एटा संवाददाता
लन्डन । एभरेस्ट टाइम्स पत्रिकाको निमन्त्रणामा बेलायत आएका नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक गजुरधन राई, मेरो अनलाइन टिभीका पत्रकार विश्व लिम्बु र बेलायत भ्रमणमा रहेका नेपालका चर्चित कवि उपेन्द्र सुब्बालाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरिएको छ । उनीहरुलाई गत शुक्रबार ६ सेप्टेम्बर साँझ अल्डसटस्थित एम्पायर हलमा पाँचथर समाज सेवा यूके र एभरेस्ट टाइम्सले स्वागत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा पत्रकारद्वय राई र लिम्बुले पत्रकारिकता पेसामा आफूहरुले गर्दै आएको संघर्ष, नेपालमा जनजाति पत्रकारको अवस्था, न्यू मिडिया लगायतको विषयमा चर्चा गर्दै आफूहरुलाई निमन्त्रणा, स्वागत तथा सम्मानका लागि सबैप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै, कवि सुब्बाले आफ्नो साहित्यिक यात्राको बारेमा जानकारी गराउँदै सबैप्रति धन्यवादसहित आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा एभरेस्ट टाइम्स प्रालि अध्यक्ष मेजर कुलबहादुर थापा र पाँचथर समाज सेवा यूकेका अध्यक्ष चन्द्र सुन्दास लगायतले तीनैजना अतिथिलाई खादा लगाई स्वागत तथा सम्मान गरेका थिए । सो अवसरमा मायाको चिनोसमेत आदानप्रदान गरेका थिए ।
गजुरधन राई लामो समयदेखि नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष पनि हुन् भने विश्व लिम्बु मेरो अनलाईन टिभी (युटुव) का लोकप्रिय प्रस्तोता हुन् । जसले यसअघि कान्तिपुर टेलिभिजन, माउन्टेन टिभी, गोर्खा एफएममा काम गरिसकेका छन् । त्यस्तै, उपेन्द्र सुब्बालाई कवि, गीतकार र स्क्रीप्ट राईटरको रुपमा चिन्छन् ।
एभरेस्ट टाइम्स प्रालि अध्यक्ष मेजर कुलबहादुर थापा र पाँचथर समाज सेवा यूकेका अध्यक्ष चन्द्र सुन्दासको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई एभरेस्ट टाइम्सका प्रवन्ध निर्देशक नगेन्द्रराज नेम्वाङले सञ्चालन गरेका थिए ।






