बेलायत, २ मे २०२६ । मंगला बुद्ध विहार यूके र मगर बौद्ध समाज युकेले संयुक्त रुपमा २५७०औँ बुद्ध जयन्ती बेलायतको ह्यारोस्थित ‘ह्यारो फुटबल क्लब’ (Harrow Football Club) को हलमा भव्यताका साथ मनाएको छ।
कार्यक्रमको पहिलो चरणमा संस्थाका उपासक गञ्ज आले मगरले सुरक्षासम्बन्धी जानकारी गराउनुभएको थियो। त्यसलगत्तै सचिव जगत बहादुर आले मगरले आसन ग्रहण सञ्चालन गर्नुभयो भने उपाध्यक्ष टिका दर्लामी मगरले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गर्नुभयो।
विहारका अध्यक्ष इन्द्र पुन मगरले उपस्थित उपासक तथा उपासिकाहरूलाई पञ्चशील प्रदान गर्नुभएको थियो भने श्रद्धेय स्थबिर भन्ते इन्द्रसकज्युले बुद्ध पूजा सम्पन्न गराउनुभयो। सो अवसरमा नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीले विशेष सम्बोधन गर्दै बुद्धका उपदेशहरूको सान्दर्भिकतामाथि प्रकाश पार्नुभयो।
दोस्रो चरणको कार्यक्रममा श्रद्धेय अनागारिका आभास्वती गुरुमाज्युले नेपालवाट जुम मार्फत र श्रद्धेय महास्थबिर सुमना भन्तेज्युबाट धर्म देशना प्रस्तुत गरिएको थियो। साथै, अध्यक्ष इन्द्र पुन मगरले बुद्ध शिक्षासम्बन्धी जानकारीमूलक प्रस्तुति र वर्षभरिको कार्यतालिका प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष टेक खपांगी मगरले बिहार खरिद सम्वन्धि आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो।
सोही क्रममा परियत्ति परीक्षा उत्तीर्ण गर्ने परीक्षार्थीहरूलाई प्रमाणपत्र वितरण, समाजमा अनुकरणीय कार्य गर्ने सदस्यहरूलाई सम्मान र नयाँ आजीवन सदस्यहरूलाई स्वागत गरिएको थियो।
बुद्ध जयन्ति कार्यक्रममा मंगला बुद्ध विहार यूकेका अध्यक्ष इन्द्र पुन मगर र मगर बौद्ध समाज युकेका अध्यक्ष रिम गलामी मगरलाई एभेरेष्ट टाईम्स युकेका सम्पादक तथा उपासक डा. दुत पुन मगर (चिम्खोले काईला) ले मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रमको अन्तिम चरणमा श्रद्धेय स्थबिर इन्द्रसक भन्तेज्युबाट १० मिनेटको सामूहिक ध्यान गराइनुका साथै संघलाई दान र पुण्यानुमोदना अर्पण गरी कार्यक्रम समापन गरिएको थियो।
विहारका अध्यक्ष इन्द्र पुन मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव जगत बहादुर आले मगरले गर्नुभएको थियो। कार्यक्रममा एन आर एन युकेको अध्यक्ष प्रेम गाहा मगरलगायत झन्डै ३ सय जना भक्तजनहरूको उपस्थिति रहेको थियो।











