काठमाडौं । यस वर्षको एभरेस्ट टाइम्स साप्ताहिक यूके पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई प्रदान गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) को केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार एक कार्यक्रमबीच वरिष्ठ पत्रकार गुरुङलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा ४० हजार रुपैयाँ राशि र सम्मान पत्र रहेको छ । पुरस्कार एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङबाट हस्तान्तरण गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा फोनिज अध्यक्ष एवं एभरेस्ट टाइम्सका नेपाल संयोजक डण्ड गुरुङ, सम्पादक खिम घले, फोनिजका पदाधिकारी एवं अन्य कार्यसमिति सदस्यहरुसहित पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक एवं फोनिज यूकेका उपाध्यक्षसमेत रहेका नेम्वाङले एभरेस्टले प्रदान गर्दै आएको पुरस्कारका कारण नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गराउने विश्वास व्यक्त गरे । बेलायती नेपाली समुदायमा लोकप्रिय रहेको एभरेस्ट टाइम्स बेलायतमा एक मात्र जीवत र निरन्तर प्रकाशित पत्रिका भएकोले आफूले सक्दो प्रयासमा जोगाइराख्ने प्रतिबद्धता जनाए ।
त्यस अवसरमा एभरेस्टका प्रबन्ध निर्देशक नेम्वाङलाई फोनिज केन्द्रको तर्फबाट स्वागत, सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

एभरेस्ट टाइम्स पत्रिकाले सन् २०१८ सेप्टेम्बरमा मनाएको १० वार्षिकोत्सव र च्यारिटी डिनर, सेयर होल्डरबाट संकलित रकम गरी गत वर्ष ५ लाखको अक्षय कोष स्थापना भएको छ । उक्त कोषबाट हरेक वर्ष नेपालमा कार्यरत शारीरिक अशक्तता भएका महिला पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ । गत वर्ष पत्रकार प्रविना गोलेलाई सो पुरस्कार दिइएको थियो ।
यस पटक मृर्गौलापीडित गुरुङलाई उक्त पुरस्कार दिएको हो । मृर्गौला प्रत्यारोपणको तयारीमा रहेका वरिष्ठ पत्रकार गुरुङले आफू छिट्टै निको हुने र पूर्ववत् काममा फर्कने प्रतिज्ञा गरे ।






