काइँलाहरूको कथा नेपालको व्यथा: डा लाल-श्याँकारेलु रापचा

SHARE:

  
डा. लाल-श्याँकारेलु रापचा, पोष्ट-पीएचडी
प्रिन्सिपल, युनाइटेड कलेज, त्रिभुवन विश्वविद्यालय

दशमी, बुधवार, १९ असोज २०७९ – नेपाल

संयोगवश चिमखले काइँला र बैरागी काइँला । समानता साहित्यिक नाममा दुवै काइँला र साहित्यकार । भिन्नता चिमखोले काइँला मूलघर चिमखोला, म्याग्दी, मगरात हुँदै न्युबरी, बेलायतवासी हुन् भने वैरागी काइँला मूलघर याक्थुङ लाजे अर्थात् लिम्बूवान हुँदै यलाखोम, नेपालवासी । पहिलो साहित्यकर्मी काइँला पश्चिमेली दोस्रो साहित्य तथा मुन्धुमकर्मी पूर्वेली ।
काइँलाहरूको प्रसङ्ग शुरूवात साहित्यकार चिमखोले काइँलाको एघारौं कृति ‘लोसोगोठदेखि बकिङघम प्यालेससम्म’ (सं. २०७८) को संक्षिप्त समीक्षा नै हो । मूलतः यो सृजना आत्मवृतान्त र व्यक्तित्वसँग सम्वन्धित छ । काइँलाको आत्मकथाले त्यसबखतको नेपाल प्रशासनको अविवेकी तथा विभेदी इतिहासलाई इमान्दारीपूर्वक श्याम-स्वेतमा अभिलेख गरेको छ । त्यस विभेदको भुक्तभोगी पात्र लेखक आफैं हुन् । लेखकको एघारौं कृतिले त्यसैको पुष्टि गर्दछ । प्रमाण स्वरूप लेखक स्वयम् लोसोगोठबाट बकिङघम, बेलायततिर ऐतिहासिकरूपमा प्रवासी हुन वाध्य पारिएका हुन् । त्यही वाध्यतामय इतिहासको मूल सेरोफेरोको सारमा नै यस समीक्षात्मक लेख केन्द्रित रहने छ ।

नेपालको इतिहासमा सं. १६१६ देखिको कोलोनाइज्ड वा औपनिवेशिक कालखन्ड हुँदै वर्तमान घडीसम्मै कोटीकोटी मूलवासी काइँलाहरू राज्यको केन्द्रबाट सीमान्तमा धकेलिएका थिए र छन् । राज्यसत्ताधारीहरूको कुर्सी जोगाइ दिनकै खातिर औपनिवेशवादीहरूको हुँदो बेचिएका थिए—सहस्र काइँलाहरूका पुर्खा चन्द्र शमसेरको पाला उँदी मर्सिनरी वा ‘भाडाको सिपाही’ को रूपमा । अनि पहिलो र दोस्रो विश्वयुद्धहरूमा कोटीकोटी काइँलाहरूका पुर्खाले जीवन आहुति दिए । त्यसरी दिने सिलसिला आजसम्मै अन्त्यहीन चलिरहेकै छ । त्यही परम्परा धान्न चिमखोले काइँलालाई काँडैकाँडामाथि घोक्र्याउँदै छिराइयो बकिङघम राजप्रासादको भव्यताभित्र । हो—नेपालको विभेदी ऐतिहासिक परिवेशले घोक्र्यायो बकिङघमभित्र ।
अर्को अर्थमा नेपालको आर्थिक, सामाजिक, राजनैतिक, जातीय र भाषिक परम्परालाई धान्न हर्कुलीय हन्डरमा उनी आफैं छिरी छाडे बकिङघमभित्र साँडे २ दशकजतिको संघर्षपूर्ण अवधिमा । त्यही हन्डरपूर्ण घोक्र्याइँको खुसियालीमा ‘लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म’ लाई जन्माए लेखक चिमखोले काइँलाले । उनले त्यतिकाविदि शिशिरहरू झेलेको खुसीमा म महादेउखोले श्याँकारेलुले पनि खुसी हुँदै समीक्षाको जाँगर चलाएँ ।

किनभने मैले वेस्ट पोइन्ट कलेज/स्कुल, बेनी बजारमा प्रिन्सिपलको हैसियतमा म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत क्षेत्रको सन् २०१७ देखि १८ सम्म १ वर्ष शैक्षिक सेवा गरेको छु । बेनी बजार मेरो कर्मभूमि हो । नसो नसोमा म्याग्दी बहिरहेछ । प्राचीन-अर्वाचीन मगरात, गन्डक सभ्यताअन्तर्गत चिमखोलाका सयौं शिक्षार्थीहरू वेस्ट पोइन्टमा शिक्षा आर्जन गर्ने भएकाले नै चिमखोला मेरा लागि अति प्रिय नाम हो बेग खोलासहित ।

एक शनिवार पुस्तक पसलमा चिमखोले विशेषणात्मक नाम चक्षुमा पर्ने बित्तिकै झल्याँस्सै म्याग्दीको सम्झना आयो । झल्याँस्स सम्झनु पहिले नै रामप्रसाद सुवेदीको कृति ‘म्याग्दीः सृष्टा र सृष्टि’ (सं. २०७०) अध्ययन गरी सकेको थिएँ । लेखक सुवेदीको किताब दोहोराएर हेर्दा स्रष्टा चिमखोले काइँला पाना सङ्ख्या ३९८ मा तोप कार्कीसँगै रहेछन् ।
ऐतिहासिक मगरातभूमिमा बग्ने जलाधारहरू म्याग्दी, मादी, मोदी, दरौंदी, मरस्याङदी, राम्दी, लुङ्दी, लस्दी, पुङ्दी आदि जस्तै चिमखोले काइँला पनि लतारिंदै, घोक्र्याइँदै र बग्दै पुगे बेलायत । घोक्र्याइनुको प्रमाणस्वरूप उनको कृति बोल्छ, “यी मगर केटा हुन् । कलिला पनि छन् । यिनीहरू सचिवको जागिर छाडेर लाहुरे हुन जान्छन् । तालिम दिएर खर्च मात्र हुन्छ (पाना ३९) ।” काइँलाको पुकार थियो, “म राष्ट्रको सेवा गर्छु । म लाहुरे हुन जाने छैन (पाना ऐजन) ।”

परन्तु राज्यसत्ताका अन्धा-गेटपालेहरूले सुन्दैसुनेन् । काइँला बेतोड बिरक्तिए । ऐतिहासिक पारिवारिक पृष्ठभूमि झनै गर्जियो, “लाहुरे हुन जानका लागि हाम्रो छेकवार छैन, स्कुल पढ्न जान कुनै हालतमा हुन्न (पाना ४२)।” “अर्को लेडो हाम्रो क्लासमा आएछ (पाना ४३)।” मर्माहत एवं इखालु काइँलाले हिम्मत नहारिकनै स्नातकोत्तरसम्मको शिक्षा हासिल गरी छाडेको सफलता उनैको कृतिले बोलेको छ ।

व्यक्तित्वमा इमान्दार, बफादार, अनुशासित, कर्तव्यनिष्ठ, लगनशील र लप्पनछप्पन नजान्ने चिमखोले काइँला ऐतिहासिक सचिव पदको अन्तर्वातामा “लाहुरेको ट्याग” नलागेको भए नेपाल राष्ट्रको सेवाखातिर मुख्य सचिवसम्म पुग्न सक्ने सम्भावना प्रवल थिएछ भन्ने तथ्य उनैको कार्यले प्रमाणित गर्दछ । अफसोच ! यस्तै इमान्दार, बफादार, अनुशासित, कर्तव्यनिष्ठ र लगनशील सहस्र काइँलाहरू वा हर्क साम्पाङ र बालेन शाहहरूको अनुपस्थितिमा नेपाल राष्ट्रको पछौटेपनको व्यथा जहिले पनि व्यथाकै रूपमा बल्झिरहेको वास्तविकता आम नेपालीहरूको हो । काइँलाहरूको प्राचीन-अर्वाचीन ऐतिहासिक कथा र नेपालको व्यथा यसरी नै उकुचको रूपमा बल्झिरहेकै छ ।

कृतिमा अर्को ऐतिहासिक उकुच पहिचानको छ । “… के पुनलाई मगर मानिदैन? (पाना १९३)।” वास्तवमा उत्तरआधुनिक कालको डिकोलोनाइज्ड परिवेशमा यो नितान्तै जायज प्रश्न हो । म्याग्दीकै छन्त्यालहरूको पनि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउरा प्रतिष्ठान) ऐन-२०५८ अनुसार “मगर, गैर-मगर वा स्वतन्त्र जाति ?” भन्ने प्रश्न उकुचकै रूपमा रहेको छ । वास्तवमा भाषावैज्ञानिकरूपमा १२ मगरातको ढूट भाषा, १८ मगरातको पाङ/खाम, काइके र छन्त्याल भाषाहरूको आफ्नै पहिचान भए पनि मगरभित्र पुनको चिनारी बहस पेचिलो छ खामसँगै ।
त्यसो त ‘मगर’ शब्द र जाति-नामकै मूल जराको खोजी गर्दा उत्तरतिरको मंगोलबाट मगर र दक्षिणतिरको मगधबाट मगर भन्ने दुई खेमा विचार छ । म्याघ्यार (हंगेरी) बाट मगर भएको भन्ने तेस्रो धार पनि छ । यसलाई वौद्धिक बहस वा सघन खोजकै विषयको रूपमा छोडिनु विज्ञानसम्मत हुन्छ । तथापि, भाषावैज्ञानिक भग्नावशेषमा पुनहरूको थरगत नाममा जोडिएको रूपिम /-जा/ ‘बच्चा/सन्तति, मात्रै’ जस्तैः पाइ+जा, तिलि+जा, राम+जा(ली), जुग्जा+(ली), शेर+पुन+जा, पुर+जा, गरबु+जा आदि र स्थाननामको /-जा/ जस्तैः पजार+जा, बरङ+जा, गुर+जा आदिको सम्वन्ध जाति, भाषा र भूमिसँग हुन्छ । यसको वैज्ञानिक खोज हुनु अत्यावश्यक छ । चिमखोला क्षेत्रमै रूपिम /-जा/ पजारजा खर्क हुनु र आफ्नो थरनाममा गरबुजा जोडिनुमा काइँलाको त्यस भूमिसँग अत्यन्तै लामो मौलिक सम्वन्ध जोडिएको प्रष्टिन्छ ।

जलाधारनाम (मयाङ)म्याङ/मेङ+दी/डी (बग्ने ‘पानी’, ‘खोला/नदी’) हुँदै ‘म्याग्दी’ आफैं पनि प्राचीन-अर्वाचीन मगर भाषामा रहेको चन्द्रप्रकाश बानियाँ तथा रामप्रसाद सुवेदी जस्ता अनुसन्धाताहरूले पनि स्वीकारेको पाइन्छ । यसैगरी अर्को स्थाननामको भाषावैज्ञानिक भग्नावशेष रूपिम /-वाङ/ ‘ठाउँ/राज्य’ जस्तैः रण+वाङ, दर+वाङ, मल्क+वाङ, काले+वाङ, घन्टी+वाङ, खौसी+वाङ, भाइ+वाङ, कोत्रे+वाङ, टीका+वाङ, थिर+वाङ, हाङ+वाङ, तोला+वाङ आदिले पुनहरूको विशेष पहिचानतिर इङगित गर्दछ ।

कालान्तरमा आन्तरिक औपनिवेशिक सम्पर्कसँगै वर्चश्वले गर्दा पुनहरूको भाषिक तथा सांस्कृतिक सम्पदा गुमेको हुन सक्ने प्रवल सम्भावनालाई नकार्नु वौद्धिक न्याय हुँदैन; जसरी छन्त्यालहरूको गुमेको थियो/छ । लगनशील चिमखोले काइँलाले अब उसो बाँकी जीवन यतातिर पनि घोत्लिने हो भने नेपालको वौद्धिक क्षेत्रमा अर्को युरेका हुनेमा दुई मत रहदैन ।
काइँलाहरूको कथामा नेपालको पछौटे व्यथाको उकुच बल्झिरहे पनि चिमखोले काइँलाले त्यो युरेका प्राप्त गर्न प्रयत्नरत रहे पजारजा खर्क र गरबुजाको अन्योन्याश्रित मूलवासी इतिहास झनै उजेलिन्थ्यो । चोचाङगी जस्तैः बलमान चोचाङगी (सं. २०१९ सालमा निर्वाचित रापंस, चिउरीबोट), खपाङगी, फगामी आदिहरूको पनि भाषा, जाति र भूमिसँगको इतिहास प्रष्टिन्थ्यो ।
यस अर्थमा स्रष्टा काइँलाको एघारौं कृतिले नेपालको भूगोल, राजनीति, भाषा, जाति र संस्कृतिसँग सम्वन्धित जनइतिहासको खोजमा एक ईंटाको भूमिका निर्वाह गरेको छ—मेरो पठन निष्कर्ष र विश्लेषणमा । नेपाली भाषिक इतिहासमा पनि काइँलाको रचनाले नेपाली शब्दभन्डारलाई केही शब्दहरू दिनेछ । उदाहरणका लागि ‘राइँला’ (पाना २१), ‘लारु’ (पाना ५२) र ‘बुक्यौनी’ (पाना २८५) शब्दहरूलाई नै लिन सकिन्छ । ती तीनोटै शब्दहरू प्रज्ञा प्रतिष्ठानको दसौं संस्करणको शब्दकोशमा पनि पाइदैन । अब थप्नु पर्नेछ ।

कृति पठन गर्दा भाषामा पनि म्यादेली भाषिक स्वाद लिन सकिन्छ । जस्तैः पर्मा शब्दलाई ‘परिमा’ (पाना ३३) वा ‘परिमो’ (पाना ५०), घुम शब्दलाई ‘स्याँखु/स्याखु’ (पाना ३४७), निङग्रो हुँदै निहुरो/निगुरो शब्दलाई ‘न्युरो’ (पाना ३० र ८८) आदि । चिमखोले काइँलाको भोगाइ र लेखाइमा प्रष्ट आत्मकथा एघारौं रचनाभित्र हिज्जे अनियमिततामा भने काइँलाको कन्चन व्यक्तित्व जस्तो केही इन्च कन्चन नदेखिएको प्रमाण समीक्षकले पढ्दाको प्रतिभित्र नै सुरक्षित छ । संयोगले जुराएछ भने या त न्युबरी वा नखिपोटमा देखाउने बाचा गर्दै उनको साहित्यिक उन्नयनमा शुभकामना अर्पण गर्दछु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!