यात्रा स्विजरल्याण्डको

SHARE:

चिम्खोले काईला – बेलायत

नियात्रा धेरै पहिला लेखिएको हो, समय सापेक्षिक नहुन सक्छ।

हाम्रो फ्यामिली ग्रुप स्विजरल्याण्ड भ्रमणमा जाने भएको छ । भ्रमणदलमा सुनिल दाइको परिवारबाट सुनिल दाइ, गोमा बहिनी, छोरीहरु आराधना र सुवानी छन् । राजेन राना सरको परिवारबाट, राजेन सर, हेमा बहिनी, छोरी रैसा र छोरा रेमन छन् भने वीरेन भाइको परिवारबाट, वीरेन भाइ, गायत्री बहिनी र छोरा विरान छन् । मेरो परिवारबाट म, मेरी श्रीमती जमुना, छोरीहरु प्रिया र प्रियङ्का छौँ । यस भ्रमणमा हाम्रो फ्यामिली ग्रुपका अन्य सदस्यहरु छविमाया बहिनी तथा हीरा दाइको परिवार, लेख भाइ तथा मिना बहिनीको परिवार र जगत्् भाइ तथा सीता बहिनीको परिवार विभिन्न कारणले गर्दा छुटेका छन् । हाम्रो भ्रमणदलमा नेपालबाट बेलायत भ्रमणमा आएकी श्रीमती कुन्ता थापा दिदी भने जोडिनुभएको छ । कुन्ता दिदी जेनेरल श्याम थापाकी श्रीमती हुनुहुन्छ । हामी लण्डनको हरिओम भन्ने ट्रावलबाट स्विजरल्याण्ड जाने निश्चित भएको छ । हरिओमको बस हामीलाई लिन बेलायतको फार्नबोरोस्थित फुटबल क्लबमा आएको छ । हामी सबैजना दिउँसो ४ बजे फार्नबोरो फुटबल क्लबमा जम्मा हुन्छौँ र बसमा चढ्छौँ । बसमा स्विजरल्याण्ड भ्रमणका लागि निस्किएका हरिओमका अन्य सदस्यहरु पनि रहेछन् । प्राय सबै इन्डियन मुलका छन् । यिनीहरुसँग सामान्य परिचयपश्चात् बस बेलायतको मोटर वे, एम– ३, एम– २५, एम– २३ हुँदै केन्टको डोभर च्यानलतिर हुइँकिन्छ ।

झण्डै ३ घण्टा बसमा सवार भएपछि डोभर च्यानल आइपुग्छौँ । डोभर च्यानलमा हाम्रो बसलाई फ्रान्सको कालाई जाने सामुद्रिक नाउ तथा फेरीको सबभन्दा तल्लो तलामा राखेर हामी माथिल्लो तलातिर उक्लिन्छौँ । सामुद्रिक फेरी हजारौँँ मान्छे, सयौँ कार र बस बोकेर ब्रिटिश च्यानलतिर अगाडि बढ्छ । सामुद्रिक नाउमा ड्युटीफ्री शप, खाना खाने रेष्टुरेन्ट तथा पिउने बारहरुलगायत ठाउँठाउँमा ठूल्ठूला टेलिभिजनका स्क्रिनहरु राखिएका छन् । टेलिभिजनमा विभिन्न ताजाताजा समाचार तथा खेलकुदका समाचारहरु अपडेट भइराखेका छन् । सामुद्रिक फेरीको अगाडिको भागमा खुला स्पेस छ, जहाँबाट समुद्रको अगाडिको भाग देख्न सकिन्छ । हाम्रो भ्रमणदलका सदस्यहरु प्रायः सबैजना यही ओपन स्पेसमा बस्छौँ । मैले यस्ता सामुद्रिक फेरीमा धेरैपटक यात्रा गर्ने मौका पाएको छु । तर हाम्रो परिवारका कुनै कुनै सदस्यहरुका लागि यो पहिलोपटकको यात्रा हो । जसले गर्दा अति नै उत्साहित भएका छन् । झण्डै साढे एक घण्टाको समयपछि हामी फ्रान्सको कालाईमा अवतरण गर्छौं ।

फ्रान्सको कालाईमा अवतरण भएपछि हामी हाम्रो बसतिर अगाडि बढ्छौँ र बसमा पस्छौँ । बेलुकाको ९ बज्न लागेको छ । तर समर सिजन हुनाले सूर्य अस्ताइनसकेको अवस्था छ अर्थात् झलमल्ल घाम छ । हाम्रो बस फ्रान्स, बेल्जिएम, नेदरल्याण्ड र जर्मनी हुँदै स्विजरल्याण्डतर्फ अगाडि बढ्छ । हामी रातभरि बसमा यात्रा गर्छौं । बीचबीचमा मोटर वेका सर्भिस पोइन्टहरुमा ड्राइभरले कम्फोर्ट ब्रेकका लागि बस रोक्छन् । बसमा यात्रा गर्दा सबै जनाले आआफ्ना ड्राई खानेकुरा झिक्छौँ र बाँडेर खान्छौँ । बसमा सुत्न गाह्रो हुन्छ । म भने बसमा समय बिताउन खगेन्द्र नेपालीको आवाजमा रेकर्ड गरिएको डायमन समशेरद्वारा लिखित ‘सेतो बाघ’ उपन्यासको अडियो सीडी श्रवणतिर लाग्छु । मेरो रात साहित्य श्रवणमा बगिरहन्छ निरन्तर । यस उपन्यास श्रवणबाट राणाजीहरु आफ्नो स्वार्थपूर्तिका लागि एकआपसमा झगडा गरेको महसुस गर्छु । उपन्यासमा विशेष गरी समशेर खलक र जङ्ग खलकका बीचमा स्वार्थपूर्तिका लागि शक्ति प्रदर्शन गर्नको महसुस हुन्छ । जसले गर्दा राणाजीहरुको पतन भएको महसुस हुन्छ । बिहान उज्यालो हुँदै आउँछ, झ्यालबाट बाहिर हेर्छु, हामी जर्मनीको ब्ल्याक फोरेस्ट आइपुगेका रहेछौँ ।

जब उज्यालो हुँदै आउँछ तब सुन्दर सुन्दर तथा मनोरम दृश्यहरुको आगमन हुन्छ । हामी हिन्दी फिल्ममा देखेका जस्तै सुन्दर तथा मनोरम दृश्यहरु हेर्दै यात्रा गरिरहन्छौँ । हाम्रो टुरका गाइड माइकिङद्वारा विभिन्न ठाउँहरुको परिचय दिँदै छन् । हामी अति रोचकताका साथ सुनिरहेका छौँ । हाम्रो भ्रमणदलका सम्पूर्ण सदस्य मानौँ अर्कै सुन्दर ग्रहमा आएका छौँ । टुर गाइड कुक्कु घडी बनाउने काठको फ्याक्ट्रीमा रोक्छन् । हामी सबै कुक्कु घडी बनाउने फ्याक्ट्री अवलोकन गर्छौं । यस फ्याक्ट्री अवलोकन गरिसकेपछि फेरि राइन नदीसम्मका लागि यात्रा अगाडि बढ्छ । स्विजरल्याण्डको हिमाली भागबाट बगेको नदी हो यो । हिमालबाट बगेको भएर होला, पानी अति सफा अनि निलो देखिन्छ । बीचबीचमा छहराहरु छन् । छहराहरु एकदम सेता तथा सुन्दर देखिन्छन् । राइन नदी स्विजरल्याण्ड, अस्ट्रिया, इटली, फ्रान्स, जर्मनी, लग्जेम्बर्ग र नेदरल्याण्डबाट बगेर आउने नदीहरुसँगै समाहित हुँदै नेदरल्याण्डको नोर्थ सीमा समाहित हुन पुग्दो रहेछ । यस नदीले कृषि, पर्यटन र हाइड्रोेमा विशेष टेवा पु¥याएर उक्त माथिका देशहरुलाई आर्थिक उन्नति गर्नमा मद्दत पु¥याएको पाउँछु । हाम्रो देशका ठूल्ठूला नदीहरुलाई प्रयोगमा ल्याउन सके देशको आर्थिक उन्नति गर्न मद्दत हुन्थ्यो होला भन्ने कल्पना गर्छु । राइन नदीको सुन्दर तथा मनोरम दृश्य हेरेपछि हाम्रो गाडी स्विजरल्याण्डतिर हुइँकिन्छ ।

हाम्रो बस जर्मनीको सिमाना पार गरेर स्विजरल्याण्डको सिमानामा प्रवेश गरेको छ । नेपाललाई एशियाको स्विजरल्याण्ड भनेको मैले भूगोल किताबमा पढेको थिएँ । मनभरि सयौँ उत्सुकता बोकेर वास्तविक स्विजरल्याण्डको भ्रमण गरिरहेको छु । पहाडी भूभाग र ससाना उपत्यका देख्दै छु । खोलानाला, वनजङ्गलहरु पनि देख्दै छु । हाम्रो बस अगाडि बढ्दै छ । नेपालका जस्तै ठूल्ठूला भीरपहाड तथा सेतै हिमालहरु देख्छु । तर नेपालमा जस्तो वारिको पहाडदेखि पारिको पहाड पार गर्नका लागि फनफन्ती उकालो चढेर फनफन्ती फेरि तल झर्नु परेको छैन । चाहे भीर आओस्, नदी आओस् तथा हिमाल आओस् सुरुङमार्गबाट सोझै पारि पुगिन्छ । पहाडका टाकुराहरुमा गाईभैँसी र भेडाहरु चरिरहेका छन् । गाईभैँसी र भेडाहरुलाई पाल्ने गोठालाहरु बस्ने ती पहाडका अनकन्टार टाकुराहरुमा घरहरु पनि देख्छु । ती गोठालाहरुलाई खर्चपर्च पु¥याउनका लागि हरेक टाकुराहरुमा लिफ्ट, तुइन, ट्राम र केबलकारहरुले सेवा पु¥याइरहेका छन् । कुनै कुनै ठाउँहरु त बाँदर पनि पल्टेर मर्ने भीरपहाड तथा गल्छीहरु देख्छु तर ती गहिरा गल्छीहरुलाई बाँध बाँधेर पानी जम्मा गरी हाइड्रोबाट बिजुली निकालेको देख्छु भने पानीमा चलाउने सवारीसाधनहरु चलाउनुका साथै माछा व्यवसाय सञ्चालन गरेको देख्छु । हामी नेपालीले नेपाललाई हिमाल, भीरपाखा, पहाड र डाँडाकाडाले ढाकेको भनेर मन खल्लो बनाउने गर्छौं तर हाम्रा प्राकृतिक स्रोत र साधनलाई ठिकसँग व्यवस्थित गर्न सकेका रहेनछौँ भन्ने भान हुन्छ मलाई । नेपालमा हाम्रा हिमाल, भीरपाखा, पहाड र डाँडाकाडा, वनजङ्गल र नदी सबैलाई व्यवस्थित गर्न नसकेर पछाडि परेका रहेछौँ भन्ने लाग्छ मलाई ।

आज बास बस्न तित्लिसमा जानुपर्ने छ । विभिन्न खोलानाला, भीरपाखा, पहाड छिचोल्दै सोझै तित्लिस आइपुग्छौँ । हाम्रो टुर गाइड हामी बस्ने होटल माथि डाँडाको टुप्पोमा देखाउँछन् । गाडी तथा बस जाने ठाउँ देख्दिनँ म । ट्राम र केबलकार पनि देख्दिनँ । होटलमा कसरी जाने होला ? भनी सोच्दै छु । यदि हिँड्न प¥यो भने हिँडाइ त धेरै छ जस्तो लाग्छ । लगेज नभएको भए त हिँडेरै जाने थियौँ होला तर हामी सबैका सुटकेश र झोलाहरु छन्, अनि ससाना बच्चाहरु पनि छन् । हाम्रो टुर गाइड हिन्दीमै भन्छन्, ‘सर एण्ड मेदम, सुटकेश पक्रो अनि मेरा साथ चलो ।’ हामी हाम्रा सुटकेश पक्रेर लुरुलुरु यिनको पछिपछि हिँड्छौँ । फराकिलो सडक सुरुङमार्ग प्रयोग गर्दै धेरै वर ल्याइपु¥याउँछन् । हामी लिफ्ट भएको ठाउँमा आइपुग्छौँ । टुरगाइड लिफ्टमा चढ्ने इशारा गर्छन् । लिफ्टमा एकैसाथ सबैजना अट्न सक्दैनौँ तर लिफ्टमा अटेका सदस्यहरुलाई लेबल एघाह्रमा ओर्लने सूचना दिन्छन् । हामी सबै लेबल एघाह्रमा ओर्लिएर छक्क पर्दै बस्छौँ । सबैजना यहाँ आइपुगेपछि हामी होटलतिर लाग्छौँ । होटलका मालिक इन्डियन मुलकै रहेछन् । बेलुका डिनर तथा बिहानको ब्रेकफास्ट सबै इन्डियन मसलादार छन् । हरेक खानामा मलाई मनपर्ने किड्नी बिन छ । बेलुकीको डिनर तथा बिहानको ब्रेकफास्टमा किड्नी बिन धित मरुञ्जेल लिन्छु ।

आज तित्लिस हिमाल चढ्नु छ । ब्रेकफास्ट लिएपछि सबैजना लगेज लिएर वानवे जाने तयारीमा छौँ । हामी लिफ्ट चढ्छौँ र तल झर्छौं । तित्लिस गाउँमा तित्लिस हिमालबाट झरेको सफा नदी रहरलाग्दो तरिकाले कलकल गर्दै बगिरहेछ । म जन्मेको गाउँ चिम्खोलाको याद बढेको छ मभरि । यो तित्लिस गाउँ पनि चिम्खोलाजस्तै भिरालोमा रहेछ । तित्लिस गाउँलाई तुलना गर्ने हो भने ठ्याक्कै चिम्खोला गाउँजस्तो लाग्छ । तित्लिसमा तित्लिस हिमाल छ भने चिम्खोलामा विश्वको चौथो अग्लो धौलागिरि हिमाल छ । चिम्खोला गाउँको नजिकैबाट रघुगङ्गा नदी र बगरखोला बग्छन् त्यस्तै तित्लिस गाउँमा पनि तित्लिस खोला बगेको छ । तित्लिस नदी कटानबाट रोक्न र तित्लिस गाउँलाई खतराबाट मुक्त गर्न नदी कटानबाट बच्ने उपयाहरु निकालेर तित्लिस गाउँलाई खतरामुक्त गरिएको रहेछ भने मेरो गाउँ चिम्खोलालाई बगरखोलाबाट निक्कै खतरा छ । यस गाउँमा सवारीसाधन पुगेको छ भने मेरो गाउँ चिम्खोलामा सवारीसाधन पुगेको छैन । यहाँ सवारीसाधन नपुगेको ठाउँहरुमा लिफ्ट, तुइन, केबलकार र ट्राम पुगेका छन् भने मेरो गाउँ चिम्खोलामा न त सवारीसाधन पुगेको छ न त सवारीसाधन नपुगेका ठाउँहरुमा लिफ्ट, तुइन, केबलकार र ट्राम नै पुगेका छन् । संसारमा रहेका हिमालहरुमध्ये धेरै तलको वरियतामा रहेको तित्लिस हिमालले यति धेरै पर्यटकहरुलाई तानिरहेको छ भने मेरो गाउँ चिम्खोला हिमाल, भीर, पहाड, नदीनाला, वन्यजन्तु, जडिबुटीले सम्पन्न हुँदाहुँदै पनि किन पछि परेको होला ? म सोचमग्न हुन्छु र अचम्म मान्दै तित्लिस हिमालतिर लाग्छु ।

तित्लिस हिमाल जानका लागि नाकले जोत्ने ठाडो पहाड चढ्नुपर्ने रहेछ । पहिले दुर्ईवटा पहाड ट्रामबाट उक्लिन्छौँ । पहिलो पहाड उक्लिसकेपछि सम्मो ठाउँ तथा खर्क देख्छौँ । खर्कमा धेरै भैँसी र गाईहरु चरिरहेका छन् । दोस्रो पहाडको यात्रा गरिसकेपछि अर्को सम्मो ठाउँ तथा खर्क भेट्छौँ । यहाँ धेरै भेडा चरिराखेका छन् । ट्रामको यात्रालाई केबलकारले बदलिदिन्छ । केबलकारले हामीलाई ३६० डिग्रीमा फनफन्ती घुमाउँदै तित्लिस हिमालमा ल्याइपु¥याउँछ । सुरक्षाको हिसाबले केबलकारका झ्यालहरु बन्द छन् । म बसेको पारिपट्टि गायत्री बहिनी मुसुमुसु हाँसेको देख्छु । सायद कसैले गरेको गोप्य गल्तीको प्रतिफ हो कि ? हामीसँग यात्रा गरिरहेका इन्डियनहरुले मुखामुख गरेपछि यस्तो गल्तीले सबैलाई दुःख दिन्छ भन्ने लाग्छ । मलाई भने गायत्री बहिनीतिर हेर्दै बेस्सरी हाँस्न मन लागेको छ तर हाँसो दबाएर राख्छु ।

केबलकारद्वारा तित्लिस हिमालको यात्रा गरिरहेका छौँ । केबलकार ३६० डिग्रीमै घुमिरहेको छ । केबलकारबाट तल ठूल्ठूला तथा निलानिला हिमतालहरु देखिरहेको छु । केही व्यक्तिहरुले तित्लिस हिमालको पैदल यात्रा गरिरहेको देख्छु । ठाउँठाउँमा साना डोजरले हिउँ पन्छ्याउँदै गरेको देख्छु । अचम्म लागेर आउँछ र मेरो देश नेपाल सम्झिन्छु । हाम्रो देशमा यस्ता हिमालहरु सयौँँ छन्, हामीले केही गर्न सकिरहेका छैनौँ । पर्यटकनका लागि गन्तव्य बनाउनसमेत सकिरहेका छैनौँ । तर स्विजरल्याण्डले यस्ता सामान्य हिमालहरुलाई अति महत्वका साथ संसारभरिका पर्यटकहरुका लागि आकर्षक गन्तव्यको केन्द्रबिन्दु बनाएको छ । हाम्रो देशले केही गर्न नसकेकामा आत्मग्लानि हुन्छ । एकछिनपछि तित्लिस हिमालमा पाइला टेक्छौँ । हिमालको टुप्पोमा सोभिनिएर शप छ । खाना खानका लागि रेष्टुरेन्ट छ । पिउनका लागि बार छ । सबै कुराले सम्पन्न छ । पारि क्षितिजमा रहेका हिमालहरुका नाम आकारअनुसार राखिएका छन् । एउटा हिमालको नाम भने बुद्ध राखिएको छ । यो हिमाल हेर्दा गौतम बुद्धजस्तै देखिन्छ । तित्लिस हिमालदेखि अन्य हिमालहरुको दृश्य हेर्नका लागि दुरबिन तथा टेलिस्कोपहरु राखिएका छन् ।

तित्लिस हिमालबाट फर्कने क्रममा छौँ हामी । केबलकार चढ्नुअगाडि एउटा आइसकेभ रहेछ । कसैले केही कुरा बोल्यो भने इको भएर आउँदो रहेछ । म पनि केही कुरा बोलेर अनि इकोको ध्वनि सुनेर मज्जा लिँदै छु । मेरो छेउतिर आराधना र रैसा छन् । यिनीहरुमध्ये कुन चाहिँले आइसकेभमा दुर्गन्ध फैलाए ! उल्टो मतिर दोष थोपर्दै छन् । म गम्भीर रुपले लिँदिनँ किनकि यो गल्ती मबाट भएको छैन । तित्लिस हिमालको सुन्दर सुन्दर तथा मनोरम दृश्य हेर्दै केबलकार र ट्राम हुँदै तित्लिस गाउँमा झर्छौं । मेरो गाउँ चिम्खोला र तित्लिसजस्ता नेपालका हजारौँँ गाउँको विकास र संवृद्धिको कल्पना गर्छु ।

तित्लिसमा हुँदा हिमालै हिमाल देखिन्छ भने अब हाम्रो बस तित्लिसबाट ओह्रालो झर्दै छ । ओह्रालो झर्ने क्रममा ठूल्ठूला पहाड र उपत्यका देख्छु । उपत्यकाबाट मनोरम हिमालहरु नियाल्दै छु । यो प्राकृतिक सुन्दरता देखेर मलाई स्विजरल्याण्डमा छु जस्तो लागेको छैन । म हाम्रो देशको पोखरामा छु जस्तो लागेको छ । हाम्रो देश पनि स्विजरल्याण्डभन्दा कम सुन्दर छैन तर हामीले हाम्रो देशको सुन्दरतालाई पैसामा बदल्न सकेका छैनौँ भन्ने लाग्छ । स्विजरल्याण्डले स्विजरल्याण्डका हरेक हिमाल, डाँडापाखा, खोलानाला र वनजङ्गललाई सही ठाउँका लागि सही गन्तव्य बनाएको छ । यसले पर्यटकहरुलाई आकर्षणको केन्द्र बनाएर अर्थ आर्जन गरेको छ । हाम्रो देश नेपालले भने देशको सुन्दरतालाई सही ठाउँमा सदुपयोग गर्न सकिरहेको छैन । हामीले पनि हाम्रो देशका हिमाल, डाँडापाखा, खोलानाला र वनजङ्गललाई पर्यटन मैत्री बनाउन जरुरी छ भन्ने लाग्छ । पर्यटन मैत्री बनाउनका लागि जेष्ठ नागरिक, अशक्त नागरिक तथा बालबालिका मैत्री बनाउन जरुरी छ । देशलाई पर्यटन मैत्री बनाउनका लागि रेल, सडक र पानीमा चल्ने सवारीसाधनहरुको सुविधा हुनैपर्छ । यी माथिका रेल, सडक र पानीमा चल्ने सवारीसाधनहरुको सुविधा नहुने ठाउँहरुमा लिफ्ट, तुइन, केबलकार र ट्रामको विकास गर्न जरुरी छ, जसले गर्दा हाम्रो देशका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरी आर्थिक उन्नतिको विकास गर्नुपर्छ जस्तो लाग्छ ।

हाम्रो देश नेपाल र स्विजरल्याण्डको तुलना गरेर कल्पनामा डुबेको रहेछु । हाम्रा टुर गाइड रोलेक्स घडीको शपमा घुम्नका लागि माइकिङद्वारा एक घन्टाको समय सूचना दिन्छन् । बसबाट झर्दा मेरी श्रीमती जमुना, छोरीहरु प्रिया र प्रियङ्का अगाडि गएका छन् कि पछाडि छन् थाहा छैन । म सुनिल दाइको परिवारको पछिपछि परेको छु । सुनिल दाइ, गोमा बहिनी, छोरीहरु सुवानी र आराधना मभन्दा अगाडि छन् । रोलेक्स वा ओमेगा घडी मलाई असाध्यै मन पर्छन् तर हालसम्म किन्न सकिरहेको छैनँ । रोलेक्स घडीको शपमा मान्छेहरु खचाखच छन् । स्विजरल्याण्ड र अन्य ठाउँमा प्रायः चिनिया पर्यटक बढी देखिन्छन् । यस शपमा पनि खचाखच चिनिया पर्यटकहरु नै छन् । धेरै मान्छेको खचाखचीले होला असाध्यै गर्मी छ । कताकता भिडबाटै फैलने दुर्गन्धले नाक थुन्ने अवस्था आउँछ । चिनियाहरुमध्ये कसैले नाक समाउँदै छन् भने कसैले अनुहारतिर रुमाल तथा टिस्सु पेपरले हम्कँदै छन् । म भने यहाँबाट निस्कन्छु र ग्राउण्ड फ्लोरमा आउँछु अनि पेट मिचिमिची हाँस्छु । मलाई केही राहत हुन्छ । एकछिनपछि फर्केर म फेरि भिडमै अगाडि बढ्छु । साथीहरु सबैले छाडेछन्, त्यसैले म एक्लै डुल्दै छु । एकछिनमा सुलिल दाइलाई भेट्छु । हामी सबै एक ठाउँमा जम्मा हुन्छौँ र यहाँबाट बाहिर निस्कन्छौँ ।

सबैजना बसमा चढेपछि जेनेभाको गन्तव्य सुरु गर्छौं । जेनेभा आइपुग्छौँ । जेनेभा सम्मो ठाउँमा रहेछ । हाम्रो देशकै तराईजस्तो । स्विजरल्याण्ड र हाम्रो देश नेपालको भूगोलसँग परिकल्पना गर्दा ठ्याक्कै मिल्दो रहेछ । स्विजरल्याण्ड पनि हाम्रो देश नेपालजस्तो भूपरिवेष्ठित राष्ट्र हो, जुन देशमा हाम्रै देश नेपालका भूभागजस्ता तराई, पहाड, भित्री मधेश र हिमाल रहेछन् । जेनेभा वरपरका भूभागहरुमा कृषिजन्य बालीनाली उत्पादन गरेर पहाडी र हिमाली भागहरुमा पु¥याउँदा रहेछन् । पहाड, भित्री मधेश र हिमालबाट बग्ने नदीहरुलाई समथर भूभागमा कृषिका लागि सिँचाई, हाइड्रो र पर्यटनका लागि उपयोग गरेका रहेछन् । अनेक थरिका कल्पना गर्दागर्दै जेनेभा आइपुग्छौँ । स्विजरल्याण्डस्थित संयुक्त राष्ट्र संघको मुख्य कार्यालय भवनको अवलोकन गर्छौं । जेनेभा युरोपका अन्य शहरहरुजस्तै लाग्छ । स्विजरल्याण्डमा एक हप्ताको बसाईंपछि हामी फ्रान्स हुँदै बेलायत आइपुग्छौँ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!