नियात्रा: यात्रा चाइनाको

SHARE:

नियात्रा: यात्रा चाइनाको

चिम्खोले काईला – बेलायत।

मेरी श्रीमती जमुना र मेरो लगनगाँठो गाँसिएको २५ वर्ष पुगेको छ । विवाह भएको २५ औँ वर्ष पुगेको उपलक्ष्यमा २५ औँ वर्षगाँठ कसरी मनाउने भनेर म जमुनासँग सल्लाह माग्छु । यिनले विदेश भ्रमण जाने इच्छा राखेकी हुनाले म जमुनालाई चाइना र इन्डिया भ्रमणमा लैजाने मनमनै बाचा गर्छु । संयोगवश हाम्रो फ्यामिली ग्रुप पनि चाइना भ्रमणमा जाने भएको छ । चाइना भ्रमणका लागि भ्रमणदलमा सुनिल दाइको परिवारबाट, सुनिल दाइ, गोमा बहिनी, राजेन राना सरको परिवारबाट, राजेन सर, हेमा बहिनी र मेरो परिवारबाट म र मेरी श्रीमती जमुना चाइना भ्रमणमा जाने भएका छौँ । यस चाइना भ्रमणमा हाम्रो फ्यामिली ग्रुपका अन्य सदस्यहरु छविमाया बहिनी तथा हीरा दाइ, लेख भाइ तथा मिना बहिनी, वीरेन भाइ तथा गायत्री बहिनी र जगत् भाइ तथा सीता बहिनी विभिन्न कारणवश छुटेका छन् ।

चाइना भ्रमणमा जाने बारेमा हाम्रो फ्यामिली ग्रुपको बीचमा निकै ठूलो छलफल हुन्छ । चाइना गएको बेलामा तिब्बत भ्रमण पनि एकैपटक गरौँ भन्ने सल्लाह हुन्छ । तर म यही समयमा गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन मण्डलको आयुक्तको पदमा निर्वाचित हुन्छु । गैरआवासीय नेपाली संघ बेलायतले दिएको जिम्मेवारी वहन गर्दै मैले तोकेको समयमा निर्वाचन गराउनुपर्ने छ । यही कारण मलाई चाइना गए तापनि तिब्बत भ्रमणका लागि समय अपुग भएको छ । मेरो यसै कारण अर्को वर्ष नेपाल गएको बेला तिब्बत भ्रमण जाने निर्णय हुन्छ । चाइना भ्रमणमा जाने हाम्रो फ्यामिली ग्रुपको टिकट प्याकेजमा लिनका लागि हेमा बहिनी र जमुनाबाट निकै कोशिस हुन्छ तर अलि ग्यारेन्टी हुँदैन । अन्त्यमा सुनिल दाइ चाइना टुरको प्याकेज लिड गर्छन् । सुनिल दाइले बेलायतको क्याम्पबर्लीस्थित एउटा ट्राभल एजेन्सीद्वारा चाइना टुरका लागि सम्पूर्ण व्यवस्था मिलाउँछन् ।

चाइना भ्रमण जाने दिन आइपुग्छ । मलगायत निर्वाचन मण्डलले दिनभरि र रातभरि नसुतीकन गैरआवासीय नेपाली महासंघ बेलायतले सुम्पेका आआफ्ना जिम्मेवारी निभाउँछौँ । बिहानीपख मात्र यस संघको निर्वाचनको नतिजा प्रकाशित गर्छौं । निर्वाचनमा तत्कालीन मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामी भाइको टिम विजयी भएको छ । फगामी भाइलाई मात्र एउटा खादा लगाइदिएर हतारहतार घरतिर लाग्छु । आजैका दिन बाल्यकालदेखिका साथी तथा सहोदर बहिनीज्वाइँ गोविन्दसिंह पुनको अन्त्येष्टि छ तर चाइना भ्रमणमा जानुपर्ने भएकाले ज्वाइँको अन्त्येष्टिमा जान नभ्याउने भएको छु । गोविन्दसिंह ज्वाइँको अन्त्येष्टिमा जान नपाएकामा नमिठो सम्झना लिएर घर आइपुग्छु ।

आज चाइना उड्ने दिन हो । सुनिल दाइ र राजेन सरको परिवार बेलायतको फार्नबोरो भन्ने ठाउँमा बस्नुहुन्छ । हामी चाहिँ बेलायतको न्युबरीमा बस्ने भएकाले आआफ्ना गाडी लिएर फार्नबोरो आउँछौँ । फार्नबोरोमा गाडी राखेर हामी सबै टेक्सी लिई गेटविक हवाई अड्डातिर लाग्छौँ । सबैजना चाइना भ्रमणका लागि एक्साइटेड भएका छन् । तर म र मेरी श्रीमती जमुना भने गोविन्दसिंह पुन ज्वाइँको अन्त्येष्टिमा जान नभ्याएकामा त्यति एक्साइटेड छैनौँ । मनभरि नानाथरीका कुरा खेलाउँदा खेलाउँदै गेटविक हवाई अड्डा आइपुग्छौँ ।

हामी बेलायतको गेटविक हवाई अड्डाबाट उडान गरी सोझै चाइनाको साङ्घाई शहरको साङ्घाई हवाई अड्डामा अवतरण भएका छौँ । साङ्घाई हवाई अड्डामा हाम्री टुर गाइड मिसेस ग्रेससँग भेट हुन्छ । मिसेस ग्रेसले हाम्रो टुरमा आबद्ध सबै जनालाई ब्रिफिङ गर्छिन् र हाम्रो ग्रुपलाई रेड पाण्डा ग्रुपको उपनाम दिन्छिन् । किनकि संसारबाट दुर्लभ मानिने रेड पाण्डा चाइनामा छ । यसो त पाण्डा बचाऊ अभियानका लागि पनि यो उपनाम उपयुक्त लाग्छ । हाम्रो भ्रमणदलमा हामी सबै बेलायतबाट आएका नेपाली, बेलायती र इन्डियन मुलका छौँ । यिनी चाइनाको राजनीति र धर्मका बारेमा केही नबोल्न तथा सजग रहन ब्रिफिङ गर्छिन् । राजनीति र धर्मका विषयले कहिलेकाहीँ भ्रमणलाई अप्ठ्यारो पार्न सक्छ पनि भन्छिन् । यिनी चाइना भ्रमणमा आएका हामीलाई होटलमा ल्याउँछिन् । होटलका कोठा, बेड, अटेच बाथरुम, ट्वाइलेट अति सफा र सुन्दर देखेर मेरी श्रीमती जमुना सदाको भन्दा बढी खुसी देखिन्छिन् । होटल ३ स्टार भएपनि कन्टिनेन्टल ब्रेकफास्ट र डिनरको व्यवस्था हुनुका साथै खानाका परिकारहरु अति ताजा र स्वादिष्ट रहेछन् ।

साङ्घाई शहर संसारको आधुनिक शहरहरुमध्ये एक आधुनिक शहर हो भन्ने सुनेको थिएँ । यहाँ आएपछि प्रत्यक्ष देख्ने मौका पाउँछु । संसारको दोस्रो अग्लो बिल्डिङ तथा साङ्घाई टावर साङ्घाई शहरमै अवस्थित रहेछन् । जसको उचाइ ६३२ मिटर रहेछ भने १२८ तला रहेछ । हाई स्पिड लिफ्टले १२६ तलाको यस टावरको टप फ्लोरमा झण्डै ३ मिनेटमा ल्याइपु¥याउँदो रहेछ । यस शहरमा हाइस्पिड रेलको सुविधा रहेछ । शहर अति सफा, सुन्दर र व्यवस्थित रहेछ । चिनिया पुरुषहरु प्रायः सबै बाल काटेका, कालो सुट, सेतो कमिज लगाएर चिटिक्क परेका देखिन्छन् । हाम्रो ड्राइभर पनि स्मार्ट देखिन्छ । चिनिया महिलाहरु पनि आआफ्ना काम तथा कम्पनीको युनिफर्ममा चिटिक्क परेका देखिन्छन् । कम्युनिष्ट पार्टीले चलाएको देश भएको हुँदा अनुशासन तथा नियम कडा छ जस्तो लागिरहेको छ ।

शहरको बीच भाग हुँदै साङ्घाई नदी बग्दो रहेछ । नदी पनि सफा र सुन्दर रहेछ । दिनभरि साङ्घाई टावर, हाइस्पिड रेल, पुरानो मार्केट, आधुनिक मार्केट, रेसम किराको फ्याक्ट्री तथा रेसम किराबाट रेसम धागो उत्पादन गर्ने फ्याक्ट्री र साङ्घाई म्युजियम घुमेपश्चात् बेलुकी साङ्घाई नदीमा सामुद्रिक नाउबाट साङ्घाई शहरको रातको दृश्य हेर्न निस्कन्छौँ । रातको समयमा साङ्घाई शहर सपनाको शहरमा बस्ने सपनाकी परी जस्तै देखिँदो रहेछ । साङ्घाई नदीमा सामुद्रिक नाउमा चढेर यात्रा गर्दा छुट्टै आनन्द आउँदो रहेछ । यस शहरलाई आधुनिक शहरमा परिणत गरिएको भए तापनि साङ्घाईको पुरानो बस्ती, पुरानो शहर, पुराना घरहरु, पुराना वस्तुहरुलाई जस्ताको त्यस्तै बचाएर राखेका रहेछन् । जसले गर्दा साङ्घाई जाने पर्यटकहरुलाई आकर्षण गरेको पाउँछु । हाम्रो देश नेपाल पौराणिक सम्पदालाई मासेर आधुनिक भौतिक संरचनातिर मोडिँदै छ । कि कतै हाम्रो देशका पुराना सबै संरचना तथा सम्पदा मासिने हुन् भनेर कताकता डर लाग्छ ।

दुर्ई दिन साङ्घाई शहरको रमणीय भ्रमण पूरा गरिसकेपछि पानीमाथिको शहर तथा चाइनाको उजानको भ्रमणमा निस्कन्छौँ । उजानको यात्रामा किसानहरुले ठूल्ठूला फराकिला फाँट तथा खेतबारीहरुमा विभिन्न किसिमका खेतीहरु गरेको देखिन्छ । प्रशस्त मात्रामा फलफूल, सागसब्जी तथा अन्नबालीहरु लगाएको देख्छु । यी चिनियाहरुले लगाएका अन्नबाली, फलफूल र तरकारी खेतीका बारेमा मेरो मनभित्र विभिन्न खालका खुल्दुली उब्जिन्छन् । खुल्दुली मेटाउनका लागि टुर गाइडलाई सोध्छु, ‘चाइना एउटा कम्युनिष्ट देश हो, यी खेतबारी कसका हुन् ? यी खेतबारीमा अन्नबाली, फलफूल र तरकारी खेती कसले लगाएका हुन् ?’ टुर गाइड उत्तर दिन्छन्, ‘यी सरकारी जमिन हुन् । धेरै वर्ष पहिला व्यक्तिको नाममा रहेको जमिनलाई चिनिया सरकारले अधिगरण गरेर सरकारी जमिन बनाएको हो । यी जमिन सरकारले कृषकहरुलाई कृषि गर्नका लागि धेरै वर्षसम्म बन्धकीमा दिएको छ ।’

टुर गाइड अगाडि थप्छिन्, ‘चाइनामा खेती तथा कृषि गर्ने कृषकहरुलाई चिनिया सरकारले कर छुट दिन्छ । सरकारले कृषकका लागि मल, बीउ, ढुवानी, औजार तथा कृषि लगानीमा विशेष सहुलियत दिएको छ । जसले गर्दा यी कृषकहरुले जनताका लागि अन्नबाली, फलफूल, तरकारी र माछामासु बजारमा सस्तोमा उपलब्ध गराउँछन् ।’ यिनको भनाइ सुनेर मेरो रगत तातो हुन्छ । यस्तो पो सरकार भन्दै कम्युनिष्ट देश चाइना र सरकारलाई मनमनै स्याबासी दिन्छु । हाम्रो देशको सरकार नेपाल कृषिप्रधान देश हो त भन्छ तर आजसम्म कुनै कृषिजन्य वस्तुमा देश आत्मनिर्भर हुन सकिरहेको छैन । सरकारले पनि कृषकहरुलाई मद्दत दिन सकिरहेकै छैन । नेपालमा गरिब जनताको खेती गर्ने जमिन छैन । धनीहरुले जमिन ओगटेर राखेका छन् । धनी तथा जमिन भएका जमिनदारहरु खेती गर्दैनन् ।

हाम्रो भ्रमणदल उजान तथा वाटर सिटी आइपुगेको छ । यहाँबाट पानीमा चल्ने डुङ्गामा चढेर होटलतिर लाग्छौँ । होटल तथा सम्पूर्ण घरहरु पानीमाथि छन् । यतिबेला हामी होटलमा आएका छौँ, अनौठो लागिरहेको छ । एकछिन होटलमा आराम गरेपछि हामी टुर गाइडले दिइएको समय र स्थानमा आइपुग्छौँ । टुर गाइडको पछिपछि हिँडिराखेका छौँ । टुर गाइडले वाटर सिटीका बारेमा वर्णन गरिराखेकी छन् । उजान तथा वाटर सिटीमा अलि गर्मी भएको छ । हावा पनि चलिरहेको छ । युकेबाट हामीसँग चाइना भ्रमणमा आएका गोरेनीहरु र उजानका चिनिया महिलाहरुले छोटाछोटा तथा पातला ड्रेस लगाएका छन् । हावाले यी महिलाहरुका छोटा र पातला लुगाहरु माथिमाथिसम्म उचालिदिन्छ । वातावरण रोमाञ्चित पनि बन्छ । यिनीहरुलाई केही वास्ता छैन । म यिनीहरुलाई हेर्दै एकप्रकारको रमाइलो अनुभूति गर्छु । गोमा बहिनी यो दृश्य देखेर पनि नदेखे जस्तै गर्छिन् । सुनिल दाइ आफ्नै धुनमा छन् । जमुना सेल्फी खिच्नमा बिजी देखिन्छिन् भने राजेन सर हेमा बहिनीलाई कखाएर परै पुगेको देख्छु । उसो त मेरी श्रीमती जमुनालाई पनि कम सुन्दरी कहाँ देख्छु र ? सायद म रमाइलोमा लहरिएर होला, एकातिर हिँडिराखेको छु । यस बारेमा मलाई नै थाहा हुँदैन । एक्कासि जमुना झर्किंदै कता एक्लै हिँडेको एकलकाँटे भन्दै समाउन आएपछि पो झसङ्ग हुन्छु म ।

वाटर सिटी घुमेपछि टुर गाइड हामीलाई खाना खाने रेष्टुरेन्टमा ल्याउँछिन् । चाइनाको खाना असाध्यै ताजा अनि स्वादिलो छ । हरेक खानामा फ्रेस सब्जी चोइसाम, पोक्चोई छन् भने फ्रेस माछा र भात छ । म चिनिया लोकल रक्सी अर्डर गर्छु । रक्सी म, सुनिल दाइ र हामीसँग आएका दुईजना पञ्जावीसँग शेयर गरेर पिउने काम हुन्छ । चाइनामा हरेक ठाउँको आफ्नै लोकल ब्रान्डका पेय पदार्थ तथा विभिन्न परिकारका लोकल खानाहरु तयार हुँदारहेछन् । हामी पनि आजको रात उजानको लोकल खाना तथा लोकल रक्सी लिएर रमाइलो गर्छौं ।

हाम्रो भ्रमणदल उजान तथा वाटर सिटीको भ्रमण गरिसकेपछि फेरि साङ्घाई फर्कन्छ । साङ्घाईमा एक रात बसेपछि हामी फेरि साङ्घाई हवाई अड्डाबाट चिनिया लोकल हवाईजहाज चढी सियान शहर भ्रमणका लागि सियान हवाई अड्डामा अवतरण गर्छौं । सियान चाइनाको पुरानो शहर तथा सियाँसी प्रदेशको राजधानी हो । यस शहरलाई १२ मिटर अग्लो, १३÷१४ मिटर फराकिलो र १४ किलोमिटर लामो पर्खालले घेरिएको छ । यो पर्खाल निर्माण गर्नुको मुख्य उद्देश्य शत्रुबाट बच्नु तथा शत्रुलाई पराजित गर्नु थियो भन्ने बुझिन्छ । यस राज्यलाई मिङ झाउ, किन, हान, सूर्य र टाङजस्ता विभिन्न साम्राज्यहरुले शासन गरेको इतिहासमा पढ्न पाइन्छ ।

सियान शहर आइपुगेपछि सियान सिटीवालको भ्रमण गर्छौं । यो वाल ६ सय अठार शताब्दीतिर टाङ वङ्शका राजाले निर्माण गरेका रहेछन् । यसलाई मिङ वङ्शीय राजाहरुले १३ औँ शताब्दीदेखि १६ औँ शताब्दीसम्ममा १२ मिटर र १३÷१४ मिटर फराकिलो बनाएका रहेछन् । गाडी चलाउन सकिने फराकिलो सडक भए तापनि भैपरी आउने आकस्मिक सेवावाहेक अन्य सवारीसाधनहरुलाई प्रवेश बन्देज गरिएको रहेछ । साइकल चलाउन तथा सर्वसाधारणलाई पैदल हिँड्न भने खुला छाडिएको छ । युरोपका धेरै शहरमा यसरी शहरहरुलाई पर्खालले घेरेर राखेको देखेको छु तर यत्रो अग्लो, फराकिलो तथा लामो शहरलाई यसरी पर्खालले घेरेको देख्दा अचम्म लाग्छ । यस्ता पर्खाल हाम्रो देशमा भएको भए पर्खालको ढुङ्गाले जल्दाबल्दा हजारौँँ व्यक्तिका घर बन्थे होला तर चिनियाहरुले यस्ता सम्पदाहरुलाई बचाएर राखेका छन् । जसले गर्दा सियान सिटीवाल लाखौँ आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

सियान सिटीवालको भ्रमणपछि सियानका मुस्लिमहरुको मन्दिर तथा मस्जिद अवलोकन गर्नतिर लाग्छौँ । मस्जिद भ्रमणको दौडानमा मस्जिदको वरपर तथा मुख्य द्वारमा मुस्लिमहरुको भेषभूषा, खानपिन तथा मुस्लिमहरुले चलाउने सामग्रीहरु बेच्न राखिएका छन् । मनमा एउटा कुराको खुल्दुली लाग्छ र हाम्री टुर गाइड ग्रेसलाई सोध्छु, ‘के यी मुस्लिमहरुले दुर्ई तीनवटी श्रीमती विवाह गर्न सक्छन् ?’ ग्रेसको उत्तर छ, ‘एउटा मात्र । किनभने यदि यो देशमा बस्ने हो भने यो देशको नियम मान्नुपर्छ । यस देशमा एउटा पुरुषले एउटी महिलासँग मात्र विवाह गर्न पाउने नियम छ । त्यसैले एकजना पुरुषले एकजना महिलासँग मात्र विवाह गर्न पाउँछ । यदि कसैले यस देशको नियम उलङ्घन गरेमा देशबाटै निकाला हुन्छ ।’ मलाई यिनको उत्तर एकदम ठिक लाग्छ । ग्रेसलाई अर्को पनि प्रश्न सोध्छु, ‘ग्रेस, चाइनाको मुख्य धर्म के हो ? बौद्ध नै होला नि होइन र ? मुस्लिमलगायत अन्य धर्मलाई राज्यले आर्थिक अनुदान दिन्छ कि दिँदैन ?’ यिनको भनाइ छ, ‘कुनै पनि धर्मलाई राज्यले आर्थिक अनुदान दिँदैन किनभने धर्म स्वतन्त्र हुनुपर्छ । धर्मलाई सन्तुलन र स्वतन्त्र राख्न सकिएन भने धार्मिक विखण्डन हुन्छ, राज्य पनि विखण्डन हुने सम्भावना हुन्छ । त्यसैले यो देशमा बस्ने सबै नागरिकले आआफ्नो धर्म मान्न पाउने नैसर्गिक अधिकार छ तर आर्थिक अनुदान कुनै पनि धर्मलाई छैन ।’ ग्रेसको कुरा मलाई मनासिव लाग्छ । हाम्रो देशमा भने कुनै धर्मलाई आर्थिक अनुदान दिइन्छ, कुनैलाई नदिँदा आरोपप्रत्यारोपका घटनाहरु भइरहेछन् ।
सियानमा रहँदा धेरै ठाउँ घुम्ने मौका मिल्छ । शियाँसी ऐतिहासिक म्युजियम, सियान बेल टावर, वाइल गिज प्यागोडा मन्दिरको भ्रमण गर्दै तेरिकोता सिपाही तथा तेरिकोता घोडा म्युजियमको भ्रमण गर्छौं । तेरिकोता सिपाहीका फोटा तथा मूर्तिहरु संसारका विभिन्न शहरमा घुम्दा देख्दै आएको छु । टेलिभिजनहरुमा पनि बेलाबेलामा देखेको छु । तर आज साक्षात् आफ्नै आँखाको अगाडि देख्न पाउँदा अचम्म लागिरहेछ । यी तेरिकोता सिपाहीहरुका पोशाक, हतियार र फोरमेशन देख्दा, यिनीहरुलाई अनुभवी, शाहसी, दुरदर्शी तथा बहादुर पाउँछु । जमानादेखि चाइना कम शक्तिशाली छैन रहेछ भन्ने महसुस गर्छु । तेरिकोता सिपाहीलाई सन् १९७४ मा एक स्थानीय किसानले फेला पारेका रहेछन् । यसको अझै पनि उत्खनन भइराखेको छ । यसका बारेमा अध्ययन तथा अनुसन्धान गर्नका लागि संसारभरिबाट वर्षेनी लाखौँ पर्यटक तथा खोजकर्ता आउँदा रहेछन् । जसले गर्दा चाइनालाई करोडौँ आर्थिक आम्दानी भैरहेको छ ।

तेरिकोता सिपाही तथा तेरिकोता घोडा म्युजियमको अवलोकनपछि सियान मोटरसाइकल सर्कसको अवलोकन गर्छौं । सर्कस एकदम आश्चर्यजनक छ । गोलो ग्लोबजस्तो ठाउँमा मोटरसाइकलको डिसप्ले हुन्छ । एकदम खतरा लाग्छ । सियान मोटरसाइकल सर्कसको अवलोकन गरेपश्चात् टाङ वङ्शीय शासनकालको सङ्गीत तथा नृत्य हेर्दै एउटा थियटरमा आइपुग्छौँ । थियटरमा बेलुकीको डिनर लिँदै उक्त टाङ वङ्शीय शासनकालको सङ्गीत तथा नृत्य हेर्छौं । गीत नबुझे पनि हाम्रो वर्णका पुरुष तथा महिलाहरुले खेलेका सङ्गीत तथा नृत्य र यिनका भेषभूषाले मन्त्रमुग्ध बनाउँछ । म्युजिक पनि हाम्रै जस्तो लाग्छ । नृत्य पनि हाम्रै जस्तो लाग्छ । यी महिला तथा पुरुषहरु पनि हाम्रै वर्णका छन् । नेपालका गुरुङ, मगर, राई, लिम्बू, शेर्पा र तामाङ पनि चाइनाका हान वङ्शीय राजाका सन्तान हुन् भन्ने पढेको छु । यिनीहरुलाई देखेर आफ्नै सन्तानजस्तै लाग्छ । म मनमनै भावविभोर हुन्छु । चुपचाप बसिरहेको छु । आँखाभरि आँसु लिएर हेरिरहेको छु ।

ऐतिहासिक शहर सियानको भ्रमण समाप्तभएपछि सियान अन्तर्राष्ट्रिय विमानस्थलको घरेलु हवाईजहाजबाट बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्छौँ । हाम्री टुर गाइड ग्रेसले हामीलाई सोझै होटलतिर अगाडि बढाउँछिन् । विमानस्थलबाट होटलतिर जानेक्रममा दायाँबायाँतिर आँखा डुलाउँछु । ठूल्ठूला पुलहरु देख्छु । फराकिला चिल्ला सडक, गगनचुम्बी भवनहरुलगायत सफा अनि सुन्दर शहर देख्छु । मैले सुनेको र प्रत्यक्ष देखेको चाइनामा धेरै अन्तर पाउँछु । मैले बेलायती नागरिकहरुबाट सुन्दै आएको छु कि चाइनाको बेइजिङ धेरै फोहोर छ तथा पोलुशनयुक्त छ । यहाँ आउँदा ठिक उल्टो पाउँछु । सायद बेलायतीहरुले चाइनाको विकास, उन्नति तथा प्रगति देख्न नचाहेर होला अथवा चाइनाको विकास, उन्नति तथा प्रगतिप्रति ईश्र्या लागेर होला जस्तो लाग्छ ।

बस यात्रामा होटलतर्फ जाँदै गर्दा मलाई एउटा उत्सुकता जाग्छ अनि ग्रेसलाई सोध्छु, ‘ग्रेस, यी जगनचुम्बी भवनहरु व्यक्तिगत हुन् कि सरकारी ?’ यिनी जवाफ दिन्छिन्, ‘यी सम्पूर्ण भवन सरकारी हुन् । पहिला चाइनामा सम्पूर्ण घरजग्गा व्यक्तिका नाममा थिए । ती व्यक्तिका नाममा भएका घरजग्गा सरकारले अधिग्रहण गरेर जनताहरुलाई फ्लाट उपलब्ध गराइदिएको छ भने घरजग्गा नभएका जनताहरुलाई सस्तो लिजदरमा फ्लाट उपलब्ध गराइदिएको छ ।’ मलाई यिनको भनाइ राम्रो लाग्छ । हाम्रो देशमा पनि यस्तै सिस्टम लागू गर्नसके अति उत्तम हुने थियो जस्तो लाग्छ । किनभने व्यक्तिगत घरजग्गाका कारण नेपाल सरकारले देशको विकासका लागि पूर्वाधारहरु निर्माण गर्दा लफडा भोग्दै आएको छ । सरकारले सडक, पुल, ढलजस्ता अन्य पूर्वाधार निर्माण गर्न खोज्दा व्यक्तिको जग्गा पर्ने हुँदा निर्माण गर्न नदिएका, मुद्धा परेका, जुलुस निकालेका प्रशस्तै उदाहरण छन् ।

बसयात्रामा हाम्री टुर गाइड ग्रेससँग उत्सुकतासहितका जिज्ञासाहरु राख्दाराख्दै होटलमा आइपुग्छौँ । होटलमा हल्का आराम गरेपछि डिनरका लागि रेष्टुरेन्टतिर लाग्छौँ । रेष्टुरेन्टमा डिनर गरेपछि ग्रेसले भोलि बिहान हाम्रो भ्रमणका बारेमा अवगत गराउँछिन् र आफ्नो कोठातर्फ लाग्छिन् । हामी होटलतर्फ लाग्छौँ । बिहान ब्रेकफास्टको समयमा सुनिल दाइ, गोमा बहिनी, राजेन सर, हेमा बहिनी, म अनि जमुना सबैजनाले ब्रेकफास्ट लिन्छौँ । होटलमा कन्टिनेन्टल ब्रेकफास्ट उपलब्ध हुने भएको भए तापनि मलाई चिनिया ब्रेकफास्ट औधि मन पर्छ । चिनिया ब्रेकफास्टमा चोइसाम, फिसबल, चाउमिनलगायत थरीथरीका परिकार लिन पाइन्छ । सबैजनाले टन्न ब्रेकफास्ट लिएपछि तियानमेन स्क्वायर, फोरविदन सिटी र टेम्पल अफ हेभनको भ्रमण गर्छौं । तियानमेन स्क्वायर आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिपूर्ण छ । भीडमा हराउने धेरै सम्भावना छ । हामीलाई हराउनबाट जोगाउनका लागि टुर गाइड रेड पाण्डाको गुडिया एउटा लठ्ठीमा उचालेर हिँडेकी छन् । हामी लठ्ठीको पान्डालाई हेरेर यिनै टुर गाइडकै पछिपछि लुरुलुरु हिँडिरहेछौँ ।

विशाल क्षेत्र ओगटेको तियानमेन स्क्वायर, फोरविदन सिटी र टेम्पल अफ हेभनको अवलोकन गर्छौं । हाम्री टुर गाइड हामीलाई ठाउँठाउँमा रोकेर सो ठाउँका बारेमा अवगत गराउँदै गर्छिन् । विशाल क्षेत्र ओगटेको तियानमेन स्क्वायर, फोरविदन सिटी र टेम्पल अफ हेभनको अवलोकन गरेपछि म आश्चर्यचकित हुन्छु । युरोप तथा संसारका विभिन्न देश एवम् शहरहरुका विभिन्न परेड स्क्वायरहरु तथा राजदरबारहरुको भ्रमण गरेको छु । चाइनाको बेइजिङस्थित यो तियानमेन स्क्वायर, फोरविदन सिटी र टेम्पल अफ हेभनको विशाल भूभाग देख्दा म तिनछक पर्छु । फोरविदन सिटीको विशाल भौतिक संरचना, फोरविदन सिटीको ९०० वटा कोठाहरुको रहस्य, हरेक कोठाहरुमा रहेको सङ्ग्रहालय र यिनीहरुको मर्मतसंभार गरेर राखेको देख्दा अचम्मित हुन्छु । हाम्रो देशमा राणा शासनकालदेखि संरक्षित तथा निगरानीमा रहेको सिंहदरबारदेखि भद्रकाली, टँुडिखेल हुँदै रानीपोखरीसम्मको विशाल भूभाग भूमाफियाहरुले दिनदिनै अतिक्रमण गरेको देख्दा बडो दुःख लागेर आउँछ ।

तियानमेन स्क्वायर, फोरविदन सिटी र टेम्पल अफ हेभनको अवलोकन गरेपछि होटोङ भिलेजको भ्रमण गर्छौं । वास्तवमा होटोङ भिलेज बेइजिङको पुरानो बस्ती हो । बेइजिङ आधुनिक शहरमा परिणत भए तापनि होटोङ बस्तीको पुरानो भौतिक संरचनालाई चीन सरकारले संरक्षण गरेर जस्ताको त्यस्तै राखेको छ । जसले गर्दा हाल यो भिलेज पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बनेको छ । हाम्रो देशको ग्रामीण बस्तीमा रहेका कतिपय गाउँबस्तीहरुलाई संरक्षण गरी जस्ताको त्यस्तै राख्नुपर्ने जस्तो लाग्छ । नेपालका ग्रामीण बस्तीहरुमा रहेका ढुङ्गाका घर, ढुङ्गाका पाली, खरका घर र खरका छाना भएका घरहरुलाई इट्टा र जस्ताले बदल्ने कार्य हुँदै आएको छ । केही वर्षपछि हाम्रो देशको ग्रामीण बस्तीमा ढुङ्गाका घर, ढुङ्गाका पाली, खरका घर, खरका छाना देख्न मुस्किल हुने छ ।

आज ग्रेटवाल भ्रमण गर्ने दिन हो । चाइनाको ग्रेटवाल संसारका सातौँ विचित्रको वस्तुमध्ये एकमा गनिन्छ । सदियौँदेखि कल्पना र सपनामा पनि नसोचेको ग्रेटवालको भ्रमण गर्ने अवसर मिलेको छ । हाम्रो भ्रमण दलका सम्पूर्ण सदस्य तथा रेड पाण्डा ग्रुप ग्रेटवाल भ्रमणका लागि बसमा यात्रारत छौँ । केही घण्टाको यात्रापछि ग्रेटवालको मूलद्वारमा आइपुग्छौँ । हाम्रो बसलाई पार्किङ एरियामा पार्क गरेर ग्रेटवालको सतल बसमा केही वर आइपुग्छौँ । हिँडेर जाने इच्छा भएकाहरुका लागि हिँडेर जाने फुटपाथ रहेछ । हिँडेर जाने समय नभएका, हिँड्न नसक्ने तथा अशक्तहरुका लागि केबलकारको बन्दोबस्त रहेछ । हाम्रो ग्रुपका केहीको हिँड्ने इच्छा भएपनि समय नभएका कारण केबलकारमा पस्छौँ । केबलकारले ग्रेटवाल ल्याइपु¥याउँछ । ग्रेटवाल आइपुगेपछि हाम्रो फ्यामिली ग्रुपका सुनिल दाइ, गोमा बहिनी, राजेन सर, हेमा बहिनी, म र जमुना हर्षले गदगद हुन्छौँ, मानौँ खुसीको सीमा नै छैन । हामी सबैजना एकआपसमा तथा समूहमा विभिन्न दृश्यसँग फोटाहरु खिच्छौँ ।

ग्रेटवाल बेइजिङको उत्तरी भागमा अवस्थित रहेछ । ग्रेटवालको लम्बाई ६०० किलोमिटर रहेछ । यसको परिकल्पना तथा निर्माण मिङ वङ्शीय राजाहरुको शासनकालमा भएको रहेछ । मङ्गोलियनहरुले चाइनाको खेतका बालीनाली, जीवजन्तु सब चोरेर हैरान पारेपछि आन्तरिक झगडा सुरु भएछ । झगडा गर्दागर्दै युद्धमा परिणत भएछ । युद्ध सुरु भएपछि मङ्गोलियनलाई युद्धबाट पराजित गर्नका लागि ग्रेटवाल निर्माण भएको कुरा हाम्री टुर गाइड हामीलाई अवगत गराउँछिन् । ग्रेटवालका ढुङ्गाहरुलाई एकआपसमा जोड्नका लागि स्टिकी राइस तथा भातको माड प्रयोग गरिएको रहेछ । चाइनाले यस ग्रेटवाल कसरी निर्माण गरे होला जस्तो लाग्छ । ग्रेटवाल निर्माण गर्दा कति वर्ष लागे होला ? कति धेरै जनशक्ति तथा धनको खर्च भए होला जस्तो लाग्छ ।

हाम्रो फ्यामिली ग्रुपले फोटाहरु खिच्दा धेरै समय खर्च गरेछौँ । मलाई ग्रेटवालको सबभन्दा अग्लो भागमा पुग्न मन लागेको छ । तर यसो घडी हेरेको एक घण्टा मात्र बाँकी छ । तैपनि बल्लबल्ल आएको बेलामा समयको पावन्दीलाई ध्यान दिँदै जहाँसम्म पुगिन्छ त्यहीँसम्म पुगी फर्केर आउला भनी जमुनालाई लिएर उकालो लाग्छु । हामी उकालो लागेको देखेर होला सुनिल दाइ, गोमा बाहिनी, राजेन सर र हेमा बहिनी पनि हाम्रो पछिपछि आउँछन् । ग्रेटवालको सबभन्दा अग्लो भागमा पुग्न नसके पनि यसको अग्लो भागको नजिक आइपुगेर तल झर्छौं । हामीलाई दिएको समय झण्डै भैसकेका कारणले ग्रेटवालको ओह्रालोमा सुइँकुच्चा ठोक्छौँ । पसिनैपसिनाले निथ्रुक्क हुँदै ग्रेटवालको मूलद्वारमा आइपुग्छौँ । सबैजना जम्मा हुँदै रहेछन् । ग्रेटवालको केही चिनो किनेपश्चात् समर प्यालेस भ्रमणका लागि बसमा चढेर यात्रा गर्छौं । विशाल भूमिमा फैलिएको समर प्यालेसमा आइपुग्छौँ । समर प्यालेसमा रहेका विभिन्न थरिका बोटबिरुवा, सुन्दर फूलहरु र फलफूलका बगैँचा, सुन्दर ताल र आश्चर्य लाग्ने इतिहास बोकेका घरहरुको अवलोकन गर्छौं ।

मैले सुनेको र परिकल्पना गरेको भन्दा धेरै फरक पाएको छु चाइनालाई । मलाई लाग्थ्यो चाइना कम्युनिष्ट देश हो, त्यसो भएको हुँदा सायद सबैजनाले कामहरु सामूहिक रुपले ब्यारेकी शैलीमा गर्छन् होला, सामूहिक खान्छन् होला, सबैजनाको युनिफर्म एउटै हुन्छ होला । तर यस्तो नभएको पाउँछु । यहाँका जनताहरुलाई अन्य प्रजातान्त्रिक देशहरुका जनताजस्तै स्वतन्त्र देख्छु । सबैजना स्मार्ट, बाल काटेका, प्रायः सबैले आआफ्ना कम्पनी र अफिसका युनिफर्महरु लगाएको पाउँछु ।

आज बेलायत फर्कने दिन हो । मन परेको देशको मनभरि सम्झना बोकेर बेलायत फर्कंदै छु । तर एउटा कुराले पोलिरहेको छ । मेरो जस्तै वर्ण र शारीरिक बनावट भएका चिनियाहरुले यत्रा धेरै प्रगति गरेका रहेछन् । उसो त हङकङ, सिंगापुर, मलेसिया, कोरिया, जापानले पनि त्यस्तै प्रगति गरिरहेका छन् तर हामी नेपाली चाइनाको नजिकै भएर पनि किन केही प्रगति गर्न सकिरहेका छैनौँ ? कसले हाम्रो देश नेपालको प्रगति देख्न चाहेको छैन ? हाम्रो देशको उन्नति र प्रगतिका लागि को तगारो बनिरहेको छ ? दिमागभरि प्रश्नैप्रश्नको पोको बोकेर बेलायत फर्कन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!