विजय हितान
यसपालि बेल्पालीलाई गैर आवासीय नेपाली संघ युकेको चुनावले खुबै ततायो । अरुबेला चिसिए पनि चुनाबछेका तातिनु नेपाली समाजका लागि नौलो होइन । चुनाव प्रचारप्रसार सौहार्दपूर्ण रहे पनि मतदान, मतगणना र विजयी घोषणा सनसनीपूर्ण र विवादित बन्यो ।
आधिकारिक रूपमा उम्मेदवारी दर्ता नगर्दै गत जुन महिनादेखि नै अध्यक्षमा उठ्छु भनेर संघसंस्थातिर धाउँदै सदस्य बनाउने साथै प्रचारप्रसार गर्ने काम पनि भएको थियो । अध्यक्षमा उठ्छु भन्नेहरूको संख्या आधा दर्जन पुगेको थियो । चर्को शुल्क तिरेर आधिकारिक उम्मेदवारी दिने दिन आएपछि अन्यले आफ्नो नाम फिर्ता लिए र दुई जना मात्र अध्यक्षमा लड्ने भए । विधान सम्मत नभए पनि गुट उपगुट त्यहीँबाट सुरु भएको थियो ।
त्यसपछि एक महिना जति चुनावको भव्य प्रचारप्रसार भयो, नेपालका राजनीतिक दलहरुका चुनाव बरु त्यति तामझामका साथ हुन्न होला बेलायतको एनआरएनको चुनावको प्रचार त्यो भन्दा बढि तामझाा भयो ।
मतदान गर्ने दिन (१४ सेप्टेम्बर) आयो । मतदानको दिन बेजिङस्टोक र नर्थ हल्टको मतदान केन्द्रमा धाँधली भयो भन्ने खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती ओइरिन थाले । साथै केही अनलाइन मिडियाले समाचार समेत प्रकाशित गरे । यो विवादका कारण मतगणना केही दिन स्थगित भयो । मतगणना कार्यलाई पछि निरन्तरता दिइएपछि एक हप्तामा पुनम गुरुङ अध्यक्षमा विजयी भएको र शेर सुनार उपविजयी भएको घोषणा गरियो ।
वर्षा नभईकन खोला धमिलो हुन्न । चुनावमा धाँधली नभएको भए सामाजिक सञ्जालमा उम्मेदवारहरूबाटै नकारात्मक प्रतिक्रिया आउने थिएन । झनै उपविजयी शेर सुनारले समापन कार्यक्रममा दिएको तितो मन्तव्यले धाँधली भएको कुरामा उनी अडिग रहेको देखिन्छ ।
म पनि सदस्य भएर मतदानमा भाग लिएकाले यस घटनालाई नियालेर हेरिरहेको थिएँ । यसरी भएको निर्वाचनलाई मध्यनजर राख्दै एनआरएनए बेलायतको छोटो समीक्षात्मक टिप्पणी गर्ने जमर्को गरेको छु ।
अन्ततोगत्वा निर्वाचन समितिले आफ्नो जिम्मेवारी सफलताका साथ निभायो । उहाँहरूको परिश्रमप्रति हामी सबैको शुभेच्छा छ । तर केही तिता प्रतिक्रियाहरू पनि यसले सिर्जना गरेको छ । मेजर डम्बर घलेले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी नलिनु पर्ने भन्ने भनाइहरू आए । एक जना अध्यक्षको प्रत्याशी को थिइन् भन्ने अर्थमा पनि यस्तो प्रतिक्रिया आउनु स्वाभाविकै हो । तर उम्मेदवारदेखि मतदातामा भूपूको बाहुल्यता देख्दा मेजर डम्बर घलेबाहेक अरू उपयुक्त व्यक्ति कोही थिएनन् भने पनि हुन्छ ।
निर्वाचन आयुक्त जस्तो अति नै जिम्मेवारीपूर्ण कार्य प्रायः मानिसले लिन चाहँदैनन् । अर्को कुरा सफल निर्वाचन गराएर कार्यभार हस्तान्तरण गर्ने ठूलो जिम्मेवारी निवर्तमान अध्यक्ष र कार्यसमितिको हुन्छ । सशक्त निर्वाचन आयोग गठन नगर्दासम्म अध्यक्षलाई निद्रा नलागेको म आफैँले अनुभव गरेको छु । जोसँग नजिक भइएको छ अनि जसले सहयोग गर्ला जस्तो छ तिनैलाई गुहार्ने हो । पल्टनीय सम्बन्धले गर्दा निवर्तमान अध्यक्ष योग फगामीलाई डम्बर घलेसँग मद्दत माग्न सजिलो भएको होला भन्ने म बुझ्छु ।
निवर्तमान कार्यसमितिको उल्लेखनीय क्रियाकलाप भनेको संगठन विस्तार देखिन्छ । फगामीको कार्यकालमा राज्यस्तरका चार समिति गठन गरिए । आउने दिनहरूमा यी राज्य समितिलाई परिचालन गर्दै निर्वाचन प्रक्रियालाई सरल बनाउन सकिन्छ । यिनै राज्य समितिका पदाधिकारीहरूले एनआरएनए बेलायतको केन्द्रीय समिति चुन्न सक्ने व्यवस्था गर्न सकिन्छ । यसो गर्दा एकातिर फाल्तु स्रोत र साधनको जोहो गर्नुपर्ने अवस्था आउँदैन भने अर्कोतिर सर्वसाधारण बेल्पालीले अहिलेको जस्तो दुःख बेहोर्न पर्दैन । अहिले चौध हजार बेल्पालीले चाहेर या नचाहेर पैसा तिरेरै सदस्यता लिएका छन् । अनि परिचय खुल्ने कागजपत्र बुझाउनु पर्ने जस्ता झन्झटिला प्रावधान झेल्दै अन्त्यमा व्यस्त समयलाई खचिंदै भोट हाल्न पनि पुगे सदस्यहरू । आफूले मत दिएका उम्मेदवारको विजय भयो कि भनेर मत परिणाम सुन्ने बेलामा विवाद मात्रै सुन्नु प-यो । परिणामस्वरूप सामाजिक सद्भावमा खलल पुगेको सबैले महसुस गरे ।
फगामीको कार्यकालले संगठन बिस्तार गरेको छ भन्ने त देखिन्छ, तर नेपालीहरू पदलोलुप हुन्छन् भन्ने दोषारोपण भइरहेको अवस्थामा अरू चार सङ्गठनहरू थपिनु भनेको कुर्चीको खेल हो भनेर सर्वसाधारणले अर्थ लगाएका पनि छन् । बरु यहाँ अगावै स्थापित तीन सयभन्दा बढी संघसंगठनसँग सहकार्य गर्दै तिनैबाट एक जना एनआरएनए बेलायतमा प्रतिनिधित्व रहने व्यवस्था मिलाएको भए प्रभावकारी देखिन्थ्यो । तिनै प्रतिनिधिले केन्द्रीय समितिको चुनावमा भोट हाल्थे । अहिले सिर्जना भएको विवाद फेरि सिर्जना हुने सम्भावना न्यून हुन्थ्यो ।
यति धेरै विवादका बाबजुद पनि गत चुनावले एक इतिहास रचेको कुरालाई नकार्न सकिन्न । पुनम गुरुङजी अध्यक्ष हुनुभएको छ । हामी सबैको उहाँप्रति शुभकामना त छँदै छ तापनि
यो सम्पूर्ण महिलाहरूले गर्व गर्ने विषय पनि बनेको छ ।
त्यसैमा म जस्तो महिला हक अधिकार अनि महिला पनि पुरुषसरह नेतृत्वमा पुग्नुपर्छ, पुग्ने अवस्थाको सिर्जना गरिदिनुपर्छ भन्ने अभियानकर्ता र समर्थकका लागि झनै गौरवको विषय हो ।
साथै शेर सुनारले जितेका भए पनि इतिहास लेखिन्थ्यो नै । भूपू गोर्खा मेजर डम्बर घलेजीले योभन्दा पहिल्यै यस संस्थाको अध्यक्ष बनेर इतिहास कायम गरिसक्नुभएको छ । हाम्रो समाजमा दलितमाथिको अमानवीय व्यवहारलाई सम्झेर ल्याउँदा शेर सुनारले जित्नुभएको भए पनि म त्यत्तिकै गौरव गर्थेँ । साथै उहाँ मजस्तै भूपू गोर्खा र मेरै नम्बरी पर्नुभएकाले उहाँ विजयी भएको भए यसबाट मलाई भिन्नै खुसी प्राप्त हुन्थ्यो ।
संक्षिप्तमा भन्नुपर्दा यी दुवै व्यक्तिहरू चुनावको मैदानमा प्रवेश गर्दा नै एनआरएनए बेलायतको इतिहास कायम भइसकेको भनेर म हेर्छु । केही नकारात्मक टीकाटिप्पणी वावजुत यो संस्था बल्ल आज आएर अधिकांश सर्वसाधारण बेल्पालीमाझ चिनिन सफल भएको मैले महसुस गरेको छु । नवनिवार्चित कार्यसमितिमा उपविजयी गुटका पनि केही सदस्यहरू भएको देखिन्छ । अब एउटै कार्यसमितिमा बसेर यी भिन्न विचार बोकेका सदस्यले समाज विकासका लागि सहकार्य गर्न मध्य मार्ग अपनाउनै पर्छ ।
जुन उद्देश्यले यो संस्था स्थापना गरिएको हो गत केही वर्षयता यसको उद्देश्यबाट विमुख भएको देखिन्छ । यसो हुनुको प्रमुख कारण भूपू, आदिवासी, महिला, धर्म, युवा, खेलकुद, च्यारिटी, बाढी तथा भूकम्प पीडितलाई राहत, राजनीति इत्यादिजस्ता मुद्दाहरूलाई भित्र्याइनु हो जस्तो लाग्छ । यस्ता मुद्दाहरूलाई सम्बोधन गर्ने आआफ्नै संगसंस्थाहरू छन् । अनि यी मुद्दाहरू बोकेर हिँड्न यो संस्थामा पर्याप्त स्रोत र साधन पनि छैन । अहिलेको चुनावमा देखा परेको विवादको प्रमुख कारणमध्येको एक प्रचुर स्रोत र साधनको कमी पनि हुनसक्छ । तसर्थ आफ्नो मूल उद्देश्य अनुसार नेपालमा लगानी भित्र्याउने, प्राविधिक सहयोग पु-याउने र दोहोरो नागरिकको मुद्दाहरूलाई मात्रै एनआरएनएले बोकेर हिँडोस् भन्ने हाम्रो अनुरोध हो ।
एनआरएनएले हामीलाई के दिएको छ र? भनेर प्रश्न गर्नेहरू यसको सम्भावित क्षमतालाई बुझ्न नसक्नेहरू हुन् । यस संस्थामा नेपालको विकासमा सहयोग पु-याउन सक्ने प्रबल सम्भावना भएका व्यक्तित्वहरु नभएको भए यतिका धेरै प्रवासी नेपालीको दिलचस्पी यसमा रहने थिएन । मैले देखेको त्यो सम्भावना भनेको हामी प्रवासी नेपालीहरूमा भएको प्राविधिक ज्ञान र देश सेवाको प्रबल इच्छा नै हुन् । नेपाल सरकारले हाम्रो क्षमतालाई पहिचान गरिसकेको छ । तर नेपाली राजनीति र सरकारी संरचनामा अझै पनि राणाकालीन संकोचित मनस्थितिले ग्रसित व्यक्तिहरूको बाहुल्यताले हाम्रो विज्ञता देश विकासमा लगाउन हिचकिचाइरहेको प्रस्टै देखिन्छ । यसको प्रमाण दोहोरो नागरिकताको विषयलाई लिएर सर्वोच्च अदालतमा पेस गरिएको मुद्दालाई हराइदिनु र राजनैतिक हक विनाको गैर आवासीय नेपाली परिचयपत्र हामीलाई थमाइदिनु हो ।
लगानी भित्र्याउने सन्दर्भमा पनि म त्यति नाफामुलक देख्दिनँ । किनकि नेपालमा अझै लगानीको उचित वातावरण सिर्जना भएको छैन । केही व्यापारी पदाधिकारीहरूले लगानीको प्रचारप्रसार गरेको देखिन्छ । त्यो नाफामुलकभन्दा पनि आफ्नै स्वार्थसँग गाँसिएको हुनसक्छ ।
यसरी एनआरएनएले यति लामो समयसम्म बहस गरेका मुद्दा पूर्ण सफल नभइसकेकाले अब अर्को नयाँ मुद्दा (जो प्राप्त गर्न सम्भव छ) लिएर प्रवासी नेपालीमाझ गयो भने यो संस्थाले आफ्नो बिग्रेको छविमा सुधार ल्याउन सक्छ जस्तो मलाई लाग्छ ।
–सेप्टेम्बर २०१९ फोक्सटोन, केन्ट, बेलायत ।






