हुम तमु
पोखरा । तमुहरुको पुरानो सामाजिक संस्था तमुधिं नेपाल विहिवार पोखरामा नवनिर्वाचित विभिन्न संघ संस्थाका कार्यसमितिलाई स्वागत सम्मान गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा पुनः निर्वाचित हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङसहित कार्यसमिति, नवनिर्वाचित तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ, नवनिर्वाचित गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)का अध्यक्ष भोजबहादुर गुरुङसहित कार्यसमिति, नवनिर्वाचित तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङसहित कार्यसमितिलाई बधाई, स्वागत तथा सम्मान गरेको हो ।
तमुधिं नेपालकी अध्यक्ष कर्म तमुले हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ र तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङलाई फेटा र खादा एवम अन्य पदाधिकारी र सदस्यहरुलाई खादाले सम्मान गरेका हुन् । अध्यक्ष कर्म तमुले तमुधिंमा स्वागत, निर्वाचित हुनुभएकामा बधाईका साथै कार्यकालको पुर्ण सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।
सम्मानितहरुको तर्फबाट तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङले नवनिर्वाचित कार्यसमितिहरुलाई तमुधिं नेपालको बधाई, सम्मानले आफुहरु सामाजिक सेवामा थप क्रियाशिलताका साथ काम गर्ने उर्जा थपिएको बताइन् । उनले तमुहरु विभिन्न संघ संस्थामा रहे पनि एकता र सहकार्य हुनुपर्दछ भन्दै प्रतिष्ठानका उद्धेश्य र गतिविधीका बारेमा जानकारी गराएकी थिइन् ।
यसरी नै तमुधिं नेपालले क्षेत्रीय समाज कोल्माबहाकोट तमु समाजका अध्यक्ष सु.मे.भोजबहादुर गुरुङसहित कार्यसमिति र मिलिजुली विजयपुर तमु समाजका नवनिर्वाचित अध्यक्ष ईन्स्पेक्टर मानकाजी गुरुङसहित कार्यसमितिलाई तमुधिं नेपालमा अध्यक्ष कर्म तमुले खादा लगाएर बधाई एवम स्वागत सम्मान गरेका थिए ।
यसैविच तमुधिं नेपालको ३५ औं वार्षिक साधारणसभा असोज १५ गते गर्ने तमुधिं नेपालको बैठकले निर्णय गरेको छ।
यस्तै गरी तमुधिं नेपालको बैठकले तमुहरुको सभ्यता, सँस्कृति विकास भएको पुण्यभुमि क्होला सोंथरको अध्ययन अवलोकन भ्रमण गर्ने भएको छ। संस्थागत अवलोकन भ्रमण अन्र्तगत तमुधिं नेपालले क्षेत्रीय समाजहरुका साथै विभिन्न तमु संघ संस्थाहरुलाई सहभागी गराई क्होला सोथरको भ्रमण कार्तिकको तेश्रो सातामा गर्ने योजना बनाएको तमुधिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले जानकारी दिए ।
क्होला सोंथर अध्ययन, अवलोकन भ्रमणका लागि तमुधिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङको संयोजकत्वमा साँस्कृतिक संयोजक मेनकाजी गुरुङ, तमुधिंका सहसचिव दुर्गाबहादुर गुरुङ, कोषाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, सदस्य गमबहादुर गुरुङ रहेको क्होला सोंथर अध्ययन अवलोकन भ्रमण तयारी समिति गठन गरिएको तमुधिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिए ।






