मेरो अठार साल र पिर्का

SHARE:

विजय हितान
 मेरा लागि सन् २०१८ उँधौलीजस्तै बित्यो । रात लम्बिएर दिन छोट्टिँदै गर्दा लेकबाट चौँरीगोठ बेँसीतिर झरेजस्तै । मेरा लागि गत वर्ष नदीजस्तै उँधोतिर बगेको अनुभव भयो । मुहानमा एक्लै उम्रेको पानी झरना अनि खोलाहरूलाई पनि आफूमा समाहित पार्दै, सुकेर होइन फुकेर, सागरतिर झर्दै गरेको नागबेली नदीजस्तै ।

बिष्ट फ्रम द इस्टजस्तो कठाङ्ग्रिँदै बेलायतमा सुरु भएको २०१८ ले मलाई कठ्याङ्ग्र्याउन भने सकेन । मैले गर्दै आएका अभियानहरू– लाहुरे स्रष्टा मास्टर मित्रसेन र प्रथम शहीद लखन थापालाई इतिहासबाट ब्युँताउने काम, वातावरणीय जनचेतना, साहित्यिक सिर्जना, साहित्यिक र सामाजिक संस्थामा नेतृत्व इत्यादिलाई बेलायतको चिसोपनासँग लड्दै अगाडि बढाएँ ।

अनेसासले आयोजना गर्दैआएका साहित्य तथा सङ्गीतका राष्ट्रिय विभूति– मास्टर मित्रसेन, लैनसिंह वाङ्देल, भूपी शेरचन र नारायण गोपालका जन्मदिवस कार्यक्रममा सहआयोजकको भूमिका निभाउँदै लन्डन पुगेँ । प्रथम शहीद लखन थापाको जीवनीमा आधारित रेडियो नाटक ‘शहीदको सपना’ निर्माण गरेँ । शहीद सप्ताहलाई पारेर नेपालका विभिन्न एफएममार्फत प्रसारण गर्न लगाएँ । यस नाटक प्रसारण र पोखरामा लखन थापाको सालिक उखेलिनु संयोग पर्यो ।

पारिवारिक र सामाजिक दायित्व त छँदै थियो । उपभोक्तावादी युगमा एक नागरिकको वातावरणीय दायित्व पनि हुनुपर्छ । वातावरण प्रवद्र्धन दिनदिनै गर्नु नै मेरो रोजीरोटीको स्रोत हो । यसबाहेक अर्थ आवरको दिन आफन्तसँग एक घण्टा बिजुली बत्ति निभाएर डिनर खाँदै र बिग्रँदो वातावरणलाई सुधार्ने कुराहरू गर्दै बिताएँ । प्लेकार्ड बोकेर मानवीय हकअधिकारका लागि सडकमा प्रोटेस्ट गर्न हिँड्दिनँ । बरु स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने नागरिकको मौलिक हक हो भनी यसरी घरमै बसेर बत्ति निभाउँदै मौन प्रोटेस्ट गर्दछु ।

अनि बेलायतमा उज्यालो छाउन सुरु गर्यो । चराका चिरबिर आवाजले वसन्त आएको आभास दिन थाल्यो । उँभौलीको सँघारमै एक साहित्यिक संस्थाको पिर्का हस्तान्तरण गरेँ । २०१६ देखि साहित्यिक मित्रहरूले लगाइदिनुभएको सम्माननीय फेटा खोलेर अर्कैलाई लगाइदिएँ । त्यो स्यानो पिर्कामा बसेर यति धेरै साहित्यिक गतिविधि गरिएछ कि मगर संघ युके केन्द्रीय समितिले सबैभन्दा सक्रिय शाखा भनेर मगर संघ युके केन्टलाई सम्मान गर्यो ।

पिर्कामा बस्ने दुई वर्षे अवधिलाई बढाएर चार पनि गराउन सकिन्थ्यो । नेपाली राजनीतिक पार्टीहरूमा झैँ । नेपाली कांग्रेसको महाधिवेशनजस्तो डेडलाइन काटेन हाम्रो विश्व नेपाली साहित्य महासंघ साउथ युकेको निर्वाचनले । संगठनमा नयाँ पिढीलाई हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्छ भन्ने मन्डेला मान्यताले त्यो पिर्कामा एक सशक्त महिला स्रष्टालाई बसालेर म बाहिरिएँ । साहित्यिक संस्थामा महिला नेतृत्व नभइरहेको अवस्थामा हाम्रो संस्थालाई महिलाले हाँकेकी छिन् भन्दै घमण्ड गर्न पाएको छु ।

सन् २०१८ मा बेलायतको तापक्रम इन्डियन समरभन्दा कम रहेन । मेरा गतिविधिहरूमा पनि हिटवेभ नै आयो । समर महिनाका लामा दिनहरूको फाइदा लिँदै मेरा सप्ताहान्तका क्रियाकलाप झनै सक्रिय भए । अत्यधिक गर्मीको कारणले युरोप र अमेरिकामा डढेलो लाग्न सुरु गर्योतर मेरा कार्यक्रममा असफलताका डढेलो कतै निभाउनुपरेन ।

अरूले नेपालबाट कलाकारहरूलाई स्पोन्सर गरेर आर्थिक लाभ उठाइदिन्छन् । मलाई लाग्यो, साहित्यकारलाई त्यसो गर्छु । एकजना वरिष्ठ गीतकारको नाम दिमागमा आयो । स्पोन्सर गर्ने प्रक्रियातिर लागियो । दुई÷तीन दर्जन कागजपत्र यताउता गरियो होला । धन्न ती कागजपत्रमा डढेलो नलाइकन पासपोर्टमा भिसा लाग्यो । कविता गोष्ठी, गीतिलेखन प्रशिक्षण, सेमिनार गरिदियौँ । आर्थिक लाभ त हुन सकेन । तर उच्च सम्मान र सफलताको सगरमाथा चढेर उहाँ नेपाल फर्किनुभयो र त्यसै भ्रमणमा आधारित दुई कृति प्रकाशन गर्नुभयो ।

राजकुमार ह्यारीको विवाहजस्तै हाम्रो तेस्रो वातावरण साहित्य गोष्ठी सफल भयो । साहित्यिक संगठनहरूको सहयोग, राजदूत तथा वरिष्ठ गीतकारको आतिथ्यले कार्यक्रम लालिगुराँसजस्तै ढकमक्क फुल्न सफल भयो । दुई वर्ष खर्चेर मैले सम्पादन गरेको इको कविता कृति ’स्वच्छन्द सुसेलीहरू’ पनि कार्यक्रममा विमोचन गरियो ।

यसैबीचमा मैले नेतृत्व गरेको सामाजिक संस्थालाई पनि एम ट्वान्टीमा कार हाँकेजस्तै द्रुतगतिमा हाँकिरहेँ । कहिले शाखाको बैठक र समर भेटघाट, कहिले केन्द्रको एजिएम र ओपन कन्सर्ट गर्दागर्दै मेरा दिनहरू बितेको थाहै पाइनँ । दोहोरो चेपाइमा पर्दा लाग्यो, शाखामा भन्दा केन्द्रमै बसेर काम गर्दा सजिलो । आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै अन्य समाजका च्यारिटी डिनर, अन्तरक्रिया, साङ्गीतिक साँझ इत्यादिमा दौडादौड भयो । आसनग्रहण, खादा, माला, ब्याज, भाषण त्य.ित्त मन नपर्ने तर मलाई २०१८ मा त्यस्तै गर्न जुरेको थियो । प्रक्रियाभन्दा पनि परिणाममा बढी केन्द्रित हुने म, तर मलाई दिइएका ती सबै सम्मानहरू सहर्ष स्वीकार गरेँ ।

बेलायत हिटवेभ र विश्वकपको ज्वरोबाट गुज्रिँदै गर्दा विश्व नेपाली साहित्य महासंघले साहित्य सम्मेलन गर्नतिर लाग्यो । वरिष्ठ साहित्यकारहरूलाई नेपालबाट झिकायौँ । प्रमुख संयोजक अध्यक्ष र सचिव रहेपनि सम्मेलनको दिन नआउँदासम्म मलाई पनि निद्रा लागेन । मैले एक कार्यपत्र पेस गर्नुपर्ने भयो । एक महिनाको अध्ययनपछि जन्मियो ’युद्ध साहित्य र बेल्पाली लाहुरे स्रष्टा’ । मेरो कार्यपत्रको प्रस्तुतिपछि लाहुरेलाई बन्दुक भिरेर अफगानिस्तानतिर दौडेको देखेका व्यक्तिहरूले कलम पनि समातेर साहित्यको फाँटमा असिनपसिन गर्दै गरेको थाहा पाए ।

समरको घाम तापेर धित नमर्दै बेलायतलाई शिशिर लागेर चिस्सिन हतार भयो । म चिस्सिने कुरा आएन । विगत दुई वर्षदेखि सामाजिक संस्थाको नेतृत्व सम्हालेर पिर्कामा बस्दै आएको थिएँ । सानो संस्था चलाउनुस् या ठूलो, चुनौती त हुन्छन् नै । अधिवेशनको गृहयकार्य सुरु भयो । अन्य समाजको संस्थामा भए कुर्चीमा बसेर पदभार सम्हाल्नेको घुइँचो लाग्छ । विडम्बना, हाम्रो समुदायमा नेतृत्व लिनसक्ने व्यक्तिहरू कमै पाइन्छन् । अन्तत त्यो दिन पनि आयो । एकजना अनुभवी पूर्वसैनिक अफिसरलाई मगर संघ युके केन्ट शाखाको सानो पिर्का सुम्पेर म नेतृत्वबाट एक्जिट भएँ । मेरो त्यो एक्जिट ब्रेक एक्जिटजस्तो अनिश्चित र विवादित भएन ।

नेपालमा निर्वाचन भएर संघीयता कार्यान्वयनतिर लागिरहेको अवस्थामा म पनि मेरा दुई संस्थालाई निर्वाचन गराइदिएर तिनका योजनाहरू कुशल कार्यान्वयनको शुभकामना दिँदै २०१८ लाई बाई बाई गर्नतिर लागेँ ।

त्यसपछि पारिवारिक कामले नेपाल हानिएँ । तर, सामाजिक र साहित्यिक गतिविधिको बासस्थानमा रम्ने एक लोपोन्मुख प्राणी परियो, कहाँ सुख पाइन्छ र ! बागबजारमा एक इको पोयट्री कार्यक्रम गरेँ । पर्यावरण रेडियोबाट निम्तो आयो । नेपाल बार एसोसिएसनले राखेको ‘मानव अधिकार र स्वच्छ वातावरण’ विषयक अन्तरक्रियामा भाग लिएँ । काठमाडौँको वातावरणलाई सुधार्न बेलायतको मोडेललाई अनुकरण गर्न सकिन्छ भन्ने मन्तव्य राखेँ । ‘डस्टमाडौँ’ र ‘प्लास्टिक प्रदूषण’ भन्ने कविताहरू वाचन भए रेडियो उज्यालो नेटवर्कमा । वातावरण विभागका वातावरण निरीक्षकहरूसँग अन्तरक्रिया गरेर नेपालको वातावरण व्यवस्थापनका बारेमा बुझ्ने मौका मिल्यो । बेलायत सरकारसँग कुरा राखेर वातावरण व्यवस्थापन विषयमा तालिम, प्रशिक्षण, कर्मचारी एक्सचेन्जजस्ता स्किमहरू ल्याउन महानिर्देशकलाई सल्लाह दिएँ ।

छुट्टीको अन्त्यतिर पर्यटक भएर दार्जिलिङ र सिक्किमतिर गइयो । दार्जिलिङमा मास्टर मित्रसेनको सालिक स्थापना गरिँदै गरेको प्रोजेक्टका लागि २५,००० हजार रूपैयाँ दान गरेँ । मास्टर मित्रसेनका गीतहरूलाई आफ्नै स्वर दिएर एल्बम प्रकाशन गरेका रहेछन् । सालिक स्थापनार्थ केही सहयोग होओस् भनेर सय थान एल्बम बेलायत ल्याइदिएँ ।

उता सिक्किममा कक्षा ९ सम्म मगर भाषामा पढाइ हुँदोरहेछ । सिक्किम सरकारले बीएमा पनि मगर भाषामा पढाइ अगाडि बढाउनलाई पहल गर्दै रहेछ । मलाई लाग्यो, संघीयताको सफल कार्यान्वयन भएको सिक्न नेपाल सरकार सिक्किम जानुपर्छ । त्यहाँको सुखद् जनजीवन र समावेशी राज्य देखेर मलाई नेपाली नागरिकता त्यागी सिक्किम गएर बस्न मन लाग्यो । यसपालिको नेपाल भ्रमणबाट नेपालको लोपोन्मुख एकसिङ्गे गैँडाभन्दा धेरै संख्यामा साथीहरू कमाएर बेलायत फर्कें ।

यसरी मेरो सन् २०१८ न त उष्ण गर्मीमा बित्यो न त तुषारापातमा बित्यो । न त टेरेसा मेको ब्रेक्जिटजस्तो अनिश्चितकालको सामना गर्दै बित्यो, न त डोनाल्ड ट्रमको मेक्सिको बोर्डर वालको पोलिसीजस्तो विवादित बनेर बित्यो । यति व्यस्त भैएछ कि, थाहै भएन मेरो अठार साल कसरी बित्यो, कसरी ?
(जनवरी २०१९, फोक्स्टोन, केन्ट, युके)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!