लन्डन । तनहुँको ऋषिङ गाउँपालिका – झापुटारमा हुने दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि बेलायतबाट समाजसेवी अनिता राना मगरको अगुवाइमा ८ लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको छ ।
नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही वैशाख ४ र ५ गते हुने सम्मेलनका लागि युकेमा मात्र ८ लाख १० हजार रुपैयाँ संकलन भएको हो । उक्त रकम मगर संघ युकेका पूर्वउपाध्यक्ष रानामगरको पहलमा संकलन गरिएको हो । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिले उनलाई युके संयोजकको जिम्मेवारी दिएको थियो ।
कौराहा नृत्य मगर समुदायको इतिहास र सभ्यतासँग जोडिएको महत्वपूर्ण मौलिक संस्कृति भएकाले यसको संरक्षणका लागि अभियानस्वरूप आर्थिक सहयोग जुटाइएको संयोजक रानामगरले बताइन् । सामाजिक सञ्जाल र टेलिफोनमार्फत सहयोगको अपिल गरेपछि उत्साहजनक साथ प्राप्त भएको उनको भनाइ छ । उनले संकलित रकम सम्मेलनका क्रममा चेकमार्फत हस्तान्तरण गरिने जानकारी दिइन् ।








