दल बहादुर बुढाथोकी – बेलायत।
लन्डन। गत १६ जुन २०२६, मंगलबारका दिन अल्डरसटस्थित म्युनिसिपल गार्डेनमा भूतपूर्व गोर्खा तथा नेपाली समुदायहरूमाथि जातीय घृणा फैलाउने उद्देश्यले एक स्थानीय व्यक्तिले “तिमीहरू किन यहाँ बसिरहेका छौ, आफ्नो देश जाओ” भन्दै गालीगलौज र अभद्र व्यवहार गरेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
पार्कमा बसिरहेका ती वृद्धहरू अरू कोही नभएर बेलायती सेनामा सेवा गरी बेलायती साम्राज्यका लागि आफ्नो रगत र पसिना बगाएका वीर भूतपूर्व गोर्खाहरू हुन्। गोर्खाहरू बेलायतका लागि अभूतपूर्व योगदान पुर्याएका र सरकारले गरेको विभेदविरुद्ध लामो न्यायिक आन्दोलनपश्चात् बेलायत आएका हुन्। यो देशमा रहने अधिकार त्यो घृणा फैलाउने व्यक्तिको जति छ, त्यति नै अधिकार ती वीर गोर्खाहरूको पनि छ। बेलायतका लागि त्यसरी रगत र पसिना बगाएका योद्धाहरूमाथि उक्त व्यक्तिले देखाएको निन्दनीय व्यवहारले गोर्खाहरूको सर्वोच्च योगदानको घोर अवमूल्यन गरेको छ। उसले छालाको रङकै आधारमा नेपालीहरूमाथि अभद्र व्यवहार गर्यो। यस घटनाले हामीले यो देशका लागि जस्तोसुकै योगदान पुर्याएर वा कानुनी अधिकार पाएर यहाँ आएको भए तापनि, केवल छालाको रङकै कारण “तिमी ब्रिटिस हैनौ” भन्ने खालको विभेदकारी र रङ्गभेदी मानसिकता अझै जीवित रहेको प्रष्ट पार्छ।
तसर्थ, हामी बेलायत र नेपाल दुवै सरकारलाई बेलायतमा रहेका गोर्खा नेपाली समुदायलाई अधिकारसम्मत रूपमा पहिलो दर्जाको नागरिक सरह व्यवहार गर्न अनुरोध गर्दछौँ। साथै, यस किसिमको जातीय घृणा वा हिंसा फैलाउने जोसुकै व्यक्तिलाई पनि तुरुन्त कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ।
वर्तमान समयमा विश्वको राजनीतिक अवस्था गम्भीर मोडमा छ। यस्तो संवेदनशील अवस्थामा नेपाल सरकारले पनि भर्तीका कारण बेलायतको आवासीय अधिकार पाएर यहाँ रहेका गोर्खाहरूलाई एनआरएन (NRN) कै समूहमा राखेर नागरिकताविहीन बनाउँदै “न घरको न घाटको” स्थितिमा पुर्याउँदै छ। हामीले यहाँको आइएलआर तथा आइएलइ वा पासपोर्ट प्राप्त गरिसकेका भए तापनि भोलि आउन सक्ने चुनौतीहरूका बीच आफ्नो “वंशजको नेपाली नागरिकता” गुमाएर ढुक्कसँग बस्न सक्ने अवस्था छैन भन्ने कुरा सम्पूर्णमा अवगत गराउन चाहन्छौँ।
तसर्थ, बेलायती सेनामा सेवा गरेका तथा सेवारत सम्पूर्ण गोर्खा नेपाली समुदायलाई यस किसिमका गतिविधिप्रति सतर्क रहन र “नेपाली वंशजको नागरिकता निरन्तरता” का लागि “संविधान तथा नेपाली नागरिकता ऐन २०६३ को दफा १०(१)” संशोधन गर्न सीएनसिबिजीले नेतृत्व गरेको अभियानमा ऐक्यबद्धता जनाउन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।






