काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेललाई प्रमुखको जिम्मेवारी दिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अधिकांश मन्त्रीलाई सम्बन्धित मन्त्रालयकै विभाग प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य नरहेका विना मगर, लालबाबु पण्डितलगायतका मन्त्रीले पनि बिभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई पर्यटन विभाग प्रमुखनै बनेका छन् । माधव नेपाल विदेश विभाग प्रमुख भएका छन् भने सुवास नेम्वाङ संसदीय विभाग प्रमुख भएका छन् ।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निर्वाचन विभाग प्रमुखको जिम्मेवारीमा पुगेका छन् ।
सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ । बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो । त्यस्तै सातवटा प्रदेशमा थप दुई-दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन-तीनजना सहइन्चार्ज रहनेछन् ।
गौतम उपाध्यक्ष
नेकपा ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सिर्जना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राखेका हुन् ।
तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सिर्जना गरिएको छ । ‘अध्यक्षद्धयले बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव राख्नुभएको छ । उहाँहरुले त आजै निर्णय गरौं भन्नुभएको थियो तर हामीले अर्को बैठकमा गरौं भनेका छौं’ एक नेताले भनेका छन् । नेकपा महासचिव बिष्णु पौडेलले पनि गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा लगिने बताए ।






