
ताप्लेजुङ तमोर खोलाकी बालिका जानु काम्बाङ लिम्बू सानैदेखि नै अचाक्ली जिद्दी स्वभावकी । एक दिन गाउँमा आफ्ना आफन्त पर्ने ठूला मान्छेहरु कोदोका भारी बोकेर मास्तिर भोटे गाउँमा आलुका बीउ साट्न जाने कुरा उनले पनि खुसुक्क सुन्छिन् । घरमा आएर आफू पनि जाने कुरा बजैलाई सुनाइन् । अनुमति भने पाइनन् । बाजेले चाहिँ केहीबेर सोचविचार गरी तीन पाथी कोदोको भारी तयार गरिदिन्छन् । केटाकेटीको जोश न हो, भर्खर एघारमा पाइला टेक्दै गरेकी जानुकाले जुरुक्क उठाएर ठूलाका पछिपछि लुखुरलुखुर हिडिन् । तमोरका किनार, बगर र बाटोमा खाना पकाई खाँदै, जङ्गलका बीच ओडारमा बास बस्दै बल्ल भोटे गाउँ पुग्छिन् । देख्नेहरू सबै जिल्ल पर्छन् । तीन पाथी कोदो दिँदा बाह्र पाथी आलुका बीउ हात पार्छिन् । यसरी पाँचौ दिनमा घर आइपुग्छिन् । यता आलुको बीउ रोप्नलाई मेला पनि ठिक्क पारेर राखिएको हुन् छ। उता सोल्टीहरूलाई माघेमेलामा पालामको पैँचो तिर्ने वचन पनि दिएर आउँछिन् । त्यसबेलाका केटाकेटीमा भएको परिपक्वता उदाहरणीय लाग्यो ।
अचेलका बच्चाहरु भए कहाँको बाबुआमालाई सघाउँथे र ? बरु, मोबाइलमा भिडियो गेम र पब्जी खेल्दै राति अबेरसम्म पनि बस्थे । बेलायतमा बस्दै आएकी जानु काम्बाङ लिम्बू विशेषत: कवि, गीतकार र आख्यानकारसमेत हुन् । चार वर्षअघि बजारमा आएको उनको पछिल्लो कृति “….तमोरका सुसेलीले भने उनलाई कुशल नियात्राकारमा समेत दर्ज गरेको छ । अनुभूतिका शृङ्खलालाई कलमका जादुले कुद्न सक्नु त्यो उनको विशेषता हो । जसमा अठार शीर्षकमा नियात्राकारले फनफनी घुमाउन सफल भएकी छिन् ।
तीस वर्षमा माइत गाउँ, तमोरका सुसेली सुसेल्दै, मावल गाउँको स्पर्श, आफ्नै देशमा होलिडे कि ब्याड डे,आमाबुबासँग नेदरल्यान्ड,लन्डन टु सिडी, दुई दिन हङकङ यात्रा”मा घोत्लिदा कौतहलका पिरामिडहरु अनायास खडा हुन्छन् । अझ “एकै दिन झापा धरान : शरीर भो लखतरान,एक्लै हिँड्दाको दास्ती,घुमेर नअघाइने फ्रान्स, जर्मनीको धरहरा, खोक्लिङको लङ्के पिँडालु,आमाको पेन्सनपट्टा बनाउँदाको दु:ख,मौसम बदलिए पनि मेरो दिन बदलिएन” त पाठकले आफ्नै समस्याँसँगग एकाकार गराउन पुग्दछन् । त्यस्तै “नलाहुरेनी स्रस्टा,बेलायतमा मेरा शनिबार आइतबार, हुङहङ पारि घुमघाम, फुलान्दर्स फिल्डमा गोर्खाली” पढ्दै जाँदा त पुस्तक छाड्नै मन लाग्दैन ।
लिम्बू संस्कार, स्थान परिचय, राजनीतिले निम्त्याएका संकटदेखि लिएर विदेशीले गरेका चमत्कारिताले त अझै नेपाललाई उभो लगाउनमा सबै जातजाति मिलेको खण्डमा असम्भव केही छैन भन्ने असली सन्देश प्रवाह गर्नसमेत कृति चुकेको छैन ।
पुस्तक भेटेर पढे पनि स्रष्टासँग चिनजान छैन तैपनि उहाँको लेखन शैलीदेखि अति प्रभावित छु । लेखन यात्रा निरन्तर रहोस् । अझ धेरै कृतिहरू पढ्न पाउँ शुभकामना ।






