काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का नेता कृष्ण तिमल्सिनाले देश निर्माणमा एनआरएनको काँधमा पनि ठूलो जिम्मेवारी भएको भन्दै त्यसका लागि संगठनमा एकता जरुरी रहेको बताएका छन् ।
एनआरएन युरोप उप–संयोजक पदका उम्मेदवार उनले युरोपभर छरिएर रहेका नेपालीलाई एकीकृत गरेर उनीहरुको ज्ञान सिप र दक्षता देश विकासमा खर्चिन ढिलाई गर्न नहुनेमा जोड दिए ।
लामो समय एनआरएन अभियानमा होमिदा प्राप्त अनुभवलाई नेतृत्वदायी भूमिकामा रहेर उपयोग गर्ने योजनाका साथ आफूले युरोप उपसंयोजक पदमा उम्मेदवारी दिन लागेको तिमल्सिनाले जानकारी दिए ।
युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था ब्यबसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्न, युरोपमा एनआरएन एनसीसीलाई थप बिस्तार गर्न, अहिले युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दिगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन, युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र हाम्रो संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना आफूले उम्मेदवारका रुपमा अघि सारेको उनले जानकारी दिए ।
सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सिना यसअघि सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका उनी सन् २०१७ देखि १९ को कार्यकालका लागि अध्यक्षको प्रत्यासी बनेका थिए।

सोअघि शेष घलेको कार्यकाल सन् २०१५ देखि ०१७० मा केन्द्रीय सदस्य बनेर काम गरेको अनुभव संगालिसकेका उनको एनआरएनका सबै पूर्वअध्यक्षहरुसँग राम्रो सम्पर्क रहेको छ ।
एनआरएनले सञ्चालन गर्दै आएका सम्पूर्ण अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका तिमल्सिनाले सबैको सहसल्लाहमा आफूले उपसंयोजक पदमा उम्मेदवारी दिने निधो गरेको र विजयी हुनेमा पनि ढुक्क रहेको बताए ।
हाल एनआरएन युकेको सल्लाहकारको भूमिकामा रहेका तिमल्सिनाको युरोप क्षेत्रका एनआरएन नेपालीसँग व्यक्तिगत सम्पर्क समेत राम्रो रहेको छ ।
विशेषतः युरोप क्षेत्रका समग्र सुद दुःखमा एनआरएन नेपालीसँगै हिँड्ने उनको प्रतिबद्धता रहेको छ ।
करिब १८ वर्षदेखि बेलायतमा रहँदै आएका धादिङ धुवाँकोटका उनी यूकेमा समाजसेवीको रूपमा परिचित छन् ।
विभिन्न च्यारिटीको कामदेखि अनेकन समाजसेवाका गतिविधिमा उनी अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन् ।






