झन्डै साढे दुई दशकदेखि भीमप्रसाद गुरुङ (टु क्ल्हेप्री) तमु भाषा तथा खेमा लिपि अभियानमा छन् । उमेरले ५० औं बसन्त टेकेका पर्वत साविकको होश्राङ्दी–७ (हालको अर्गाउदी) का भीमप्रसाद बाँचुञ्जेल यसै कार्यलाई निरन्तरता दिने बताउँछन् । अचेल तमु भाषा तथा खेमा लिपि विकास अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव, नेपालमै पहिलो गुरुङ भाषाको पढाई थालेको देवदह मदर टङ्स एकेडेमीका प्रबन्ध निर्देशक र तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) का केन्द्रीय भाषिक सल्लाहकार एवं अभियन्ताको जिम्मेवारी उनको काँधमा छ । नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय पार्षद, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय पार्षदसमेत बनेका गुरुङले पत्रकारिताको अनुभव पनि मज्जैले बटुलेका छन् । उनको संलग्नता हाल रेडियो देवदह र देवदह सप्ताहिकमा छ । अभियन्ता भीमप्रसाद गुरुङसँग तमु भाषा र लिपि प्रशिक्षणको प्रभाव, आवश्यकता, महत्व र आगामी योजनाबारे एभरेस्ट टाइम्सले गरेको कुराकानी :

पछिल्लो समय के गरिरहनुभएको छ ?
अहिले देशव्यापी तमु भाषा तथा लिपि प्रशिक्षणमा छु । तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) अन्तर्गत रहेर यसका प्रदेशस्तरीय समिति र जिल्लाहरुमा प्रशिक्षण कार्यक्रममा लागिरहेको छु ।
यस क्षेत्रमा कुन सालदेखि सक्रिय हुनुहुन्छ ?
२०५० सालमा बुटवलमा ‘नेपालमा राष्ट्रिय भाषा समस्या र निराकरणको उपाय’ शीर्षकमा राष्ट्रिय भाषाहरुको गोष्ठी भएको थियो । त्यतिखेर तमु भाषा खेमा लिपि प्रस्तुत भएपछि म लगातार लागेँ । २०५२ सालमा तत्कालीन तमु छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) को महाधिवेशनले खेमा लिपिलाई पारित ग¥यो । तर कारणवस त्यो प्रस्तावित रुपमा रह्यो । त्यसपछि मैले रुपन्देहीको देवदहमा २०५३ सालमा तमु भाषा पढाउन विद्यालय सञ्चालन गरी देशव्यापी रुपमा भाषिक प्रशिक्षकको रुपमा काम गरिरहेको छु ।
भाषिक अभिवृद्धि र संरक्षणको दुई दशकको अभियान कति सफल भएको महसुस गर्नुहुन्छ ?
जहाँनिर गुरुङ भाषा छ, त्यहाँका गुरुङ साथीहरुले धेरै चासो दिइरहेको अवस्था छ । जहाँ गुरुङ भाषा लोप भइरहेको छ, प्रभाव कम छ, त्यो ठाउँमा माग भएअनुसार प्रशिक्षणको लागि जाने गरेको छु । अहिले देशव्यापी रुपमा भाषा संरक्षण गर्नुपर्छ भन्नेमा जागरुक भएकोले यो क्रम जारी छ ।
मानिसहरुले सिकाई व्यवहारमा कत्तिको लागू गरेको पाउनुहुन्छ ?
नीतिगत हिसाबले गुरुङ भाषा, संस्कृति जोगाउनुपर्छ भनेर संस्थागत निर्णय गरिएका छन् । तर, त्यो अनुसार व्यवहारमा कम लागू भएको छ । किनभने भाषा प्रयोग कहीं पनि देखिँदैन । भाषा प्रयोग गरेर भविष्यमा व्यावसायिक हिसाबले केही नहुने प्रस्ट छ । त्यही कारणले जति हुनुपथ्र्यो, त्यो हुन सकिराख्या छैन ।
भाषा, लिपि प्रशिक्षणका लागि स्थानीय सरकार, अन्य सामाजिक संघ संगठनको सहयोग मिलिराछ तपाईलाई ?
सरकारले मातृभाषा संरक्षणको लागि हात्तीको देखाउने दाँतको हिसाबले मात्र व्यवहार गरिरहेको छ । पाठ्यक्रम विकास केन्द्रले छापिसकेपछि अर्कोपटक छाप्न अनकन गरि रह्यो । पाठ्यपुस्तक कसरी पढाउने, शिक्षक कसरी तयार गर्ने, यसको सैद्धान्तिक विषय कस्तो छ भनेर अनुगमन गर्दैन । त्यसको लागि कुनै चासो देखाउँदैन । बरु उल्टै तपाईंहरुकै जाति, समुदायले खासै इन्ट्रेस्ट नदेखाएको आरोप लगाउँछन् । त्यसकारण जति छाप बस्न पर्ने हो, त्यति बस्न सकेको छैन ।
अहिलेसम्म तपाईंले कता कता प्रशिक्षण दिनुभयो ?
सिक्किममा धेरै तमु भाषाका शिक्षकहरु हुनुहुन्छ , नेपालमा विद्यालय खोल्दा अंग्रेजी भाषा शिक्षक त्यहींबाट ल्याउनु पथ्र्यो । तीन वर्षभित्र उहाँहरुले यहाँ अंग्रेजी भाषा सिकाउने, मैले गुरुङ भाषा सिकाएर पठाउने गरेर लगभग ५/१० जना शिक्षक तयार गरेर पठाएँ, पहिलो चरणमा । पछि उहाँहरु संस्थागत हिसाबले आउनुभयो । आउनेहरुलाई पर्वतको अर्गाउदी भन्ने गुरुङ गाउँ, जहाँ गुरुङ भाषा मात्रै बोलिन्छ , त्यहाँ एक महिना राखेँ । कसरी उच्चारण गरिन्छ, गुरुङ गाउँमै २५ जनालाई व्यवहारिक हिसाबले सिकाएँ । त्यहाँ केही गुरुङ भाषाको स्थायी र अस्थायी शिक्षक बनेका छन् ।
मैले भुटानी शरणार्थी शिविर झापा, मोरङमा पनि प्रशिक्षण दिइसकेको छु । अहिले अमेरिका भए पनि नियमित सम्पर्कमा हुनुहुन्छ उहाँहरु । मलाई गुरुङ भाषा प्रशिक्षणका लागि बोलाउँछौं, आउनुपर्छ भनिरहनु भएको छ । देश बाहिर यस्तो छ भने नेपालभरि माग भएको अवस्था छ । गुरुङहरुको जहाँ जहाँ संगठन पैmलिएको छ, त्यहाँ त्यहाँ प्रशिक्षण माग भइरहेका छन् ।
प्रशिक्षकचाहिँ कति उत्पादन गर्नुभयो ?
सुरुमा हामी एक/दुई जना मात्रै थियौं । सामाजिक संस्थाहरुले तमु भाषा र लिपिमा भाषा प्रशिक्षणलाई बेवास्ता गरेकोले हाम्रा साथीहरु आ–आफ्नो व्यापार, व्यवसायमा लाग्नुभयो । म र मदर टङ एकेडेमीका शिक्षकहरु मात्रै प्रशिक्षक देखिए पनि पछिल्लो समयमा धेरै प्रशिक्षकहरु निकालेको छु । प्रशिक्षण दिएका ठाउँमा दुई/चार जना हरेक ठाउँमा प्रशिक्षक उत्पादन गरेको छु । अहिले नवलपरासीका ठाकुरजंग दाइ हुनुहुन्छ । बुटवलबाट पनि छन् । पूर्वतिर पनि मैले प्रशिक्षक तयार पारेको छु । खेमा लिपि पढाउन सक्ने चाहिँ थुप्रै निस्किसकेका छन् । स्याङ्जामा मैले सिकाइसकेपछि स्थानीय निकायका प्रशिक्षकलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ । प्रशिक्षकहरुको उत्पादन उत्साहजनक छ ।
यो चरणसम्म आइपुग्दा तमु भाषा, लिपि रक्षात्मक अवस्थामा कि विकासको अवस्थामा, कसरी बुझ्न सकिन्छ ?
यो रक्षात्मक र विकास दुवै हो । हाम्रो गुरुङ समुदाय विदेश पलायनमा अग्रभागमा छ । त्यो कारणले यो रक्षात्मक हो । विदेश गए पनि संघसंस्था खोल्ने र आबद्ध हुनेहरुलाई भाषा, लिपिमा चासोे छ । नेपालमा गण्डकी प्रदेश, जहाँ गुरुङहरुको बाहुल्यता छ , त्यहाँ पनि धेरै गुरुङ संस्थाहरु छन्, गुरुङहरु छन् । तर, संस्थागत हिसाबले गुरुङ भाषा पढाउनका लागि मूर्तरुपमा संरक्षण गर्नका लागि उपलब्धिमूलक काम गरेको देखिँदैन ।
मैले इन्डियाको हावाले भेट्ने ठाउँमा स्कुल खोलेर काम गरेको छु । गुरुङ भाषा पढाउने उद्देश्यले । गण्डक प्रदेशले त्यस्तो प्रयास गरेको देखिँदैन । त्यसैले रक्षात्मक अवस्था हो । तर, अहिले थुप्रै साथीहरुले अनलाइन मिडियाहरुमा गुरुङ भाषाको क्लासहरु सुरु गर्नुभएको छ जस्तो कि भाइबर, इमोमा । वेबसाइडहरु पनि बनेको अवस्था छ । साथीहरु सँगसँगै लागिरहनुभएको छ । पछिल्लो समय गुरुङ संघ संस्थाहरुको आँखा खुलिरहेको मैले महसुस गरिरहेको छु ।
तमु भाषा र लिपिको विकास, विस्तारमा अरु चुनौती के के छन् ?
यसको मुख्य बाधक राज्य नै हो । मातृभाषा संरक्षणका लागि राज्यले हात्तीको देखाउने दाँत जस्तो मात्रै व्यवहार गरिरहेको छ । राज्यले जुन रुपमा पहलकदमी गर्नुपथ्र्यो । त्यो गर्न सकिरहेको छैन । सिक्किमको परिवेश हेर्नुहुन्छ भने त्यहाँ सबै भाषाभाषीलाई मान्यता दिएको छ । सबैले विद्यालयमा मातृभाषा पढ्न पाएका छन् । जहाँ गुरुङहरुको बाहुल्यता छ, त्यहाँ गुरुङ भाषामा पठनपाठन गरिदिएको छ । त्यहाँ शिक्षकहरु नियुक्त छन् । तलब भत्ता दिइएको छ । तालिम दिनेजस्ता सबै काम स्थानीय सरकारले गरेको छ भने नेपालमा कतिवटा भाषाभाषीलाई दिने भनेर बजेट दिइएको छैन । राज्यको मातृभाषा संरक्षणमा जुन खालको हेपाहा प्रवृत्ति छ, यसले संरक्षणको लागि गाह्रो भएको अवस्था हो ।
सरकारले मातृभाषा शिक्षाको व्यवस्था त गरेको छ नि ?
व्यवहारिक हिसाबले आएको छैन । पाठ्यपुस्तक खोई छापिदिएको ? तिमीहरुले मातृभाषाको शिक्षाको अवसर पाएको छ भन्ने तर त्यसअनुसार व्यवस्थापन नगर्ने, शिक्षक तयार नगरिदिने, प्रशिक्षकहरु तयार नगरीदिने भएपछि कसरी मातृभाषा लागू भयो भन्नु ।
भाषा बचाउने प्रमुख माध्यम साहित्य मानिन्छ । यो गतिविधि सहरी क्षेत्रमा समेत गतिलो रुपमा देखिन्न कसरी लिनुहुन्छ ?
गुरुङ साहित्यमा पनि अलि चासो बढाइएको छ । गुरुङ दिदीबहिनीहरुले पोखरामा गुरुङ साहित्यिक मञ्च नेपाल खोल्नुभएको छ । जति पनि तमु बुद्धिजीवीहरु हुनुुहुन्छ, बुद्धिजीवीहरुबाट कम चासो भएकोले साहित्यको विकास भएको छैन । पाठकहरुको संख्या कम छ । हाम्रा मान्छे विदेश पलायन भइरहेको अवस्था छ । हाम्रो पैसामुखी समाज भयो । त्यसकारण सोचेजत्ति विकास हुन नसकेको हो । गुरुङ बुद्धिजीवीहरुले जति चासो दिनुपर्ने हो, त्यो नदेखाएका कारण वृत्तिविकास नभएको हो ।
प्रभावमा रहेको नेपाली भाषाले समेत प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा मातृभाषाभन्दा अन्तर्राष्ट्रिय भाषा सिक्नेतर्फ लाग्नु पर्छ भन्ने मनोविज्ञानले पनि काम गरेर यसतर्फ चासो घटेको हो कि ?
त्यो पनि हो । गुरुङ भाषा सिकेर भोलि रोजीरोटी के दिन्छ भन्ने भएर हाम्रा मान्छेहरु त्यतातिर नलागेको हुनसक्छ ।
तमु खेमा लिपि मान्यताका लागि राष्ट्रिय भाषा आयोगमा निवेदन दिइसक्नु भयो । यसको विकासका लागि अब के के अभियान चलाउनुहुन्छ ?
सिक्किममा कक्षा १२ सम्मको पाठ्यपुस्तकहरु तयार भएका छन् । त्यहाँ पढाउने टिचरहरु म कहाँ आएर पढाउने शैली सिकेर जाने गरेका छन् । उनीहरुको विकास निकै नै भएको छ । यसलाई संस्थागत हिसाबले जाऊ भन्ने छ । २०५२ सालमा खेमा लिपि पारित भए पनि विवादित बनेर प्रस्तावित रुपमा राखियो । र, गएको महाधिवेशनबाट पारित भयो । २०/२२ वर्षको पिरियड अन्योलता आयो । हाम्रा गुरुङ समाज, संस्थाबीच नै समस्या रह्यो । त्यसकारण तमु भाषा, लिपिको विषयमा समस्या आयो । गत वर्षको संस्थागत निर्णयपछि हामी देशव्यापी रुपमा लागेका छौं । सबै संघसंस्थाहरुलाई आह्वान गरेका छौं, अब भाषा, लिपि बचाउनका लागि ।
केही समयअघि हामीले राष्ट्रिय भाषा आयोगमा अहिलेसम्म विकास भएको भाषा खेमा लिपिको फन्टहरु, प्राविधिक पक्ष, व्यवहारिक पक्ष नेपाल सरकारलाई जगजाहेर गराउने काम गरेका छौं । संघ संस्थाले आ आफ्नो ढंगले अगाडि बढाउने, समुदायले पनि चासो दिने , स्थानीय, प्रदेश र संघ सरकारमा हाम्रो मागको बारेमा भाषा बचाउने आन्दोलनका बारेमा, बजेटिङको आग्रह गर्ने विषयमा लाग्दैछौं ।
खेमा लिपि सिक्न कत्तिको गाह्रो छ ?
झट्ट हेर्दा गाह्रो जस्तो देखिएको हो । हामीले तत्कालको लागिमात्र सोच्नु भएन । हामीले भावी सन्तानलाई भाषा हस्तान्तरण गर्नका लागि मौलिक लिपिको आवश्यकता छ । मौलिक लिपिबिना भावी सन्ततिलाई हस्तान्तरण सम्भव छैन । भाषालाई लिपिबद्ध नगरिकन बचाउन सकिँदैन । सिक्नका लागि देवनागरी लिपि पनि प्रयोग गर्न सक्छौं । तर, भाषा न देवनागरी लिपिमा राम्रोसँग आउन सक्छ, न रोमन लिपिमा । गुरुङ भाषाको संयुक्त अक्षर, स्वरहरु आउँछन् । त्यो अवस्थामा एकैपटक चार/पाँच वटा शब्द उच्चारण गर्न गाह्रो हुने भएकोले खेमा लिपिमा गुरुङ भाषा प्रस्ट आउन सक्छ । लिपीमा लेख्न सजिलो हुने भएको छ ।
बुटवलमा पछिल्लो पटक गुरुङ पुरोहित(खेगी) हरुलाई मैले प्रशिक्षण दिएँ, खेमा लिपिको । उनीहरुले प्रयोग गर्ने पुराना पुराना शब्दहरु खेमा लिपिमा ट्रान्सलेट गरेँ । सजिलो अनुभव गरेका छन् । सुरुमा प्रयोग गर्दा अप्ठ्यारो देखिए तापनि वास्तवमा खेमा लिपि सहज छ । सरल छ । सजिलो छ । मौलिकपन भएको कारण यसमा भोलि आकर्षण बढ्दै जानेमा दुई मत छैन ।
गुरुङलगायत मातृभाषी थुप्रै छन्, उनीहरुको पनि मातृभाषा जोगाउने विषयमा कुनै कदम चाल्नु भएको छ ?
म पनि आदिवासी जनजाति खेमाबाट हुर्केको मान्छे । हामी देवदह मदर टङ्स एकेडेमीमा तीन भाषा पढाउने भनेर लागेका हौं । गुरुङ, मगर र थारु । मातृभाषाले जातीय पहिचान दिन्छ । मातृभाषा राष्ट्रकै गहना हो भन्ने हिसाबले लागेका छौं । धेरैले भाषा पढाउँदा यो जातीय हो भनेर आरोप आउँछ भने र हाम्रा मान्छेहरुले पनि यो पढेर के हुन्छ भनेर निराश पार्ने काम भयो । छोराछोरी पछि पर्लान् भन्ने सोचकै कारण विद्यार्थी कम हुनु स्वाभाविक नै हो । गाउँपालिका, नगरपालिकामा हाम्रो यस्तो हुँदैछ भनेर हामीले भनिरहेकै हो । जिल्ला शिक्षा कार्यालयमा गएर पनि भनिरहेका छौं । लिखित र मौखिक रुपमा भनेको छु । तर, सबैको चासो विषय बन्न नसक्दा गाह्रो चाहिँ भइराखेको अवस्था हो ।
तपाईं स्वयम्ले कत्ति शिक्षा लिनु भयो ?
म भाषाका अभियन्ता हुँ, भाषाविद् होइन । भाषा बचाउनुपर्छ भनेर म जहाँ पुग्दा पनि राख्छु । स्थानीय हिसाबले म थारु भाषा जान्दछु । मगर भाषा बुभ्mदछु । सिक्दै र सिकाउँदै छु । गुरुङ बाहुल्य भएको सबै गाउँ डुलेको छु ।
अरु समुदायका भाषा भेगीय हिसाबले फरक पाइन्छन्, गुरुङ समुदायमा के रहेछ ?
गुरुङ समुदायमा पनि एकदमै फरक फरक छ । ठाउँअनुसार फरक छ । एकरुपता छँदैछैन । स्याङ्जा, पर्वत र कास्कीको लगभग उस्तै खालको भेटिन्छ । गोरखा, लमजुङ, तनहुँको फरक फरक छ । उत्तरी गोरखामा त एकदमै फरक छ । कैयौं वर्षदेखि पठनपाठन हुँदै आएको नेपाली भाषामा त एकरुपता छैन भने गुरुङ भाषा त लेख्य रुपमा आइसकेको छैन । फरक हुनु स्वाभाविक नै हो ।
लामो समयदेखि भाषिक अभियानमा हुनुहुन्छ, सन्तुष्टि मिलेको छ ?
मैले गुरुङ संस्थाको केन्द्रीय तहमा काम गरिसकेँ । विद्यार्थीको संस्थापक अध्यक्ष भइसकेँ । मेरो अभियान भाषा बचाउ हो । भाषा बचाउन लिपिको जरुरी छ । लिपि भाषालाई सँगसँगै लैजानुपर्छ भनेर अभियानकै रुपमा लागिरहेको छु । तर, हाम्रो समाजले भनेजस्तो व्यवहारमा लागू गर्दैन ।
आगामी योजना के बनाउँदै हुनुहुन्छ ?
भाषा र लिपिको मेरो अभियान ज्यूँदो छउन्जेल अविरल रुपमा लैजान्छु । म जहाँ जान्छु भाषा बचाउने कुरा गर्छु । दुई वटा शब्द भने पनि सिकाउँछु । फेसबुकमार्फत् पनि साथीहरुलाई सहयोग गरिरहेको छु । म देशव्यापी रुपमा लाग्ने छु । अहिले तमु छोंजधिं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले प्रमुख प्रशिक्षकको रुपमा दर्जा दिएको छ । छोंज धिंले जहाँ जहाँ लगाउँछ, म लागिरहन्छु ।
बेलायत लगायत प्रवासमा रहेका गुरुङ नेपालीहरु संघ संस्था खोलेर धर्म, भाषा, संस्कार, संस्कृति जोगाउने काममा लागिरहेका छन् । त्यहाँबाट तपाईलाई कुनै सुझाव आएको छ ?
सुझाव विभिन्न ढंगले आइरहेको छ । तपाईं हाम्रो प्रोग्राममा आइदिनु प¥यो, सिकाइदिनु पर्यो । भाषा र लिपिका लागि अनवरत खटिरहनु भएको छ, हामीलाई पनि सहयोग गर्नुपर्यो भनेर बेलायतमात्रै होइन, अमेरिका बस्ने गुरुङको पनि आग्रह छ । विदेशमा बस्ने गुरुङहरुलाई चासोको विषय बनेको छ । गुरुङहरु जहाँ जहाँ बस्नु भएको छ । मलाई त्यहीं बोलाउनु पर्छ भन्ने छैन । अनलाइन, अफलाइन, इमेलबाट सिक्न चाहनुहुन्छ, मसँग सेयर गर्न चाहनुहुन्छ भने म तयार छु ।






