ओह ! म त आजसम्म
भ्रममा बाँच्दै रहेछु
त्यसैलाई सत्य ठानेर
आफ्नो निर्मल हातहरूले
जीवनको क्यानभासमा
सुनौलो रङ्गले सिंगार्दै रहेछु
असत्यले सत्यको खोल ओढेर
चेतनाले आफ्नै छायाँसँग
सम्झौता गरेको भ्रमको खेल
छातीमा लगाएर हाँस्दै रहेछु ।
मैले भोगेका भ्रमहरू
यी मेरा आँखाले देखेका
दृश्यहरू मात्र थिएनन् बरु
ती त मेरो विश्वासले अर्जेका
संरचनाहरू थिए ।
एक शान्त साँझको बेला
अशान्त र व्यग्र कुहिरोले
निस्सासिएको क्षणमा
मनको ऐना हेर्दै गर्दा
केही बजारिएको आवाज सुनेथेँ
धरती च्यातिएको जस्तै सुनेथेँ
अफशोच ! त्यो त
विश्वास र आस्था फुटेको
तिखो आवाज पो रहेछ
गहिरो शुन्यताको आभास पो रहेछ ।
आँखा खोलेर हेर्दा देख्दै थिएँ,
जीवनको क्यानभासमा
कति जतनले भरेका ती
सुनौलो रङ्गहरू उडिसकेछन्,
र ती फूलहरू झरिसकेछन्
सँगसँगै रमाउँदै जिएका ती पलहरू
एकाएक बाटोको धूलो जस्तै
हावामा विलाई सकेछन् ।
उ बेला भ्रामकहरूको जमातमा
रमाउँदै हिंडिरहँदा
आफै हराएको पत्तो पाइन,
उनीहरूकै साथमा हाँसिरहेँ
उनीहरूकै कथाहरूमा बाँचिरहेँ
आफू मेटिएको सुईको पाईन ।
समयले गर्दा जब बादलभित्रको
घाम जस्तै सुस्तरी सत्य आयो
तब भ्रमले सक्कली मुहार देखायो
भ्रम पछिको सत्य त कुरूप र
विश्वास गर्नै कठिन हुँदो रहेछ
तर किंचित अफशोच हैन
त्यसपछि नव पालुवा जस्तै
ताजापन आउँदो रहेछ
त्यही सत्यको उज्यालोमा अब देख्दैछु,
न बाह्य रङ्ग छ न त नक्कली सजावट
यो मेरो केवल मेरो…आफ्नै अस्तित्व
निर्मल, निश्छल र निस्कलंक …।






