हुम तमु
पोखरा । तमुधिं नेपाल केन्द्रीय आमा समितिको छैटौं वार्षिक साधारणसभा मंगलवार तमु धिं नेपालमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि आमा समितिकी संरक्षक, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले दीप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन् । कार्यक्रममा यस वर्षको उत्कृष्ठ आमाबाट तमु सहयोग समिति नयाँबजारकी कोषाध्यक्ष जगन तमु सम्मानित भइन् । यसरी नै वर्षभरमा सबै भन्दा क्रियाशील र उत्कृष्ट आमा समितिको उपाधिबाट पैयुँखोला तमु समाज आमा समिति सम्मानित भयो । सम्मानित आमा र आमा समितिलाई कार्यक्रमका प्रमुख अतिथि कर्म तमु, आमा समितिकी अध्यक्ष हरिमाया तमुले सम्मानपत्र, क्रमु र खादाले सम्मान गरेकी थिइन् । आमा समितिले वर्षभर आमा समितिले गरेका गतिविधीमा विशेष भुमिका निर्वाह र सहयोग गर्ने एक जना आमा र एक आमा समितिलाई सम्मान गर्दै आइरहेको छ।
उक्त कार्यक्रममा जनसेवा श्री पदकबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित आमा समितिकी द्धितिय उपाध्यक्ष पवित्रा गुरुङसहित नारी सेवा केन्द्रमा सम्मानित आमा समितिकी आशाकासी गुरुङ लगायत सहयोगदाताहरुलाई खादा लगाएर सम्मान गरिएको थियो।
कार्यक्रमको दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएकी प्रमुख अतिथि तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्दै आमाहरु नै समाज सर्जक भएको बताउनुभयो। आमाहरु सचेत र शिक्षित भए मात्र सभ्य समाज निर्माण हुने भन्दै तमु धिं नेपाल केन्द्रीय आमा समितिको क्रियाशीलताको निरन्तरताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा आमा समितिकी संस्थापक अध्यक्ष चन्द्रसुवा गुरुङ, तमु धिं नेपालका उपाध्यक्ष तथा सल्लाहकार हुमबहादुर गुरुङ, सल्लाहकार तथा तमु धिं सचिव अधिवक्ता जुनाकुमारी तमु, नागबेली तमु समाजका अध्यक्ष बिष्णुकुमार गुरुङ, गोर्खाली रेडियोकी स्टेशन मेनेजर खिमा गुरुङ लागयतले आमाहरु सचेत, संगठित, क्रियाशील र नेतृत्वका लागि अग्रसर हुनुपर्नेमा शुभकामना व्यक्त गरेका थिए । उक्त साधारणसभामा आमा समितिकी महासचिव ऐनशोभा गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रममा हालै नवनिर्वाचित खिलाङ तमु समाज आमा समिति र कोल्माबहाकोट तमु समाज आमा समितिको कार्यसमितिलाई बधाई ज्ञापनका साथै स्वागत गरिएको थियो। याङजाकोट तमु समाज आमा समितिका कलाकारहरुले स्वागत गीत प्रस्तुत गर्नुभएको कार्यक्रममा आमा समितिहरुको तर्फबाट विविध र सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । तमु धिं नेपाल केन्द्रीय आमा समितिकी अध्यक्ष हरिमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पञ्चकुमारी गुरुङ र संचालन महासचिव ऐनशोभा गुरुङले गरेकी थिइन् ।






