
कला क्षेत्रका अब्बल प्रतिभा हुन्, दुर्गा गुरुङ । मुख्यतः संगीतकारको रुपमा परिचित रहे पनि उनमा राम्रो गायकी कला छ । अझ उनको ‘बोल्ड’ परिचय बाँसुरी बादक ।
तीन खोलाको संगमलाई त्रिवेणी भनेजस्तै दुर्गामा संगीत संयोजन, गायन र बाँसुरी बादकको राम्रो ज्ञान । यी तीनवटै विषयलाई अँगाल्दैमा उनको जीवनको भरभराउँदो, जोसिलो समय लगभग कटिसक्यो । तर, सांगीतिक लगाब भने फिटिक्कै कम भएको छैन ।
०००
२०५० सालदेखि बाँसुरी बादकको रुपमा कला क्षेत्रमा लागेका हुन् दुर्गा । तनहुँको भानु नगरपालिका पुर्ख्यौली घरमा हुर्के–बढेका उनी प्रवेशिका परीक्षा दिनासाथ मामाघर कास्कीको पोखरा पुगे । एसएसलीको रिजल्ट नआउँदै उनी पोखरामा कल्चर प्रोग्राममा बाँसुरी बजाउने काम गर्थे । जब एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएको खबर आयो तब उनी पोखराको पिएन क्याम्पसमा भर्ना भए । रम्न, रमाउन बानी परिसकेका दुर्गाले क्याम्पस भर्ना त भए तर पढाइलाई निरन्तरता दिन सकेनन् ।
पढाइतिर भन्दा उनी पोखराको लेकसाइटतिर हुने कार्यक्रमहरुमा व्यस्त हुन थाले । ‘क्याम्पस भर्ना भए पनि पढाइतिर ध्यान गएन । बेलाबेलामा पोखराको लेकसाइडमा कल्चर प्रोग्राम हुँदारहेछन्’ उनले कुराकानीको सुरुवाती चरणमा भने, ‘पर्यटकहरुलाई मौलिक संस्कृति र बाजाहरु सारंगी, बाँसुरी, मादल बजाएर मनोरञ्जन दिलाउनतिर ध्यान गयो ।’ पछि मामाहरुको चिनजानले स्थानीय लालीगुराँस कल्चर सेन्टरका प्रोपाइटर ताराबहादुर गुरुङसँग भेट भयो । त्यहाँ उनले करिब दुई वर्ष काम पनि गरे । तर, साथीभाइले यत्तिका प्रतिभा भएका मान्छे काठमाडौं जानुपर्छ, अगाडि बढ्ने आधार नै त्यहीं हो भन्ने सल्लाह, सुझाव दिएपछि मावलीको बसाइ टुट्न पुगे ।
२०५२ सालमा काठमाडौं हान्निएका उनी नारायण रायमाझीको रिमा रेकडिङ स्टुडियो बबरमहल पुगे । गाउँदेखि नै बाँसुरी, मादल बजाउने, चुड्का (कौडा)लगायत मौलिक गीतबारे ज्ञान लिइसकेका उनीसँग रायमाझीले अन्तर्वार्ता लिएका थिए । रायमाझीको प्रश्नमा आफूले बाँसुरी, मादल, हार्मोनियम बजाउन सक्ने दुर्गा गुरुङले ढुक्कले भने । र, बजाएर देखाइदिए पनि । परीक्षणकै क्रममा दुर्गाले बाँसुरीको तिरीरी..आवाज घन्काइदिएपछि पहिलोपटक नै प्रभावित बनेका रायमाझीले आफ्नो स्टुडियोमा दुर्गा फिट हुने देखे । र, भोलिपल्टै काममा बोलाए ।
दुर्गालाई बाँसुरीमा सुरताल खोज्न जति मिहिनेत र कष्ट पर्यो, त्यो भन्दौ गाह्रो बाँसुरी खोज्न । कुन स्केलको, कुन कहाँ पाइन्छ भन्ने थाहा नै थिएन उनलाई । ‘मधेसीले बेच्न हिँड्ने बाँसुरी किन्दै, फाल्दै गरेर यत्ति पैसा फालेँ कि’ उनले भने, ‘किन्ने ठाउँमा राम्रो, घर आएर बजाउँदा मन नपर्ने ।’ त्यत्तिमात्रै होइन, बाँसुरी धुन भर्न अडियो क्यासेट किनेर वाकमेन चलाउँदा ब्याट्री किन्दाको हैरानी पनि सुनाए ।

०००
तीन दशकभन्दा बढीको सांगीतिक कर्ममा कहिले तीता, कहिले मीठा अनुभव संगालेका छन् संगीतकार दुर्गाले । स्टुडियोमा रेकर्ड गर्नु र काम गर्नेभन्दा प्रत्यक्ष (लाइभ) कार्यक्रममा प्रस्तुति दिन निकै अप्ठेरो हुन्छ । आफूले बाँसुरी बजाउने भए पनि अरुको पर्फमेन्स थाहा हुन्थ्यो, कसले टाइमिङ बिगार्यो, कसले सपार्यो । उनले तीतो यथार्थ भोगाई ओकले, ‘मैले घमण्ड गरेको होइन कि टाइमिङको सीक्वेन्स नमिल्दा चाहिँ दर्शकको अगाडि गिल्टी फिल हुन्थ्यो,’ अझ स्पष्ट गराउँदै उनले भने, ‘साथीभाइले रमाइलो त गरेका छन् तर आफू कहाँनिर छु भन्ने थाहा हुन्थेन । सबै नराम्रो त भन्न मिल्दैन ।’ उनका समकालीनले त्यतिबेला सोल्टी, याक एन्ड यति, तारागाउँमा रहेका हायात होटलमा निरन्तर जस्तै लाइभ कार्यक्रम गरेका थिए । टिमले गरेको गल्तीले असहज मात्रै हुन्थेन दुर्गालाई अविष्मरणीय पीडा समेत बनेको छ । उनी भन्छन्, ‘कार्यक्रमको पीडा भनेको सुरताल कम्बिनेसन नमिल्ने, त्यो पनि लाइभमा । नगरौं कसैले पनि नगर्ने, गरौं सबै पर्फेक्ट नहुने । त्यो पीडा त बिर्सनै नसक्ने हुन्थ्यो ।’ कार्यक्रमको समयमा मन मिल्ने साथीभन्दा पनि कामको सिक्वेन्स मिल्ने साथीको जरुरत पर्ने उनको बुझाइ छ । त्यसो भएमा अडियन्सलाई भन्दा काम गर्नेलाई नै आनन्द हुने गर्छ ।
०००
हरेक मान्छेले कुनै पनि क्षेत्रमा रातारात प्रगति गर्ने सोच बनाएका हुन्छन् । तर, सोचे जसरी अघि बढ्ने वातावरण नमिलेको गुनासो प्रशस्तै सुनिन्छ । संगीतकार दुर्गा भने आफूले संगीत क्षेत्रमा एकदमै छिटोछिटो स्टेप चालेको दाबी गर्छन् । आफ्नो प्रगतिमा ईष्या गर्ने पनि भेटिएका छैनन् उनले । ‘म कसैलाई प्याच्च भन्दिनँ । ग्रुपमा सहकार्य गरेर अघि बढ्दै आएको छु,’ गर्विलो पारामा भने, ‘अहिलेसम्म दूश्मन कमाइएको छैन, मसँग संगत गर्नेले दुर्गा यस्तो, उस्तो भनेर खोट लाको पनि पाछैन ।’
नेपालीमा प्रशिद्ध भनाइ छ, ‘आफू भलो त जगतै भलो’ कलाकार दुर्गालाई पहिले बेल्जियम, हाल नर्वेमा रहेकी संगिनीले जति मद्दत गरिरहेकी छिन् त्यस्तै परिवारमा आमाबुवा, दाजुभाइ, दिदीबहिनीको सपोर्ट मिलिरहेको छ । बुवा इन्डियन आर्मी भएकाले उनी भारतमा जन्मेका हुन् । सानोमा तनहुँको कालिका माविमा पढ्दा उनी अध्ययनशील विद्यार्थीमा गनिन्थे । विद्यालय शिक्षाको तुलना गर्दै परिवारले पनि यसले पछि पढाइबाट केही गर्ला भन्ने अपेक्षा राखेको भए पनि त्यसो हुन नसकेकोमा उनलाई असहज फिल हुन्छ कहिलेकाहीं । तर, संगीतमा लागेर उनलाई पश्चताप भने कत्ति पनि छैन । ‘अलि धेरै पढेको भए सरकारी जागिर खाइन्थ्यो होला, त्यसरी कसैले चिन्दैनथे । मेरो इन्ट्रेस्ट नै संगीतमा भएकोले यतै लागेँ । सन्तोषै मानिरहेको छु ।’ अझ सम्हालिँदै दुर्गा भन्दै थिए, दामले कसैलाई नि पुग्दैन । दामले पुग्यो भन्ने मान्छे पनि भेटिएको छैन । कमाएको मान्छेले बरु दान दिन्छन्, पुग्यो भन्दैनन् । उनलाई खर्च चलाउन खासै अप्ठेरो परेको छैन रे, सन्तुष्टि मानिरहन्छन् ।
०००
मंगोलिन अनुहारमा मगर, गुरुङ, राई, लिम्बूलगायत समुदायमा लाहुरे बन्ने ट्रेन छ । दुर्गाले पनि युवावस्थामा केही समय शारीरिक व्यायम गरे पनि । तर, लहलहैमा लाहुरे बन्ने त भनियो, उचाई कति चाहिन्छ भन्ने ख्याल नहुँदा उनलाई अप्ठेरो आइलाग्यो । तुलनात्मक रुपमा कद कम होला कि भनेर उनी भर्तीको प्रक्रियामा भने पसेनन् । अहिलेसम्म संगीत नै भनेर लागिरहेका गुरुङ पढाईलाई निरन्तरता दिन पाएको भए हुन्थ्यो भन्ने महसुस चाहिँ गर्छन् अचेल । कारण आफूभन्दा जुनियर रुपमा संगीतमै काम गरेका राजेश थापा राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान)का महाप्रबन्धक बनेकाले । ‘हामी समकालीन साथी हौं, राजेशजी नाचेर, गाएर हिँड्ने । उनले एमालेतिर लाग्नु भो र पढाइ सँगसँगै लगेछन्’ उनले फेहरिस्त बताए, ‘उनी पहिले मेरो अन्डरमा काम गर्थे, किबोर्ड बजाउँथे, फोटो खिच्थे ।’ राजेश थापा महाप्रबन्धक बन्दा दुर्गालाई लाग्ने गर्छ, सर्टिफिकेट बनाए भने एउटा न एउटा ठाउँ पाइदोरहेछ ।
०००
सांगीतिक अभियानमा अहोरात्र लागिराखेका गुरुङ अधिकारवाला संघ, संस्थामा पनि आबद्ध छन् । उनका अनुसार गुरुङ कलाकार संघमा केन्द्रीय सदस्य, गुरुङ फिल्म एसोसिएसन (जिफान) पोखरामा संलग्नता छ । कुनै बेला वरिष्ठ संगीतकार सुरेश अधिकारीसँग मिलेर राष्ट्रिय कला मन्दिर पनि खोलिएको थियो ।
०००
लाहुरे परिवारमा माइलो भएर जन्मेका दुर्गाको प्रेम विवाह हो । ०५० सालमा पोखरा मामाघर पुगेका उनले लालीगुराँस कल्चर सेन्टरमा स्याङ्जाली नन्दशोभा गुरुङलाई भेटेका हुन् । कल्चर सेन्टरमा दुर्गा बाँसुरी बजाउँथे भने नन्दशोभा डान्सर । संयोगले दुवैजना कल्चर सेन्टरमा ग्रुप लिडर बने । संगीतकार दुर्गाको बुझाइमा नन्दशोभा विवाहअघि कुनै पनि क्षेत्रमा निपूर्ण र परिपक्व मान्छे चाहन्थिन् । नन्दप्रति त्यही बेला आकर्षित भएका दुर्गाले प्रस्ताव आफैं राखेका थिए । ‘केटी मान्छेले बढी चाहे पनि प्रस्ताव केटाले नै गर्ने हो’, हाँस्दै भने, ‘उनले एक वचनमै कुरा काटिनन् ।’
पोखरामा झन्डै दुई वर्ष मायाप्रेमको चक्कर चले पनि दुर्गा र नन्दशोभाको विवाहले काठमाडौंमा आएपछि वैधानिकता पायो । ०५२ पछि विवाह बन्धनमा गाँसेका उनीहरुबाट एक छोरा र एक छोरी भएको छ । दुर्गाको प्रगतिमा नन्दशोभा रमाउँछिन् रे । त्यही आँटभरोषा, माया, सुझावले संगीत क्षेत्रमा अघि बढ्ने मनोबल नघटेको दुर्गाले बताए ।







