसँग मेरो विचार साँगुरिएका भए तापनि सडक बिल्कुल चौंडा र फराकिला थिएँ । त्यसैले त्यति फराकिला सडकमा गुडेको कोचले हामीलाई एक्कैछिनमा काइटक विमानस्थलको मुखमा पुर्‍याइदियो । कोच रोकिन पाएकै थिएन, सार्जन्ट गुरुजीहरुलाई बायाँ सडकको पेटिमा उभिरहनुभएको देख्न सक्यौं । राजकुमारले, ‘यहीं रोकिदिउँ कि कसो ?’ भन्दैगर्दा मैले टाउको हल्लाएर स्वीकारोक्त्ति दिएको थिएँ । कोच रोकिनेबित्तिकै रोहितसँग कोचदेखि झरिहाल्यौं । र, गुरुजीहरुलाई बेलुकीको सादर अभिवादन टक्र्यायौं ।

‘आइ पुग्यौ ?’ सार्जन्ट गुरुजीले सानो सवाल गर्नुभयो । जवाफमा, ‘हजुर,’सम्म भने । राम्ररी भेट हुनै पाएको छैन । कतिबेला आएर टोकाई दिउँ भइरहेको जतिक्कै, ‘ल समान निकालेर तयार भइहाल,’ फेरि हुकुम बर्ज्यो । गुरुजीहरुसँगको भेटमा, ‘कुकुर भेट खाइ भेट’जस्तै भयो । मनमनै के लाग्यो भने जिन्दगीले कम्फर्ट जोनलाई भित्रभित्र बिदाई गरिसकेको रहेछ । त्यसपछि कता जाने वा के गर्ने भन्ने नियम सुरु हुन थालिसकेको थियो । अब कहिलै सँगसँगै काम नगरेको गुरुजीहरुको साथमा हिँडेपछि लाटो हिरो (एलएच) भएर मुख टल्काउन के पाइन्थ्यो होला र ? उहाँहरु हाम्रो अगाडि अगाडि रोहित र म पछिपछि विमानस्थलभित्र छिरेर अध्यागमनलाई बिस्तारै पार गर्‍यो । लगातार हिँडदै गएको केहीबेरमा ब्रिटिस क्यालेडोनियन विमानको पुच्छरमा रहेको आ-आफ्नो सिटमा गएर थपक्कै बस्यौं ।

पहिलोचोटी बेलायत जाँदा सोही विमानमा एक्लै यात्रा गरेको झल्याँस्स सम्झँदा एकछिन भए पनि मेरा मन फुरुङ्गै भएर आएँ । त्यतिबेला त्यो यात्रा कति आनन्ददायी थियो भनेर हल्का स्मृति पनि भइरहेको थियो । यसपटक भने गुरुजीहरुको चेपुवामा परेर पिना भएको छु । तैपनि मानिस भएकोले तेलचाहिँ निस्कँदैन होला भन्ने लागिराछ । अनि खै त्यति लामो यात्रामा के मज्जा आउला र ? भन्ने सोचिरहेको थिएँ । नभन्दै विमानको पुच्छारको सिटमा बसेको केहीबेरपछि बेलायती खानपिन भइहाल्यो । त्यसपछि कम्बलले मुख छोपेर एकचोटी सुत्दा दुबाई र अर्कोचोटी उठ्ता बेलायती भूमि ग्याटविक टेकिसकेको थिएँ ।

त्यसबेला बेलायतको स्थानीय समय बिहानीको साँढे पाँच बजेको थियो । बिना आवाज विमानले ग्याटविक विमानस्थलमा अवतरण गर्दैगर्दा मेरो मन विमान सँगसँगै गुडिरहेको थियो । विमान पूर्णरुपमा रोकिएपछि कतै यताउता ठोकिएर बिग्रिहाल्छ कि भनेर एउटा हातले गोर्खा ह्याट दर्हो समातिरहेको थिएँ । भनौं, मलाया कन्फ्रोन्टेसनदेखि फकल्याण्डसम्म थर्काएको तिनै गोर्खा ह्याटलाई पल्टनघरमा आफ्नी श्रीमतीभन्दा प्यारो गरिरहेको थिएँ । खालि रहेको अर्को हातले सन्दुक तान्दै तान्दै बेलायती ठन्डी महिनामा विमानस्थलदेखि बाहिर निस्कँदा जाडोले लगलगी कामिरहेको थिएँ ।

त्यहाँदेखि अगाडि बढ्ने क्रममा सार्जन्ट गुरुजी सबैभन्दा अगाडि हुनुहुन्थ्यो । र, हामी आफ्नो मर्यादा क्रमानुसार सिङ्गल फाएलमा हिँडिरहेको थियौं । त्यसरी हिँडेर कमिलाको जन्तीलाई चुनौती दिनेक्रममा म सबैभन्दा काने थिएँ र त्यसैले फाएलको अन्तिममा हिँडिरहेको थिएँ । हुन त मानवमात्र नभएर हरेक प्राणीको जीवनमा शक्तिशालीहरु सबैभन्दा अगाडि हिँडछन् । र, कमजोरी सबैभन्दा पछि हिँडछ भन्ने त्यहाँ मज्जाले प्रमाणित भइरहेको थियो ।

केहीबेर हिँडेपछि विमानस्थलमा फेला परेको सटल सर्भिसदेखि ग्याटविकको दक्षिणी टर्मिनलमा पुगेका थियौ । बिहानी पखको जाडोले रेल स्टेसनसम्म पुग्दा मेरो नाकदेखि तुरुरु सिङ्गान चुहिरहेको महसुस भइरहेका थिएँ । त्यहाँदेखि रेल चढेर पटक पटक चढ्दै झर्दै गरेर अन्तमा वारमिनिष्टर पुगेका थियौं । हामी त्यहाँ पुग्दा एउटा सैनिक ट्रकले हाम्रो प्रतिक्षा गरेर बसिरहेका थिए । अब तिनै ट्रकको अगाडि सिटमा सार्जन्ट गुरुजी र बाँकी सबैजना पछाडि बसेर एक्कैछिनमा ब्याटलस्बरी ब्यारेक्सको प्राङ्गनमा पुग्यौं ।

ब्याटलस्बरी ब्यारेक्स, सल्सबरीमा पुगेपछि हामी रोयल आइरिस रेजिमेन्टसँग जोडिएका थियौं । पहिले इङल्यान्डमा छँदा इङलिसहरुको इङलिस बुझ्न मलाई कति गाह्रो भएको थियो । अब आइरिसहरुको इङलिस सुन्दा एलियनहरुको पनि आफ्नै भाषा हुन्छ भन्ने सुनेको थिएँ । सायद उनीहरुको भाषा पनि यतिक्कै कठिन हुन्छ होला भन्ने लाग्यो । त्यहाँ पुगेर त्यो भन्दा अझै खेदको कुरो त के सुनियो भने सबै वारियार टैंकहरु धमाधम खाडीमा लगिँदैछ । त्यसैले टैंक चलाउन सिक्न पाइँदैन भन्ने दुःखद् समाचार सुनियो । हुन त हामी सल्सबरीमा पुग्दा सबै टैंकहरु खाडीमा जानका लागि मरुभूमि रङ्गमा परिवर्तन हुँदै गरेका आफ्नै आँखाले देखेका थियौं । जस्तो सोचेर हामी त्यहाँ पुगेका थियौं । परिस्थिति त्यसको ठीकविपरीत दिशामा गइरहेको थियो । त्यसपछि हामी आइरिसहरुको एमटी प्लाटुनमा जोडिएर सैन्य अभ्यासका लागि पहिले नेपाल लाइन्स सान्डर्हष्ट, क्याम्बर्लीमा जस्तै फोरटनर ट्रक चालक भएर कहिले सेन्नी ब्रिज, वेल्स र कहिले अटरबर्न, स्कटल्यान्डसम्म पुग्न थाल्यौं ।

दिनपछि रात र रातपछि दिन गर्दै महिनौं बितिरहेको थियो । एक सप्ताहन्तको समय बेलुकी ६ बजेको थियो । रोहितसँग खाना खानको लागि न्यानो न्यानो पतलुङ र ज्याकेट सिउरेर कुक हाउसमा पुगेका थियौं । हरेक बेलुकी त्यहाँ उपलब्ध हुने गोराको खान्किले जिन्दगी दुःखको साथ चलिरहेको थियो । त्यस बेलुकी पनि मैले एकचोक्टो बङ्गुरको मासुसँग आलुको ढिडो (मास पोटाटो), तेलमा तारेको आलुका चोइटाहरु, गुच्छाभन्दा सेक ठूल्ठूला आकारमा ब्रसलस्प्राउँट, भुलभुल तातो पानीमा छोल्क्याएर राखिएका गाँजरका केही टुक्राहरु जम्मा पारेर एक थाल बनाएको थिएँ । हुन त खानाको प्रकारहरु सुन्दा जति धेरै लागे पनि खाँदा भने कति पनि हुँदैनथ्यो । तीनै खाना खाइसकेपछि गोजीमा हात हालेर रोहितसँग नाफिमा पुग्यौं । र, गोजीबाट हात निकालेर एक-एक क्यान फोस्टर लिएर कोठामा फर्क्यौं ।

कोठामा पुगेपछि बियरको क्यान खोलेर पहिलो घुटकी घाँटीदेखि ओरालो झर्न पाएकै थिएन । अचानक सार्जन्ट गुरुजी हाम्रो कोठामा झुल्किनु भयो । बेलुकिको मौसम रिमरिम अँध्यारो थियो । तिनै मौसमसँग मिल्दोजुल्दो मधुरो अनुहार लिएर उहाँ कोठामा आउनु भएको थियो । उहाँ कोठामा आउनेबित्तिकै, “मेरो लेक्चर छ । सबैजना भेला हुनु,” भन्ने आदेश दिइहाल्नुभयो । अब उहाँको आदेश सँगसँगै रोहित गुरुजीले पनि मौकाको फाइदा उठाउँदै, – ‘लु भाइ ! तिम्रो मारुनी जस्तै कलिलो हात छ । तिनै हातले सार्जन्ट गुरुजीलाई जतिसक्दो छिटो एक कप मिठो कफि बनाइ हाल त,” सार्जन्ट गुरुजीको अगाडी उनको मुख खोलियो ।

भन्न त रोहित गुरुजीलाई, ‘के मारुनी भन्नु हुन्छ हौं ?’ टिडीबिजीमा छाती फुलाउँदै फुर्सुङ्गे भएर साकेला नाँचेको प्रमाण तस्बिरमा देखाइदिउँ भन्न मन लागेको थियो । तर पल्टनघरमा जागिर जोगाउनका लागि पोइन्टको एकदम सवाल हुन्थ्यो । त्यसैले यदाकदा रुच्दै नरुचेको गाँस पनि खानु पर्थ्यो । त्यसबेला अरु त के नै खानु र ? बरु घुटुक्कै एकचोटी थुक निलेर मुखमा ताल्चा लगाउनेसम्म काम गरें । तर कताकता उनको त्यो भनाइले मेरो दिल भने चयनमा छँदै थिएन ।

अझै त्यसबेला पल्टन घर मात्र त्यस्तो एउटा घर हो । जहाँ सबैभन्दा सानो मानिसले बढी काम गर्नुपर्छ र सबैभन्दा थोरै तलब पाउँछ भन्ने लागिरह्यो । तर मैले के कुरामा हेक्का राख्नु पर्थ्यो भने सार्जन्टको अगाडि रोहितसँग मुख लाग्न पनि निःसन्देह हुँदैनथ्यो । मौका पर्‍यो भने वारमिनिस्टरदेखि नै फटेङ्ग्राको सिङ जत्रो बिल्ला लान्स कर्पोरल भिरौंला भन्ने उनको ठूलो रहर थियो । अब त्यसो भएकोले बेलाबेलामा उनले झुटो हर्कत र सुख्खा डटफट गर्न अभ्यास गरिरहनुभएको थियो । आखिर म जतिसुकै चेपुवामा परे पनि पल्टन घरमा म कुटे जस्तो र तिमी रोएजस्तो गर्नु है भन्ने नै हर्कत हुन्थ्यो ।

रोहित गुरुजीको कुरो सुनेर सिरानी नजिकै रहेको क्याटललाई टक्क गर्दै स्वीच अन गरें । त्यसपछि रानी भिक्टोरियाको पालामा बनेको आलमारीलाई ठूलो आवाजसहित घन्द्रङ्गै खोले । र, आलमारीभित्र गुफा बसेको कफिको समानहरु निकाल्न सुरु गरें । तर आलमारी खोल्ने बित्तिकै, “गुरुजी, ला ! चिनी त सकिएछ ?” भन्ने बित्तिकै, “भो भो पर्दैन । मैले एक बोतल व्हिस्की पनि मेरै साथमा लिएर आएको छु । बरु अरु दुईजना गुरुजीहरुलाई पनि झट्ट खबर गर,” सार्जन्ट गुरुजीले भन्नुभयो ।

सार्जन्ट गुरुजीले साथैमा व्हिस्की लिएर आउनु भएको कुरो सुनेर म केहिबेर अन्योलमा परिरहें । यो जाबो स्कटिस पानीको ताकत पनि पल्टनघरमा कम्तिको छैन । मलाई त्यसबेला झल्यास एउटा पुरानो कुराको स्मरण आयो । म पहिलोचोटी बेलायत आउँदा रित्तै हात सान्डर्हष्टमा पुगेको थिएँ । त्यहाँ पुगेको बेलुकीपख सोही ठाउँमा कार्यरत मेरै पल्टनको बाबुजी तत्कालीन चिफ कलर्क सार्जन्ट चन्द्र मनी क्षेत्रीले, “तिमीले दुबाईदेखि आउँदा जाबो एक बोतल ह्विस्की पनि नलिइ आको हो ? भाइ ! तिम्रो पोइन्ट पटक्कै छैन है,” भनेको सुन्दा मेरो अनुहार डढेर खरानीमा परिणत भएको थियो ।

तिनताकादेखि पोइन्ट जोगाउँन म एकदम कोशिस गर्दै थिएँ । त्यसैले पोइन्ट गइहाल्ने हो कि भनेर आगोले पोले झैं गरेर अरु गुरुजीहरुलाई बोलाउँन लागिहालें । सार्जन्ट गुरुजी हामीभन्दा केही टाढा तर अति आनन्ददायक सार्जन्ट मेसमा बस्नुहुन्थ्यो । दिउँसो कामको बेला आक्कल झुक्कल देखा परे तापनि त्यसबेलासम्म हाम्रो कोठामा उहाँ आउँनु भएको थिएन । अब कहिले नआउने भएपछि त्यस्तो के काम परेछ र यहाँ आउनुभएको होला भनेर म एकछिन त्रसित बनिरहें । तर उहाँको कुरो सुन्ने बित्तिकै म गएर कर्पोरल गुरुजी र रिन्जी गुरुजीलाई बोलाएर ल्याइहालें । उहाँहरु आएर नजिकै रहेको कुर्सीमा थपकथपक बस्नु भयो । रोहित र म चाहिँ सबैभन्दा कान्छो मान्छे । त्यसैले बिस्ताराको नजिकै भुइँमा एउटा चारपाटे म्याट बिछ्याइएको थियो । तिनै म्याटमा थपक्कै पलेटी कसेर बस्यौं ।

हामी भुइँमा बसिसकेपछि सार्जन्ट गुरुजीको मुख खोलि हालियो, –
“२ अगष्ट १९९० मा सद्दाम हुसेनले कुवेतलाई कब्जा गरेको कुरो तिमी हामी सबैलाई सर्वबिदितै भएको छ । तिनै लडाईको सिलसिलामा अर्को हप्ता हाम्रो एउटा स्क्वाड्रन हङकङदेखि बेलायत आउँदै छ । तिनै लडाईमा जानुभन्दा अगाडी गरिने एकहप्ते सैनिक अभ्यासको लागि हामी भोली बिहानको १० बजे चर्च कुरखाम, गोर्खा सैनिक क्याम्पमा जादैछौं । आज बेलुकीभरिमा तिमीहरु सबैको व्यग्त्तिगत सरसामानहरु तयार गर्नु । त्यसपछि भोली बिहान हामी त्यता लाग्नेछौं । अनि राम्ररी सुन्नु । यो लडाईमा न्युक्लियर, बायोलोजिकल र केमीकल (एनबिसी वारफेर) हुन्छ होला । त्यसैले हामीले राम्रोसँग तलिम गर्न आवश्यक छ ।”

त्यसपछि उहाँ एकछिन बोल्नु भएन, रोकिनु भयो । उहाँको त्यस्तो कुरोले हाम्रो अनुहारमा सुस्तरि कालो बादल मडारिन थालिसकेको थियो । रिन्जी गुरुजीले सानो स्वरमा, ‘म त मेडिकल ग्रेड डाउन सिपाही हो । लडाईमा के जान्थे र ?’ भनेको मैले छ्वास्सै सुनें । त्यो भन्दा अगाडी कहिलै सुनेको थिइनँ । तैपनि सार्जन्ट गुरुजीले त सुन्नु भयो कि भएन मलाई थाहा भएन । तर लडाईमा भाग लिन जाने कुरोले हामी सबैको अनुहार कालो र निलो भएतापनि उहाँको कुरोको अझै बिट मरेको थिएन । सार्जन्ट गुरुजीले एकचोटी लामो सास तान्नु भयो र फेरि बोल्न थाल्नु भयो, –

“यो लडाई पक्कापक्किको लडाई हो । सैनिक अभ्यास जस्तो खेलाँची हुँदै होइन । तिमीहरु सबैलाई याद रहोस । लडाईमा जे पनि हुनसक्छ । हामी अहिले समुहमा छौं र सँगसँगै लडाईमा जादैछौं । तर यो लडाईमा लगभग के निश्चित छ भने हामी मध्ये कोही नफर्किन पनि सक्छौं । यदि फर्कि हाल्यौं भनेपनि कतिजना आजिवन घायल भएर पनि फर्किन्छौं होला । यदि हामी शारिरिक रुपमा घायल नै नभए पनि मस्तिष्कमा चाहिँ नराम्रो असर परेको नै हुन्छ । तर सत्य के पनि हो भने हामी जे कामको लागि भर्ती भएका छौं । त्यो देखाउँने अवसर चाहिँ पाएका छौं ।”

त्यसो भनिसकेपछि उहाँले कोठाको झ्यालदेखि एकझलक बाहिर हेर्नु भयो । कोठा बाहिर मुसलधारे पानी बर्सिरहेको थियो । उहाँको कुरो सुनेर हामी सबैजना अबाक भयौं । आ…संसारमा भएका हरेक मानिसहरु भाग्यमानी कहाँ हुन्छन र ? आखिर एकदिन सबै मर्नै पर्छ । लगभग एक कोरी बाँचिहालियो, त्यसैले म त मरेपनि केही छैन । चार महिना अगाडीमात्र बुईपा, खोटाङ्मा एकजना घोर्ले छोरो जन्मेको चिट्ठी प्राप्त गरेको थिएँ । यदि मरि हालियो भने छोरोसँग भेटने रहर चाहिँ पुरा नहुने रहेछ भनेर एकमन प्रसिध्द गरें ।

तर, कसोकसो शून्य कोठाभित्र सबै गुरुजीहरुको मलिन अनुहार देखेपछि मलाई ७ फेब्रुअरी १९८४ मा धरान घोपा क्याम्पमा भर्ती भएर हजुर महारानीको तस्विर अगाडि युनियन ज्याक छोएर कसम खाँदै गर्दा खेलाँची जस्तै लाग्ने उक्त्त बाक्यांसलाई ‘खाडीयुद्ध जानु अगाडीको रात’ बिरक्त्ति भाषामा सम्झिरहेको थिएँ ।

“बायुमार्ग, स्थलमार्ग र जलमार्ग जहाँ भेटेपनि दुश्मनको घाँटी छप्लक्कै बनाउँछु ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!