विजय हितान
गोर्खाली आफ्नै भिरपाखामा फुल्ने लालीगुराँससित त्यति समिप नहोलान् जति युरोपको फ्लान्डर फिल्डमा फुल्ने पप्पी फूलहरुसँग समिप छन् । गोर्खालीको गुराँससँग राष्ट्रियताको र पप्पीसँग रगतको नाता छ । मानिसहरु भन्ने गर्छन्, पप्पी फूल मृत सैनिकको रगतले सिञ्चित छ । त्यसैले तिनको रंग रगत झैं रातो हुन्छ । फ्लान्डर फिल्ड महाभारतको कुरुक्षेत्र झंै पहिलो विश्व युद्धको रणभूमि थियो, जहाँ हजारौं गोर्खालीको रगतको खोलो बगेको थियो । मानिसहरु यसो भन्दै गर्दा मलाई के लाग्छ भने, सूर्यबाट किरण, हावाबाट कार्बनडाइअक्साइड र माटोबाट पानी लिएर अन्य फूलहरु उम्रँदै गर्दा पप्पी फूल भने फ्लान्डर फिल्डमा ज्यान गुमाएका सैनिकको अलौकिक उर्जा, हावामा मडारिएको आत्मा र माटोमा सिञ्चित रगतबाट उम्रेको हुनुपर्छ ।
पप्पी फूल सबै युद्धहरुमा मारिएका योद्धाहरुको प्रतिक हो । तिनै वीरहरुको सम्मानार्थ हरेक वर्षको ११ नोभेम्बरका दिन श्रद्धाञ्जली कार्यक्रम भइरहँदा मभित्र प्रश्नहरुका अग्ला छालहरु उठ्ने गर्दछन्, पप्पी फूलका पत्रहरुमा गोर्खालीको हिस्सा कति प्रतिशत छ ? पप्पी फूल फुलाउनमा गोर्खालीको ऐतिहासिक भूमिका के थियो ? गोर्खालीको महत्व नेपाल र बेलायतमा के कति छ ? गोर्खाली इतिहासलाई हामीले कति बुझेका छौं र कसरी बुझेका छौं ? यिनै प्रश्नको उत्तरमा केन्द्रित रहेर यो मेरो लेख लेखिएको छ ।
पप्पी फूलमा पाँचदेखि छ सिम्रिक रङ्गका पत्रहरु हुन्छन् । पहिलो विश्व युद्धमा गोर्खालीको उल्लेखनीय सहभागितालाई हेरेर भन्ने हो भने पप्पी फूलको एक पत्रको हिस्सेदार गोर्खाली हुनुपर्छ । पहिलो विश्व युद्धमा छ वटा गोर्खा राइफललाई परिचालन गरिएको थियो– १÷१, १÷४, १÷९, २÷२, २÷३, र २÷८ गोर्खा राइफलहरु । १९१४ को अगस्टमा यिनलाई कराँची र बम्बई बन्दरगाहबाट पानीजहाज चढाएर सुज नहर हुँदै फ्रान्सको मार्सेमा उतारियो । जतिबेला कालापानी समुन्द्र तरेर गए जात जान्छ भन्ने धार्मिक मान्यता थियो । त्यसपछि रेलमा चढाएर उत्तर–पश्चिम फ्रान्स र बेल्जियमको सीमामा पुर्याएर डिसेम्बरमा युद्धमा होमियो । त्यतिबेलासम्म खासै ठूलो युद्ध अनुभव थिएन । सिपाही बिद्रोहजस्ता आन्तरिक कलह, सिख र पठानसँगको सानातिना झडपहरुमा मात्रै गोर्खाली भिडेका थिए । फ्लान्डर फिल्डमा आउनुपूर्व ठूलो फायर पावरको सामना गर्नु परेको थिएन । परिणामस्वरुप जर्मनको तोप, मसिन गन, ग्यासजस्ता आधुनिक हातहतियारको गोर्खालीले डटेर सामना गर्न सकेनन् । त्यसैमा सबैभन्दा ठूलो चुनौती चिसो मौसम बन्यो । उष्ण, सुख्खा, पहाडी भूभागबाट ल्याइएका गोर्खालीलाई फ्लान्डर फिल्ड जस्तोसम्म, हिलाम्य, खुल्ला भूभाग अनुकूल भएन । फलस्वरुप दूश्मनको गोलीबाट मर्नु त थियो नै, प्रतिकूल मौसमले पनि धेरै गोर्खालीको ज्यान लियो । यद्यपि गिभान्ची, न्यु सेफल, यिप्र, र फेस्तुनवर्तका ट्रेन्चहरुमा बहादुरीकासाथ हाम्रा पुर्खाहरु लडेरै छोडे ।
हिटलर पनि उक्त युद्धमा सामेल थिए र उनले गोर्खालीको बहादुरी प्रत्यक्ष देखेको हुनपर्छ । त्यसैले दोस्रो विश्व युद्धमा हार ब्यहोर्न पर्दा भनेका थिए रे, ‘यदि गोर्खालीजस्ता सिपाही मेरो सेनामा हुन्थे भने मैले संसार बिजय गर्थें ।’
यता युरोपमा गोर्खालीको उपस्थिति सोंचेजस्तो प्रभावकारी भएन । बिसौं हजार मारिए । उता मेसोपोटामिया र प्यालेस्टाइनमा टर्कहरुसँग ब्रिटिसको युद्ध चलिरहेको थियो । डिसेम्बर १९१५ मा गोर्खाली लगायत सम्पूर्ण भारतीय फौजलाई मध्यपूर्वमा खटाइयो । ११ नोभेम्बर १९१८ का दिन, गोर्खाली सेनाले बग्दाद र मोसुल सहर आक्रमण गरिरहँदा, फ्रान्सको कोम्पिनमा जर्मनसँग सन्धि गरेर युद्ध बिरामको घोषणा गरियो ।
गोर्खालीको यस्तो गौरवशाली इतिहास हामीहरु धेरैले गहिरिएर बुझेका छैनौं । सर्वसाधारण नेपालीलाई त थाहा हुने कुरै भएन, सेवारत गोर्खालीहरु पनि आफ्नै इतिहासप्रति त्यति जानकार छन् जस्तो मलाई लाग्दैन । गोर्खा भर्ती छनौट प्रकृयामै, जसरी नेपाली र अंग्रेजी भाषाको परीक्षा लिइन्छ, गोर्खाली इतिहासको बारेमा पनि परीक्षा लिइए र पल्टनघरमा यस विषयको अध्ययन तथा अध्यापनमा निरन्तरता दिन सके गोर्खाली इतिहास बच्थ्यो कि भन्ने मलाई लागेको छ ।
म स्वयम् पूर्वगोर्खा हुँ । सेवारत हुँदा गोर्खालीको इतिहास मलाई त्यति थाहा भएन । निवृत्त भएपछि अंग्रेज लेखकले लेखेका पुस्तकहरु अध्ययन गरें । त्यसपछि बल्ल ज्ञान भयो कि गोर्खालीको इतिहास कति महान् रहेछ । अनि आफैलाई गोर्खा हुनुमा बढो गौरव मानें । समयको भेलसंगै बेलायतमा आवासीय भिषा पाएर आइयो । बिस्तारै मेरो नाता लालीगुराँससँग भन्दा पप्पी पूmलसँग नजिकिएको हो कि जस्तो लाग्न थाल्यो । अहिले इङ्गलिस च्यानलको किनारमा पर्ने फोक्स्टोन भन्ने ठाउँमा बस्छु । पप्पी फूल फुल्ने फ्लान्डर फिल्ड त्यही पारी पर्दछ । भौगोलिक सामिप्यताले गर्दा होला पप्पी फूलले मेरो जीवनमा महत्वपूर्ण अर्थ राख्दै आएको छ । गोर्खाली इतिहासको दुई सतवार्षिकीलाई पारेर २०१६ मा फ्लान्डर फिल्ड भ्रमण गरेपछि त यस विषयमा झनै रुची बढेर आएको छ । निवृत्तिभरणपश्चात् मेरो बसाइ नेपालमै भएको भए नोभेम्बर ११ र पप्पी दिवसको महत्व सायद मलाई त्यति थाहा हुने थिएन । अनि गोर्खाली इतिहासभन्दा नेपाली राजनीतिले मेरो मानसपटललाई उपनिवेश बनाउँथ्यो होला ।
सगरमाथाजस्तै गोर्खाली नेपालको एक चिनारी हो, अनि एक ब्रान्ड प्रोडक्ट पनि । यसबाट राज्यले धेरै आर्थिकलाभ प्राप्त गरेको छ । दुई दशक जति भयो हाम्रा युवा बैदेशिक रोजगारमा गएर रिमिट्यान्स भित्र्याउन सुरु गरेको । गोर्खाली युवाले दुई शताब्दी अघिदेखि नै आफ्नो खुन र पसिनासँग जीवन साटेर रिमिट्यान्स भित्र्याउँदै आएका छन् । नेपालको अर्थतन्त्रमा गोर्खालीले पु¥याएको देनलाई कसैले लेखाजोखा राखेको छ ?
अनि नेपाल दुई बिशाल ढुङ्गाबीचको एउटा सानो तरुल भएर अहिलेसम्म बाँचिरहन सकेको पनि गोर्खालीकै कारणले हुनसक्ने मैले निक्र्यौल गरेको छु । गोर्खा सैनिकको कारणले नेपाल र बेलायतको दौत्य सम्बन्ध सुमधुर रहँदै आएको हो । यसै सम्बन्धको कारणले दक्षिण एसियाको भूराजनीतिमा नेपालको स्थान प्रभावकारी रहन गयो । बेलायतजस्तो शक्तिशाली राष्ट्रको नेपालप्रति गहिरो इन्ट्रेस्ट छ भन्ने कुरा सबै देशले राम्रैसँग बुझेका छन् । फलस्वरुप चाइना र भारतजस्तो ठूलो राष्ट्रले नेपालको सार्वभौम अस्तित्वलाई स्वीकार्दै आइरहेका छन् । त्यसो नहुँदो हो त अहिलेसम्म नेपाल कि त चाइनाको पञ्जामा फसिसक्थ्यो तिब्बत जस्तो, कि त भारतको अधिनमा भइसक्थ्यो सिक्किम जस्तो । बेलायतको छत्रछायाँमा रहेको राष्ट्रलाई कसले पो गिद्देनजर लगाउने प्रयास गर्ला र ! नेपाल र नेपाली भएर बाँच्न पाउनुको पछाडि गोर्खालीको अप्रत्यक्ष भूमिका छ भन्दा कुनै अत्युक्ति नहोला ।
यसरी नेपालको विकास तथा संरक्षणमा उल्लेखनीय भूमिका खेल्दै आइरहेका गोर्खालीलाई उनकै देशमा दोस्रो दर्जाको नागरिक सरह व्यबहार गरिएकोछ । गोर्खाली र तिनका सन्तानले नेपाली नागरिकताको निरन्तरता पाउनु पर्छ भनी गरिएको मागलाई राज्यले गुन्द्रीमुनी च्यापेर राखिदिएको छ । गोर्खालीको सम्मानमा नेपाल सरकारले न त कुनै एउटा स्मारक निर्माण गरिदिएको छ न राज्य संरचनामा कुनै बिशेष स्थान प्रदान गरेको छ । देश बाहिर बरु गोर्खाली हुनुको इज्जत छ । नेपालमा बरु मन्दिरहरुको संख्या त्यति न होलान् जति बेलायत र संसारका विभिन्न देशहरुमा गोर्खालीकासालिक र युद्ध स्मारकहरु छन् ।
बेलायती इतिहासमा धेरै सन्धिहरु खारेजीमा पेरिसके, उपनिबेशिक कालमा बनाएका धेरै सम्बन्धहरु टुटिसके । तर सन १९४७ को त्रिपक्षीय सन्धि र बेलायतसंगको गोर्खालीको सम्बन्ध न त खारेज हुनेवाला छ न टुट्नेवाला नै । कहिले काही गोर्खाली सैनिकप्रति लक्षित गर्दै ’बेलायतले गोर्खालीलाई दयामाया लागेर राखेको हो । खासै उनीहरुको काम छैन’ भन्ने नकारात्मक टिप्पणी गरिन्छ । ब्रिटिश इन्डियामा सबैभन्दा बहादुर गोर्खाली र शिखलाई मानिन्थ्यो । यदी गोर्खाली काम नलाग्ने हुन्थे भने, बेलायतले शिखलाई जस्तै गोर्खालाई पनि उहिल्लै आफ्नो सेनाबाट हटाइसक्थ्यो । हाल दुई गोर्खा बाटलीयन सेवारत छन् । अब तेस्रो गोर्खा बाटलीयन स्थापना गरिने योजना छ । यसले के दर्साउँछ भने जबसम्म धर्तीमा नेपाल र बेलायत भन्ने देश रहनेछन् तबसम्म गोर्खाली र बेलायतको सम्बन्ध रहिरहने छ ।
यस्तो वीर र ऐतिहासिक महत्व बोकेको गोर्खालीको गाथाब्यथा नेपाली साहित्य लेखनमा पनि तिरस्कृत अवस्थामा पाइन्छ । नेपाली साहित्य धनी होला तर यसमा बिबिधता पाइँदैन । यो विशेषत: राज्य, एकल वर्ग र एकल धर्म केन्द्रित भएको भान हुन्छ । पश्चिमा लेखकले गोर्खालीको बारेमा लेखेका पुस्तकहरु सयौंको संख्यामा छन् । त्यही अनुपातमा नेपाली लेखकले गोर्खालीका बिषयमा लेखिएका पुस्तक नगण्य छन् । नेपाली साहित्यमा गोर्खालीका बारेमा लेखिएका पुस्तकहरु हुन्थे भने आज आएर तिनलाई शैक्षिक पाठ्यक्रममा राखेर पढाउन सकिन्थ्यो । नेपाल वास्तवमा थुप्रै जातजातिहरु मिलेर बनेको सयौं थुङ्गा फुलको माला हो । तर बिडम्बना, नेपाली मुलधारको साहित्य लेखनले ती सयौं थुङ्गा पूmलहरुलाई समेटन सकेको छैन । त्यो मालामा अट्न पर्ने पप्पी फुल पनि एक हो । एक फूलद्वारा अर्को फुलको साहित्य न लेखिदो रहेछ । गुर्दौलीले गुदौलीकै र सयपत्रीले सयपत्रीकै साहित्य लेख्ने रहेछ । सयपत्रीले पप्पी फूलको साहित्य कहिल्लै लेखिदिएन । त्यसैले होला, पप्पी फूल नेपालमा मुर्झाउन गयो र बरु फ्लान्डर फिल्डमा फुल्दै आइरहेको छ भने बेलायतमा यसले सुगन्ध फैलाउँदै छ ।
–नोभेम्बर २०१९, फोक्स्टोन केन्ट बेलायत ।






