जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको प्रतीकात्मक भगवान् रामको जन्तीलाई आज जनकपुरधाममा स्वागत र सम्मान गरेकी छन् ।
सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाइन् । उनले प्रतीकात्मक मिथिला राजा जनककी धर्मपत्नी सुनयनालाई पनि सम्मानलाई गरेका थिए ।
गोस्वामी तुलसीदासद्वारा लिखित ‘रामचरितमानस’ अनुसार त्रेतायुगमा बाह्रबिघामा नै धनुष यज्ञ हुँदा भगवान् रामले धनुषमा ताँदो चढाउँदा शिवधनुष खण्डित भएको थियो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सीतारामको विवाहबाट सुसंस्कारित मिथिला भूमिमा आयोजना हुने गरेको सीताराम विवाहपञ्चमी महोत्सव दुई मुलुकबीचको सेतु बन्न पुगेको बताए ।
त्रेतायुगदेखिको अवध र मिथिलाबीचको सांस्कृतिक सम्बन्ध इतिहासमा सधैँ अविस्मरणीय रहने उल्लेख गर्दै उनले नेपाल र भारतको सांस्कृतिक तहमा विकसित अटुट सम्बन्धलाई सधैँ कायम राख्नु जरूरी छ भने ।
भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सांस्कृतिक र कूटनीतिक हिसाबले महत्वपूर्ण रहेको सीताराम विवाहपञ्चमीलाई उच्च सम्मान गर्नुपर्ने औँल्याइन् ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारतबीच त्रेतायुगदेखिको बेटीरोटीको सम्बन्धलाई निरन्तरता दिन आवश्यक छ भने ।






