अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिवर्तन । घाँस दाउरा र मेलापात गर्ने हातहरू अर्थोकै काममा लागेका छन् । हरेक मान्छेले समयसँगै आफूलाई बदलेका छन् ।
काम र घर, काम घरले दिक्क मन भुलाउन हङकङका विभिन्न ठाउँमा अवस्थित सुन्दर डाँडाकाँडातिर हाइकिङ र रमाइला समुद्री तटतिर पौडी खेल्न र घुम्न जान्छन् ।
म भने समुद्र छेऊ बसेर पुस्तक पढ्न रुचाउँछु तर मेरो छेउछाउका साथीसङ्गी त्यस्ता कुरामा चासो नराख्ने भएकाले मेरो चाहना एकल अथवा अल्पमतमा पर्छ । त्यसैले मनको धोको एक डोको बराबरको भारी बोकेर अचेल म पनि उनीहरूको पछि–पछि लुखुर–लुखुर हाइकिङ हिँड्छु ।
हुन त ‘हाइकिङ’ मेरो दोस्रो चाहनाअन्तर्गत पर्छ । बर्खा लागेपछि अत्यधिक गर्मीहुने हुनाले हङकङ पदयात्रा जान छाडिन्छ प्राय: । हाम्रो पनि २०२५ सालको गर्मी सकिनलाग्दाको पहिलो पदयात्रा (हाइकिङ) २८ सेप्टेम्बर आइतबारको दिन सुरु गर्ने तय भएको थियो ।
मेरो लुङा दिदी (फुपूकी छोरी) गीता वनेम र उनको भदै बुहारी अनिता थोप्रा साथमा थिए । मेरो तर्फबाट मेरो माइली बुहारी सानु तुम्बापो थिइन् । हामी यसरी हिँड्दै गर्दा ‘तीनथरि सँगै यात्रा गर्नु हुन्न’ भन्ने गाउँघरको एउटा भनाइ सम्झेँ तर हामी काम्बाङ्ग, वनेम, थोप्रा र तुम्बापो ४ थरि थियौं र ढुक्क लाग्यो ।
यात्रा सुरु गर्नु अघिको जोस् जाँगर बोकेर मिटिङ पोइन्ट, ओलम्पिक ‘एम टी आर स्टेसन’मा भेला भयौं । सबैको अनुहारमा हाइकिङ जाने उत्साह झुण्डिएको थियो । ‘ओलम्पिक स्टेसन’ तुङ्ग्चुङ्ग लाइनअन्तर्गत पर्ने एक रेल स्टेसन हो । यो रेल लाइन नयाँ एरपोर्ट चेप्लाकक्क सँगसँगै बनेको हो । यो लाइन बन्नु अघि यहाँका बासिन्दा २०, २५ मिनेट टाढा पैदल हिँडेर ‘चुन वान लाइन’ एमटीआर चढ्न मङकक् निस्कनु पर्थ्यो । त्यसबेला यो एरियामा घर भाडा पनि सस्तो थियो । पछि यो नयाँ एमटीआर बनेपछि यहाँ पनि सबै थोकको भाऊ बढ्यो ।
हामी ७:३० को रेल चढी तुङ्गचुङ्ग पुगेर मावन चुङ्गको फेरी साइड, समुद्र र छेऊछाऊका सिफुड रेष्टुरेन्ट हेर्दै ‘यात तुङ्ग’ स्टेट निस्केर एक एक बटुको चाइनिज नुडल्स र आइस लेमन टी, खाजा खाइसकेर ४ जनाको हङकङ डलर १६४ मैले तिरें, गीता दिदीले सेभेन एलेभेनमा तीन बोतल पानी र केही जूस किन्नु भो । ति सबै बाँडेर भारि लायौँ अनि यात्रा अघि बढायौं।
‘यात तुङ्ग’ हालको चर्चित अनि अति व्यस्त एरपोर्ट चेप्लाकक (विमानस्थल) को वारिपट्टि रहेको शहर हो । यहाँ १ दर्जन बढी अग्ला–अग्ला सरकारी बिल्डिङ छन् । यी सरकारी बिल्डिङहरू कम आयश्रोत भएका, काम गर्न असक्त (डिसेबल), बृद्धबृद्धा र साना साना नानी भएका परिवारहरूलाई सरकारले कम भाडादरमा दिने गर्छन् ।
हङकङ सरकार कति बाठो। यस्ता अभेग ठाउँमा १०,१२ ओटा अग्ला बिल्डिङ बनाई तल फेदमा बिसाल ब्यापारिक भवन निर्माण गर्छ । र, माथि बिल्डिङमा बसोबास गर्नेहरूको हरेक खाँचो पुरा हुने मार्केट, सुपर मार्केट, क्लिनिक, सेभेन एलेभेन (२४ सै घण्टा खुल्ने दोकान) बैंक, लट्री खेल्ने (जेकी क्लब) लुगा कपडा, चस्मा दोकान, र विभिन्न खाले रेष्टुरेन्ट आदि इत्यादि खोलि दिएपछि त्यहाँका बासिन्दा अन्त जानै परेन नि ?
नेपालमा पनि भर्खर जेन्जी आन्दोलन सकिएको छ, युवा जोस जाँगर उर्लिएर आएकोछ, आशा गरौँ केही होला कि ? कसैले उखाल्न नसकेको सत्ता दुईदिनमै युवाहरूले जरैदेखि उखालेका छन् । थुप्रै युवाहरूले ज्यानको आहूति दिएर आएको परिवर्तनले पक्कै देशको मुहार फेरिनेछ । यो आन्दोलनले देश ध्वस्तजस्तै भएको पनि छ । त्यो पक्ष सम्झिदा दु:ख पनि लाग्छ । तर, विकाश हुन विनास जरुरी छ भन्ने भनाइ पनि छ । संसद भवन, शितल निवास र सिंहदरवार जस्ता सम्पदा अमुल्य थिए । ति अब बनेपनि त्यहाँ जलेका इतिहास र कागजपत्र फर्काउन सकिन्न । म यहीं कामना गर्छु कि ! आउँदा दिनहरूमा जो कोहीले पनि यस्ता राष्ट्रिय सम्पत्तिलाई आफ्नै ठानेर रक्षा गरुन् । सबैमा सद्बुद्धि आओस् ।
मेरो काम गर्ने स्थल भएकोले बाटो देखाउने मुली मै भएँ त्यसदिन । गीता दिदीको मिठो–मिठो गफ सुन्दै हाँस्दै फोटो खिच्दै गैरहनु थियो गैरह्यौं । शरीरमा जोस् थियो, यात तुङ्ग पछि बनेको अर्को ठूलो ‘मुन्तुङ्ग स्टेट’ लाई देब्रे पारेर ठाउँ ठाउँमा दिशा निर्देश बोर्ड हेर्दै ‘ताई ओ’ लेखेको बाटो पछ्याउँयौं ।
मुन्तुङ्ग स्टेटपारिको भित्तामा लान्ताऊ बिग ‘बुद्ध’ जाने बाटो छुट्टिने दोबाटो आयो । त्यहाँ पनि दिशा निर्देश बोर्ड थियो त्यसलाई पनि देब्रे पारेर हामीले ‘ताई ओ’ पछ्यायौं । जङ्गलबीच पनि कति राम्रो सिमेन्टेट बाटो ? छेउछेउमा हरियो रङ्ग गरेको फलामको रेलिङ्ग । तल निलो समुद्र, पारिपट्टि जहाज उड्दै र बस्दै गरेको सुन्दर एरपोर्ट आहा… यात्रा साँची रोमाञ्चक थियो। माइली बुहारी र अनिता बुहारी टिकटकतिर रमाउंदै हामीलाई पछ्याउँथे । दिदी र म भने बाटो छेऊछौउ भर्खरै आएको टाइफुन (हावाहुरी) १० ले ढालेका रुखहरू हेर्दै हिंडी रह्यौं । कतिपय मसिना रुखहरू पनि अलपत्र लाछिएका थिए । ति दृश्य देख्दा यो पालिको टाइफुन १० प्लसको हुण्डरीले उर्लेको एउटा ठूलो खोला जत्रो सामुद्रिक छाल सिसा फोरी होटलको रिसेप्सनभित्र पसेर त्यहाँ भएका फूलदानी र मान्छेसमेत बगाएको दृश्य झल्झली आँखामा आयो ।
सामाजिक सञ्जालमा हेरेको त्यो दृश्य हङकङ अवस्थित चर्चित ‘ओसेन पार्क’ छेऊको एक होटलको थियो भनेर पछि थाहा भएको थियो । यस्ता शक्तिशाली सुनामीहरू समुद्र भएको देशतिर पटक पटक आइरहन्छन् । समुद्र नभएको भूपरिवेष्ठित देश नेपाल यस्ता चिजबाट बेखबर भएपनि अन्य प्राकृतिक प्रकोपहरू बाट मुक्त छैन । झन् अचेल त विकाशको नाममा गाउँ, गाउँ डोजर चलाएर बाढी पहिरोको जोखिम बढाएका छौं ।
बाटोमुनी माथि थुप्रै रुख ढलेका थिए । हङकङ यस्ता ठूल्ठूला हावाहुरी बर्खाभरिमा ५,६ पटक आउँछ । बिगार नगर्ने खालका मसिना त अनगिन्ति नै आउँछन ।
दिदी रामदुवालीमा खाम्लालुङ्गे सोल्टीहरूसँग धान नाचेको गफ निकाल्नु हुन्थ्यो । उहाँको त्यस्तै गफहरूले तानेर नजिक नजिक हिँडीरहन्थें म । दिदीसँग हङकङ आएदेखि सँगै थिएँ । सँगै काम गरेँ, म सन् २००७ मा युके जाँदा दिदीले सारै नमज्जा मान्नु भएको थियो । बिछोडको पीडा त मलाई पनि नभएको होइन तर, पनि हरेक तीन–तीन वर्षमा हङकङ इन्ट्री हुन आउँदा भेट भै हाल्छ नि दिदी भन्दै बाटो लागेथें ।
त्यसपछिका केही वर्षहरू त्यसरी नै पनि बितेका हुन् । तर समय सँधै एकनास रहँदैन अथवा काम कर्तव्य र व्यवहारमा भावनाले काम गर्दैन । काठमाडौँमा घर बनेपछि दिदी धेरै जसो नेपालमै बस्नु थाल्नु भो । दिदीबिनाको मेरो हङकङ इन्ट्री एकदम खल्लो लाग्थ्यो । त्यो बेलामा अहिले जस्तो प्रसस्त सामाजिक सञ्जाल थिएन बोल्नलाई । याहु इमेलहरू दिदीले चलाउनु हुन्नथ्यो । लामो समय यतिकै बित्यो ।
हामी गाउँघरमा हुर्के बढे पनि समय अनुसार चल्न सिपालु हुँदै आयौं क्यारे बिस्तारै दिदी पनि फेसबुक खोलेर बोल्न आउनु भयो । म युकेबाट होई… नेपालबाट दिदी होई…. मरीमरी हाँस्दै गफ गथ्र्यौं ।
हाम्रो गफभरि आउँथे लामा आइल्याण्डमा १० वर्षसँगै काम गर्दाको अनुभव । लन्च टाइममा दहलमारा खेलेर हारेपछि गाला रातो पारेर दिनभर नबोलेको, पानी जहाजमा सिङ्गै बेञ्च रोकेर बिहान चिम्सा चुईदेखि लामा आइल्याण्ड, साँझ लामा आइल्याण्डदेखि चिमसा चुईसम्म १/१ घण्टा बर्की ओढी लमतन्न सुतेर आउँदा चाइनिजहरू कराई रहेपनि हामी अटेर गरेका कुरा, जाडो महिनामा स्काफोल्डिङ्गको प्लेटफर्ममा कालो प्लाष्टिकभित्र पसेर सुतेको, वान चाइमा छत पेन्टिङ गर्दा कछुवा बिल्डिङ मुनिको ओके सोपमा पिरो ‘हटडक’ ब्रेड खाएको आदि कुराहरू कहिल्यै छुट्दैन्थे । वानचाइमा काम गर्दा दिउँसै झ्याप भएर काम गर्ने एउटी साथि थिई, उनको मेलो छेऊछाऊ रेड लेबलका बोतलहरू गुडुल्की रहेका हुन्थ्ये । बिचरा भर्खरकी थिइ एउटा छोरा थियो । केही वर्षमै उनी क्यान्सर रोगले नफर्किने बाटो लागिन् । कतिले भन्थें उसलाई आफ्नो रोगबारे थाहा भएरै खाएको हो ।
कहिल्यै फर्केर नआउने यस्ता अविस्मरणीय समयहरू अत्यन्तै प्रिय सम्झिरहन मन लाग्ने सम्पत्ति झैं हुँदा रैछन् ।
बीच–बीचमा सानो सानो गाउँहरू पार गर्दै हामी एउटा ठूलो चप्लेटी परेको ढुङ्गोमा पुग्यौँ । त्यो ठूलो ढुङ्गा मेरो गाउँको छिरुवानी बजारको दन्त्य कथाको राक्षस बस्ने ढुङ्गाजस्तै लाग्यो। हामीले ढुङ्गामाथि बसेर मज्जाले पानी र जुस खायौं । त्यहाँ अन्य पर्यटक पनि आराम गर्दै थिए उनीहरूलाई हामी चार जनाको सामुहिक फोटो खिच्न लगायौं ।
छेऊकुनो मिलाई–मिलाई चार पाँच क्लिक फोटो खिचिदिइन् । उसलाई धन्यवाद दिंदै ‘तपाईं त फोटो खिच्न सिपालू हुनुहुँदो रैछ’ भनें । थोरै सर्मौंदै धन्यवाद भनिन् ।
मलाई बाटो त्यहाँसम्मको मात्र थाहा थियो त्यसैले क्यान्टोनिज भाषामा ‘ताई ओ’ कसरी गइन्छ ? भनि हिँड्नु अघि उसैलाई सोधेँ, उनले २ किलोमिटर पछि एउटा दोबाटो आउँछ । त्यहाँ निर्देशिका बोर्ड छैन जस्तो लाग्यो त्यसैले मान्छे झुकिन्छ्न् । त्यो दोबाटोबाट देब्रे तर्फको बाटो जानुस् दाहिने जानु भो भने ‘सोलोवान’ फेरी आउँछ त्यहाँ बाटो टुङ्गिन्छ उनले चाइनिज भाषामै भनिन् ।
बल्ल पो सम्झेँ गत वर्ष ‘ताई ओ’ जाने भनि हिँडेको हामी सोलोवान फेरी निस्केको किस्सा । चिनानीले भनेको सबै कुरोहरू उल्था गरेर साथीहरूलाई सुनाएँ, उसलाई धन्यबाद दिएर बाटो लाग्यौं । उसले पनि उनको भाषा हामीले बुझिदिएकोमा खुशी ब्यक्त गरिन् । भाषाको महत्व यतिखेर थाहा हुन्छ, जब फरक भाषा भएका देशमा हामी पुग्छौं, सन् १९९५/९६ तिर हामी आउँदा भाषाकै कारण धेरै दु:ख भोगेका भोगेका छौं ।
यहाँका बासिन्दा अङ्ग्रेजी बोल्दैनथे, हामी क्यान्टोनिज भाषा जान्दैनथ्यौं । किनमेल गरिखान सारै दु:ख थियो । कसै, कसैले धनिया किन्न जाँदा चिनानी बुढीले कति डलरको लैनाने ? भनि सोधेको नबुझ्दा ५० डलरको एक अँगालो धनिया बोकेर आएको तितो सत्य कम हाँसउठ्दो छैन । त्यसबेला ५० डलर अहिलेको ५ सय जतिकै थियो । धन्न म्याकडोनल्ड चाहिँ नम्बर सिस्टमले राखेको हुनाले इसाराले औंल्याएर खाइन्थ्यो ।
जति हिँड्यो उति लामो लामो हुँदै गयो बाटो । निकै लामो मालिङ्गोघारी काटेर ओरालो लागेपछि सोलोवान र ताई ओ जाने बाटो छुट्टियो। हामी अघिल्लोपल्ट आउँदा बाटो नदेखेर सोलोवान पुगी फेरी (पानी जहाज) चढेर तुङ्ग्चुङ्ग आएका थियौं । त्यसबेला मेरो साथमा फुपुकै छोरी सीता नाल्बो बहिनी र उनका दुई भदैनी सुष्मिता र सञ्जु थिए ।
अघिल्लोपल्ट आउँदा अघि चिनानिले फोटो खिचिदिएको ठाउँमा बसेर चटपटे खाएका थियौं । यो पालि सीतालाई जाऊँ भन्न भूलेकोमा पछुतो पनि लाग्यो । किनकि त्यो बेला पनि ताकेर हिंडेको त ‘ताई ओ’ नै थियो । तर बाटो नदेख्दा अन्तै पुग्नु पर्यो ।
मौसम एकदम आनन्दको थियो, घाम पनि नलागेको, पानी पनि नपरेको । बतास भने चाहिएको भन्दा पनि बढी नै चलेझैँ लाग्ने । पारी वारीका दृश्य मज्जाले देखिने अथवा कतै पनि कुहिरो नलागेको ।
त्यहाँबाट एक किलोमिटर जति हिंडेपछि एउटा सानो गाउँ आयो । त्यहाँ केही दोकान अनि बाटो हिंड्नेहरूले खाना खानेजस्ता केही रेष्टुरेन्टहरू थिए । त्यो ठाउँ मलाई ठ्याक्कै मुग्लिङ्ग जस्तो लाग्यो र त्यै नाम राखिदिएँ । सबै भन्दा छेऊको दोकानमा बसेर हामीले भटमासको दुध जमाएर दहिजस्तो बनाइएको (चाइनिज भाषामा तबूफा) एक–एक बटुको र सेनविच अनि स्यूमाई (चामलको पिठोबाट बनेको परिकार ) खाएर २१६ डलर तिरिवरि बाटो लाग्यौं ।

बिहानको खाजाको दाँजोमा निक्कै महँगो लाग्यो तर अभेग गाउँ गाडीको बाटो छैन । साइकल मात्र हिड्न मिल्ने ठाउँमा त्यतिको दाम स्वीकार्य नै लाग्यो । हुन त त्यस गाउँदेखि सलोवान फेरी नजिक भएकोले पानी जहाजमा सलोवानसम्म ल्याएर बोक्नुपर्ने होला कि ! त्यो पनि असम्भव लागेन । त्यस मुग्लिङजस्तो गाउँका मान्छेहरूलाई अब ‘ताई ओ’ पुग्न कति लाग्छ ? भनि सोध्यौं । उनीहरूले १ घण्टा लाग्छ भने । त्यस गाउँमा पनि हामीलाई हेर्ने आँखा र अनुहार प्राय: बुढाबुढी मात्र थिए ।
उनीहरूलाई हेर्दै, मैले युवा युवतीबिहिन भएको मेरो आफ्नै गाउँ इखाबु सम्झेँ । उहिले कुखुरा, बाख्रा धपाउँदै नाता नातिनालाई कराउंदै बिस्कुन रुँघ्ने बाजेबजै अचेल रित्तो घर रुँघ्ने भएका छन् । जो कतै जान सक्दैनन् तिनै पाका पाकी त हुन् नि अचेल गाउँ घर रुँघ्ने ।
अलि पर्तिर पुग्दा फेरि अर्को ‘बिग बुद्ध’ जाने बाटो र ‘ताई ओ’ जाने बाटो छुट्टियो । हामीले ‘ताई ओ’ तिर देखाएको बाटोलाई पछ्यायौं। बिग बुद्ध जाने ठूलो बाटोले सिमेन्ट ढलान गरेको बाटो जम्मै उतै लिएर गएजस्तो त्यस मोडबाट नराम्रो सानो गोरेटो हिलो माटोको बाटो सुरु भो । सुरुमै यहाँदेखि उताको बाटो राम्रो छैन होसियारी हिंड्नु भनि साइन बोर्डमा लेखिएको थियो ।
बाटोको मुखैमा हिन्दी भाषामा (मु मिठा कर्के आगे चलो) भने जस्तो बाटोको मुखैमा, गुलियो अर्गानिक केरा र मेवा ठूलठूलो नाङ्गलोमा भाग–भाग गरेर राखिएका थिए । वरीपरी कोही थिएनन् ।
कतै नराम्रो मन्साएर फालेको पो हो कि ! जस्तो पनि लाग्यो । तर, भित्तामा एक टुक्रा कागजमा चाइनिज अक्षरले लेखेर राखेको देखें । अनिता बुहारीले गुगलको सहयोगमा ट्रान्स्लेट गरेर हेरेपछि थाहा भो ।
त्यो त विश्वासको भरमा चल्ने त्यहीं गाउँमा फलेको फलफूलहरूको दोकान पो रैछ । त्यसपछि पो देख्यौं साइडमा फलफूलको दाम छिराउनु पर्ने सानो खुत्रुक्के । जसको मुख ओठ जस्तै आँ… परेको त्यहीं ५० डलर छिराएर दुई भाग केरा टिपेर खाँदै बाटो लाग्यौं । केराको बिशेष दाम तोकेको थिएन र हामीले पनि बजार भाऊ भन्दा केही पैसा बढी नै छाडेको हौं ।
कत्रो विश्वास ? कत्रो आनन्द ? हामी भन्दा अघि जाने आउनेले पनि किनेका थिए होलान् त्यो खुत्रुकेमा पक्कै केही पैसा थियो होला ? अरु देशतिर भए फलफूल पनि गायब खुत्रुके पनि गायब । संसारमा विश्वास अझै मरेको रहेनछ । पक्कै पनि यी गाउँका मान्छेले बुद्ध धर्म मान्छन् होला ? यो लान्ताऊ आइलेंड त बुद्ध कै नामले चर्चित छ ।
मनमा बुद्ध आएपछि गर्वले चौडा भो नेपाली छाती । भर्खरै खाएको गुलियो केराको कमाल हो या मनमा विराजमान भगवान गौतम बुद्धको आसिर्वादले हो ? हात गोडामा तागत आयो, एक घण्टाको बाटो एकैछिनमा ‘ताई ओ’ पुगेझैं महसुस भो ।
गायक धिरज राईको गीत ‘Buddh was Born in Nepal’ याद आयो । हामी ‘बिग बुद्ध’ डाँडाकै किनारतिर त थियौं । धन्य परदेशमा सगरमाथा, भगवान बुद्ध र गोर्खाली यिनै नामहरूले त उच्च सम्मान र गौरवका साथ जिउन मद्दत गरेका छन् । अझ भृकुटी, सीता र अरनिको यी तीन नामहरूले सदियौंदेखि चीन र भारतसँग मित्रता गाँस्न मद्दत गरेका इतिहासहरू पढिन्थ्यो ।
डीएनए गरे अरनिको सन्तानहरू अझै भेटिन्छन् चाइनामा भन्ने तर्कहरू पनि कहीं कतै उठ्न थालेका छन् । केही वर्ष अघि एक जना विज्ञ (नाम चाहिँ भूलेँ ) ले चाइनामा बसेर अरनिको बारेमा खोज अनुसन्धान गरी लेखेको पुस्तकको बारेमा भएको चर्चा र अन्तर्वार्ता सुनेकी थिएँ रेडियोमार्फत । कलाकार अरनिको प्यागोडा शैलीको घर बनाउन सारै सिपालु थिए रे । उनी नरहे पनि उनले सुरु गरेको उनको त्यो सीप अझै जीवित छ ।
उनको सीप र कलालाई चिनेर चाइनाले ससम्मान जग्गा जमीनसहित छोरीचेली दिएर उतै राख्यो । अहिले चाइना र हङकङतिर प्यागोडा शैलीको छानाहरू देख्दा उनैको याद आउँछ । मैले यो हरफहरू लेख्दै गर्दा मनमा एउटा गहिरो कुरो उत्पन्न भयो । यो जमानाको अरनिको त हामी पनि हुँदै छौं नि होइन र ? लाखौं लाख नेपाली युके, अमेरिका, हङकङ र अन्य विभिन्न देशमा बसोबास गर्न थालिसकेका छौं । हाम्रा सन्तान, दरसन्तान अब नेपाल फिर्दैनन् । बिस्तारै हाम्रो पनि डी एन ए मा मिसावट आउन थाल्छ। सम्झिंदा साधारण लाग्ने यो कुरो निक्कै जटिल र गहिरो छ ।
हामी पहिलो पटक ‘ताई ओ’ पुग्दै गरेकोले त्यहाँबाट मुख्य बजार कसरी प्रवेश गरिन्छ थाहा थिएन । अनिता बहिनीले हेरेको गुगलको निर्देशन पछ्याउंदै देब्रेतिर लाग्यौं । अघि मुग्लिङ्गमा खाएर हिंडेको पानी र तबुफाले निकास खोजेकोले हामी टवाइलेटको खोजीमा थियौं ।
पानीमाथि याक्साजस्ता गुजुमुजु परका घरहरू थिए । बाटोभरि आँखा ओछ्याएर हेर्दा पनि पब्लिक टवाइलेट नदेखेपछि टवाइलेट गर्ने स्वार्थले सानो छाप्रीजस्तो दोकानमा उक्लेर कोक किनी खान थाल्यौं । घरको अगाडी तातो स्यूई माई र फिस्बल बेच्न बसेकी एक चाइनिज युवतीलाई पाइखाना सोध्यौं । तर उसले ‘छिसौ’ अर्थात पाइखाना छैन भनिन् । यहाँबाट आधा २०० मिटर पर्तिर जानुस त्यहाँ एउटा सब्जी बजार आउँछ त्यसैको मास्तिर पब्लिक टवाइलेट छ भनिन् । त्यहाँ टवाइलेट छैन भन्ने थाहा पाएपछि पछुताउँदै ३ ओटा कोक र एउटा पानीको ३२ डलर तिरेर बाटो लाग्यौं ।
हामीलाई ‘भ्यू हिल’ ले तानिरहेकोले हाम्रा चार जोर थाकेका पाइलाहरू, पाइखाना प्रयोग पछि, सिधैँ भित्तातर्फको बाटो उकालो लागे । घाम अझैसम्म थियो । हात हातमा भएको छाता खोलेर लहरै उकालो लाग्यौं । उकालो लाग्नु अघि एउटा प्यागोडा शैलीको धूरी भएको चाइनिज मन्दिर थियो । मन्दिर मास्तिरको भित्ता भने जम्मै स्वर्गद्वारीजस्तो एकै खाले घरले भरिएका थिए । मान्छेको जात बाँचुन्जेल त नानाथरिका घर र पैसा गाडी बङ्गला भनेकै हुन्छौं, मरेपछि पनि घरै चाहिने रैछ ।
जिउँदो हुँदा मात्रा आ–आफ्नै इच्छा, चाहना अनुसारका घर हुने, मरेपछि त एकै खाले । त्यो भित्ता हेर्दा समाधिस्थल होइन कुनै एक गाउँ जस्तो थियो । माथि एउटा सुन्दर पेरेंगे डाँडा । बीचमा नागबेली परेको आकर्षक ढुङ्गा ओछ्याएर छेऊछेऊमा काठको रेलिङ्ग राखेको बाटो ।
उता हेर्दा समुद्र, समुद्र माथि मकाऊ जाने पुल, यता हेर्यो ‘ताई ओ’ बजार । गहिरी गाउँ समाधिस्थल । ट्याक्कै ग्रेट वालजस्तो, बाटोको टुप्पामा एउटा प्यागोडा शैलीको बिसौनी घर । त्यहाँ अघिदेखि धेरै मान्छे फोटो र टिकटक खिचिरहेका । सारै आनन्द लाग्ने डाँडा । त्यहाँबाट हङकङका विभिन्न स्थानहरू नियाल्न सकिने । हामीले पनि केहीथान फोटो परदेशी मैया (फिलिपिन्सहरू) लाई खिच्न लगायौं । अनि ओरालो लाग्यौं । म र गीता दिदीको पहाडे ज्यानमा भन्दा तराईतिर हुर्केका बुहारीहरूको ज्यानमा थकानको मात्रा ज्यादा देखियो त्यसदिन ।
थाकेको घुँडा झाँक्रीले झैं कमाउँदै ओरालो झरेर एक एक ओटा ठूल्ठूला शंख किन्यौं दिदी र मैले, जता हेर्यो उतै सिफुडका परिकार, माछा सिकुटी अनेक बेच्न राखेका बजार हेर्दै तुङ्ग्चुङ्ग आउने बस नम्बर ११ चढेर बाटो लाग्यौं । ‘ताई ओ’ एक पुरानो माछा मरिखाने मछवांडेहरूले बसालेको शहरको रूपमा विकसित छ । यहाँ बसोबास गर्नेहरूले अझै पनि त्यहीँ पेसा अङ्गालेको देखिन्छ । यहाँ बस्नेहरूको मुख्य पेसा नै माछा मारेर बजारतिर बेच्ने । सिफुड रेष्टुरेन्ट चलाउने । घुम्न आउने पर्यटकहरूलाई पानी जहाज चढाएर विभिन्न सामुद्रिक ठाउँ डुलाएर पैसा कमाउने आदि हुन्छ ।
हामीलाई पनि पानी बोर्ड चढेर निलो डल्फिन हेर्न जाने अनुरोध गर्दै थिए व्यापारीहरूले तर हामीसँग समय नभएको र थाकेको हुनाले अर्को पटक आउने बाचा गर्दै बिदा भयौं । त्यहाँ पहिले गइसकेका साथीहरू भन्थे त्यहाँबाट बोर्ड चढेर गयो भने निलो डल्फिन भएको ठाउँ पुगिन्छ । तर ति निलो डल्फिन भाग्यमानीले मात्र देख्न पाइन्छ । म त्यहाँ जान नपाएकोले म भाग्यमानि कि अभागी थाहै भएन ।
ताप्लेजुङ
हाल : हङकङ






