बेलायतमा चम्किएका चार सूर्य

SHARE:

प्रकाश गुरुङ

परोपकारी, व्यवसायी र सामाजिक क्षेत्रमा अगुवा चारै जना बेलायतवासी सूर्य गुरुङहरुको बारे लेख्न मन लाग्यो । कसैलाई नामले पनि तान्दो हो कि एकै दिशातिर । रमाइलो लाग्छ उहाँहरुलाई देख्दा, भेट्दा । मैले देखे, बुझेको भरमा मात्र लाइन कोरेको छु । त्यसैले जानकारी मेरो भन्दा उहाँहरु निकटकाहरुमा आवश्य बढी हुन्छ । धेरै छुट्न सक्छ र मेरो चश्माले जे देख्यो, त्यही पोखीरहेछु,अन्यथा नलिनुहोला ।

सूर्य गुरुङ (गोर्खा प्यालेस)

कदमा सानो, विचारमा ठूलो र परोपकारी क्षेत्रमा नमूना बनिसकेका सूर्य सफल रेस्टुरेन्ट व्यवसायी हुन् । तमुधिँ यूकेको थलानीताका यानिकि सन् २००० तिर नै भेट चिनापर्ची बेलायतमै भयो । त्यस समयदेखि नै देखिरहेछु उहाँका कामहरु । गैरआवसयीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्षता पनि गरिसकेका गुरुङ च्यारिटी किङ्गको नामले परिचित छन् । हेल्प नेपालमा आबद्ध भएर करोड बढी रकम बेलायतबाट मात्र उठाउन सफल भएपछि नेपालका आँखाहरुले पनि उनीलाई चिने देखे । रवीन्द्र मिश्र आदिले तारिफ गरिरहे । अरु थुप्रै छन् गुरुङले गरेका परोपकारी कामहरु ।

नेपालमात्र नभई आफैं बसेको स्थानीय क्षेत्रमा वर्षेनी आफ्नै रेस्टुरेन्टका नियमित ग्राहकहरु समेटेर छ/सात हजार पाउन्ड च्यारिटिका लागि उठाउन सफल भइरहेका छन् । यो स्थानीयहरुको सहयोगका लागि हुने गर्दछ।
मसिनो स्वर, कसैलाई चर्को नबोल्ने, अनुशासित र परिवारप्रति धेरै ख्याल राख्ने गुरुङ बच्चाहरुको भविष्य पढाई र स्कुलका लागि फार्नबोरोबाट लन्डन पसेका हुन् ।

सूर्य गुरुङ (रामचन्द्र)

उहाँ ओरिजिनल खाकीकि पत्लुङ हुन् । कहिले परिवर्तन हुँदैन । न त रङ्ग नै जान्छ। न च्यातिन्छ नै । उहाँसँग पातलो भेट तीन दशक पहिले पोखरामा भएको हो । त्यति परिचित थिएन । त्यही तमुधिँ यूकेको सुरुका दिनहरुबाट हाम्रो राम्रो चिनजान भयो । नाताले पनि जेठान हुनुहुन्छ।

सुरुमा भनेको वाक्यलाई तानौं । उहाँले तमुधिँ यूकेको क देखि ज्ञ सम्मको पदीय अभिभारा निभाइसक्कनुभएको छ । तमुधिँ यूकेका सफल कार्यकाल निभाएका निवर्तमान अध्यक्षमध्येका हुनुहुन्छ उहाँ । “खोला तर्‍यो लौरो बिर्स्यो” त्यस्तै छ प्रचलित काइदा सामाजिक क्षेत्रका अगुवाहरुको । तर सूर्यको एकरुपताले सबैको मन जित्न सफल भएको छ र एक नमुना साबित हुनुभएको छ । चाहे अध्यक्ष हुँदा होस् वा सदस्यमात्र उहाँको व्यवहारमा केही फरक नै देखिएन । अध्यक्ष हुनेताका उहाँलाई फिरिङ्गीहरूको भाषामा समस्या छ भन्ने जस्ता कुराहरु पनि नआएको होइन तर सबै सँगको एकरुपता मेलमिलापले सबै कामहरु सफल गरिछाड्नुभयो । आजभोलि पनि सबै कार्यक्रममा बाक्लो सहभागी हनुभएको देख्छु । हाँसीरहेको, हातमाभरि पाइन्ट समाई, जस्लाई पनि ड्रिङ्स अफर गरेको देख्छु । त्यतिको सहनशील र सधै सबैसँग एकनासे ब्यवहार गरिरहने ब्यक्ति कमैमात्र देखिन्छ, भेटिन्छ । परोपकारी क्षेत्रमा पनि उहाँको ठूलै हात रहेको छ। ईराकमा ११ जना नेपालीहरुको हत्या हुँदाताकाको सहयोग,पोखरा रंगशाला कम्पाउन्ड बनाउने प्रोजेक्ट र सहारा यूकेमा धेरै सहयोग गरेको देखिन्छ।

सूर्य गुरुङ (पिपल)

यो योङ्ग ठिटाको त कुरै नगरौं । कसले चिन्दैन र सूर्य पिपललाई । हामी तयारी कुरामात्र देख्छौं । कुनै कुरा तयार हुन र राम्रो बन्नलाई कति संघर्ष गर्नु पर्दोरहेछ भन्ने कुरा सूर्यलाई सोध्नु पर्छ । धेरै छन् सूर्यको बारे लेख्नु पर्ने तर सबै अटाउँदैन यहाँ । म छोट्टाउने कोसिस गर्छु ।

हाम्रो ब्यक्तिगत भेटघाट पनि बेलायतमै भयो एक दशक पहिले । नाताले हामी दाज्युभाइ । छिटो बोल्ने, धेरै बोल्ने, केही नगरी बस्नै नसक्ने, दिमाग चाँडो चल्ने त्यही पनि पैसा कमाउनेबारे । धेरै नेपालीलाई धनी बनाउनुभएको छ र आफैले पनि मनग्गै कमाएको देखिन्छ ।

राम्रो पक्ष सूर्यकोमा के छ भने परोपकारी भावना । बेलायतमा हुने ठूलासाना कुनै पनि कार्यक्रममा प्रायोजन गर्नुभएकै हुन्छ । हालैमा त स्कूल प्रोजेक्टका लागि २४ हजार पाउन्ड संकलन गर्नुभएको छ । छोटो समयमा धेरैको मन जित्न सफल व्यवसायी भन्न चाहन्छु उहाँलाई ।

सूर्य गुरुङ (समर्पण)

माथिका तीन सूर्यभन्दा उहाँ छुट्टै पृष्ठभूमिका हुनुहुन्छ । लाहुरे तर गीत लेख्नुहुन्छ । क्यापटेन विजय लामाले गाउनुभएको छ सूर्यको गीत । नब्बेको दशकमा म पनि सेनामै कार्यरत थिएँ र सूर्यसँग हङकङमा पहिलो भेट भयो । म भन्दा सिनियर भएकाले गुरुजी भन्नुपर्थ्यो ।

हाम्रो सेनामा एउटै खालको रोल थियो । ५६६० मिटरसम्म गोली हान्ने मोटर चलाउनु पर्थ्यो । पैतल फौजको हेबी वेपन भनेर चिनिन्छ । केही वर्षको जागिरपश्चात् सूर्यले सेनाबाट अवकाश लिनुभयो । पछि बेलायतका कार्यक्रमहरुमा भेटिरह्यो । प्राय: उहाँले एमसीको काम गरेको देखे । सुरुका दिनहरुमा चर्को बोल्ने र भाषामा पनि त्यत्ति शुद्धता थिएन । आजभोलि कुनै प्रोफेसनलभन्दा कम देख्दिनँ । मानिसले प्रयास गरे हुँदोरहेछ भन्ने उदाहरण हुनुहुन्छ उहाँ । मलाई थाहा नै थिएन, गीत रचना गर्नुहुन्छ भनेर । सान्दर्भिक गीतहरुको एल्बम हाम्रो हातमा थम्माईदिनुभएको छ । अब मन पराउने, सुन्ने र प्रतिक्रिया दिने बेला भइसकेको रहेछ ।

“समर्पण” एल्बमभित्र विजय लामा, राजु लामा, श्रेया सोताङ, सन्दे, धर्मेन्द्र सेवान र सुजिल कर्माचार्यको स्वर सुन्न सकिन्छ, रचना सबै सूर्यको । यूके नेपाली डायस्पोरामा प्रगति गरेकोमध्ये उहाँ पनि एक हुनुहुन्छ । सूर्यको पनि परोपकारी क्षेत्रमा लगाव देखियो । सेती नदीमा गएको बाढीपीडितहरुलाई सहयोग र समर्पण एल्बमबाट उठेको रकम दवोहित वेथिक स्कुल, मकवानपुरलाई दिने प्रण गर्नुभएको सुने । अरु क्षेत्रहरुमा पनि सहयोग भएको बुझिन्छ । सूर्यको आमासँग अति नै गाढा माया भएको देख्न पाइयो ।

समग्रमा नामले काम भएको त आवश्य नहुन सक्छ तर सत्कर्म गर्दा फल मीठो भएको हो कि । चारै सूर्यहरु चम्किएका छन् । राम्रो गरेका छन् । सधैं शुभकामाना छ । आउँदै गरेको ल्होछारको पनि शुभकामाना !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!