नेपाली साहित्यमा अजर र अमर मोतीराम भट्ट

SHARE:

सुरेन उप्रेती

पाँचथर, हाल क्यानडा

​मानिसहरू अरू प्राणीहरू भन्दा पृथक हुनु भनेको नै चेतनाले हो । चेतनाले गर्दा नै मानिसमा मायामोह, करूणा, विवेक, क्रोध, हाँशो, खुशी , भय ,अहंकार र घृणा जस्ता संवेदनाहरू जन्मन्छन् । मानिसले ती संवेदनाहरूलाई उसले वोल्ने भाषाबाट अभिव्यक्त गर्दछ । चेतनाले नै ज्ञान विज्ञानको बोध हुन्छ । नबोल्दा पनि उसका शाररिक गतिविधिहरू र हाउभाउहरुमा ती सम्वेदनाहरू झल्कन्छन् । उसका वरिपरि भएका गतिविधिहरूमा मानिस खुशी हुने या दुखि हुने गर्दछ । उ बसेको समाजलाई कसरी सौभ्य, सुशील र सुरक्षित बनाउने बारेमा चिन्तन गर्दछ । नयाँ सोच र विचारहरू जन्माउँछ । चेतना विजहरूलाई फैलाएर समाज राष्ट्र र विश्वलाई नै परिवर्तन गर्दछ ।

तर त्यस्ता चेतनाका संवाहकहरू लाखौँ र करोडौँमा एक दुईको संख्यामा मात्र हुने गर्दछन् । उनीहरू त्यो समाज र राष्ट्रमा अजर र अमर भएर रहन्छन् । नेपाली साहित्याकाशको व्योममा उदाएका अमर नक्षत्र मोतीराम भट्ट त्यस्तै एक हुन । विक्रम सम्वत १९२३ भाद्र २५ गते कुशेऔँसीका दिन भोसीको टोल काठमाण्डौमा मोतीरामको जन्म भयो । पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनीदेवी भट्टका दोश्रो सन्ताका रूपमा मोतीरामको जन्म भएको थियो । भट्ट दम्पतीको पहिलो सन्तान जन्मनासाथ मृतु भएको थियो । उनीहरू मोतीरामलाई कसरी बचाउने होला भन्ने चिन्ताले ग्रस्त थिए । नाक छेडिदियो भने दीर्घजीवी हुन्छ भन्ने कसैले सल्लाह दियो । मोतीरामको नाकको दाहिनै पोरा छेडिदिए । यसका कारण वाल्यकालमा मोतीरामले धेरै हैरानी समेत खेप्नु परेको थियो ।त्यसै त लजालु स्वभावका मोतीरामलाई वालसखाहरूले केटी भनेर जिस्क्याउँथे ।

मोतीराम भट्ट पाँचबर्षको हुँदा आफ्नै पिता पण्डित दयाराम भट्ट द्वारा अक्षारम्भ भयो । उनका पिता पण्डित दयाराम भट्टले काशीमै विधाआर्जन गरेका थिए । ‘न्याय नपाए गोरखा जानु, विधा नपाए काशी जानु’ भन्ने भनाइ शिक्षित जमातमा गढेर बसेको थियो । मोतीराम भट्टलाई पनि ६ बर्षको हुँदा काशीमा पुर्याईयो । उनको शुरूवाती शिक्षा फारसी विधालयमा भर्ना भएर फारसी र उर्दूबाट भयो । उनको शिक्षा

फारसी र उर्दूमा मात्र सिमित भएन ।उनले संस्कृत र अंग्रेजी शिक्षाको सिकाइको पनि आरम्भ गरे । बनासरमा रहँदा प्रसिद्ध सितारवादक पन्नालालसँग सितार बजाउन सिक्ने अवशर प्राप्त गरे ।सोही समयमा मोतीरामले गजल गाउन र सितार बजाउन सिके । बनारसमा पढ्दा उनको संगत भारतीय साहित्यकार भारतेन्दु हरिशचन्द्रसँग भयो । हरिशचन्द्र भारतीय साहित्याकाशका अनमोलणी नै हुन । उनलाई भारतीय साहित्यको आधुनिक साहित्यका पिता नै मानिन्छ ।

मोतीराम भट्ट आठबर्ष सम्म बनारसमा अध्ययन गरेर १४ बर्षको हुँदा बिसं १९३७मा बहिनी र आमाका साथमा नेपला आए । अर्को बर्ष अर्थात बिसं १९३८मा उनी बैवाहिक बन्धनमा बाँधिए ।उनले बनारसमा बस्दा चारसयजति सायरीहरूलेखेका थिए । त त्यसबेला सम्म मोतीरामले नेपाली भाषाका कुनै बिधामा कलमचलाएका थिएन्न । बनारसबाट नेपालमा आए पछी उनले सुनेका घाँसेगीत गीत र दोहोरी श्लोकहरूले मोहनी नै लगायो । उनी बिस्तारै त्यस्ता गीतहरू र श्लोकहरू गुन्गुनाउन थाले । उनका छिमेकी अड्गदत्त पाण्डेको विवाहमा जन्ती जाने मौका पर्यो । बिवाहमा श्लोकको जुहारी नै पर्यो । उनलाई त्यो श्लोकको जुहारीले मन्त्रमुग्ध बनायो । तबमात्र उनलाई थाहा भयो नेपाली भाषामा पनि भजन, गीतहरू, श्लोकहरू हुँदा रहेछन् । जुहारीका श्लोकहरू भानुभक्त आचार्यले लेखेका हुन् भन्ने थाहा पाए । त्यसपछी भानुभक्तका किताबहरू खोजी गर्न थाले । केही महिना पछी अर्थात १९३८ पौषमा उनी सपत्नी बनारस गए । त्यहाँ प्रकाशन हुने भारतजीवन नामक हिन्दी पत्रिकाको नेपाली संस्करण निकाले । त्यसको सम्पादकिय र प्रकाशिय पनि उनले नै लेखे । थुप्रै नेपाली पुस्तकहरू पनि प्रकाशन गरे । बनारसमा नै केही साथीहरूको उपस्थितिमा मित्र मण्डलीको गठन गरे । त्यसमा काशीनाथ, पद्मविलास पन्त ,तेजसीँह र तेजबहादुर राना थिए । उनले समस्यापूर्तिका कविता फुट्कर कविता र गजलहरू लेख्न अभियान शुरू गरेका थिए । उनले नेपाल फर्किएर पछी पनि आफ्नो संस्कृत र अंग्रेजीभाषा सिक्ने उत्सुकतालाई मुर्झाउन दिएनन् । उनी दरवार हाइस्कुलमा भर्ना भएर पढ्न थालेका थिए । पढाईमा उनी त्यतीकै तिक्ष्ण थिए ।

दरबार हाई स्कुलमा पढ्दा मोतीरामले ख्याती कमाइ सकेका थिए । १९४८मा उनी दरबार हाई स्कुलको कक्षा दसमा पढ्दा बेलायतबाट नेपालको भ्रमणमा लर्ड रोबर्ट आएका थिए । ती पाहुना चन्द्रशमशेरसाग दरबार हाई स्कूलको निरिक्षणमा आए । मोतीरामलाई ती पाहुनाले पन्ध्रवटा गन्थहरू उपहार दिएका थिए । मोतीरामले नेपालका साहित्यकारहरूलाई एउटै ठाउँमा भेला गराएर कार्यक्रमहरू गरेका थिए । उनी एक राष्ट्रवादी साहित्यकार थिए । भारतमा अंग्रेजले उपनिवेश बनाएर शासन गरिरहेको थियो । यसबाट मोतीरामलाई राष्ट्रियता र स्वाधिनता गुम्दा हुने पिडाको बोध थियो । यसै भावना आक्रोश र देशभक्ती सन्देश यो कविताका पंतीले पनि प्रष्ट्याउँछन् ।
अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपाल्को मुलुक बचि कंचन् रहिगयो।

उनले मध्यकालिन भक्ती धारामा सिमित काव्य साहित्यलाई श्रृङगारिक धारा प्रवेश गराए । उनी श्रृङ्गारवादी कवि थिए । उनले लेखेका गजलहरू सबैजसोनै श्रृङ्गार रसले सजिएका छन् । यसलाई यो तलको पंतीले दर्शाउँछ ।
यि सानै उमेर् देखि मन् हर्न लागे
यीनै सुन्दरीले जुसुम् गर्न लागे ।।
कहाँ सम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे ।।

उनका गजलहरू भक्ती धारामा पनि लेखिएका छन् । भक्ती धारामा लेखिएको गजलको नमूना निम्न पंतीबाट लिन सकिन्छ।
यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,
उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।।
यसो भन्छौ त फल्फुल्मा, उसो भन्छौ त जल्थल्मा,
जता हेर्यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।।

मोतीराम भट्टले नेपाली साहित्यको श्रीवद्दिका लागि लेख्ने काममात्र गरेनन् । भानुभक्त आचार्यद्वारा लेखिएका अप्रकाशित कृतिहरूलाई संकलन गरेर प्रकाशनमा गरे । रामायणका सबै काण्डहरू प्रकाशन गरे र नेपाली साहित्यमा आदिकवि भानुभक्त भनेर परिचित गराए । भानुभक्तलाई भानुभक्त भनेर चिनाउने व्यक्ती नै मोतीराम भट्ट हुन् । त्यस्तै मोतीरामले नेपालमा पत्रकारिताको शुरूवात गरे । नेपाली भाषामा प्रकाशित हुने “गोरखा भारत जीवन “भन्ने पत्रिकाको आफैँ सम्पादक भएर नेपाली प्रकाशन शुरूवात गरे । उनले मोती पुस्तकालय खोलेर नेपालमा पुस्तकालयको शुभारम्भ गरे । त्यस्तै गरी “पाशुपत” छापाखाना स्थापना गरेर नेपल भित्र नै छपाईको थालनी गरे । उनले भानुभक्तका रामायण, भक्तमाला, प्रस्नोतरी, रामगीता जस्ता काव्यकृतिहरूलाईसम्पादन गरी प्रकाशन गरे । भानुभक्त आचार्यलाई सबै नेपालीहरू सम्म परिचित गराउने श्रेय मोतीरामलाई नै जान्छ । मोतीराभ भट्टले नेपालमा पहिलो पटक जीवनी लेख्न शुरूवात गरे । भानुभक्त आचार्यको जीवन चरित्र भन्ने जीवनीबाट नेपालमा जीवनी लेखन शुरूगरेका थिए । त्यो जीवनी १९४८मा सालमा प्रकाशित भयो ।

भानुभक्तको जीवनी लेख्न निकै खोज ,अनुसन्धान ,र अन्वेषण गरेका थिए । त्यस्तै गरी नेपालमा गजल लेखनको शुभारम्भ पनि मोतीरामबाट नै भएको पाइन्छ । बनारसमा बस्दा नै फारसी र उर्दू भाषामा गजलहरू लेख्ने र गाउन थालेका थिए । भनीन्छ मोतीरामले छहजार फारसीमाषामा सायरीहरू लेखेका थिए । मोतीरामले नै नेपालमा गजललेखनलाई भित्र्यएका हुन । उनी समालोचना विधालाई नेपाली साहित्यमा प्रवेश गराउने प्रथम समालोचक पनि हुन । मोतीरामले भानुभक्तका कृतिहरू माथि समालोचना गरी प्रकाशन गरेका थिए । श्री भट्टले भानुभक्तलाई उच्च सम्मान गर्दै आदिकविको उपाधीले सम्मान गरेका थिए । त्यस पछी नेपाली साहित्य जगतमा आदिकवि भानुभक्त आचार्यलाई सम्वोधन गर्न थालियो ।

मोतीराम भट्टले शकुन्तला, पद्मावतती, प्रियदर्शिका जस्ता नाटक लेखेका थिए । उनले लेखेका नाटकहरूलाई आफैँ निर्देशन गरी मञ्चन पनि गरेका थिए । तर ती नाटकहरू सर्वसाधारण मानिसले हेर्न पाउनेगरी मंचन हुन पाएनन् । दरबारका चार पर्खाले कैद गरेर जनतासम्म पुग्न पाएन । दरबारले आफैँमा सिमित गरायो । उनले मात्र पन्ध्र बर्षमात्र नेपाली भाषा साहित्य संस्कृति र राष्ट्रियताको भावनालाई फेलाउन पाए । यी पन्ध्रबर्षमा थुप्रै साहित्यका कृतिहरू रचना गरे ।

उनले लेखेका पुस्तकहरू मनोद्धेग प्रवाह १९४२ प्रह्लाद भत्तिकथा १९४३ शकुन्तला १९४४उषाचरित्र १९४४ पिकथदूत १९४४ प्रियखर्शिका १९४९ भानुभक्तको जीवनी १९४८ प्रकाशित भए । नेपाली साहित्यको माध्यमिक युगलाई भक्ती धाराबाट श्रृङ्गारिक धारामा प्रवेश गराए । यसरी उनी नेपालका पहिलो श्रृगारिक कवि, पहिलो गजलकार ,पहिलो नाटककार, पहिलो समालोचक, पहिलो जीवनी लेखक, पहिलो छापाखाना स्थापना गर्ने व्यक्ती, पहिलो पुस्तकालय स्थापना गर्ने जस्ता अजर र अमरकामहरूबाट चिनिन्छन् । जसको योगदानले गर्दा नेपाली साहित्य आजको अवस्थामा आउन सफल बनेको छ ।

तात्कालिन समयमा छिमेकी मुलुकमा फारसी उर्दू हिन्दी र अंग्रजी भाषाको दब्दबा थियो । मोतीराम भट्टजस्ता व्यक्ती नजन्मिएका भए नेपाली भाषाको अवस्था आजको अवस्थामा आइ पुग्ने थिएन । नेपाल नै टुक्राटुक्रा राज्यहरूमा विभाजित अवस्थामा थियो । बिभिन्न जातजातीका आफ्नै भाषाहरू थिए । अंग्रेजको साम्राज्य सन्सारभरी फैलनै क्रमजारी थियो । यस्तो अवस्थामा भाषा साहित्य र संस्कृतिले सबै नेपाली मनहरूलाई एउटै मालामा जोड्ने धागोको काम गर्यो । यसरी मोतीराम भट्टकै प्रयास र पहलबाट नेपाली भाषाले अंकुराउने र बढ्ने अवशर प्राप्त गर्यो ।

मोतीराम भट्ट तीस बर्षमात्र यस धरामा रहे । उनले नेपाली साहित्य र सामाजिक क्षेत्रमा मात्र पन्ध्र बर्षको समय लगाउन पाए । तर त्यो पन्द्र बर्षमा उनले गरेको समय सयौँ बर्ष जीवित रहेर पनि गर्न नसक्ने गरी गरेका छन् । उनी नेपालका पृथ्विनारायण शाह जस्तै हुन । पृथ्वीनारायण शाहले भौगोलिक र प्रकाशनिक स्थलहरूलाई जोडेर सिंगो नेपाल बनाए भने मोतीरामले नेपालीहरूका छरिएर रहेका मनहरूलाई भाषा र संस्कृतिलाई जोडेर नेपालीभाषीहरूलाई अतिक्रमणबाट जोगाए । नेपाली साहित्यको प्रचारप्रसार गरेर नेपालीहरूलाई एउटै सूत्रमा जोडी दिए ।

संसारमा यस्ता प्रतिभावान व्यक्तीहरू कमैमात्र पाउन सकिन्छ । जो योधरामा छोटो समय बाँचेर पनि सन्सारभरका मानिसहरूका मनमा बस्न सफल बन्दछन् । भारतका भारतेन्दु हरिशचन्द्र ३५ बर्ष मात्र बाँचेका थिए । अष्ट्रेलियाका जोशेफ रोथ ४५ बर्ष बाँचेका थिए । रशियाका आन्तोभ चेकोभ ४४ बर्षमात्र जीवित रहे । त्यस्तै फ्लानरी ओकर्नर ३९, लर्ड बाइरन ३६ ,आर्थर रिमवौड ३७ ,जोन केयट्स २५बाँचेर यो धरामा काव्य सिँचन गरेर सबैसँग परिचित बने । मोतीराम भट्ट मात्र तीस बर्ष यो धरामा रहे । तर नेपाली भाषा रहे सम्म अजर र अमर बनेर रहनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!