- शिवकुमार गुरुङ
४५ वर्षपछि फेरि भाग्यमानी भई नेपालका दुई महान् शक्तिपीठहरूको दर्शन गर्ने अवसर प्राप्त भयो । मनमा उमङ्ग, हृदयमा भक्तिभाव र आँखामा श्रद्धाको चमक लिएर हाम्रो परिवार २०८२ असोज ४ गते पोखराबाट मुक्तिनाथ दर्शनको यात्रामा निस्कियो ।
पहिलो गन्तव्य थियो बागलुङको कालिका भगवती मन्दिर । पहाडको फेदीबाट माथि चढ्दै गर्दा र मन्दिर परिसरमा पदयात्रा गर्दा मन्दिरको घण्टीको मर्मर ध्वनि, भक्तजनका भजन–कीर्तन र धुपको सुगन्धले वातावरण पूर्णतया आध्यात्मिक बनेको अनुभव भयो । यो मन्दिर परापूर्वकालदेखि आस्थाको केन्द्र रहँदै आएको छ ।
देवी कालिकाको मूर्तिलाई निहाल्दा मन श्रद्धाले ओतप्रोत बन्यो । ४५ वर्षअघि चैते दसैंको अवसरमा दर्शन गरेको स्मरण आयो, यस पटक भने आउँदो बडादसैंको पूर्वसन्ध्यामा पुनः दर्शन गर्ने शौभाग्य मिल्यो ।
कालिगण्डकी नदी र वरिपरिको हरियालीले सजाएको दृश्य साँच्चै स्वर्गीय लाग्यो । ४५ वर्षअघि र अहिलेको व्यवस्थापनमा आएको सुधार देख्दा अत्यन्तै खुशी लाग्यो । कालिका भगवती मन्दिर दर्शनपछि हामीले विश्वकै लामो एक–स्पान झोलुङ्गे पुल पनि अवलोकन गर्ने अवसर पायौँ । यो ५६७ मिटर लामो पुलले बागलुङ र पर्वत जिल्लालाई जोड्छ। कालीगण्डकी नदीमाथि तन्निएको यस पुलबाट वरपरको रमणीय दृश्य अवलोकन गर्दा मन प्रफुल्लित बन्यो । यस पुलको निर्माणले स्थानीयलाई आवतजावतमा सहजता दिएको छ र यो अब पर्यटकको प्रमुख आकर्षण बन्न पुगेको छ ।
दोस्रो गन्तव्य थियो म्याग्दीको गलेश्वर महादेव मन्दिर । बेनी बजारबाट केही किलोमिटरको बाटो पार गर्दै पुग्दा, कालिगण्डकी नदी किनारमा अवस्थित यो पवित्र स्थलमा शान्त र निर्मल ऊर्जा महसुस भयो । स्कन्द पुराणअनुसार सतीदेवीको कण्ठ यसै स्थानमा पतन भएको विश्वास छ, यही कारण यस स्थानलाई गलेश्वर भनिन्छ। प्राकृतिक रूपमा प्रकट भएको शिवलिङ्गको दर्शन गर्दा मनमा अनौठो शान्ति फैलियो । नदीको मर्मर ध्वनि र वरिपरिको हरियालीले मनलाई ध्यानमग्न बनायो । अहिलेको व्यवस्थापन र भौतिक संरचना पहिलेभन्दा धेरै सुधारिएको देखियो । बागलुङ–जुम्सोङ राजमार्गले छिचोल्दै गएको यो स्थानमा भविष्यमा अझ धेरै तीर्थयात्रीहरू सहजै पुग्न सक्नेछन् भन्ने विश्वास भयो ।
यी दुई पावन स्थलहरूको दर्शन र झोलुङ्गे पुलको अवलोकनले हाम्रो यात्रालाई अविस्मरणीय बनाइदियो । केवल तीर्थयात्राको मीठो स्मृति मात्र होइन, हृदयमा नयाँ ऊर्जा र आध्यात्मिक गहिराइ पनि भरीदियो । यी स्थलहरू नेपालको सांस्कृतिक र धार्मिक सम्पदाका जीवित प्रतीक हुन् ।
(सामाजिक सञ्जाल फेसबुकबाट साभार)








