विजय हितान
पुस–माघको कुइरोले डाँडाकाँडा ढाकेजस्तै आजकाल बेलायतका सहरबजार रिटायर्ड गोर्खा लाउरे र तिनका परिवारले ढाकिँदै आएका छन् । बेल्पाली साहित्यजगत् पनि यसरी नै ढाकिएको छ लाउरे–लाउरेनी स्रष्टाहरुले । युद्ध अर्थात् सैनिक साहित्यको धारलाई पक्रेर लेख्ने जमात यसै समूहभित्र पाइन्छन् । दोस्रो विश्व नेपाली साहित्य सम्मेलन, १२ अगस्ट २०१८ मा मैले प्रस्तुत गरेको ‘बेल्पाली लाउरे स्रष्टा र युद्ध साहित्य’ कार्यपत्रले यो देखाउँछ । जानु काम्बाङ लिङ्देन गैरलाउरेनी स्रष्टाभित्र पर्छिन् तापनि सैनिक परिवेश र समुदायमा हुर्केबढेकी हुनाले यिनको व्यवहारमा लाउरेनीपना झल्किन्छ नै ।
गैरलाउरेनी जानुलाई आजकल म अति नै क्रियाशील लेखिका पनि भन्न रुचाउँछु । बेलायतबाट प्रकाशित हुने साप्ताहिक पत्रिका एभरेस्ट टाइम्समा यिनका कथा, संस्मरण, निबन्ध, कविता, रिपोर्ट इत्यादि निरन्तर रुपले आइरहन्छन् । यिनको फेसबुकमा कविता, गजल, गीतहरु छिनछिनमा अपलोड भइराखेका हुन्छन् । यिनीद्वारा रचित गीतहरु नेपाली चलचित्रमा गाइएका देख्न र सुन्न पाइन्छन् । भिडियो भएका यिनका गीतहरुका युट्युुब लिङ्कहरु मेरो इन्बक्समा ठोक्किएका ठोक्किएकै गर्छन् । यिनको कलम यही रफ्तारमा दौडिँदै रह्यो भने, मलाई लाग्छ, काठमाडौंमा रेल भित्रिनुअघि नै यिनको नाम मूलधारको नेपाली साहित्यजगत्मा भित्रिन सक्छ ।
यसरी गैरलाउरेनी जानुले आफ्नो पहिलो कथासंग्रह ‘नउघ्रेको जून’ लिएर कथा लेखनको संसारमा उघ्रेकी छिन् । यसमा बीस कथाहरु समावेश गरिएका छन् । ‘नउघ्रेको जून’ शीर्षकको कथाद्वारा संग्रहको ढोका उघ्रिन्छ भने ‘खोलाले छोरो फिर्ता दिएन’ शीर्षकद्वारा बन्द । कथाहरुभित्र पसेर रमाउँदै गर्दा लाग्छ जानु नारीवादी कथाकार हुन् । प्रायःजसो कथाहरु नारी जीवनमा आधारित छन् । सूर्यलाई केन्द्रबिन्दु पारेर ब्रह्माण्डमा जसरी ग्रहहरु परिक्रमा गरिरहेका छन्, त्यसरी नै कथासंग्रहमा नारी जीवनलाई केन्द्रबिन्दु पारेर कथाका अन्य तत्वहरुलाई घेरावरिपरि घुमाइएको छ । यिनका कथामा महिला हकअधिकार, प्रेम, युद्ध, द्वन्द्व, मृत्यु, स्वप्नील समय, शङ्का, पीडा, बलात्कार, दाम्पत्य सम्बन्ध, पारिवारिक जीवन, भय, डायस्पोरा, नोस्टालजिया, जातीय पहिचान, संस्कार, जन्मघर, इत्यादि विषयवस्तुलाई बडो कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
अलि मन खोलेर भन्नुपर्दा कथाकार जानू ‘नउघ्रिएको जून’ कथासंग्रहमार्फत नारी जीवनमा आधारित पीडा, हिंसा, असमानताको चित्कार अभिव्यक्त गर्दै उघ्रिएकी छिन् ।
यसै सिलसिलामा माथि लेखिएका प्रायःजसो सबै विशेषता बोकेको एक सबल कथा हो ‘हाङ्मा’ । अन्तरजातीय विवाह र बिग्रँदो पारिवारिक सम्बन्ध, डायस्पोरिक, सैनिक, नोस्टाल्जिक, जातीय पहिचानको समिश्रण हो ‘हाङ्मा’ । मृत्यु र भयलाई खेलाउँदै अहिलेको आधुनिक ग्लोवलाइजेसनको युगमा समाजभित्र हुने घटनाले यस कथाको रुप लिएको छ । कथा वास्तविकजस्तै लाग्छ । प्रस्तुत विम्बात्मक प्रस्तुति कलाले कथालाई अझ रोचक बनाएको छ ।
‘मन्दमन्द मुस्कुराउँदै सबैलाई मोहित तुल्याउँछिन् मोनालिसा । हेर्दाहेर्दै हाँस्छिन् अनि रुन्छिन् पनि । उनलाई पनि त एक्लो बस्ने रहर कहाँ थियो र ।’ उनले कति बिन्ती गरेकी होलिन् लियोनार्दो दा भिन्चीलाई आफ्नो जस्तै तस्बिर लोग्नेको पनि कोरिदिन भनेर ।’
‘…. आइफल टावर पनि त एक्लो छ नि ! उसको छेउमा बस्ने अर्को त्यस्तै टावर कहाँ छ र ….. ! हाम्रा गाउँघरमा जस्तो वरको छेउमा पीपलु कहाँ हुन्छ र यहाँ ।’ सैनिक साहित्य र द्वन्द्व साहित्य छुट्टाछुट्टै हुन् । सैनिक साहित्य युद्ध साहित्य हुनसक्छ, तर द्वन्द्व साहित्य युद्ध साहित्यभित्र पर्दैन भनेर युद्ध साहित्यलाई परिभाषित गर्ने बेल्पाली लाउरे स्रष्टाहरु नरेश काङमाङ राई, गणेश राई र अप्जसे कान्छा भन्नुहुन्छ । जानुका केही कथाहरु पनि यिनै विषयवस्तुले भरिएर छचल्किएका छन् । जानुको सैनिक साहित्यलाई प्रतिनिधि गर्ने केही कथाहरु खुकुरीजस्तै धारिला छन् । एक चट्के गोर्खा सिपाहीको बुटजस्तै चम्किला छन् । संग्रहभित्रका ‘सैनिक जीवन’, ‘भाडाको समाधिमा क्याप्टेन सल्लु’, र ‘हजुरबा र युद्धको कथा’जस्ता शीर्षकअन्तर्गतका कथाहरुले युद्ध साहित्यको बन्दुक पड्काएका छन् ।
मावोवादी एक द्वन्द्वकाल थियो । जनता त्राहीत्राही थिए, जसरी थिए राणाशासन कालमा । पहिलेपहिले आख्यानका प्रायःजसो पानाहरुमा जसरी राणाकालीन निरङ्कुशताका खोटरुपी अक्षरहरुले भरिएका पाइन्थे, त्यसरी नै जानुका कथामा पनि माओवादी द्वन्द्वका पीडा पोखाइबाट अछुतो छैन । स्वयम् टाइटल कथा ‘नउघ्रेको जून’, ‘बिछोडको पीडा’, ‘मङ्सिरे’, ‘नियतिको लीला’ शीर्षकका यी कथाहरुले दसवर्षे द्वन्द्वका बिगुल फुकेको मलाई लागेको छ ।
दाम्पत्य जीवन बर्बाद भएको घटनालाई अगाडि सार्दै नोस्टाल्जिक भावना र डायस्पोरिक परिवेशको वर्णन गर्दै पाठकमा कौतुहलता जगाउन सफल अन्य कथाहरुका नाम हुन्– ‘नर्माः अर्थात् कुमारी आमा’ र ‘रत्नपार्कमा अल्झिएको मन’ । सौन्दर्यकलाको लेप लगाउन सिपालु कथाकार यसरी बहकिन्छिन्–
‘संघर्षका हजार पहाड आफैँ चढ्न सक्छु । दुःखका अनन्तनदीहरु एक्लै तर्न सक्छु ।’
‘..जहाज जतिजति माथि उचालिँदै गइराएको छ त्योभन्दा अझै माथिमाथि अग्लिरहेछन् मनभित्र पुराना प्रश्नहरुका पहाडहरु ।’
भनिन्छ, लेखन आखिरमा आफ्नै अनुभूतिको सङ्गालो हो । महिलाको लेखनमा मातृत्व र पुरुषको लेखनमा पितृत्व हावी हुनु स्वाभाविकै हो । कथाकार पनि एक आमा हुनुको नाताले होला केही कथाहरुमा गर्वधारणका अप्ठ्यारा र सुत्केरी हुँदा सन्तान गुमाउन परेको पीडा ‘जब मेटिन्छ छोरीको नाम’ र ‘मङ्सिरे’मा अभिव्यक्त गरेकी छिन् ।
वरिष्ठ समालोचक साहित्यकार डा. गोविन्दराज भट्टराई हालै दिएको एक अन्तर्वार्तामा भन्नुहुन्छ– ‘…नेपाली साहित्यलाई सिमित स्थान र वर्गको मात्र लिगेसी ठान्नेहरूले अब अलि होसियार हुने दिन आएका छन् । आफ्ना अनेक मातृभाषालाई घरभित्रको मन्दिरमा पूजा गर्दै बसेका राई, लिम्बू, सुनुवार, तामाङ, मगर, गुरूङलगायतका खसइतर जातिहरूले नेपाली भाषाको निमित्त प्राण दिएको देख्दा मेरो हृदय आनन्दले उद्वेलित छ…।’
लिम्बू भाषा, संस्कृति, पहिचानलाई जगेर्ना गर्नका निमित्त जानुले पनि यस कथासङ्ग्रहमा प्राण दिएकी छन् भन्ने भान हुन्छ । ‘बेहुली सपना’, ‘खोलाले छोरो फिर्ता दिएन’ र ‘मङ्सिरे’ लिम्बू पहिचानलाई उजागर गर्ने कथाभित्र पर्छन् । ‘यसरी अस्तायो एउटा तारा’मा कथाकार भन्छिन्– ‘लु कङ्गा याम्मु नि खेछिन्नी आअङ पिईरा ? (लु यो त फेरि पो भागेर माइत गई होली ?)’
यी कथाहरु पढ्दा मलाई राजन मुकारुङको मदन पुरस्कारप्राप्त उपन्यास ‘दमिनी भीर’ र नवीन विभासको माओवादी द्वन्द्व र जनताले पाएको परिणाममा केन्द्रित कथासङ्ग्रह ‘रोल्पा सुइना’को सम्झना आयो । ती कृतिमा लिखित किराती र खाममगर मातृभाषी शब्दहरु मूलधारको नेपाली साहित्यमा आफ्नो पहिचान स्थापनार्थ सङ्घर्ष गर्दै छन् ।
यो समीक्षात्मक टिप्पणी लेखिरहँदा मलाई केमा जोड दिन मन लाग्यो भने नेपाली साहित्यकारका लेखन विषय सबै मानवकेन्द्रित हुन्छन् । यो परम्परागत विचार हो । अब नेपाली साहित्यकारले यो परम्परालाई तोड्न जरुरी देखिन्छ । मानव समुदायका बारेमा लेखेर हामीले हामीलाई शक्तिसम्पन्न बनाइयो । अन्य जीवभन्दा आफूलाई दीर्घजीवी बनाइयो । आफ्नो घर वातानुकूलित बनाइयो । अग्लो बिल्डिङ र चिल्लो बाटो निर्माण गरियो । तर पृथ्वीको परिस्थितिलाई असन्तुलित बनाइयो । जैविक विविधतालाई लोप पार्दै पृथ्वीको वातावरणलाई खलबलाइयो । अब हामी साहित्यकारले मानवेत्तर जगतको विषयमा पनि लेख्न पर्यो ताकि अन्य प्राणी र वनस्पतीको सहअस्तित्वलाई कायम राख्दै मानव अस्तित्व पनि अमर रहोस् । यसरी मैले बुझेको के हो भने, इको राइटिङ हामी साहित्यकारको चाहना मात्रै नभई अबका दिनमा दायित्व बनेर आएको छ । यदि यो हराभरा पृथ्वी हाम्रा सन्ततिलाई सर्लक्कै हस्तान्तरण गर्ने हो भने ।
जानुका कथा वाग्तीजस्तै स्वच्छ हिमालबाट प्रस्फुटन भएका छन् सङ्लो भविष्यका मूल फुटाउँदै । तर बगेका छन् सहरबजारबीचबाट बगाउँदै बलात्कारका प्रदूषण र उत्पीडनका फोहोरमैला । अनि समाहित भएका छन् मृत्युको सागरमा आप्रवासी हुनुको वेदनाका भेललाई बगाउँदै, डायस्पोराका छहारीबिनाका किनारलाई छिचोलेर, नोस्टाल्जिक मनहरुका ढुङ्गा बालुवालाई गुल्टाउँदै गुल्टाउँदै ।
कतिपय मेरा समीक्षामा भन्दै आएको छु– कसैले कथासङ्ग्रह र गीतिएल्बम प्रकाशित गर्छ भने त्यसभित्र रेन फोरेस्टको जस्तै विविधता होस् । पाठकले फाट्टफुट्ट एउटा कथा पढ्दा वा एक गीत सुन्दा विविधताको ख्याल गर्दैन । तर जब पाठकले एउटा सम्पूर्ण सङ्ग्रह पढ्छ त्यतिबेला उसले मिश्रित सिर्जनाहरु भएको मन पराउँछ ।
यसर्थ पुछारमा, जानु इको राइटिङ विषयलाई पनि आफ्ना लेखनमा समावेश गराउँदै विविधता जन्माएर उघ्रँदै जाऊ ! यही सल्लाह र निरन्तर प्रगतिको शुभेच्छा प्रकट गर्दै यो मेरो समीक्षाको कलम अहिलेलाई यहीँ बन्द गर्न चाहन्छु ।
lbryanhitan@hotmalif\.com






