बुधवार १७ जुन २०२६ – अल्डरशट बेलायत। गत १६ जुन २०२६ मा बेलायतको अल्डरशटमा गोर्खा तथा नेपाली समुदायका सदस्यहरूमाथि भएको विभेदकारी एवं जातीय भेदभावपूर्ण व्यवहारको घटनाप्रति ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जिआरएनसी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिआरएनसी ले उक्त दुःखद घटनाको जानकारी तत्काल सम्बन्धित स्थानीय काउन्सिल तथा प्रहरी प्रशासनलाई गराइसकेको छ।
प्रशासनको तर्फबाट अन्तरिम प्रबन्ध निर्देशक इन ह्यारिसनले पठाउनुभएको इमेल जानकारी अनुसार, यस विषयलाई निकै गम्भीरताका साथ लिइएको छ। घटनाको निष्पक्ष छानबिन, छलफल र दीर्घकालीन समाधानका लागि छिट्टै एउटा विशेष बैठकको आयोजना गरिने भएको छ। बैठकमा निम्न क्षेत्रका उच्च अधिकारीहरूको सहभागिता रहनेछ:
स्थानीय काउन्सिल तथा प्रहरी प्रशासनका उच्च अधिकारीहरू
स्थानीय प्रमुख प्रहरी निरीक्षक
मेयर तथा उपमेयर
काउन्सिल लिडर तथा काउन्सिलरहरू
जिआरएनसी का प्रतिनिधिहरू
जिआरएनसीका अध्यक्ष लिला सेलिङ माबोले एक वक्तव्य जारी गर्दै सम्पूर्ण नेपाली समुदायलाई घटनाको थप विवरण र आधिकारिक निर्णय नआएसम्म धैर्यवान, शान्त र संयमित रहन हार्दिक अनुरोध गर्नुभएको छ। हामी न्याय र समानताका लागि प्रशासनिक रूपमा लागिपरेका छौँ। यो संवेदनशील घडीमा सबैजना सुरक्षित रहनुहोला र थप जानकारी आवश्यक परेमा जिआरएनसी कार्यालय वा महासचिवसँग सिधै सम्पर्क गर्नुहोला,” अध्यक्ष माबोले भन्नुभएको छ ।
नेपाली समुदायको सुरक्षा र आत्मसम्मानका लागि जिआरएनसीले प्रशासनसँग निरन्तर समन्वय गरिरहेको र बैठकको मिति तय हुनासाथ थप विवरण सार्वजनिक गरिने संस्थाले जनाएको छ।





