यात्रा संस्मरण: रातीराती गयो रातीराती आयो आंधीखोला कस्तो थ्यो ? थाभैन

SHARE:

यात्रा संस्मरण: रातीराती गयो रातीराती आयो आंधीखोला कस्तो थ्यो ? थाभैन
दल बहादुर पुन – बेलायत

राती २ बजे जाने सल्लाह गरेर ९ बजेतिरै बिस्तारामा पल्टिएँ, केको निन्द्रा लाग्नु नी! यता फर्कियो उता फर्कियो, समय रातको बाह्र बज्न लागिसक्यो निन्द्रा लागे त मरिजाम। केहि बेरपछि निदाएछु, फेरी केहि बेरपछि झर्ल्यास्स बिउझिएँ, दुइ पो बजिसक्यो कि भन्ने लागेर अतालिदै मोबाइल हेरें बल्ल साडे बाह्र हुन अझै गोराचार मिनेट बांकिरहेछ। थुक्क भन्दै फेरी सुतें, त्यसपछि त केको निन्द्रा लाग्थ्यो र नी! त्यतिकै आँखा चिम्लेर सुतिरहें र एक बज्नै लाग्दा उठेर पानी उमाली चिया पिउदै गर्दा अरु पनि उठे। त्यसपछि हन्स्लो गएर आनुकाकैहरुसंग ५ बज्नअघि साउथहलको बस स्टपमा पुग्यौं। त्यो दिन थियो ३० अगस्त २०२५ को बिहान, हामीहरु ५ दिनसम्म यूरोपतिर घुम्न जाने योजनानुसार त्यहाँ पुगेका थियौं। भन्न त एक पटक छोराबुहारी, छोरीभान्जाहरु, नातीनातिनीहरु र सम्दीसम्दिनीहरु अनि इष्टमित्रहरु सबै मिलेर घुम्न जान पाए हुन्थ्यो भनेर २/४ बर्ष अघिबाट कुरा उठाएकै हो। तर भनेजस्तो कहाँ हुन्छ र, दाउ गर्दागर्दै अन्तमा स्वीन्डनबाट हामी बूढाबूढी र छोराबुहारी अनि हन्स्लोबाट आनुकाकै र बैनी गरि जम्मा ७ जना जाने भयौं। केहि दिनअघि कोल्चेस्टरका दाजुभाईदिदीबैनीहरु पनि गएर फेसबूकमा भिडियो राखेका थिए र हामीसंग पनि अरु कोहि गोर्खाली/नेपालीहरु जाने हुन्छन कि भन्ने आश लागेको थियो। तर साउथहलमा ९ जना र डोभरसम्म पुग्दा थप १२ जना इन्डियनहरु मात्रै थपिएका थिए।

पहिलो दिन – ३० अगस्तको बिहान ५ बजेतिर हामीलाई स्टार टूरको बसद्वारा साउथहलबाट डोभर लगियो र त्यहाँ पहिला ब्रिटिश र त्यसपछि फ्रान्सको कर्मचारीहरुद्वारा राहदानी जाँच भयो। त्यसपछि बससहित रेलद्वारा इङ्लिश च्यानलको समुन्द्रमुनि भएर लगभग ४२ मिनटमा फ्रान्सको डुन्केर्क(?)मा उतारियो। त्यहाँदेखि केहि समय अगाडि गएपछि बिहानदेखि भोकै थियौं, दिनको खाना भयो। त्यसपछि अघि बढ्दै जाँदा फ्रान्सको सीमाना कटेर बेल्जियमतिर लागियो। बेल्जियमको राजधानी ब्रसेल्समा पुगेर त्यहाँ सन् १९५८ मा भएको विश्व मेलाको अवसरमा प्रदर्शनको लागि बनाइएको अटोम्युम (पहिला त नाइन अस्ट्रनट भनिन्थ्यो)मा गएर जम्मा २० मिनट फोटो खिच्ने मौका पाइयो। टाडाबाट हेर्दा गाउँघरको रोटेपिङ्/चमच्चा जस्तै देखिने र आँखा नै तिर्मिर्याउने गरि टल्किने नौंवटा ठूल-ठूलो गोलो गोलो देखिन्थ्यो। त्यो गोलो गोलोलाई एक आपसमा ढुंग्रो जस्तोले जोडेको थियो र भनाइ अनुसार त्यो ढुङ्ग्रोजस्तो भित्रभित्रैबाट एक आपसमा जाने बाटो छ। अनि त्यो गोलो गोलोभित्र कुनैमा अफिस, कुनैमा रेस्टुरेन्ट त कुनैमा पुस्तकालय इत्यादि छ भन्न सुनिएको हो। तर त्यहाँ भित्र गएर हेर्ने त होइन बसबाट झरेर टोइलेट जाने र त्यो गोलो गोलोको अलि तलैबाट हतार हतार फोटो खिचेर आउन पनि बिस मिनटमा असम्भव नै भयो। त्यहाँ एक जना भारतीय कता अल्मलिएछन झन्डै १० मिनटजति पर्खिन पर्यो। ऊ आएपछि हाम्रा गाइडले ‘यो इन्डियाजस्तो होइन यूरोप हो, टायममा चल्नु पर्छ’ भन्दै कति हिन्दी र कति अंग्रेजी मिसाएर बोल्दै सम्झाए र हामीलाई पनि टायमको ख्याल गर्न सतर्क गराए। त्यहाँ ब्रसेलमा पनि इन्डियाबाट आएका हामीजस्तै केहि घुमन्तेहरु थपिएका थिए र हामी जम्मा ४८/४९ जनाजति भएका थियौं। त्यहाँदेखि अघिबढ्दै जाँदा अरु त मजाले निदाएको देखिन्थ्यो। आफू भने झ्याप्प निदाउनासाथ फेरी झर्ल्यास्स बिउझियो त्यसपछि निन्द्रै नलाग्ने, के भएको हो कुन्नि! त्यसो गर्दै गएर बेल्जियमको सीमा पारगरी फेरी फ्रान्सभित्र छिरेर स्ट्रस्बर्गमा बेलुकीको खाना खाइ सुत्नको लागि होटलतिर लगियो।

बेल्जियमको सामान्य छोंटो जानकारी
पश्चिम युरोपमा अवस्थित एउटा सानो देश हो बेल्जियम। यसलाइ उत्तरमा नेदरल्याण्ड, पूर्वमा जर्मन र लक्जम्बर्ग, दक्षिणमा फ्रान्स र पश्चिममा पनि फ्रान्स र उत्तरी महासागरले घेरिएको छ। जम्मा ३०५२८ वर्ग किलोमिटर क्षेत्रफल भएको सानो देश भए तापनि त्यहाँको जनसंख्या १ करोड ११ लाखभन्दा बढी छ। बेल्जियम राजतन्त्रात्मक लोकतान्त्रिक शासन व्यवस्था भएको धर्म निरपक्ष देश हो र यसको राजधानी ब्रसेल्स हो। बेल्जियमले सन् १८३० मा नेदरल्याण्डबाट स्वतन्त्रता भएर १८३९ मा बल्ल मान्यता पाएको थियो। बेल्जियमको औपचारिक भाषा डच, जर्मनी र फ्रान्सेली हो र अंग्रेजी त अन्तरराष्ट्रिय भाषा नै भयो।

दोस्रो विश्वयुध्दको समयमा रणभूमि बन्न बाध्य भए तापनि युध्दपछि बेल्जियमले छिट्टै आर्थिक समृध्दि ल्याएको कारण पश्चिमी यूरोपमा एक उदाहरणिय देश बन्न पुगेको छ। छिमेकी राष्ट्रहरुसंग एकापसमा पहिलेदेखि नै लडाई गर्दै आउन परेको र दुइ वटा विश्वयुध्दहरुको दर्दनाक मार खेपेको स्मरण गर्दै बेल्जियमले अब उप्रान्त कहिल्यै पनि र कुनै राष्ट्रहरुसंग पनि लडाई गर्न नपरोस। बेल्जियमका जनताले आपत बिपतको सामना गर्नुको साथै व्यार्थमा ज्यान गुमाउन नपरोस र हरेक व्यक्ति स्वतन्त्रताको साथमा बाँच्न पाउन भन्ने परिकल्पना गरेर युरोपेली सङ्गठनको अवधारणा ल्याउने बेल्जियम नै थियो। त्यसैले अहिलेसम्म सबै युरोपेली राष्ट्रहरुसँग राम्रो सम्बन्ध राख्दै आइरहेको छ। यहाँको हीरा, चकलेट र बियर संसारभरि प्रसिध्द मानिन्छ।

विभिन्न ग्रहहरुको ठक्करबाट पृथ्वी बनेको थियो भनेर ‘बिग ब्याङ थ्योरी’ पत्ता लगाउने विश्वप्रसिद्ध वैज्ञानिक जर्ज लिमेत्री यहिं बेल्जियममा जन्मिएका थिए। विश्वका प्रख्यात खेलहरुमध्ये एक मानिएको क्रिकेट खेल बेलायतको थिएन, भनिन्छ क्रिकेट खेलको जन्मदाता पनि बेल्जियममा नै जन्मिएका थिए। जो सन् १५३३ मा बेलायत गए र उनीबाट नै बेलायतीहरुले क्रिकेट खेल्न सिकेका थिए।

यूरोपियन युनियन र उत्तरी एटलान्टिक सन्धि सङ्गठनको मुख्यालय यहि भएको हुनाले बेल्जियमलाई युरोपको राजधानी पनि भन्ने गरिन्छ। साथै अमेरिकाको न्युयोर्कपछि विश्वमै सबैभन्दा बढी अन्तर्राष्ट्रिय मुख्यालयहरू भएको कारणले बेल्जियममा ट्राफिक समस्या छ । राजधानी ब्रसेल्समा मात्र १ सय २० वटा अन्तर्राष्ट्रिय मुख्यालयहरु, २४ सयभन्दा बढी निजी अन्तर्राष्ट्रिय संघ–संस्थाहरु र १ सय ८० वटा विभिन्न देशका राजदूतावासहरु रहेका छन्। अझ नेटो र युरोपेली संगठनको मुख्यालयसमेत यहीं भएपछि एउटा सानो देशमा यति धेरै संघ–संस्थाहरुका गाडी र स्थानीयहरुको गाडी गुड्ने ब्रसेल्सका सडकहरुमा जाम नहुने त कुरै भएन नी। चीनको पर्खाल चन्द्रमाबाट देखिन्छ रे भन्न सुनिएको थियो, अहिले फेरी बेल्जियमको सडक पनि चन्द्रमाबाट देखिन्छ भन्दा रहेछन।

सन् १९६३ मा नेपाल र बेल्जियमको मैत्री सम्बन्ध स्थापित भएको पाइन्छ र अहिले करिब १५ हजारभन्दा बढी संख्यामा नेपाली भाषीहरू यहाँ अस्थायी स्थायी रुपमा बस्दै आइरहेका छन्। उनीहरुले विभिन्न संगठनहरु स्थापना गरेर बेला बेलामा नेपालको पर्यावरणीय सुन्दरता झल्किने चित्रकला, हस्तकलाको साथै संस्कृति सम्बन्धी डकुमेन्ट्रीसमेत प्रदर्शन गर्ने र बिशेषगरी चिया कफीलगायत नेपालको पर्यटन प्रबर्द्धनका निम्ती विभिन्न स्टलहरू राखेर प्रदर्शन गर्ने पनि गर्दै आएका छन्। बेल्जियममा बस्ने नेपालीहरुले संगठन खोलेर आपत बिपतको बेला एकापसमा सहयोग आदानप्रदान गर्ने मात्रै होइन स्वदेशमा पनि आपत परेको बेलामा धेरै थोरै आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आएका छन्। गत बर्ष २०२४ मा भएको स्थानीय निकायको निर्वाचनमा त दुई जना नेपालीमूलका उम्मेदवारहरुले नयाँ इतिहास रच्दै निर्वाचित पनि भएका छन्। बेल्जियममा नेपालीहरु बस्न शुरु गरेको तीन दशक यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा ११ जना नेपालीमूलका उम्मेदवार बनेका थिए। तर ब्रुगे नगरपालिकाको सदस्यमा प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा सूर्य ढकाल निर्वाचित भएका छन्।

एनआरएनए बेल्जियम र बेल्जियम नेपाल फ्रेन्डशिप एसोसिएसनको संयुक्त आयोजनामा भएको नेपाली महोत्सव २०१४ को कार्यक्रममा आमन्त्रित ‘साउथ फोंन्टिन नगरपालिकाका मेयरले बेल्जियमको स्वतन्त्रताका लागि ७ हजार गोर्खाले बलिदान दिएको बताएका थिए’।** उनीहरु विश्वयुध्दको समयमा ब्रिटिशको तर्फबाट जर्मनबिरुध्द लडाई गर्न त्यहाँ पठाइएका गोर्खालीहरु थिए। त्यस्तै २०७१ भाद्र २५ गते प्रथम विश्वयुद्वको शतवार्षिकी कार्यक्रममा ईयु तथा बेनेलक्सका लागी नेपाली दूतावास राममणि पोखरेलज्युले बेल्जियमको ईपर युध्द स्मारक स्थलमा गोर्खा सैनिकको एउटा प्रतिमा स्थापना गर्न लागिरहेको जानकारी गराउनु भएको पत्रिकामा पढ्न पाइयो। यो धेरै खुशीको खबर थियो, शायद त्यो प्रतिमा बनिसकेको होला।

बेल्जियम स्वतन्त्रताका लागि सातहजार गोरखाको बलिदानी! वीनेपाली २०७१ असोज २३ गते
दोस्रो दिन – ३१ अगस्तको दिन बिहानको खाजा खाएपछि बस कुद्न थाल्यो र केहि समयपछि हामीलाई फ्रान्सको सीमा पारगरी जर्मनभित्र प्रवेश गरेको जानकारी गराईयो। केहि टाडा पुगेपछि बस रोकेर हामीलाई त्यहाँको सानो बजार घुमफिर गर्ने मौका दिइयो। त्यस क्षेत्रलाई ब्लाक फरेस्ट भनिदो रहेछ। त्यहाँ एउटा दोकानभित्र भित्ताभरि कप्पू घडी झुन्डाइएको थियो, बिचरा त्यहाँका साहुजीले निकै खुशी हुदै हामीलाई कप्पू घडीको बारेमा जानकारी दिए। कप्पू घडी हरेक घण्टा जति बज्छ त्यति पटक नै सानो प्वालबाट कप्पू चरी (को आकृति) निस्किएर कराउछ भने कुनै घडीमा कप्पू चरीको आवाजमात्रै आउछ। प्राय: कप्पू घडीहरु घरको आकारमा र केहि घडीहरु अन्य विभिन्न आकारमा बनाएर सजाएको देखिन्थ्यो। त्यो ऐतिहाँसिक घडी थियो, जुन १८औं शताब्दीको मध्येतिरदेखि प्रचलनमा आएको रहेछ र हालमा पनि जर्मन, अस्ट्रिया, स्विजरल्याण्ड र पूर्वी फ्रान्समा लोकप्रिय नै रहेछ। हामीले त्यहाँका साहुजीबाट कप्पू घडीको बारेमा कथा सुनियो हेरियो, तर कसैले पनि किनेको देखिएन। अहिलेको जमाना र अहिलेको पुस्तालाई त्यो ऐतिहाँसिक भए तापनि नौलो कुरा भएन। त्यसपछि हामी त्यहाँ अन्य दोकानतिर पनि हेर्दै अलि तलतिर गयौं, जहाँ त्यहाँको दृश्य देख्दा मलाई ठ्याक्कै पोखरा फेवातालको झझल्को लाग्यो। केहि तल फेवातालभन्दा अलि सानो ताल, जसको नाम तितिसी रहेछ, त्यसको वरपर र पारि पाखाहरु फेवा तालको जस्तै हरियाली बनजंगल भएको डांडाहरु, तालको किनारमा सफर गर्न तयारी अवस्थामा राखिएको लहरै हाते डुङ्गाहरु। तालको छेउदेखि नै बाटोको दायाँबायाँ लहरै बिक्रीको लागि राखिएको सम्झनाको सामानहरु र होटलहरु।

हामी त्यहाँ केहि समय स्वेच्छाले घुमफिर गरेपछि गाइडले दिएको समयमा दिउसोको खाना खाएर फेरी बाटो लागियो। निकै अगाडि पुगेपछि बसबाट देखिने अग्लो अग्लो डांडाकाँडाहरु हराउदै गएर थुम्काथुम्की देखिन थाल्यो। मौसम सफा र घाम लागेको थियो, समथल भूभागको हरियो चौरमा पर परसम्म कतै गाई र भेंडाहरु चरिरहेको त कतै खेतीबाली लगाएको अति राम्रो र लोभ लाग्दो दृश्यहरु देखिन्थ्यो। केहि बेरपछि राइन रिभर पनि देखियो, स्विजरल्याण्ड आइपुग्ने बेला भएर होला जर्मनको अन्तिम भागहरु पनि अति रमणीय दृश्यहरु हेर्दै जर्मनको सीमा पार गरेर हामीलाई स्विजरल्याण्डमा प्रवेश गराइयो। आहा! त्यसै स्विजरल्याण्ड भनिएको रहेन छ। प्राकृतिक भू-बनावट हाम्रै पहाडखण्डभन्दा फरक छैन, तर त्यहाँको मानव बस्तिको फरक शैलीले सुनमा सुगन्ध थपेको थियो। हाम्रो पहाड खण्डमा गाउँ र घरको वरिपरी खेतीबाली हुन्छ भने त्यहाँको पाखा पखेराहरुमा घर गाउँ र मैदानमा खेतीबाली, क्या गजब। मलाई एउटा अचम्म लागेको कुरा चाहिं उस्तै भू-बनावट भएको हाम्रो पहाडखण्डमा वर्षाको समयमा धेरै झरी पर्यो भने पाखा पखेराहरुमा बिरालोले कोत्रेको जस्तो ठाउँ ठाउँमा पहिरो गएको देखिन्छ। तर उस्तै पहाडखण्ड भएको स्विजरल्याण्डमा पहिरो भन्ने कतै देखिएन। बर्षाको बेलामा धेरै झरी नपर्ने भएर हो या त्यहाँका पाखापखेराहरु बलियो भएर हो अथवा हाम्रो देशमा जस्तो धेरै दरदेवता नभएर पो हो कि! शायद हाम्रा नेताहरु थोरैले मात्रै वास्तविक स्विजरल्याण्ड देखेका होलान र धेरैले स्विजरल्याण्ड कस्तो छ भन्ने प्रत्यक्ष देखेका पनि छैनन् होला। तर एक ताका हाम्रा नेताहरुले ‘नेपाललाई स्विजरल्याण्ड बनाउछौं’ भनेका थिए। बनाउन त बनाए तर स्विजरल्याण्ड होइन विदेशमा निर्यातको लागि स्वीपरल्याण्ड बनाए।

मध्यान्नको समयमा मौसम अति सफा भएको हुनाले हामीले त्यसरी स्विजरल्याण्डको अति रमणीय दृश्यहरु बसद्वारा दायाँबायाँ हेर्दै केहि समय यात्रा गरेपछि राइन नदीको किनारै किनार गएर एक ठाउँमा बस रोकियो। त्यहाँ राइन रिभरको ठूलो झर्ना पर्यटकको बिशेष आकर्षक स्थल रहेछ। हामीलाई बिहानै त्यो राइन रिभरको झरनासम्म इन्जिनवाला डुङ्गामा १५ मिनट र ३० मिनटको अवधिमा जलयात्रा गर्न सकिन्छ र को को १५ मिनटको लागि र को को ३० मिनटको लागि जलयात्रा गर्न चाहने? भनेर सोधिएको थियो। हामी (छोराबुहारी र मैले) १५ मिनटको जलयात्रामा जाने लेखाएका थियौं। त्यसको शुल्क आफैले बेहोर्नु पर्ने रहेछ। इन्डियनहरु पनि धेरै त माथि बस रोकिने ठाउँमा नै र थोरै तल किनारमा झरेर दर्शक बने। त्यो झर्ना धेरै अग्लो त होइन, तर फराकिलो र ठूलोमा यूरोपको पहिलो झर्ना नै रहेछ। हामी डुङ्गाद्वारा झर्नाको नजिक पुग्दा गरम भएको बेलामा झर्नाको फिपले क्या सितल बनाएको थियो! त्यहाँ डुङ्गामा जलयात्रा गर्ने त्यतिकै धेरै, यता जहाँ पर्यटकहरुको बस रोक्ने ठाउँतिर अनि तल पनि त्यतिकै, उता झर्नाको दायाँ बायाँबाट हेर्ने त्यतिकै धेरै दर्शकहरुको घुइचो देखिन्थ्यो। केहि इन्डियनहरुसहित हामी जलयात्रा गरेर बस रोकिएको ठाउँतिर फर्किदै गर्दा त्यहाँ म्याग्दी (दरवाङ) दुखु गाउँका तीन जना (बाउआमा र छोरा) भेटिएका थिए, उनीहरु जर्मनमा बस्दारहेछन र घुम्न त्यता आएका रहेछन।

त्यहाँदेखि फेरी बस घुइकाएर बेलुकीपख लुसैर्न भनिने तालको किनारमा पुर्याइयो, त्यो स्विजरल्याण्डको चौथो ठूलो ताल रहेछ। हामीलाई त्यो तालको भाग भित्र पसेको तलाउमाथि सन् १३३३ मा बनाएको २०४ मिटर लामो र यूरोपको सबैभन्दा पूरानो पुल स्वेच्छाले हेर्दै डुल्न छोडियो। हामी त्यो काठैकाठले बनेको पुलको दायाँबायाँ लहरै टोकरीमा रङ्गीबिरंगी फूल झुलेको हेर्दै पारि गयौं। पारीबाट फेरी अर्को आधुनिक पुल भएर वारि आइ बजारतिर डुलियो। त्यसपछि गाइडले दिईएको समय र ठाउँमा भेला भयौं। त्यहाँदेखि हामीलाई हिडाएर करिब ३ शय मिटरजति टाडा लगेर पहाडको भित्तामा खोपेर बनाइएको सिंहको ठूलो मूर्ति देखाइयो। र भनियो कि स्विजरल्याण्डको बडो इमान्दार व्यक्ति जो पेरिसको दरवारमा सुरक्षकको कार्य गर्दथे र उनी १७९२ मा भएको फ्रान्ससंगको भिडन्तमा मारिएका थिए। उनैको सम्मानमा त्यो सिंहको मूर्ति बनाइएको भनेर, त्यसको परिकल्पना बेर्तेल थोर्भाल्सेनले गरेका रहेछन । त्यसपछि हामीलाई बसद्वारा हुइकाउदै एन्गुल्बर्ग भन्ने ठाउँमा ल्याएर बेलुकीको खाना र बासको लागि एच+होटलमा लगियो।

जर्मनको सामान्य छोंटो जानकारी
१ सेप्टेम्बर १९३९ को एकाबिहानै पोल्याण्डमाथि हमला गरेर दोस्रो विश्वयुध्दको उत्घाटन त्यहिं जर्मनका तत्कालिन राष्ट्रपति/सेनापति हिटलरले गरेका थिए। पश्चिममा मुख्य जर्मन र इटली अनि पूर्वमा जापानले १९३९ देखि १९४५ सम्म विश्वलाई नै आछुआछु पारेका थिए। सम्भव त अमेरिकाले जापानमा दुइ वटा बिनाष्कारी बम नखसाली दिएको भए लडाई अझ केहि समय लम्बिने थियो होला। तर अमेरिकाले उता जापानलाई हात उठाउने बनाउने र यता यूरोपमा जर्मन कम्जोर हुदै जाने गरेपछि दोस्रो विश्व्युध्द अन्त्य भएको थियो। अहिले पनि यूरोपका प्रमुख औद्योगिक तथा विकसित देशहरूमध्ये अग्रस्थानमा गनिएको छ जर्मन। जर्मन १६ वटा राज्यहरु मिलेर बनेको छ र यसको राजधानी बर्लिन हो। युरोपको उत्तर-मध्य पश्चिममा अवस्थित छ जर्मन। यसको उत्तरमा उत्तरी सागर, डेनमार्क र बाल्टिक सागर, पूर्वमा पोल्याण्ड र चेक गणतन्त्र, दक्षिणमा (अल्प्स पर्वतहरू) अस्ट्रिया र स्विजरल्याण्ड अनि पश्चिममा फ्रान्स, लक्जम्बर्ग, बेल्जियम र नेदरल्याण्डको सीमानाले घेरिएको छ। जर्मन ३,५७,३८६ वर्ग किलोमिटर भूभागमा फैलिएको छ र आकारको हिसाबले युरोपको सातौँ ठूलो राष्ट्र पनि हो। जर्मनको जनसंख्या (२०२३ अनुसार) ८ करोड ४७ लाख रहेको छ। यो यूरोपेली संघको संस्थापक सदस्य र सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। साथै जर्मन संसारको तेस्रो ठुलो आप्रवासी (२०.२ मिलियन अथवा जनसंख्याको लगभग २३% गैर-जर्मन) भएको देश पनि हो। यहाँको भाषा जर्मन र धर्म क्रिश्चियन हो। ईशा पूर्व १०० बर्षभन्दा पहिलेदेखि नै जर्मनिया भन्ने मानिसहरु त्यहाँ बस्दै आएको हुनाले त्यसैबाट देशको नाम नै जर्मन रहन गएको हो भनिन्छ।

दोस्रो विश्वयुध्दमा नेतृत्व लिएको जर्मनको हार भएपछि बिपक्षी राष्ट्रहरुले पूर्व र पश्चिम गरि जर्मनलाई दुइ भागमा विभाजित गरिदिएका थिए। त्यसपछि पूर्वी जर्मन प्रजातान्त्रिक गणतन्त्र र पश्चिमी जर्मन सङ्घीय गणतन्त्र भएका थिए। १९९० मा पुन: एकीकरण हुनुको साथै अहिले सङ्घिय गणतन्त्र प्रणाली शासन स्थापित भएको छ। जर्मनमा धेरै असाधारण लेखक, कलाकार, वास्तुकार, सङ्गीतकार र दार्शनिक व्यक्तिहरु जन्मिएका थिए र छन्। त्यसैगरी निर्माण तथा औध्योगिक क्षेत्रमा पनि जर्मन विश्वको अग्र स्थानमा रहदै आएको छ। स्टील, अटोमोबाइल, इलेक्ट्रिकल इन्जिनियरिङ, रसायन इत्यादि उध्योगहरूमा उत्कृष्टता हासिल गर्दै आएको छ। जर्मनमा उत्पादित बीएमडब्लु, भल्क वागन र मर्सिडिज बेंजजस्ता उत्कृष्ट कारका ब्रान्डहरूले अन्तर्राष्ट्रिय बजारमा प्रभुत्व जमाउदै आएको छ। २०२२ मा मात्रै जर्मनले ३६७७८२० वटा कारहरू निर्माण गरेको थियो। जर्मनको १/३ भूभाग अथवा लगभग ११.४ मिलियन हेक्टर भूभाग जंगलले भरिएको छ।

नेपाल र जर्मनबिच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा विकसित हुदै आएको छ । जर्मन सरकारले विभिन्न समयमा नेपाललाई धेरै सहयोगहरु गर्दै आएको छ। अन्य यूरोपेली देशहरुमा जस्तै जर्मनमा पनि हाम्रा नेपालीहरु विभिन्न कारणले स्थायी या अस्थायी रुपमा बस्दै आएको भए तापनि कति छन् भन्ने तथ्यांक थाहा हुन सकेन।

तेस्रो दिन – १ सेप्टेम्बरको बिहान अरु दिनभन्दा अलि छिटो बिहानको अर्नी खाइसकि ७ बजे नै होटलबाट निस्किएर नजिकै करिब १०/१२ मिनटको बस यात्रापछि केवलकार स्टेशनमा पुर्याइयो। तर हिजो बेलुकी त्यति सफा देखिएको मौसम अभाग्यबस त्यस बिहान केहि माथिदेखि ड्याम्म भुँइकुइरो लागेको थियो। त्यै पनि योजनानुसार हामी प्रत्येकलाई टिकेट बाँडियो र केबलकारद्वारा उकालो लागियो। करिब शय मिटरजति माथि पुग्दा नै भुँइकुइरोको घुम्टोभित्र पसियो, अझ सिमसिम पानी पनि पर्दै थियो। त्यस्तैमा कहिले उकालो त कहिले सम्म ठाउँतिर हुदै माथि स्टेशनमा पुगेर उत्रियौं। त्यहाँदेखि फेरी अर्को ठूलो खालको धेरै जना अट्ने केबलकारमा चढेर जाँदै गर्दा सबैतिरको दृष्यावलोकन गर्नको लागि केबलकारको डब्बा नै बिस्तारै घुम्दोरहेछ। तर के गर्नु! अभाग्यबस भुँइकुइरोले लपक्कै छोपेर केहि देखिने होइन। त्यसरी माथि दश हजार फीटको उचाईमा भएको अन्तिम स्टेशन टित्लिसको डाँडामा पुगेपछि बाहिर निस्किएर घुमफिर गर्ने र टाडा टाडासम्मको राम्रोराम्रो दृश्यहरु अवलोकन गर्दै क्यामेरामा कैद गर्नु पर्ने । त्यसपछि त्यहाँदेखि अर्को केवलकार जसमा गोलो डब्बा नभै तेर्सो बेन्च जस्तोमा लहरै बसेर सेफ्टी बेल्ट लगाई दृष्यावलोकन गर्न पाइन्छ भनिएको थियो। तर मौसमले गर्दा हाम्रो लागि त्यो रहरहरु सबै ढ्वांङमा गयो।

नजिकैतिर झलाक झुलुक भुइँकुइरो फाटेर देखिदा पनि आङ्नै सिरिङ्ग हुने डर लाग्दो भीर देखिन्थ्यो। त्यहाँ त्यसै त भुँइकुइरोले लपक्कै छोपेको झन् सिमसिम पानी पर्ने र चिसो हावा चलेपछि त्यो हिउँमा बस्नु सकिएन र हामी त स्टेशनभित्र नै फर्कियौं । तर केहि इन्डियनहरु भने त्यस्तो अवस्थामा पनि डुल्न निस्किएका थिए। त्यो अन्तिम स्टेशनमा सम्झनाको सामानहरु र चिया कफीको लागि रेस्टुरेन्टहरु पनि थियो अनि त्यहाँका स्थानीय बासिले लगाउने पोशाक लगाएर फोटो खिच्ने ठाउँ पनि थियो। हामीले अरु घुम्न गएका टोलिहरुलाई पर्खिएर बस्नु सकिएन र उनीहरु नआउदै फर्किएर तलै केवलकारको स्टेशनमा आयौं । हिजोको राइन रिभरको झर्नामा डुङ्गाद्वारा छोंटो जलयात्रा गर्ने र आजको त्यो माथि टित्लिस डाँडादेखि अर्को केवलकारमा बसेर दृश्य अवलोकन गर्ने आफ्नै गोजीको खर्च थियो, दुवै ठाउँको गरेर प्रतिव्यक्ति ३२ पाउण्ड थियो। राइन रिभरमा त हामी तीन जनाले मात्रै सफर गरेका थियौं, तर टित्लिस डांडादेखि अर्को केवलकारमा बसेर दृष्यावलोकन गर्न हामी सबैको लागि टिकट काटिएको थियो, त्यो भ्रमण ब्यार्थै भयो। हामी जान नसक्ने त होइन त्यस्तो मौसममा गएर के हेर्नु! भनेर हामी आफै नगएपछि टिकटको पैसा फिर्ता माग्ने कुरा पनि भएन। पछि इन्डियनहरु सबै तल आइसकेपछि बसद्वारा फर्किएर दिउसोको खाना खान रेस्टुरेन्टतिर लगियो।

खानापछि बस घुइकाएर हामीलाई इन्टरलेकनतिर लगियो, निकै टाडा रहेछ र पनि राइन रिभरको झन्डै समानान्तर परेको हुनाले पारीको लोभ लाग्दो दृश्यहरु र नदीमा त्यसको प्रतिबिम्बित भएको मनैभरि जम्मा गर्दै मध्यान्नपछि इन्टरलेकन पुगियो। त्यहाँ सानो बजार रहेछ, राम्राराम्रा फूलहरु फूलेको बगैचा र त्यसको एक छेउमा इन्डियन फिल्म मेकर स्व. यश चोप्राको मुर्ति २०११ मा बनाएर सजाइएको रहेछ। उनी र उनको टोलीले कुन फिल्म हो र कुन सालमा हो (त्यो मलाई थाहा भएन) शुटिङ गर्न त्यस क्षेत्रमा गएका रहेछन। त्यो फिल्म हेरेपछि त्यहाँको लोभ लाग्दो दृश्य हेर्न धेरै इन्डियनहरु त्यहाँ पुगेको र स्विजरल्याण्डको अझ महत्व बढेको कुरा हाम्रा गाइडले बताएका थिए। यश चोप्राको जन्म १९३२ मा र मृत्यु २०१२ मा भएको रहेछ। उनले धेरै इन्डियन फिल्महरु बनाएका रहेछन्। त्यहाँ उनको मुर्ति अंगालेर फोटो खिच्न हाम्रा सहयात्री इन्डियन मित्रहरुको ताँती नसकिएपछि हाम्रा टोलि अर्को ठाउँतिर डुल्न गए। मैले हतार हतार मुर्तिको एक क्लिक गर्न भ्याएँ। त्यहाँदेखि अलि पर भएको खुला मैदानमा प्याराजम्प पनि हुदै थियो।

सुन्दरताले विश्वमा नाम चलेको देशहरुमध्ये अग्रस्थानमा आउछ होला स्विजरल्याण्ड। तर त्यहाँको सार्वजनिक सौचालय प्रयोग गर्न पनि एक जनाले एक यूरो मेशिनमा खसालेपछि मात्रै भित्र छिर्न पाइने। हामी जस्ता बृध्दबृध्दाहरु जसले त्यहाँ लेखिएको अंग्रेजी पनि पढ्न आउदैन र पैसा पनि चिनिदैन त्यसता व्यक्तिका लागि भने निकै समस्या हुने देखियो। हाम्रा सहयात्रीहरु चेनाई (इन्डिया)बाट गएकाहरु पनि त्यस्तै रहेछन बिचराहरु। एक जनाले हातमा यूरोको विभिन्न सिक्काहरु देखाउदै आफ्नै भाषामा हाम्रो छोरालाई सोधेका थिए। त्यै पनि लाम लाग्नु पर्ने, यूरो नपुगेपछि एक जना साथीसंगै जान लागेका थिए, तर मेशिनले रोकिदियो लाज मान्दै फर्किए बिचरा।

त्यसपछि फेरी बसद्वारा जेनेभा ताकेर अगाडि बढियो, बेलुकीपख जेनेभा शहरमा पुगियो। तर केहि अगाडिबाट पानी पर्न शुरु गरेको हुनाले त्यहाँ झरेर फोटो लिन सकिएन। त्यै पनि अलि अलि रुझ्दै भए पनि मैले बगैचामा भएको घडीको फोटो लिएँ। त्यस्तै खालको घडी १९७१ सालमा पश्चिम अस्ट्रेलियाको राजधानी पर्थको एउटा बगैंचामा देखेको थिएँ र त्यहाँको घडीको सुइमा पनि फूल सारेर फूलेको घुमिरहेको थियो। तर जेनेभाको बगैंचामा भएको घडीको सुइहरु साधा थिए। त्यो घडी १९५५ मा बनाइएको रहेछ। त्यहाँदेखि केहि पर बाटोको छेउमा एउटा ठूलो कुर्ची बनाइएको रहेछ, तर अगाडिको एउटा खुट्टा भांचिएर तीनवटा खुट्टाले अडिएको। त्यो कुर्चीको एउटा खुट्टा भाँचिएको बनाउनुको अर्थ युध्दमा भूमिगत विष्फोटकमा परेर खुट्टा गुमाउन परेको सिपाहीहरुको सम्झनामा बनाएको अरे। त्यहाँदेखि अलि पर एउटा ठूलो दह (हो या समुन्द्रको भाग भित्र पसेको हो)मा बिजुलीले तानेर १४० मिटरसम्म माथि पानीको फोहरा फालेको पनि देखिएको थियो। तर पानी परेको कारणले अलि नजिक गएर फोटो लिन सकिएन। त्यसपछि हामी बसमा अघि बढ्दै जाँदा संयुक्त राष्ट्र संघको विभिन्न मुख्यालयहरुको पनि फोटो लिन पाइदो रहेछ। तर झरिले गर्दा बसमा जाँदाजाँदै गाइडले बर्णन गर्दै देखाएका थिए र त्यहाँ संयुक्त राष्ट्र संघमा आवध्द सबै राष्ट्रहरुको झन्डी फहराईएको छ भनियो मात्रै देख्न सकिएन। त्यसपछि पानी परिरहेकै थियो र रात पनि पर्न लागेको हुनाले रेस्टुरेन्टमा खाना खाएर होटलतिर लगियो।

स्विजरल्याण्डको सामान्य छोंटो जानकारी
युरोपको मुटुमा रहेको स्विजरल्याण्डको क्षेत्रफल ४१२८५ वर्ग किलोमिटर अथवा हाम्रो देशभन्दा साँढे तीनगुणा सानो रहेछ। त्यहाँको जनसंख्या २०२१ को गणनानुसार ८७ लाख र त्यसमध्य पनि करिब २० प्रतिशतजति आप्रवासी रहेछन। स्विजरल्याण्डको राजधानी वर्न हो। स्विजरल्याण्ड पनि नेपालजस्तै हिमाल, पहाड र केहि समथल भूभागहरु मिलेर बनेको भूपरिवेष्टित देश भए तापनि त्यहाँका नेता तथा जनताले प्राकृतिक श्रोतको महत्व बुझेर सदुपयोग गरे। त्यसैले आज संसारले चिनेका छन्। भनिन्छ स्विट्जरल्याण्ड साँस्कृतिक, अर्थतन्त्र र लोकतन्त्रको एउटा सानो संसार नै हो, जसले एउटा सानो देश कसरी विश्वव्यापी स्तरमा यति ठूलो फट्को मार्न सक्यो भन्ने उदाहरण दिएको छ। स्विट्जरल्याण्डमा संघीय प्रणाली छ र २६ वटा (क्यान्टोन) जिल्ला या नगरहरु मिलेर बनेको छ। प्रत्येक क्यान्टनको आफ्नै संविधान, सरकार र पुलिस बल छ। प्रत्येक क्यान्टनको आफ्नै विधायिका छ र संघीय सभाले संघीय विधायिकाको काम गर्दछ। सात सदस्य भएको संघीय परिषद स्विट्जरल्याण्डको संघीय कार्यकारी शाखा हो। अन्य देशहरूको विपरीत स्विट्जरल्याण्डमा राज्यको प्रमुख वा सरकारको प्रमुखको रूपमा एक व्यक्ति मात्रै छैन। संघीय अध्यक्षको पद वार्षिक सात काउन्सिलरहरू बीच घुमिरहन्छ, त्यस अनुसार यस वर्षको उपाध्यक्ष अर्को वर्ष अध्यक्ष बन्छ।

स्विट्जरल्याण्डले प्रत्यक्ष लोकतन्त्रमा आधारित राजनीतिक प्रणालीको विकास गरेको छ। हरेक नागरिकहरूलाई जनमत संग्रहमार्फत आ-आफ्नो राय सुझाव राख्न प्रत्यक्ष भाग लिने अवसर मिलाएको छ। त्यसले नेता तथा कर्मचारीहरूलाई देशको बिकाश कसरि गर्ने एउटा महत्वपूर्ण दिशा निर्देश दिन्छ र उनीहरुले जनताले दिएको सोहि बाटो पछ्याउदै बिकाश गर्छन। कुनैपनि नागरिकले कुनै पनि विधेयक पेश गर्न पाउछन, तर हाम्रो देशमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदले मात्रै पेश गर्न पाउंछन। स्विजरल्याण्डले चमत्कारिक प्रगति गर्नुको पछाडि शासकहरुको इमान्दारीता नै हो, जहाँ भ्रष्टचार शुन्य छ, प्राकृतिक स्रोतसाधनको भरपूर सदुपयोग र जनताप्रति शान्त र सुरक्षाको प्रत्याभूति सरकारले गराएको छ। स्विजरल्याण्डका जनताहरु खुशी र सुखी देशको सूचीमा अग्रपंक्तिमा आउँछन्। त्यसैले त अन्तराष्ट्रिय स्तरका ठूल्ठूला संघ-संस्थाहरु स्विजरल्याण्डमा थुप्रिएका छन। यस्तो हुनु स्विजरल्याण्ड सरकारको कार्यप्रति विश्वको विश्वास जीत्नु हो। देश समृद्ध हुनको लागी कुनै एक कारणले मात्र पर्याप्त नभएर थुप्रै कुराहरुको सन्योजनले देश विकास हुदोरहेछ। त्यसमध्य मुख्य त देशका शासक इमान्दार हुनु जरुरी छ, शासक इमान्दारी भैदिए जनता पनि उत्तिकै इमान्दार हुन्छन र हुनुपर्छ। स्विजरल्याण्डका जनताले इमान्दार नेतृत्व चुन्नको लागी व्यक्तिगत हितभन्दा समग्र देशको लागी सोचेर आफ्नो नेता छान्ने गर्छन। त्यसरी चुनिएका नेताहरुले पनि नियम-कानुनलाई मेरुदण्ड मान्दै जनचाहना अनुरुप शासन गर्छन्। त्यसैले त आज नेपालमा जस्तैं प्राकृतिक सौन्दर्य भएको देश स्विजरल्याण्डको विश्वमा कत्रो ठूलो शान छ।

स्विट्जरल्याण्डको सरकारले पर्यटकको लागि रमणीय दृश्यावलोकन गर्न ठाउँठाउँमा अत्याधुनिक सुबिधाको व्यवस्था गरेको छ। हिमाल र पहाडको अति अफ्ठ्यारो ठाउँहरुमा समेत धुँवारहित रेल, केबलकार र तालतलैयामा डुगा तथा सानो पानीजहाजको संजालले पर्यटकहरुलाई थप आकर्षण मात्रै होइन त्यी ठाउँहरुमा पुग्न सबै प्रकारका पर्यटकहरुको लागी व्यवस्था मिलाएको छ। त्यसले विश्वभरबाट दृश्यावलोकन गर्न आउने आगन्तुकहरुबाट देशलाइ वार्षिक अरबौं आय आर्जन हुन्छ।

त्यस्तै त्यहाँको आधिकारिक भाषा जर्मनी, फ्रान्सेली, इटली र रोमनी बहुभाषिक भएको देश पनि हो स्विजरल्याण्ड। त्यहाँ बिबिध भाषि र सांस्कृतिक भिन्नता भएका समुदायहरू शताब्दीयौंदेखि एकसाथ रहदै र बस्दै आएका छन्। र पनि आ-आफ्नै परम्परा चालचलन र सांस्कृतिक निरबिबाध रुपमा विकास गर्दै आउदा त्यसले राष्ट्रिय पहिचानमा ठूलो योगदान पुर्‍याइरहेको छ। स्विट्जरल्याण्डको कुनै पनि भागमा स्थानीय भाषाबाहेक अंग्रेजी, जर्मनी र फ्रान्सेली भाषा व्यापक रूपमा बोलिने दोस्रो भाषाहरूको रुपमा रहेको छ।

स्विट्जरल्याण्डमा विश्व प्रतिष्ठित उद्योगहरु छन्। जसमध्य रोलेक्स, ओमेगा, पाटेक, फिलिप र स्वैचजस्ता ब्रान्डको घडीहरू उत्पादनमा विश्वव्यापी अग्रस्थानमा रहेको छ। भनिन्छ जेनेभा र न्युचेटेल शहरमा १६औं शताब्दीदेखि नै घडी बनाउने कला बिकशित हुदै आएको थियो। स्विजरल्याण्डमा अर्को अचम्मको कुरा के छ भने संग्रहालय भन्नासाथ हाम्रो मानसपटलमा त्यहाँ पूरानो र महत्वपूर्ण सामानहरु जम्मागरी राखिएको हुन्छ भन्ने हुन्छ। तर स्विजरल्याण्डको ज्यूरिच शहरमा संसारकै ठूलो चकलेटको संग्रहालय छ। भनिन्छ त्यहाँ उत्पादन गरेर सजाइएका हरेक बस्तुहरु चकलेटबाट बनेका हुन्छन र त्यहाँको चकलेट सबैभन्दा स्वादिष्ट तथा गुणस्तरीय हुने मानिन्छ। साथै स्विजरल्याण्डका हरेक उद्योग व्यवसायहरूले देशमा रोजगारी, नवप्रवर्तन र आर्थिक स्थिरतामा महत्त्वपूर्ण योगदान पुर्‍याउदै आएका छन्।

अर्को विश्वलाई आकर्षित पार्ने स्विट्जरल्याण्डको बैंक पनि हो। हरेक देशमा साना-ठूला शयौं, हजारौं बैंकहरु होलान। तर विश्वलाई किन आकर्षित पार्छ स्विजरल्याण्डको बैंकले? भन्दा त्यहाँ गोपनीयता र कानून अति सुरक्षित हुन्छ। स्विजरल्याण्डमा संघीय बैंक नियन्त्रण आयोगबाहेक कुनै पनि निकायले खातावालाको बारेमा जानकारी माग्न पाउदैन। त्यसकारण संसारभरीकै मानिसहरुले भ्रष्टाचार गरेको कालो धन स्विस बैंकमा राख्न मरिहत्य गर्छन। स्विजरल्याण्डको बैंकमा विश्वभरिबाट राखिएको अधिकांश रकम कर छली, भ्रष्टाचार, अवैध कारोबार, तथा अन्य आयस्रोतबाट आएको कालो धन हो। विश्वमा आर्थिक रुपले समृद्ध मानिएको मुलुक अमेरिकाका धनाढ्यहरुले समेत अवैधानिक बाटोबाट आएको अकुत सम्पत्ति लुकाउन र कर छल्न स्वीस बैँक नै प्रयोग गर्ने गरेको बताइन्छ। समाचार अनुसार धेरै व्यापारी तथा केही पुर्व राजनीतिज्ञ भारतीयहरुले पनि स्विस बैंक प्रयोग गरेका छन। अरु देशको के कुरा, हाम्रै गरिब देशका केहि ब्यापारी तथा शासकहरुले पनि कालो धन स्विस बैंकमा राखेको कुरा बेला बेलामा समाचार आउने गर्छ। स्विस बैंकमा रकम राखेपछि हराउने, लुटिने, छानबिन हुनेलगायत कुनैपनि समस्या हँदैन भनिन्छ। तर अहिले आएर अन्तर्राष्ट्रिय दबाबमा कर छली र मनी लन्ड्रिङ विरुद्ध लड्नुपर्ने आवश्यकताका कारण स्विट्जरल्याण्डले पनि केहि नियमहरू खुकुलो बनाउन बाध्य भएको छ।

स्विजरल्याण्डको अर्को सफलता युध्दको बेला तटस्थ रहनु पनि हो। सन् १८१५ देखि यता कुनै पनि अन्तर्राष्ट्रिय युध्दमा स्विट्जरल्याण्ड संलग्न भएको छैन। बिगतको समयमा भएका विश्वयुध्दहरुबाट स्विजरल्याण्ड सरकारले आफूलाई तटस्थ राख्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। पहिलो विश्वयुध्दको बेला स्विजरल्याण्ड युध्दमा संलग्न राष्ट्रहरूले घेरिएको थियो र पनि मानवीय सहायता प्रदान गर्न र कैदीहरु आदानप्रदान गर्नलाई सुविधा दिन आफ्नो बुध्दि विवेक प्रयोग गरेर संलग्नता हुनबाट बच्न सफल भयो। दोस्रो विश्वयुध्दको बेलामा पनि अनेक अप्ठ्यारा समस्याहरु आइपरेर तटस्थता बस्न अझ ठूलो चुनौतीहरु थपिएको थियो। वरिपरी युध्दरत राष्ट्रहरूले घेरिएको बेला स्विट्जरल्याण्डले सशस्त्र रक्षार्थ नीति अपनायो, सेना परिचालन गरी सम्भावित आक्रमण रोक्न आफ्नो सिमाना बलियो बनायो। दुवै पक्षबाट आर्थिक र कूटनीतिक दबाबको बावजुद पनि स्विट्जरल्याण्डले युध्दकालभरि आफ्नो तटस्थता कायम राख्न सफल भयो। स्विट्जरल्यान्डले अन्तर्राष्ट्रिय संघसंस्था र मानवीय पहलहरूमा संलग्नतामार्फत विश्व शान्तिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ।

स्विट्जरल्याण्डले बालबालिकालाई दोहोरो शिक्षा प्रणाली लागु गरेको छ, जसले आधारभूत कक्षादेखि नै बिध्यार्थीहरुलाई व्यावहारिकको साथ शिक्षा प्राप्त गराउदै आएको छ। त्यसले पछि गएर उच्च दक्ष जनशक्ति उत्पादन गर्छ, व्यावहारिक र प्राविधिक सीपका साथ रोजगारमा प्रवेश गर्न तयार बनाउछ। त्यस्तै पहाडी मार्ग अति चुनौतीपूर्ण भए तापनि केवलकार र सुरुङ मार्गहरू निर्माण गरेर सजिलो बनाइएको छ। भनिन्छ विश्वमा सबैभन्दा धेरै सुरुङ्मार्ग भएको देश स्विजरल्याण्ड हो। सडक, रेलवे, केवलकार र विमानस्थलहरुमा अत्याधुनिक विकाशको फट्को मारेको छ, त्यसले युरोपमा यातायातको लागि उदाहरण नै दिएको छ। स्विट्जरल्याण्ड युरोपेली संघमा आवध्द नभए तापनि छिमेकी राष्ट्रहरुसंग हरेक आपूर्तिको बिषयमा गहिरो रूपमा एकीकृत हुदै आएको छ।

स्विजरल्याण्ड धनी देश हो र धनी देशका नागरिकहरुसंग निजी जेट हुन्छ, तालका छेउमा विशाल महल हुन्छ, स्की खेल्ने पहाडमा रेसर्ट(होटेल)हरु हुन्छ र हेलिकप्टरमा यताउति गर्छन्। स्विजरल्याण्डको आधा जनसंख्यासंग एक लाखदेखि १० लाख डलर बैंकमा सुरक्षित रहेको हुन्छ। तर स्विजरल्याण्डको बसाई महँगो छ, त्यसैले प्रतिमहिना पाँच हजार डलरभन्दा कम कमाउने व्यक्तिले केहि बचत गर्नै सक्दैन। त्यसैमा आप्रवासीको संख्या बढीरहेको छ, बिकासशिल राष्ट्रहरुमा देखा परिरहेको गरिबी, बेरोजगारी जस्ता समस्याले यूरोप र अमेरिका आप्रबासीहरुको मुख्य गन्तब्य बन्दै आइराहेको छ।
स्विजरल्याण्ड र नेपालकोबीच सन् १९५६ देखि कूटनीतिक सम्बन्ध रहिआएको पाइन्छ। अहिलेको अवस्थामा स्विजरल्याण्डमा पनि हाम्रा नेपालीहरु कामको लागि अवश्य धेरै नै पुगेको छन् होला, तर कति छन् भन्ने त्यसको जानकारी भने पत्ता लगाउन सकेएन।

चौथो दिन – २ सेप्टेम्बरको बिहाना खाजा खाएपछि स्विजरल्याण्डको जेनेभाबाट फ्रान्सको पेरिस ताकेर बस घुँइकाईयो। केहि समयपछि बसले स्विजरल्याण्डको सीमा पार गरेर फ्रान्समा छिरेको जानकारी दिइयो। फ्रान्सतिर लागेपछि स्विजरल्याण्डको जस्तो रमणीय डांडाकाँडा पनि बिस्तारै देखिन छोडेर बेलायतको जस्तो जमीन भएको दृश्यहरु देखिन थाल्यो। यात्रा लामो थियो छटपटी छुट्ने र पनि बेला बेलामा टोइलेटको लागि बस रोकिन्थ्यो र ज्यान तन्काउने मौका हुन्थ्यो। मध्यन्नतिर दिउसोको खानाको लागि एउटा सर्भिसमा बस रोकियो, त्यस अवधिसम्म संधै बिहान, दिउसो र बेलुकी इन्डियनको रेस्टुरेन्टमा खाना खाँदै आएका थियौं। तर त्यो राजमार्गमा शायद इन्डियनको रेस्टुरेन्ट नभएर होला आफ्नै गोजीको पैसाले खाना खाने भनिएको थियो। त्यहाँको सर्भिसमा भएको रेस्टुरेन्टहरुमा कुनैमा पनि हाम्रो लागि मन पर्ने खाना नभएपछि स्याण्डविचले भोक मेटाउन पर्यो। त्यसपछि फेरी चाक पनि पाट्टिदै बसेर पेरिस शहरमा छिरेपछि हामीलाई सिधै आइफल टावरमा लगियो र हरेकलाई टिकट दिइयो। पहिलो लटमा गाइडसहित हामी केहि व्यक्तिहरु एउटा लिफ्टमा चढ्नलाई लाम लागियो। त्यहाँको सुरक्षा जाँच कडा रहेछ, हवाईजहाजमा चढ्नुअघि जस्तै मोबाइल, घडी, चापी, खुद्रा पैसाहरु इत्यादि सबै निकालेर छिर्नु पर्ने, त्यै पनि एक ठाउँमा मात्रै होइन दुइ ठाउँमा।

त्यसरी दुइ ठाउँमा सुरक्षा जाँच सकेर अगाडि गइ लिफ्टमा चढ्न तयार भएर बसियो, केहि समयको पर्खाइपछि माथिबाट लिफ्ट आयो र चढियो। हामी चढेर पनि किन हो केहि बेर रोकियो, त्यसपछि जब ४/५ मिटरजति माथि के गएको थियो अचानक भेलले डुङ्गा उचालेर पछारेको जस्तो गर्यो। डब्बाभित्र ठिनाठिन उभिएका हामीहरु जसले डण्डा समाउन पाएका थिए उनीहरु हल्लिए मात्रै। तर जो उभिएका मात्रै थिए उनीहरु ढल्न पुगे मान्छेमाथि मान्छे खप्टिएर, सबै झ्याउँ झ्याउती कराउन थाले। इन्डियनहरु एक जना महिलाको हात काटेर रगत पनि आइछ, अनि अर्की एक जना महिलाको खुट्टा ठोकिएछ। त्यसो हुदा पनि लिफ्ट न तल झर्यो न माथि गयो, निकै बेर रोकिएर बस्न पर्यो। केहि बेरपछि बल्ल तल झार्यो र खुट्टा ठोकिएको महिलालाई स्ट्रेचरमा राखेर अस्पताल लगे, हामीलाई अर्को लिफ्टमा जाने भनेर अर्को ठाउँ लगियो। त्यहाँ पनि फेरी दुइ ठाउँमा सुरक्षा जाँच गरियो र बल्ल लिफ्टद्वारा माथि दोस्रो तलामा लगियो। हामी जानु पर्ने थियो तेस्रो तला माथी तुप्पैमा, दोस्रो तलबाट तेस्रोमा जान फेरी अर्को अलि सानो लिफ्टद्वारा तोस्रो तलामा पुगियो। मेरी बाबै नी! त्यहाँदेखि सिधै तल हेर्दा त जीउनै सिरिङ्ग हुने, त्यसैले सिधै तल नहेरी टाडा टाडा हेर्दै र फोटो/भिडियो लिदै चक्कर लगाइयो। तर एकदम जोडले हावा चलेर मान्छे नै पल्टाउला जस्तै गर्ने। धन्नै त्यतिखेर मौसम खुला भएको थियो र वरिपरिको दृश्य टाडा टाडासम्म राम्रोसंग देख्न सकियो। नत्र पहिला १९८० साल मार्च महिनामा ड्याम्म भुँइ कुइरो लागेर आइफल टावर पनि चढियो भन्ने मात्रै भएको थियो केहि देख्न सकिएको थिएन। यस पटक ४५ बर्षपछि बल्ल धित मरुन्जेल हेरियो।

तल झरेर थाहा भयो माथि चढेका एक जना इन्डियन चक्कर लागेर हो या के कारणले हो अस्पताल लगिएको थाहा भयो। हामी तल केहि बेर यताउति डुल्दा त्यहाँ पूर्वका ४ जना र १ जना स्याङ्जाका युवाहरु भेटिएका थिए, उनीहरुको बसाई नेदरल्यण्डमा रहेछ र घुम्न फ्रान्स आएका रहेछन। हामी फेरी बसद्वारा गाइडले त्यहाँ वरपर भएको केहि ऐतिहाँसिक चिजहरु देखाउदै रेस्टुरेन्टमा लगे। त्यो रेस्टुरेन्टमा अरुलाई त कस्तो लाग्यो कुन्नि! मलाई भने त्यस बेलासम्म खाएको खानाहरुमध्ये सबैभन्दा मिठो लागेको थियो। त्यहाँ एउटी वेटर तामाङ्नी नानी थिइ। त्यसपछि फेरी आइफल टावरको रात्रीदृश्य हेर्न जाने भनेर बसमा गइयो। आइफल टावरदेखि अलि उता भएको सैइनि(?) नदीपारि हामीलाई झारियो नदीमा विभिन्न रङ्गीबिरङगी बत्ति झिलिमिली चम्काउदै ठूलो खालको डुङ्गाहरुले घुमन्तेहरुलाई ओहोरदोहोर गराईरहेको हेर्दै बसियो। जब ठिक रातको १० बज्यो तब आइफल टावरभरि झिमिमिली बत्ति बल्यो आहा! क्या राम्रो देखिएको थियो! त्यतिखेर आइफल टावरमा बत्ति बल्दाखेरि वरपर, दायाँबायाँ भएका दर्शकहरुले तालि बजाउदै र चिच्याउदै माहोल नै गुन्जयमान बनाएका थिए। त्यसरी हामी त्यहाँ केहीबेर रात्रि दृश्य रल्ल पर्दै हेरेपछि होटलमा सुत्न आयौं।

पाँचौं दिन – ३ सेप्टेम्बरमा बिहाको खाजा खाएर डुङ्गाद्वारा पेरिसको केहि दृश्यावलोकन गर्ने भनेर बसमा लिएर गए गाइडले। त्यै हिजो राती हामीलाई आइफल टावरको रात्रि दृश्य देखाउन लगेको सैइनि(?) नदीमा रहेछ। झन्डै एक घण्टाको जलयात्रामा डुङ्गाबाट देखिने मुख्य महत्वपूर्ण, ऐतिहाँसिक र पूरानो बिल्डिङहरु बिबरणसहित देखाउदै डुलाइयो । त्यसपछि फर्किनको लागि पेरिसबाट ब्रिटिश च्यानल ताकेर बस घुइकाउन शुरु भयो। दिउसो मध्यान्नतिर दिनको खाना रेस्टुरेन्टमा भयो र फेरी बस यात्रा लगातार अघि बढ्दै आयो। चार बजेतिर फ्रान्सको कलाईस बिमानस्थल हुदै आएर बेल्जियममा हामीसंग जोडिन आएका इन्डियन सहयात्रीहरु इन्डिया फर्किन त्यहाँ झरे र हाम्रा गाइड पनि हामीबाट बिदा भएर त्यहिं झरे। हामी अगाडि बढ्दै आएर अरिब आधाघण्टा जति यता आएको बेलामा कोच क्याप्टेनले दोस्रो विश्वयुध्दको समयमा खनिएको/बनाएको ट्रेन्च भनेर केहि परको थुम्का थुम्कीहरु देखाउदै कलाइस बन्दरगाहमा ल्याइपुर्याए। त्यसपछि त्यहाँ फ्रान्स र ब्रिटिशका कर्मचारीहरुद्वारा राहदानी जाँच भयो र बससहित पानी जहाजमा चढियो। करिब ९० मिनट लाग्छ डोभर पुग्न भनिएको थियो, तर किन हो झन्डै दुइ घण्टाबढी नै समय लाग्यो। त्यसपछि सोहि बसमा साउथहलको लागि कुद्दै गर्दा ठाउँ ठाउँमा हाम्रा सहयात्री इन्डियनहरु पनि झर्दै आए र अन्तमा रातको १० बजेतिर साउथहलको बस स्टपमा आइपुगियो। त्यहाँदेखि टेक्सीमा हन्स्लो आनुकाकैको कोठामा आइ खाजा खाएर स्वीन्डन आइपुग्दा रातको सांढे एक भैसकेको थियो, यसरि ५ दिनको यूरोप भ्रमण सकियो।

फ्रान्सको सामान्य छोंटो जानकारी
फ्रान्स युरोपको पश्चिममा अवस्थित एउटा ठूलो देश हो, त्यसको क्षेत्रफल ६७४८४३ वर्ग किलोमिटर र जनसंख्या लगभग ६ करोड ८० लाख बढी रहेको छ। फ्रान्सको उत्तरमा इङ्लिश च्यानल, बेल्जियम र लक्सजम्बर्ग, पूर्वमा जर्मन, स्विजरल्याण्ड र इटाली, दक्षिणमा एन्डोरा र स्पेन अनि पश्चिममा एट्लान्टिक महासागरले घेरिएको छ। फ्रान्सको राजधानी पेरिस हो। त्यहाँको मुख्य भाषा फ्रान्सेली हो, साथै अन्य केहि स्थानीय तथा संबन्धित छिमेकी राष्ट्रको भाषाहरु पनि बोल्ने गर्दछन। फ्रान्सको इतिहाँसमा सम्राट् नेपोलिअन बोनापार्टको ठूलो योगदान रहेको पाइन्छ। फ्रान्स अर्ध-राष्ट्रपतिय प्रजातान्त्रिक गणतन्त्र हो। फ्रान्सको मुख्य धर्म रोमन क्याथोलिक भए तापनि आधिकारिक रूपमा धर्म निरपेक्ष देश हो। यहाँ कुनै पनि शैक्षिक संस्थाहरूमा धार्मिक सद्भाव झल्किने चिह्नहरू प्रयोग गर्न पाइंदैन।

फ्रान्समा धेरै पुरानो स्मारकहरू र ऐतिहासिक ठाँउहरू भएको कारणले प्रसिद्ध छ। जस्तो कि लुभ्र संग्राहालय, आइफल टावर, विजयको गुम्वज, झिभेर्नी, भेर्साइको दरबार र नोत्र दाम इत्यादि। पहिलो र दोस्रो विश्वयुद्धबाट समेत बचेका यी ऐतिहासिक सम्पदाहरूको जगेर्ना गर्न सरकारले कुनै कसर बाकी राखेको छैन। फ्रान्स शताब्दीऔँदेखि कला, विज्ञान र दर्शनको अन्तराष्ट्रिय केन्द्रको रुपमा रहेको छ। फ्रान्स युनेस्को विश्व सम्पदाको सङ्ख्यामा पाँचौ स्थानमा पर्दछ र प्रमुख पर्यटकीय गन्तब्य पनि हो। फ्रान्स युरोपेली संघको सदस्य हो र यस संघको सबैभन्दा ठूलो राष्ट्र पनि हो। फ्रान्स संयुक्त राष्ट्र संघमा सुरक्षा परिषदको स्थायी सदस्य र आधिकारिक परमाणु हतियार भएको एक महाशक्ति राष्ट्र हो। फ्रान्स युरोपेली संघ, युरोजोन्, जी-सेभेन, उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो), विश्व व्यापार सङ्गठन, संयुक्त राष्ट्रसङ्घको संस्थापक तथा नेतृत्वदायी सदस्य पनि हो। फ्रान्स संसारको आठौँ धनि देशहरुमा पर्दछ, त्यहाँका जनताले हप्ताको कम्तीमा ३५ घन्टा काम गर्नुपर्छ र न्युनतम एक हजार यूरो पाइन्छ। तर यो पैसा यहांको महगो जीवनशैली धान्न निकै मस्किल पर्छ। फ्रान्सका नागरिक अधिकार र अभिव्यक्तिको स्वतन्त्रता सबै नागरिकलाई बराबर हुन्छ। देशको नाम ‘फ्रान्स’ भन्ने फ्र्याङ्कहरूबाट आएको हो, जुन रोमन साम्राज्यको पतनपछि यस क्षेत्रमा बसोबास गर्ने एक प्रमुख जर्मनिक जनजाति थियो।

फ्रान्सको राजधानी पेरिसमा भएको आइफल (इफल/इफेल/आइफेल इत्यदि पनि भनेको पाइन्छ) टावरको बिषयमा केहि कुराहरु खोजतलास गरि जानकारी नभएका पाठकहरुको लागि यहाँ राख्न गैरहेको छु:

पेरिसको सैइनी/सीन(?) नदीको छेउमा उभिएको र टाडा टाडाबाट पनि देख्न सकिने एउटा फलामे अग्लो खम्बा हो आइफल टावर। यसको निर्माण सन् १८८७ देखि शुरु गरेर १८८९ मा सकिएको थियो। यो टावर निर्माण गर्नुको मुख्य लक्ष पेरिसमा १८८९ मा हुन गैरहेको विश्व मेलालाई लक्षितगरि बनाइएको थियो। यसको रचनाकार गुस्ताभ आइफल थिए र उनैको नामबाट यस टावरको नामकरण गरिएको थियो। त्यसबेला त्यो टावर निर्माण गर्न फ्रान्स सरकारको कति खर्च भएको थियो (त्यसको जानकारी भने मैले पाउन सकेन)। तर धेरै पैसा खर्च भयो भनेर त्यस बेला फ्रान्सेली जनताले बिरोध गर्नुको साथै मेला सकिएपछि टावरलाई भत्काउनु पर्ने माग पनि गरेका थिए रे। तर अहिले त्यै टावर विश्वमा प्रख्यात पर्यटकिय गन्तव्यको स्थलका रुपमा विकशित हुँदै आएको छ। र फ्रान्स सरकारको दुहुना गाईहरुमध्ये यो पनि एक भएको हुन पर्छ निश्चय पनि। त्यस टावरको निर्माण गर्दा त्यसबेला यो संसारकै सबैभन्दा अग्लो टावर रहेको थियो। त्यस टावरको उचाईं ३२४ मीटर छ, जुन सामान्य हिसाबले पनि ८१ तल्ले भवनको उचाईं बराबर रहेको छ। त्यो टावरमा पर्यटकहरु माथिल्लो तेस्रो तलासम्म गएर हेर्न सक्छन। त्यो टावर पर्यटकको लागि मात्रै नभएर टिभी, रेडियो र टेली कमुनिकेशनको लागि पनि प्रयोग भएको छ। साथै त्यो टावर विश्वमा मानव निर्मित आश्चर्यहरु मध्येको एक हो र फ्रान्सको संस्कृतिको प्रतिक पनि हो। आइफल टावर बनाउन हजारौं फलामको टुक्राहरु जोडिएको होला र यसको तौल सात हजार तीन सय टन रहेको छ भनिन्छ। यो टावर पर्यटकको लागि बाह्रै महिना खुल्ला गरिएको छ। पर्यटकहरुले टिकट काटेर हेर्ने संसारकै सबैभन्दा अग्लो भवनको श्रेणीमा पहिलो स्थानमा पर्दछ। वर्षमा करिब ७० करोड मानिसले आइफल टावरमा भ्रमण गर्ने गरेका छन्।

फ्रान्स र नेपालको सम्बन्ध पृथ्वीनारायण शाहको पालामा केहि फ्रान्सेली सैनिकहरू गोरखा गई गोर्खाली सेनालाई हातहतियार बनाउने तालिम दिएको इतिहाँस पाइन्छ। त्यसपछि जंगबहादुर राणाले बेलायत भ्रमण गरेर सन् १८५० को २ देखि १० अगष्टसम्म फ्रान्सको भ्रमण गरेका थिए रे। त्यस्तै स्वर्गीय राजा महेन्द्र र बिरेन्द्रले पनि विभिन्न तारिखमा फ्रान्सको भ्रमण गरेका थिए। औपचारिक रूपमा नेपाल फ्रान्सबिचको मैत्री संबन्ध सन् १९४९ को अप्रील २४ बाट शुरु भएको मानिन्छ। र १९६७ मा नेपालको आवासीय दूतावास स्थापना गरी दुई देशवीच कुटनैतिक सम्बन्ध अझ प्रगाढ भएको छ। फ्रान्समा नेपालीहरु सन् १९६० तिर एकादुइ भएको र हालमा झण्डै पांच हजार बढीको संख्यामा पुगेको अनुमान छ। लगभग तीन शयबढी नेपाली युवाहरु त फ्रान्सेली सेनामा भर्ना पनि भएका छन्। विश्व परिस्थिति र हाल नेपालको अवस्थाले गर्दा पनि नेपालीहरु भौतारिदै यूरोपको अन्य देशहरुमा जस्तै फ्रान्समा पनि नेपालीको संख्या बढ्दै गैरहेको रहेछ।

यी चार देशको बिषयमा श्रोत: विकिपिडिया र विभिन्न पत्रपत्रिकाहरुबाट छाँटकाँट गरिएको
अन्तमा हामी चारवटा देशको लगभग (स्टार टूरले निकालेको पत्रका अनुसार) ७९० किलोमिटर दूरी ५ दिनमा यात्रा गरि सक्ने भने कै त्यै ‘म पनि फलानो फलानो देशमा गएको छु’ भनेर गफ दिन चाहिं हुन्छ। त्यसैले यस यात्राको शिर्षक पनि सोहि अनुसार राखेको छु। आफूलाई जान मन लागेको ठाउँहरु (बिशेषगरी हामी भूपू सैनिकहरुलाई) पहिलो र दोस्रो विश्वयुध्दमा हाम्रा पूर्खाहरुले लडाई गरेको क्षेत्र र उनीहरुमध्ये बीरगति पाएकाहरुको चिहान हेर्नको लागि त आफ्नै साधन प्रयोग गरेर जान सकेमात्रै सम्भव होला। नत्र कहिले चाक पनि पाट्टिदै बसमा यात्रा गर्नु पर्ने, त्यसैमा बसमा हामीबाहेक सबै इन्डियन भएर होला अलि चर्को हिन्दि फिल्म र गीत लगाउने अनि कहिले कहीं त अलि बढी नै जस्तो गाइडको यापयापले पनि अलि दिक्क बनाउदो रहेछ। हुन त गाइडले भनेको कुरा नराम्रो होइन, उनले जहाँ पुग्यो त्यहाँको मुख्य आकर्षक र ऐतिहाँसिक चिजहरु के के छ त्यसको जानकारी दिनु हुन्थ्यो, त्यो गाइडको कर्तब्य पनि हो। तर म जस्तो रोमन गोर्खाली पढेको बृध्दहरु र पढ्दै नपढेका बृध्दा महिलाहरु (जसलाइ अंग्रेजी भैसी बराबर हुन्छ उनीहरु)को लागि बेल पाक्यो कागलाई हर्ष न उल्लास भने जस्तै हो। हाम्रा गाइडले बस ड्राइभरलाई कोच क्याप्टेन भन्थे र आफूलाई के भन्थे थाहा भएन, तर मैले उनलाई भट्भटे नाम राखी दिएको थिएँ, उनले नसुन्नेगरी, सुने दुख लाग्ला।

जे होस् यात्रा सफल नै भयो कुनै अप्रिय घटनाहरु भएन। तर स्विजरल्याण्डको सौचालयमा पैसा हालेर मात्रै भित्र पस्नु पाइने र टुटेफूटेको अंग्रेजी बुझ्ने या बुझ्दै नबुझ्ने व्यक्तिहरु बिनासहयोगी यात्रा गर्नु असम्भव नै जस्तो लाग्यो। समुहमा मिलेर अंग्रेजी बुझ्ने सहयोगी हुने हो भने यो टूर यूरोपको ४ वटा देश घुम्न लगभग सांडे बाह्र शय पाउण्ड प्रतिव्यक्ति खर्चमा ठिकै नै जस्तो लाग्यो स्टार टूरले निकालेको २०२५ को पुस्तिका अनुसार। हुन त आ-आफ्नो सोंचबिचार हो, कसैले त्यत्रो खर्च गरेर के डुल्नु, भन्ने पनि स्वाभाविकै हो। र मरिलानु के छर, कति पैसापैसा मात्रै भनिरहनु भन्ने पनि स्वाभाविकै हो। घुमफिरको लागि छ न त धेरै ठाउँहरु छ, एउटा, दुइटा या तीनवटा देशमा जाने पनि छ र बाह्रै महिनाको कार्यक्रम तालिकानुसार यै टूर मात्रै सबैभन्दा बढी चलेको तालिका देखिन्छ। जनवरी, फेब्रवरी र नभेम्बर महिनामा दुइ दुइ पटक मात्रै टूर छ भने अगास्त महिनामा सबैभन्दा बढी १६ पटक यात्राको तालिका देखिन्छ। तर यो भन्दा अगाडि जूलाई महिनामा जाँदा स्विजरल्याण्डको टित्लिस् डांडामा मौसम सफा हुदो हो कि! म पहिला पल्टनमा हुँदा १९८० को मार्च महिनामा पनि बेल्जियम, नेदरल्याण्ड, लक्जम्बर्ग, जर्मन र फ्रान्स ५ वटा देश घुम्न गएको थिएँ। त्यतिखेर त ८ दिन लागेको थियो र ठाउँ ठाउँमा झरेर हेर्दै घुमफिर गर्न पाइएको थियो। तर विन्टर नै भएको हुनाले प्राय; भुइँकुइरो लागेर टाडा टाडा देख्न सकिएको थिएन, यस पटक पनि स्विजरल्याण्डको केवलकारमा १० हजार फीट अग्लो टित्लिस टाकुरामा गएर चारैतिरको दृश्य हेर्ने धोको बाँकी रहेको छ। त्यसैले फेरी एक पटक स्विजरल्याण्ड गएर सो धोको पूरा गर्ने मौका मिल्ला कि आशा गरेको छु। मलाई निकै अचम्म लागेको कुरा चाहिं ५ दिनको यात्रामा एक छाकबाहेक अरु सबै इन्डियन रेस्टुरेन्टमा खान पाइयो, टूर संचालन गर्ने इन्डियन, गाइड इन्डियन, रेस्टुरेन्टहरु जहाँ पनि इन्डियनको र यात्रा गर्ने पनि हाम्रो टोलीमा इन्डियन नै थिए। इन्डियन र चिना नपुगेको देश छैन भन्थे, हो रहेछ साँच्चै इन्डियनले भ्याएछन जताततै। हवस्त बिदा पाउँ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!