यस्ता छन्, नयाँ मन्त्रीहरु

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद्मा थोरै नयाँ र धेरै पुराना अनुहार नै भित्रिएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ अनुसार गत साता मन्त्रिमण्डलको पुनर्गठन गरेकी थिइन् ।


आफु प्रधानमन्त्री भइसकेपछि २१ महिनामा प्रधानमन्त्री ओलीले पटक पटक मन्त्रिपरिषद्को पुर्नगठन गरिसकेका छन् । उनले वि.सं. २०७५ को फागुन १५ र चैत ३ तथा २०७६ सालको जेठ १८, साउन १५, साउन १८ र मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

अहिले पुनर्गठित मन्त्रिपरिषद्मा छ जना नयाँ मन्त्री र तीन राज्यमन्त्रीलाई नयाँ जिम्मेवारी दिइएको छ भने संघीय समाजवादी पार्टीका अध्यक्ष उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको जिम्मेवारी एकआपसमा साटिएको छ । नयाँ मन्त्रीमा पुराना अनुहारका रुपमा घनश्याम भुसाल, लेखराज भट्ट, हृदयेश त्रिपाठी र रामेश्वरराय यादव छन् । भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासन र राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गरिएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका हुन् । नेम्वाङ भौतिक पूर्वधार तथा यातायातमन्त्री र गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरिएको छ । राज्यमन्त्रीको जिम्मेवारी पाएका मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर नयाँ अनुहारका हुन् ।

यस्तै २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजय भएका गुरुङ दोलखाबाट निर्वाचित साँसद हुन् । युवा नेता गुरुङ पार्टीमा उद्योग विभागको इन्चार्ज छन् । त्यसैगरी पाँचथरबाट निर्वाचित भएका नेम्वाङ तीन पटक प्रतिनिधिसभाका सदस्य भइसकेका व्यक्ति हुन् ।

कृषिमन्त्री बनाइएका भुसाल पार्टीभित्र प्रखर बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीसंग अहसमत देखिएका भूषाललाई मन्त्री दिएर थुम्थुम्याइएको बुझाइ छ । माक्र्सवादी दर्शनशास्त्रीका रूपमा परिचित भुसाल सरकारलाई आलोचनात्मक सुझाव दिने नेताका रूपमा समेत चिनिन्छन् । यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिमण्डलमा बिना विभागीयमन्त्री बनेका नेकपाको स्थायी कमिटी सदस्य भुसाल रुपन्देही–३ बाट निर्वाचित साँसद हुन् ।

नयाँ मन्त्रिमण्डलमा उद्योगमन्त्री बन्नुभएका भट्ट तेस्रो पटक मन्त्री भएका हुन् । नेकपाको सूदूरपश्चिम प्रदेशको सहइञ्चार्जसमेत रहेका भट्ट कैलाली–५ बाट निर्वाचित भएका हुन् । यसअघि उहाँ श्रम तथा यातायात र आपूर्तिमन्त्री भइसकेका छन् ।

नवनियुक्त अर्का मन्त्री त्रिपाठी पनि पुरानै खेलाडी हुन् । नेकपाको चुनाव चिह्न सूर्य लिएर नवलपरासी–५ बाट निर्वाचनमा विजयी भएका त्रिपाठी पटक–पटक मन्त्री र तत्कालीन लेखासमितिको सभापतिको जिम्मेवारी पाइसकेका व्यक्ति हुन् ।
तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ बाट विजयी राय यसअघि वन तथा वातावरणमन्त्री भइसकेका छन् । उनले सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) हुँदै गत २०७४ सालमा तत्कालीन नेकपा (माओवादी–केन्द्र)मा प्रवेश गरी निर्वाचन जितेका हुन् । तत्कालिन फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेपाली काँग्रेसमा प्रवेश गरे पनि उपाध्यक्ष रहेका उनी माओवादीमा प्रवेश गरेका थिए ।

पुर्नगठित मन्त्रिमण्डलका राज्यमन्त्रीहरुमा सबै नयाँ अनुहारका छन् । मानन्धर काठमाडौँ–७ बाट निर्वाचित साँसद हुन् । उद्योग व्यवसायी दुगड समानुपातिकबाट सांसद भएका हुन् । यस्तै स्वास्थ्य राज्यमन्त्री रावत सुर्खेत–२ बाट निर्वाचित साँसद हुन् । प्रधानमन्त्री ओलीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

मातृकाप्रसाद यादवलाई जिम्मेवारी मुक्त पारेर नयाँ मन्त्रीहरु नियुक्त गरेका हुन् ।
त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त गरिए ।
ओली–प्रचण्डको पावर शेयरिंग
लामो समयदेखि पार्टी मिलेपनि मन नमिलेको प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको रस्साकसी पनि समाप्त भएको छ ।

खासमा सरकारको नेतृत्व आलोपालो गर्नेभन्ने उनीहरुबीचका भद्र सहमतिलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि प्रचण्डको मनमा चिसो पसेको थियो । उनले बेला बेला सार्वजनिक रुपमा नै सरकारको नेतृत्व आलोपालो गर्ने कुरालाई उठाउने गरेका थिए ।

सरकार आलोपालोको कुरा त परै होस्, प्रधानमन्त्री ओलीले पार्टीको सहअध्यक्षको रुपमा प्रचण्डलाई पार्टी सञ्चालनमा समेत खासै भूमिका दिएका थिएनन् । तर, पछिल्लो मन्त्रिपरिषद्को पुर्नगठनसंगै दुई अध्यक्षबीचको शक्ति संघर्ष पनि समाप्त भएको छ । पार्टी कै नेताहरुले लामोसमयदेखि एक जनाले पार्टी र एक जनाले सरकार चलाउने गरि शक्ति बाँडफाँडमा गरिरहेको प्रयासले सार्थकता पायो । अन्तत् प्रधानमन्त्री ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यावाहक अध्यक्ष दिन राजि भए ।

नयाँ मन्त्रिपरिषद्को कार्याबिभाजन
१ श्री केपी शर्मा ओली प्रधानमन्त्री
२ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा
३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानून, न्याय तथा संसदीय मामिला
४ श्री रामबहादुर थापा मन्त्री गृह
५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री
७ श्री गिरीराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
८ श्री वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
९ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
१० श्री भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसंख्या
११ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१२ श्री योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३ श्री शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
१४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ डा. युवराज खतिवडा मन्त्री अर्थ
१६ श्री मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास
१७ श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
१८ श्री गोकुलप्रसाद बाँस्कोटा मन्त्री सञ्चार तथा सूचना प्रविधि
१९ श्री पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
२० श्री बीना मगर मन्त्री खानेपानी
२१ श्री वसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
२२ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२३ श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
२४ श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या
२५ श्री रामवीर मानन्धर राज्यमन्त्री सहरी विकास

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!