बर्दिवास । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा हुने बताएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित कमरेड निर्मल लामा १८ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी शक्तिशाली कम्युनिष्ट केन्द्र मार्फत देशमा स्थिरता, विकास, समृद्धि र समाजवादको आधार निर्माण गर्ने एउटा महान् उद्देश्य सहित अगाडि बढेका छौं । ’
उनले पार्टी एकताबाट दायाँबायाँ गर्ने भन्ने हुनै नसक्ने बताउँदै आफू र प्रधानमन्त्री ओलीका कारणले एकता प्रक्रिया नलम्बिएको स्पष्ट पारे । आफूहरु छलफलमा भएको र परिपक्क एकताको पक्षमा भएको अध्यक्षको धारणा थियो ।
आफूहरुले हरेक निर्णयहरु सामुहिक तरिकाले छलफल गर्ने गरेको बताउँदै उनले अगाडि भने ‘हामीले जुनदिनदेखि पार्टी एकता गर्ने भन्यौ, त्यहि दिनदेखि अर्को पक्षलाई राम्रो लागेको छैन । उनीहरुले रुन पनि नपाउने भनेर प्रचार गरे । हामीले नेपाली जनताले रुनै नपर्ने बनाउने भनेका छौं ।’
अध्यक्ष प्रचण्डले चुनावसम्म वाम गठबन्धन सजिलैसाग गएपनि एमाले र माओवादी नेतृत्वलाई प्रतिक्रियावादीले एम्बुसमा पार्ने कोशिस गरेको बताए ।
‘अरुले पार्टी एकतामा जेजस्तो षड्यन्त्र गरेपनि निर्णायक हामी नै हौं, ’ उनले भने, ‘हाम्रो काम गर्ने कार्यशैलीमा हुने कमजोरीलाई सच्चाउन जरुरी छ । यसमा सबैको सहयोग चाहिन्छ । हामी यो पार्टी एकतालाई निश्कर्षमा पुर्याउने ठाउा तिर लैजाँदै छौं । हामीले एउटा सही बिचारको आधारमा शक्तिशाली कम्युनिष्ट निर्माण गर्ने अवसर पाएका छौं । यो अवसर गुम्न नदिन हामी सबै एकजुट हौं ।’
प्रकाशित मितिः २७ वैशाख २०७५






