‘सन् १९९० को दशकमा हामी भुटानको दक्षिणी भेगमा बसोबास गर्ने नेपालीवासी भुटानीहरूले निक्कै कष्टकर जीवन बिताउनुपरेको थियो । शरणार्थी जीवनको भोगाईलाई नर्कको दोस्रो जीवन भनेर सम्झन्छौं हामी । भुटानबाट लखेटिएपछिको हाम्रो पहिलो बास केही महिना नेपालको झापास्थित माईखोलाको बगरमा भयो । प्राण बचाउन मुस्किल भएपछि खैनीको बट्टामा चामल मागेर बिताउनु परेको कहालीलाग्दा ती काला दिनहरू अझै पनि सम्झनामा ताजै छ । छाप्रोमा १८ वर्ष लामो र दुःखदायी जीवन बिताउँदाको पलहरूले जन्माएको यो उपन्यास हामी सबै भुटानीहरूको कथा हो । म नारी पात्रको रुपमा प्रस्तुत भए पनि यो उपन्यास मेरो आफ्नै भोगाईबाट जन्मिएको कृति हो ।
ती, मोरंग र झापाका विभिन्न ठाउँहरूको अनिश्चित शरणार्थी शिविरमा बितेको बालापन हामीलाई प्यारो लागेर होला ती कहालीलाग्दा दिनहरू सम्झने मन नभए पनि नेपालको भने अझै धेरै माया लाग्छ, सम्झना आउँछ र आफ्नै झैं लाग्छ । नेपालको त्यो खोलानाला, वनजंगल र ढुंगा माटोमा अझै हाम्रो गन्ध भेटिन्छ झैं लाग्छ ।’ यो भनाइ भर्खरै बजारमा आएको उपन्यास छाप्रो नम्बर ५५ का लेखक रमेश दियालीको हो । उनी भुटानबाट आएर १८ वर्ष शरणार्थी भई नेपालमा रही हाल पुनर्बासको सिलसिलामा अमेरिका पुगेका छन् । प्रस्तुत छ, उनै उपन्यासकारसँग एभरेस्ट टाइम्स यूकेका लागि जानु काम्बाङ्ग लिम्बूले गरेको कुराकानी ।

हाल तपाईं के गर्दै हुनुहुन्छ ?
साहित्य, संगीत र कलामा जीवन खोजीरहेको छु ।
उपन्यास छाप्रो नम्बर ५५ को कस्तो प्रतिक्रिया आइरहेको छ ?
राम्रो छ । कतिले पढ्नु पनि भाको छैन भने कतिले पढिसक्नु भएको छ । उहाँहरूले धेरै राम्रो प्रतिक्रिया दिइरहनु भएको छ । पाठकहरूको मायाले म फुरूङ नै छु ।
तपाईंका अरु कृतिहरू पनि छन् ?
कृतिको हिसाबमा यो पहिलो हो । फुटकर कथा कविताहरू त धेरै छन् ।
यो उपन्यास लेख्न के ले उत्प्रेरित गर्यो ?
मेरो बाबाले । जब म सानो थिएँ, मेरा गुच्चा खेल्ने चोर औंलामा लौराले हिर्काउँदै ‘क’ लेख्न नसिकाएको भए सायद यो उपन्यास पनि जन्मने थिएन । तसर्थ उहाँ नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।
तपाईं आख्यान विधामा मात्र कलम चलाउनु हुन्छ कि अरु विधामा पनि ?
पछिल्लो समयमा म आख्यानप्रति आकर्षित छु । कुनै विषयले मनमा घोचेपछि लेख्ने हो । कुनै विषयहरूले मलाई अह ! पटक्कै छुँदैन । तर कथा, कविता र गजलमा छुन सक्छ । यस अर्थमा गजल र कविताहरूमा पनि कÞलम दौडिन्छन् ।
कति समय भयो छाप्रो नम्बर ५५ बजारमा आएको ?
पहिलो संस्करण २०७५ कात्तिकमा प्रकाशन भएको हो । लगभग ६ महिना जति भइसक्यो ।
अब के गर्ने विचारमा हुनुहुन्छ ?
एउटा मुभीको स्क्रिप्टमा छु अहिले । त्यसपछि के गर्छु सोचेको छुइनँ ।
तपाईं भूटानी नागरिक भएर पनि यति राम्ररी नेपाली भाषा बोल्न र लेख्न सक्नुहुन्छ । नेपाली भाषा कसरी सिक्नु भो ?
हरेक भाषाका एउटा निश्चित अक्षरहरू हुन्छन् । अक्षर सिर्जना भने होइन । भूगोल नागरिक र सिमानाले बाँध्न सक्दैन साहित्य र कलालाई । मेरो अक्षरहरूको सुरूआत नै नेपालबाट भयो । भूटानमा नेपाली पढाई हँुदैन थियो भन्ने मात्र सुनेको हो ।
तपाईं अमेरिका जानुभएको कति भो ?
अमेरिका बसेको पनि लगभग १० वर्ष भइसक्यो ।
उपन्यासको भूमिकामा म नारी पात्रको रुपमा प्रस्तुत भएपनि यो कथा मेरो आफ्नै भोगाई हो भन्नु भएको छ । तपाईंले पुरुष पात्र भएर लेखेको भए कथाले कस्तो मोड लिन्थ्यो ?
सृष्टि चक्रअनुसार नारीमा जुन शक्ति छ त्यो पुरूषमा देखिँदैन । कथामा नारीलाई पात्रको रूपमा मात्रा उभ्याएको हो तर समग्रमा भूटानीहरूकै कथा हो । यस अर्थमा पुरूष र नारी समान छन् । सायद पाठकहरूले यो कुरा बुझेका छन् ।
यो उपन्यास लेखिसक्नु कति समय लाग्यो ?
आफ्नै भोगाई अथवा म आफैं एक अदृश्य पात्र भएकोले होला यो किताब सक्न मलाई ६ महिना जति मात्र लाग्यो ।
उपन्यासमा पूर्वका परिचित ठाउँहरूलाई सारै गज्जबले उतार्नु भएको छ । १८ वर्ष दुःख गरी बिताएको गाउँ ठाउँको याद आउँदैन अचेल ?
आफ्ना ती रहरलाग्दा बालापनमा उडाएको धूलो, खेलेका खोप्पी, गुच्छाका दाना र बस्तीहरूले अझै मलाई खोजिरहेका होलान् जस्तो लाग्छ । तिनै यादहरूले नै जन्माएका हुन् यो छाप्रो न ५५ । वास्तवमा आफू खेलेको ठाउँ राम्रो होस् या नराम्रो भूल्न कसैले सक्दैन ।
उपन्यासको मुख्य पात्र नायिका गंगाले अन्तिममा आफ्ना स्वर्गीय पतिका आमा बुबा अथवा सासु ससुरालाई छाडेर हिँड्दा माया लागेन ?
भावना र यथार्थ फरक छन् । माया भावना हो भने पुनर्बास यथार्थ । अभावको गहिराईदेखि जीवनको प्रेमिल अवस्थासम्म आइपुग्दा गंगा पात्रा रित्तो भइसकेको थिई । भौतिक सुविधा दिने कुनै चिज नै बाँकी नभएपछि माया फिक्का लाग्यो भन्ने भाव हो ।
एक मात्र सहारा बुहारी गंगाले छाडेर हिँडेपछि ती बुढाबूढीको के हाल भो होला भनी अरु पाठकले पनि सोधे कि ?
धेरै पाठकहरूका मुख्य जिज्ञासा नै यही छ । र, मैले लेख्न छुटाएको पनि यहि नै हो । त्यसैले सबैसँग क्षमा माग्दै अर्को संस्करणमा सुधार्ने प्रण गर्दछु ।
भुटान छाड्दा तपाईँ कति वर्षको हुनुहुन्थ्यो ?
मलाई त यादै छैन । आमा भन्नुहुन्छ, हामीले भुटान छाड्दा २ वर्षको मात्र थिएँ रे ।
१८ वर्ष बिताएको देश छाडेर अमेरिका उड्दा रसाउने आँखाहरू भावनामा नायिकाको भए पनि यथार्थमा त लेखककै थिए, होइन र ?
एक लाख भूटानी शरणार्थीहरूका आँखा र तिनकै आँसु थिए । गंगा त पात्रा मात्रा हुन् । भावना होइन वास्तवमै हो ती आँखाबाट आँसु नचुहिएको कसैको थिएन नेपाल छोड्दा ।
यो उपन्यासले एउटा सिङ्गगो इतिहास रचेको छ शिविर र त्यहाँ बसोबास गर्नेहरूको, तपाईं सँगसँगै शिविरमा दिन बिताउने दौंतरीहरूबाट कस्तो प्रतिक्रिया बटुल्दै हुनुहुन्छ ?
१० वर्षको जनयुद्धले त कति धेरै दर्द, पीरव्यथा दिलायो समाज, गाउँ र बस्ती मात्र नभएर सिङ्गगो देशलाई नै भने हामीले त ८ वर्ष बढी युद्ध लडेका छौं । भलै हामीसँग जनयुद्धका लडाकुहरूको जस्तो बम बन्दुक र गोला बारूद थिएन तर ती दिनहरू लडाइँभन्दा कमका थिएनन् । त्यसैले १८ वर्षसम्म देशविहीन भएर बाँचेको कथा अझै सम्झन मन छैन भन्छन् । तर, देश गुमाएर अनागरिक हुनु पर्दा शिविरमा बिताएका कष्टकर जीवनलाई जस्तातो तस्तै उतार्नु भएको रहेछ भन्ने प्रतिक्रिया दिन्छन् र कति साथीहरू त फिलिम हेरे जस्तै भयो भन्छन् ।
नायिकालाई अमेरिकाको एयरपोर्टमा पर्खिरहने देव कतै तपाईं नै त होइन ?
हाँ…हाँ…. होइन, होइन । म देव हुनै सक्दिनँ । देवको जस्तै धैर्य छैन म मा ।
अन्त्यमा, केही कुरो छुटेको भए खुलेर समेट्न सक्नुहुन्छ ?
छैन, सबै चिरफार गरिदिनु भो ! त्यही हो छाप्रो नम्बर ५५ को यथार्थ । तपाईंलगायत एभरेस्ट टाइम्स यूकेलाई अनेक धन्यवाद भन्दै एकपल्ट छाप्रो न. ५५ उपन्यास सबैले पढिदिन हुन अनुरोध गर्दछु । यहाँहरूको माया, आशीर्वाद, शुभेच्छा र टीकाटिप्पणीले नै मलाई थप उर्जा र सुधार्ने मौका दिने छ । यो उपन्यास यहाँसम्म आइपुग्न मन्जरी पब्लिकेशनको ठूलो सहयोग छ । धेरै घन्यवाद दिन चाहन्छु । र, अन्त्यमा पाठकलगायत यहाँहरू सबैप्रति नमन ।







