एटा संवाददाता
लन्डन । प्रथम भिक्टोरिया क्रस (भीसी) पदक बिजेता कुलविर थापाको अल्डरसटमा निर्माण हुन लागेको सालिकको लागि गोर्खा इन्टेक १९८५ ले एक हजार पाँच सय ५५ पाउन्ड आर्थिक सहयोग गरेको छ ।

गत शनिबार ८ फेब्रुअरीका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न ईन्टेकको ३५ औं वार्षिकोत्सव समारोहमा इन्टेक ८५ का अध्यक्ष गञ्ज आलेले गे्रटर रस्मुर नेपाली कम्युनिटीकी महासचिव प्रमिला लाबुङ राईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा सालिक निर्माण समितिका सहसंयोजक एवं इन्टेक ८५ का संस्थापक अध्यक्ष शेरबहादुर सुनारले सो सालिकको बारेमा जानकारी गराएका थिए ।
उनकै सक्रियतामा सहभागी नम्वरीहरुबाट उक्त सहयोग रकम सकंलन गरिएको हो । संस्थापक अध्यक्ष सुनारले सबै ईन्टेकका नम्वरीहरुले पनि यसैगरी सहयोग गरेमा सालिक सहजै निर्माण हुने विश्वास व्यक्त गरे । करिब एक लाख २५ हजार पाउन्डको लागतमा निर्माण हुन लागेको सालिक निर्माणको सहयोगार्थ बेलायतवासी नेपालीहरु जुट्ने क्रममा गोर्खा इन्टेक १९८५ समेत जुटेको हो ।






