एटा संवाददाता
लन्डन । एनआरएनए आईसीसीका निवर्तमान उपाध्यक्ष कुल आचार्यले संस्थाको बृहत्तर हितका लागि आफू तयार रहेको बताएका छन् ।
एनआरएनएले गत मंगलबार ७ जनवरीका बेलुकी लन्डन पट्नीस्थित हलीकाउ रेस्टुरेन्टमा बेलायतस्थित नेपाली पत्रकारहरुसँगको भेटमा उनले सो धारणा राखेका हुन् । उनले संघले उठाउँदै आएका नागरिकता लगायतका सकारात्मक कार्यका लागि रचनात्मक सहयोग गर्ने बताए ।
काठमाडौंमा गत अक्टोबर महिनामा सम्पन्न गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा आईसीसी अध्यक्ष पदमा झिनो मतान्तरले आचार्य पराजित भएका थिए । उनले सो निर्वाचनपश्चात् पहिलो पटक मिडियामा बोलेका हुन् ।
नयाँ वर्ष २०२० को अवसरमा एकअर्कामा शुभकामना अदानप्रदान गर्ने उद्देश्यले आयोजित भेटघाटमा महाधिवेशनमा कार्यसमितिको आर्थिक र सामाजिक प्रतिवेदन पारित नभएको र छिटोभन्दा छिटो विशेष महाधिवेशन बोलाई सो प्रतिवेदन माथि व्यापक छलफल गर्न नयाँ कार्यसमितिलाई उनले आग्रह गरे । उनले संसारभरका नेपालीहरुबाट थुपै गुनासा आएको बताउँदै निर्वाचनको पारदर्शिता, सचिवालय र निवार्चन कमिटीले सकारात्मक भूमिका खेल्नु पर्नेमा जोड दिए ।
वर्तमान अध्यक्षले ल्याउन लागेको अनलाईन भोटिङ्ग सिस्टमको लागि शुभकामना दिँदै उनले गैरआवासायी नेपाली नागरिकताको विषय नेपालको आर्थिक उन्नतिसँग जोडिएकोले नागरिकतालाई कानुनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
यदि नागरिकता तीन पुस्ताको लागि मात्र पाउने कानुनी व्यवस्था भए सो दुर्भाग्यपूर्ण हुने बताउँदै भावी सन्नतीलाई समेत सोचेर नागरिकताको व्यवस्था गर्नुपर्नेमा जोड दिए । यदि त्यसो नगरिए भने नेपालको सम्पत्ति बाहिरिने आचार्यको भनाइ थियो ।
विमानस्थलमा रहेको एनआरएनए डेक्सलाई अध्यागमनसँग संयोजन गरी व्यवस्थित गर्दै भिजिट नेपाल २०२० लाई सफल बनाउनु पर्ने, सचिवालय चुस्त दुरुस्त बनाउनु पर्ने, एकपक्षीय नियुक्ति नगर्न लगायत सुझाव दिएका थिए ।
‘कुल आचार्यले हारेर संस्थालाई माया नगरेको भन्ने आरोप आएको छ, माया नगरेको भन्ने कुराको जुन म्यासेस गइरहेको छ, त्यो होइन’, भेटघाटमा पत्रकारहरुको जिज्ञासामा आचार्यले भने, ‘जहिले पनि, जहाँ पनि संस्था बचाउन म एकदमै चाहने मान्छे हुँ ।’ उनले संस्था कसैको गुटको नबनोस्, भोट हालेकै भरमा निषेधित नबनोस्, एनआरएनए सबैको संस्था बन्न सकोस् भन्दै संसारभरका नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिएका थिए ।
भेटघाटमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गी, संस्थापक अध्यक्ष नविन पोखरेल, सल्लाहकार भगीरथ योगी, वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, सचिव जगन कार्की, शिव भण्डारी, पूर्ण गुरुङ, वाचस्पति रेग्मी, शंकर श्रेष्ठ, प्रकाश कंँडेल लगायतका पत्रकारहरुको उपस्थिति थियो ।