अक्षय कोषलाई दुई करोड पु-याउने लक्ष्य छ : मेजर कृष्णबहादुर गुरुङ

SHARE:

मेजर कृष्णबहादुर गुरुङ
अध्यक्ष, चारभञ्ज्याङ तमु समाज युके

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखी मातृभूमि नेपालको सेवामा तल्लिन चारभञ्ज्याङ तमु समाज फेरि च्यारिटी कार्यक्रमको तयारीमा छ । सन् २०१३ मा पर्वत जिल्लामा सञ्चालित टेलिमेडिसिन सेन्टरको स्थायित्व र अन्य सामाजिक कार्यमा मद्दत पु-याउने भन्दै यही मार्च ३० तारिखमा अल्डरसटको एम्पायर हलमा च्यारिटी गर्न लागिएको हो । कार्यक्रम साँझ साढे ५ बजे सुरु गरिने चारभञ्ज्याङ तमु समाजका अध्यक्ष एवं पूर्वगोर्खा मेजर कृष्णबहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले चारभञ्ज्याङको नेतृत्व सम्हालेको साढे दुई वर्ष बितेको छ । पर्वतको साविक भंगारा गाविसमा जन्मेका उनै अध्यक्ष कृष्णबहादुरसँग च्यारिटी कार्यक्रम, समाजको नेतृत्व सम्हालेपछिका उपलब्धि र योजनाबारे एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी :


टेलिमेडिसिन सेन्टर निरन्तर सञ्चालनका लागि च्यारिटी कार्यक्रम गर्दै हुनुहुन्छ, यो कस्तो खालको हस्पिटल हो ?
चारभञ्ज्याङ तमु समाज विभिन्न समाजजस्तै एउटा समाज हो । यो समाज पहिलेका अध्यक्ष अनरी लेफ्टीनेन्ट चन्द्र गुरुङको तत्वावधानमा बेलायतमा स्वीन्फेन च्यारिटी ट्रस्टसँग २०१३ सालमा आबद्ध भएको हो । स्वीन्फेनका डाइरेक्टर सरबिन लर्ड एन्ड लेडी हुनुहुन्छ । उहाँले तिमीहरुको ग्रामीण क्षेत्र रहेछ । त्यहाँ टेलिमेडिसिन सेवा सञ्चालन गरियो भने दूरदराजका मान्छेहरुले स्काई, भिडियो लिंक इत्यादिको माध्यमबाट रोगको पहिचान गर्न सजिलो हुन्छ । विदेशका डाक्टर, कन्सल्ट्यान्टहरुले त्यो डाइग्नोसिसमा मद्दत पु-याउँछन् ।
त्यसो गर तिमीहरु, हामी सहयोग गर्छौं भन्नुभयो । उहाँहरुकै सहयोगमा एउटा भवन बन्यो । त्यसपछि व्यवहारिक पक्ष हुन्छ, सञ्चालन गर्ने, कर्मचारी व्यवस्थापन र खर्चको चुनौती र जिम्मेवारी समाजलाई आयो । टेलिमेडिसिन स्वास्थ्य केन्द्र सन् २०१३ मा लर्ड र लेडी नै गएर उद्घाटन गर्नुभएको हो । त्यहाँको क्लिनिकल इक्युपमेन्टहरु विभिन्न दाताबाट प्राप्त भएको छ । अहिलेसम्म १८ हजार व्यक्तिले सेवा लिइसकेका छन् ।
टेलिमेडिसिनलाई सहयोगका लागि हामीले नेपाल सरकारलाई धेरै अनुनय–विनय ग-यौं । केही मद्दत पाइएन । सरकारले त्यसलाई एउटा एनजिओको रुपमा हेरिदियो । वास्तवमा त्यो एनजिओ होइन । हामीलाई प्राप्त भएको ३० हजार पाउन्ड हो । अरु सबै समाजका, अरु नेपाली शुभचिन्तकहरुले सहयोग दिएर हामीले अक्षय कोषमार्फत् र हरेक वर्ष एउटा च्यारिटी गरेर सञ्चालन गर्दै आएका छौं ।
कस्ता खालका उपकरणहरु छन् ?
साधारण उपकरण छन् । इसिजी भने एकदम राम्रो छ । त्यो इसिजी उपकरण स्वीजरल्यान्डमा दर्ता भएको च्यारिटेबल सेल इन फाउन्डेशनले दिएको हो । अमेरिकामा बस्ने प्रोफेसर डा.जोन सेलिन भन्ने व्यक्तिसँग हाम्रो सम्पर्क भयो । र उहाँले तीनपल्ट गएर नेपालका हरेक गाउँ गाउँमा स्वस्थ्य शिविर पनि सञ्चालन गर्नुभयो ।
उहाँले नै इसीजी मेसिन पनि डोनेसन गर्नुभएको हो । उहाँले सानो खालको ब्लड ल्याब्रोटरी पनि प्रदान गर्नुभयो । ब्लड ल्याबले ब्लड डिजिज् र इलनेसहरुको पहिचान गर्छ । त्यो फ्रि अफ कष्ट हो । हामीले सिटामोल पनि नि:शुल्क दिइराखेका छौं । जसकारण स्टाफ कस्ट, रनिङ कस्ट, रिपियरलगायत खर्च हामीले व्यहोर्नु पर्छ ।
वर्षमा लगभग कति खर्च पर्छ ?
करिब १३ लाख रुपैयाँ खर्च लाग्छ ।
अब मार्च ३० मा हुने च्यारिटीबाट कति रकम उठाउने लक्ष्य लिनुभएको छ ?
यति नै उठ्छ भन्नु जटिल कुरा हो । तर, टेलिमेडिसन सञ्चालनमा अक्षय कोषबाट पनि हामीलाई सहयोग पुग्छ ।
कत्तिको छ अक्षय कोष ?
१ करोड ३४ लाख जत्तिको छ । अक्षय कोषलाई दुई करोड बनाउने हाम्रो लक्ष्य हो । त्यत्ति ग-यो भने हामीलाई व्ययभार अलि पर्दैन कि ? त्यसका लागि च्यारिटी त हामी गर्छौं नै । च्यारिटीलाई टेलिमेडिसिनलाई मात्रै नभई अरु क्षेत्रमा पनि गाँसेका छौं । शिक्षा हाम्रो दोस्रो प्राथमिकतामा छ ।
शिक्षामा चाहिँ कत्ति लगानी गर्नुभएको छ ?
अहिलेसम्म हामीले ३०/३५ लाख रुपैयाँ विद्यालयहरुको भौतिक संरचना, कक्षाकोठा विस्तारमा सहयोग गरेका छौं । यो वर्ष लामेभन्ने गाउँको प्राथमिक विद्यालयमा १४ लाख रुपैयाँको लागतमा दुई वटा कक्षा कोठा विस्तार गरेका छौं । जुन कार्य अन्तिम चरणमा छ ।
खाल्टेको जनज्योति माविमा पनि हामीले सहयोग ग-यौं । हामीले सेलिन फाउन्डेशनको मातहत लगभग ३०/३५ वटा ल्यापटप, कम्प्युटर प्रोजेक्टरहरु गाउँमा लगिसकेका छौं । एक/दुई वटा स्कुलहरुलाई तारजाली कम्पाउन्डिङ गरिदिएका छौं । अहिले उच्च भेगमा रहेका दुई/तीन वटा प्राइमरी स्कुलहरुमा पर्खाल नहँुदा नानीहरु खसिरहेका छन् । त्यो जोखिमलाई कम गर्न, सुरक्षित वातावरण बनाउनका लागि हामीले तारजाली गर्ने सोच बनाएका छौं । यस्ता सामाजिक कामहरुमा समाजका सदस्यहरुले हरेक वर्ष योगदान गर्नुहुन्छ । गर्छाै । जसले व्यक्तिगत रुपमा १ लाखभन्दा बढी दिनुहुन्छ त्यो अक्षय कोषमा जान्छ । त्यस्ता व्यक्ति टेलिमेडिसिनको ट्रस्टी मेम्बर बन्नुहुन्छ । त्यो अवधारणाअनुसार सञ्चालन गर्दै आएका छौं ।
कत्ति पुग्यो त ट्रस्टी मेम्बर ?
८०/८५ जना हुनुहुन्छ ।
सरकारले सहयोग गरेन भन्नुभयो, कहाँ कहाँ पहल गर्न जानुभएको थियो ?
यो सन् २०१३ देखिको कुरा हो । हामीले माननीय सांसदहरुलाई निवेदन ग-यौं । जिल्ला स्वास्थ्य कार्यालयबाट अहेब, सिएमए वा योग्य कर्मचारी दिएको भए उहाँहरुको तलब हामीले व्यहोर्नु पर्ने थिएन । हामीले विभिन्न प्रकारका औषधिहरु नि:शुल्क दिइरहेका छौं किनभने बिरामी आउँछन्, औषधि फलानो ठाउँमा किन्न जाउ भन्न अप्ठेरो लाग्यो । क्षयरोगसम्बन्धी औषधि महँगो र नपाउने पनि रहेछ । त्यो औषधि हामीले यहाँ (बेलायत) बाट पठाइरहेका छौं ।
अहिले नेपाल सरकारले ७२ प्रकारका औषधिहरु नि:शुल्क प्रदान गरिरहेको छ । यद्यपि ती औषधि गाउँ गाउँका सबै स्वास्थ्य केन्द्रहरुमा उपलब्ध छैनन् । हामीलाई पनि अलिकति दिनुस्, आखिर वरिपरिकै मान्छेलाई सेवा गर्ने, वितरण हो ।
हामी पनि सरकार र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न संस्था खडा गरेको हुँ । विचार गरिदिन सांसदहरुलाई अनुरोध ग-यौं । उहाँहरुले कोसिस गर्छु भन्नुहुन्छ, तर कार्यान्वयन भएन । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापालाई नेपालमा हुनु भएका मान्यजूहरुले अप्रोज गर्नुभयो । उहाँबाट पनि सुनुवाइ हुन सकेन ।
अहिले स्थानीय सरकार गठन भएको छ । गाउँहरु पनि नगरपालिकामा आबद्ध भएका छन् । नगरपालिकाका मेयरज्यूलाई पनि हामीले अप्रोज ग-यौं । उहाँहरुले पनि कोसिस गर्छौं भन्ने आश्वासन दिनुभएको छ । कोसिस गर्छु, मद्दत गर्छौं भन्नुभएको धेरै वर्ष भयो ।
हामी सकेसम्म आफ्नो तवरबाट सक्दो कोसिस गरिरहेका छौं । नेपालमा बस्नुहुने हाम्रा आफन्तजनहरुले पनि पहल गर्दै हुुनुहुन्छ । वर्तमान स्थितिमा टेलिमेडिसिनको जति पनि व्ययभार छ, त्यसको लागि चार भञ्ज्याङ तमु समाज यूकेलाई नै अपेक्षा गरेका हुन्छन् ।
मार्च ३० मा हुने च्यारिटीबारे बताइदिनुहोस् न ?
च्यारिटी कार्यक्रमको प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदूतलाई निमन्त्रणा गरेका छौं । उहाँ एकदमै बिजी व्यक्तित्व हुनुहुन्छ, निश्चय पनि । आशा छ महामहिमज्यूले हाम्रो कामलाई हेरेर आउनुहुन्छ । हामीले बेलायतका संघसंस्थाका आधिकारिक व्यक्तित्वहरु, आदरणीय अध्यक्षज्यूहरु धेरैजसोलाई निमन्त्रणा पठाएका छौं । वरिपरिका गोर्खाली समाजका विशिष्ट व्यक्तिहरु, डायस्पोरालाई पनि निमन्त्रणा गरेका छौं ।
त्यस्तै आफ्ना कार्यस्थलका साथीहरु, ब्रिटिस साथीहरुलाई पनि निमन्त्रणा गरेका छौं । यत्ति नै आउनुहुन्छ भन्न अप्ठेरो छ । तर, सबै साथीहरुले सकारात्मक रुपले लिनु भएको छ । बेलायतमा यत्ति धेरै संघसंस्था छन् । हाम्रो माया नेपालप्रति नै छ । हामीले जत्ति गर्छौं, नेपालकै लागि गर्छौं । हरेक हप्ता केही न केही कार्यक्रम हुन्छ नै । हाम्रा साथीहरुलाई कुन कार्यक्रममा जाने भन्ने अप्ठेरोमा परेको महसुस गर्नुहुन्छ । बाँडिनु पर्ने स्थिति आउँछ । डोनेसन दिँदादिँदा ट्रायरिङ फिल भएको पनि मैले बुझेको छु । यो वास्तविकता हो ।
तर, नेपाली मन एकदम फराकिलो छ । १०/२० पाउन्ड सहयोग गरौं भन्ने सबैको मन हुन्छ । मलाई आशा छ । पूर्ण विश्वास छ । सम्पूर्ण मित्र, शुभचिन्तकहरु आउनु भएर हाम्रो अभियानलाई सकारात्मक रुपमा लिएर ५/१० पाउन्ड सहयोग गर्नुहुने छ । मलाई लाग्छ, ३ सय ५० देखि ४ सय जनासम्म सहभागी हुनुहुनेछ ।
टिकटको कति शूल्क तोक्नुभएको छ ?
एकदम सुपथ २५ पाउन्ड मात्रै हो । सुपथ किनभने हामीले हरेक टेबुलमा वाइन, पानी, सफ्ट ड्रिङ्स राखिदिन्छौं । फ्रि इन्टटेन्मेन्ट दिन्छौं । यी सबै हिसाब गर्ने हो भने २५ पाउन्ड केही पनि होइन । तर, २५ पाउन्डको अपेक्षा र आउनु भएपछि त्यहाँको माहोल वातावरण, हामीले गर्न खोजेको काम बुझ्नु भएपछि सायद अतिरिक्त ५/१० पाउन्ड थपिदिनुहुन्छ कि भन्ने मेरो आशा हो । सुन्दामा २५ पाउन्ड धेरै महँगो कुरा हो । तर, पनि खर्चहरुलाई हिसाब गर्ने हो भने आम्दानी थोरै हुन्छ । धेरैजसो आदरणीय मित्रहरुले एडिसनल चन्दाको रुपमा दिनुहुन्छ । त्यसप्रति यहाँहरुलाई अग्रिम धन्यवाद दिन चाहन्छु ।
चारभञ्ज्याङ तमु समाज यूकेमा तपाईको नेतृत्वकाल सकिनै लागेको छ । निर्वाचित हुँदै गर्दाको वाचा, कबुल कति पूरा गर्नुभयो ?
उद्देश्य त ठूलै लिनु पर्छ भन्छन् । त्यही कारण हाम्रो उद्देश्य पनि फराकिलो, उच्च प्रकारकै रहेको छ । मैले जातीय कुरा गर्न खोजेको होइन तर पनि हाम्रो चारभञ्ज्याङ तमु समाज एउटा जातीय, सामाजिक संस्था हो । तर पनि हाम्रो विचार फराकिलो छ । हामीले जति काम गरेका छौं । भन्ने हो भने गुरुङ गाउँमा मान्छे नै छैनन् ।
हुन सक्छ ३ प्रतिशत । तर पनि हामी जन्मे हुर्केको पाखा पखेराहरु सम्झेर, डाँडाकाँडा, आपूm हिँडेको गोरेटोहरु सम्झेर अभियानहरु चलाइराखेका छौं । त्यो सेवा लिने अरु सर्वसाधारण व्यक्तिहरु हुनुहुन्छ । जो चाहिँ सहर, बजारतिर पस्न सक्नु भएको छैन । उहाँहरुका लागि हो हाम्रो सेवा । स्कुलका विद्यार्थीहरुलाई छात्रवृत्ति, कम्प्युटर दिने गरेका छौं । तारजाली, कक्षकोठा विस्तार गर्दैछौं । यी सबै गर्दा हाम्रो गाउँघरमा राम्रो हो, सबैले बेटर लाइफ, बेटर इजुकेसन, बेटर आइटीको माध्यमबाट उहाँहरुको जीवन उच्च होस् भन्ने हेतुले त्यस्तो गरेका छौं ।
हाम्रो शिक्षा र स्वास्थ्य प्राथमिकता हो । विशेषगरी २०१३ सालमा हामीले टेलिमेडिसिन सेन्टर स्थापना गरेका हौं । त्यसमा विशेष पहल हुँदैछ । हामीले तीन वर्षसम्म लगातार स्वास्थ्य शिविर पनि ग-यौं । गत वर्ष म आफैं गएको थिएँ, प्रोफेसर डा. जोन सेलिङसँग । नेपालका पाँच जना स्वयम्सेवक डक्टरहरु पनि जानुभएको थियो । हामी चारवटा गाउँमा गयौं । स्वास्थ्य शिविर एकदमै राम्रो भयो । यो वर्ष हामीले गर्न सकेनौं ।
शिक्षा क्षेत्रमा भने केही गरेका छौं । नेपालमा कोही बिरामी हुँदा, क्यान्सर रोग लाग्दा र मृगौलाको डाइलसीस गर्न नसकेर आर्थिक अवस्था कमजोर भएकाहरुको चिठी आउँछ अलिकति मद्दत गर्नुप-यो भनेर । हामीले दसौं लाख उठाएर पठाएका छौं । यसै वर्षको कुरा गर्दा जीवन परियार भन्ने भाइ हुनुहुँदोरहेछ । उहाँको आमाको माइती मेरो समाजमा रहेछ । विवाह भएर अर्कै समाजतिर जानुभएको । उहाँ क्यान्सरपीडित । आर्थिक अवस्था एकदमै कमजोर रहेछ । त्यो भएर हामीले ५ लाख बीस हजार उठाएर पठायौं । उहाँ अप्रेसनपछि किमोथेरापी गर्दै हुनुहुन्छ ।
त्यस्तै दुवै मृगौला फेल भएका दुई जना गुरुङ नानीहरु बुटवल बस्नुहुँदोरहेछ । १६ र १८ वर्षको उमेरमा दुवै जनाको दुवै मृगौला फेलिएर भएकोेले डाइलसिस गर्दै हुनुहुन्छ । अहिले एकजना टिचिङ अस्पतालमा र अर्को कोलकातामा जानुभएको छ । उहाँहरुलाई पनि हामीले केही रकम उठाएर पठाइसक्यौं । अझै उठाउने कार्यक्रम गर्दैछौं ।
त्यो भन्दा पहिलेका वर्षहरुमा पनि हामीले धेरै रकम उठाएर पठायौं । नेपालमा परेको समस्यामा सहयोगको अनुरोध आउँछ भने हामी सबैले थोरथोरै उठाएर मद्दत पु-याउँदै आएका छौं ।
यस वर्ष सकेसम्म अक्षय कोषलाई वृद्धि गर्ने, भने जत्ति नउठे टेलिमेडिसिन सञ्चालन वा निरन्तरताका लागि सहयोग पुग्छ । अलि राम्रो फन्डिङ भयो भने कम्तीमा दुई वटा प्राथमिक विद्यालयलाई तारबारले वरिपरि घेरेर नानीहरुका लागि सुरक्षित वातावरण बनाउँछौं ।
यस्तै पर्यटन, पर्यावरण, कृषि आधिनिकीकरणसहित उत्पादनमा जोड दिने हाम्रो बृहत् परियोजना छ । नेपाल, स्वीटजरल्यान्डलगायतका कृषिविज्ञ सँग कुरा भइरहेको छ । स्वीटजरल्यान्डका विज्ञले आधुनिक प्रकारले मौरीपालन, कागती खेती, नगदेबालीमा केही गर्न सकिन्छ भन्ने सुझाइरहनु भएको छ । होमस्टे बनाउन सकेमा स्थानीयलाई आयआर्जन हुन्छ । सरकारले केही गर्छ भने हामी सहयोग गर्न तयार छौं ।
चारभञ्ज्याङले पर्वत जिल्लाका कुन कुन ठाउँलाई समेटेको छ र यो कस्तो ठाउँ हो ?
यो लेक नै हो । विशेषगरी जनजाति गुरुङ, मगर, राई लिम्बू डाँडाहरुको माथिल्लो ठाउँमा बस्ने जातिहरु हुन् । र, चारभञ्ज्याङको संरचना र भौगोलिक स्थितिबारे भन्नुपर्दा यो एउटा गाउँ होइन । तत्कालीन चारवटा गाविसभित्र रहेका गुरुङ गाउँहरुको संगठन हो यो । यी गाविसहरु फलेवास नगरपालिकाअन्तर्गत परेको छ । तर, विभिन्न वडाको रुपमा विभाजित छ ।
हाम्रो एउटा लामे गाउँ छ । त्यो पर्वत जिल्लाको गाउँ हो । त्यसपछि लिमिठाना, ठानालगायत अरु गाउँहरु पनि छन् । त्यो निकै ठूलो गुरुङ गाउँ हो । छरिएर बसेको तर एउटै तत्कालीन गाविसभित्रको गाउँ हो । त्यस्तै तत्कालीन फलामखानी गाविस हो । दाद्रा भन्ने एउटा गुरुङ गाउँ छ । यो पनि लेकमै पर्छ । अर्को तत्कालिन भंगारा गाविस हो । म त्यहींबाट आएको हुँ । पहिलेका गाविसहरु अहिले विभिन्न वडामा विभाजन भएर नगरपालिकाभित्र आबद्ध भएको छ ।
अन्तिममा केही भन्न चाहनुहुन्छ ?
हामीले सानो प्रयास गरेका छौं । एउटा समाजमार्फत आफ्नो जन्मभूमि नेपालप्रति, जन्मस्थलप्रति माया, स्नेह, जीवन्त राख्नका लागि एउटा योजना सञ्चालन गर्दै आएका छौं । यसलाई निरन्तरता दिने हाम्रो अथक् प्रयास छ । यस प्रयासमा तपाईंहरु सबै सहभागी भइदिएर मद्दत गरिदिनुहुन विनम्रतापूर्वक हार्दिक हार्दिक अनुरोध गर्दछु ।
यदि आउन भ्याउनु भएन भने वेबसाइटमा गुगल गर्नु भयो भने चारभञ्ज्याङ तमु समाज पाउनुहुन्छ । त्यहाँनिर जस्ट गिभिङ भन्ने पोर्टल छ । ५/१० पाउन्ड डोनेसन पनि गर्न सक्नुहुन्छ । त्यसो गर्नुभयो भने हामीले लिएको लक्ष्य, हाम्रो उद्देश्य छ । विशेषत: नेपालका गाउँ गाउँमा बस्ने हाम्रा आदरणीय आमाबुबा, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्नेछौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!