जानु काम्बाङ
थ्याङ्स गड ! बल्ल बल्ल छुट्टी आयो, खुसीले आङ तन्काउँदै गुङ्गुनाउञ्छिन सोनीका । म आफ्नो ड्युटी रोटा हेर्दै अफिसको नोटिस बोर्डमा आँखा जोतिरहेकी छु । ओ…हाई …के छ सोनीका ? मैले उनको मनमा लहरिँदै गरेको खुसीलाई थांग्रा हाल्दै सोध्छु । ठीकै छु, तिमी नि ? उनले सोध्छिन्, म पनि ठीकै छु अहिलेसम्म त, म भन्छु । हो त है भोलि कसलाई थाहा उसले प्रतिउत्तरमा भन्छिन् ! त्यसैले म त होलिडे जाँदैछु अर्को हप्तादेखि । वाउ…ग्रेट न्यूज ! कता जाँदैछौ यो पालि ! उत्साहित हुँदै म सोध्छु ? स्पेन जाँदैछु उनले भनिन् । आहा ! ….सारै राम्रो छ स्पेन लौ मोज गर है तिम्रो होलिडे, म कहिल्यै स्पेन नपुगेको, कहिले होलिडे नहिँड्ने जातको मान्छेले, पुगेर, घुमेर, देखेर, आएर बयान गरेझैं गरी गफ दिएँ । खोई उसले कतिको पत्याइन् कुन्नि ? तर, म गफ दिनेलाई भने मज्जै भो । उसले स्पेनको कुन, कुन ठाउँ घुमीस् भनी सोधे के भन्ने भनी अलमलिँदै थिएँ, स्वात्त मेट्रोनको अफिसतिर छिरिन् मैले आपूm बचेको संकेत पाएर ढुक्क भएँ ।
हस्पिटलको मूलद्वार निक्कै भीड देखिन्छ, रिसेप्सनमा बस्ने जोवानालाई व्यस्त देखेर म चुपचाप बिमारीहरूको रुम चेक गर्दै जान्छु । अफिस बाहिर कम्पाउन्डमा थुतुनो जोडेर बसिरहेका जोडी ढुकुरमाथि आँखा गाडेर खोई कुन्नि के के सोचिरहेकी थिइन् मीस मलहोत्रा । उनको ध्यान भंग गर्दै, भने है मिस मलहोत्रा ! के छ खबर ? ओ…हाई ! म सन्चै छु तर अलिक निद्रामा छु । कारण राति राम्रो निद्रा लागेन खुट्टा दुखेर । ओ, आई एम सो सरी मैले भने । ईज ओक भनिन् उनले ।
मिस मलहोत्रा एक धनी इन्डियन व्यापारीको एक मात्र छोरी । अस्ती भर्खर हिउँमा स्केटिङ खेल्दा लडेर खुट्टा फ्याक्चर भएको छ । रमाइलो अनि फरासिली छिन् तर, उनी यही जन्मेर हुर्केकोले आफ्नो भाषा बोल्दिनन् ।
उनको बात मारिरहने बानीसँग म दिक्क मान्दै, उनीसँगको साधारण अनौपचारिक कुरोकानी यसै टुंग्याएर क्रमशः अघि बढ्दै जान्छु । कहिलेकाहीं त बिमारीहरूसँग बोल्ने विषय पनि नभेटेर हैरानी हुन्छु ।
बेलायतमा हस्पिटलभर बेलायतीहरू बिमारी, हामी विदेशीहरू चाँहि कामदार हुने गर्छौं । मजस्तै सोनिका र जोवाना पनि बेलायतको लागि विदेशी हुन् तर उनीहरू युरोपियन म एसियन ।
सोनिका र म एउटै वार्डमा छौं आज । दिनभर आफ्नो घर र लाइफको कुरो गरेरै थाक्दिनन्, उनी भन्छिन्, ‘मैले त मेरो दोस्रो बूढोसँग पनि डिभोर्स गरेर अहिले आनन्द छ । घर गएर खाए पनि भो, नखाई सुते पनि भो, बाहिर पपतिर पिउन नाच्न गए पनि भो, क्या रिल्याक्स छ जिन्दगी, अब होलिडे हिँडिन्छ भोलि ।’ उनको पहिलो लोग्ने कहाँ र कस्तो थियो होला भनी सोच्दासोच्दै मलाई एकपल्ट आफ्नो जन्मदिन मनाउन पपमा बोलाएको बेला, भेटेको उनको व्यापारी लोग्ने सम्झिन्छु, सायद त्यो नै थियो कि दोस्रो, धन्न नानीचाँहि छैनन् ।
मेरो छोराछोरी देख्दा तर्सिंदै भन्छिन्, ‘ओ…माई गड ! तिमी म संगैको मान्छेले कहिले पाएको यात्रा, यात्रा बच्चाहरू ?’ म भन्छु त्यै त तिमी त अब टू लेट भइसक्यौ …उनी भन्छिन्, ‘नो …मलाई बच्चा पाउनै पर्छ भन्ने लाग्दैन ।
अहिले लाईफ ईञ्जोए गर्ने हो पछि चाहिएमा एउटा बच्चा एडप्ड गर्ने हो, कति छन् कति अनाथहरू हाम्रो देशमा, एउटाको मात्र उदार गर्न सके पनि ठूलो धर्म हुन्छ ।’ म, आफ्नै सन्तान हुनै पर्छ नभए अर्को बिहे गरेर भए पनि आफ्नै सन्तान जन्माउनु पर्छ भन्ने सोच र संस्कार भएको देशको मान्छे, यस्तो उदारवादी कुरो सुनेर उनको काखमा एउटा अनाथ बालक छुनमुनछुनमुन गर्दै खेलिरहेको कल्पना गर्न थाल्छु ।
आँखाभरी पशुपति, असन र काठमाडौँ वरिपरि मागी हिँड्ने बालबालिका नाच्न थाल्छन् ! झन् वाग्मतीको किनारभर प्लास्टिक.टिपिरहेका केटाकेटी सम्झिँदा त मनै स्तब्ध बन्छ । लाग्छ, हाम्रो देशमा पनि सोनिकाजस्ता उदारवादी विचारका दम्पती भइदिए त निःसन्तान आमाले सौता पाउने थिएन, जनसंख्या पनि घट्थ्यो । बालबालिकाले राम्रो पालनपोषण र शिक्षादीक्ष दिने आमाबाबा पनि पाउँथे ।
हरेक बिहान आँखा मिच्दै ड्युटी पुग्छौं र साँझ ड्युटी सकिएको खुसी मनाउँदै कोठा जाँन्छौं । काम सकिएपछि हामीले पछ्याउने २ अलग, अलग गोरेटाहरू र गन्तव्य जस्तै हामी दुईको संस्कार, संस्कृति र छालामात्र होइन हाम्रो सोंचाईहरू पनि फरक, फरक छन् ।
उनी भन्छिन्, ‘यूके, युरोपियन युनियनमै रहिदिए राम्रो, मलाई यहाँ बस्न भिसा लिइरनु पर्दैन, आफ्नो घर र घुम्न जान आउन सजिलो ।’ म भन्छु, युकेले इयु छोडेको राम्रो । घरको दाम घट्छ, घरभाडा घट्छ, जनसंख्या घटेमा सजिलै काम पाइन्छन् आदि आदि ।
अचम्म पनि लाग्छ, गज्जब पनि लाग्छ युरोपियनहरूको लाईफ, कहिलेकहीं त डाहा लाग्छ सोनिकाको जिन्दगीदेखि । तर, पनि म आफ्नै संस्कार लत्याउन सक्दिनँ । आफ्नै देश र आफ्नै भेषभुषा माया लाग्छ । सायद ! म भित्र नेपालीपन र रगत दौडिरहेछ, यो नै मेरो पहिचान र विशेषता पनि होला ।
यहाँ भत्किने घर र बिग्रने संस्कार, संस्कृति देख्दा म सोचमग्न हुन्छु, सोनिका त एउटा उदाहरण मात्र हुन् । उनीजस्ता कति छन्, कति । कुमारी आमाहरूको संख्या त झन् नगन्य छन् । बेलायतको अपराध अनुसन्धानको तथ्यांकअनुसार पनि तिनै कुमारी आमाहरूबाट जन्मेका बच्चाहरू पछि गएर फ्रस्टेसन भई अपराधतिर लागेको देखिन्छ । वास्तवमा नानीहरूको लागि पहिलो पाठशाला नै घर हो भन्ने भनाइ सही लाग्छ ।
नानीहरूलाई आमा र बाबा दुबैको माया, शिक्षादीक्षा संस्कार चाहिन्छ घरमा । यूकेमै पनि बाबाबिना हुर्केका केटाकेटीहरु बेग्लै देखिन्छन् र आमाबाबाको साथ हुर्केकाहरू जेन्टल, इमान्दार पढेलेखेका हुन्छन् । संस्कार जुन देशको जस्तोसुकै होस् तर सबै नानीहरू पहिले मान्छे हुन् । समाज र परिवारमा बस्ने प्राणी हुन् । ती युरोपियन हुन् या एसियन, अफ्रिकन अथवा अमेरिकन । बालबच्चा छाडीहिँड्ने मान्छे, आफ्नै लागिमात्र सोच्ने स्वार्थी अनि निस्ठुरी हुन् ।






