पसगाउँको घरवास

SHARE:

खिम घले
साँझ ८ बजेतिर डण्डजी (नागरिक खवरका सम्पादक डण्ड गुरुङ) को म्यासेज आयो । भोली सँगै जाऔं, दाइ । कुरा फागुन १५ गतेको हो । सन्दर्भ, तमु सञ्चारकर्मी संघको महाधिवेशनका लागि लमजुङको पसगाउँ जाने । हाम्रो योजना पोखरा गएर त्यहीबाट सबै सँगै पसगाउँ पुग्ने थियो । त्यसका लागि आयोजक समितिले दुई वटा बस तयार गरेका थिए ।

माघमा तमु सञ्चारकर्मी संघले चौथों महाधिवेशन पसगाउँमा गर्ने निर्णय गरेको थियो । त्यसले मलाई केही एक्साईटेड बनाएको थियो । अझ अध्यक्ष मण्डल र निर्वाचन समितिको नेतृत्वको जिम्मेवारी दिएपछि त्यहाँ जानै पर्ने भयो । जिम्मेवारी नभएको भए अरु कामले पेलिदिँदा जान चाहेर पनि जान नसकिने हुनसक्थ्यो ।

एक्साइटेड हुनुको कारण छ । पसगाउँ लमजुङकै गाउँ भए पनि कहिल्यै जाने अवसर जुरेन । म मावली घनपोखरामा हुर्केको हुँ । म जस्तै अर्का एक जना मेरै उमेरको पनि घनपोखरामा मावलीमा हुँर्कदै थिए । हामी साथी थियौं, उनी पसगाउँका थिए । त्यसैले साथीको गाउँ जाने त्यही बेलाको इच्छा भएपनि पुरा भएको थिएन । पसगाउँ लमजुङको हकमा सुदूर पश्चिममा पर्दछ, कास्कीसँगको सीमाको गाउँ ।

डुम्रे पुगेपछि डण्ड भाईको प्रश्न थियो, पसगाउँ घलेगाउँबाट कति टाढाको हो दाई? म पसगाउँ त पुगेको थिइनँ । तर कहाँतिर हो भन्ने कुरा थाहा थियो । घलेगाउँ पारीको गाउँ घाम्राङ, त्यसमाथिको भञ्ज्याङबाट अलिपर पसगाउँ । मैले भनिदिएँ, घलेगाउँ पारीको डाँडामा हो ।

कुरा भयो, त्यसो भए पोखरा पुगेर पसगाउँ फर्कनु भन्दा बेंसीसहरबाट घलेगाउँहुँदै छिटो पुगिन्छ होला । मैले गमप्रसाद गरुङ (रेडियो मस्र्याङदीका अध्यक्ष) लाई फोन लगाएँ । उहाँले दमौली हुँदै रामबजार निस्केर जाँदा सबैभन्दा छोटो हुने र बेंसीसहरबाट जाँदा पनि बाटो रहेको जानकारी दिनु भयो । हामीलाई दमौलीबाट पस्ने बाटो थाहा थिएन । तर, त्यही महाधिवेशनमा जान तयार भएका बेंसीसहरमा आश र मिना गुरुङ थिए । उनीहरुलाई सम्पर्क गरेर सँगै जाने निधो गरियो र बाटो मोडियो, बेंसीसहरतिर ।

डण्डले घलेगाउँबाट कता पर्छ भनेर सोध्नको कारण छ । डण्ड र म करिब १८ वर्षअघि घलेगाउँका पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तथा हालका क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेको आग्रहमा घलेगाउँ पुगेका थियौं । त्यसबेला घलेगाउँ यस्तो थिएन । भर्खरै ग्रामिण पर्यटनको तयारी चलिरहेको थियो । पाहुनाहरु आइसकेका थिएनन् । प्रेम दाईको आग्रहमा त्यहाँ पुगेर हामीले आआफ्नो मिडियामा घलेगाउँको बारेमा लेख्यौं । संभवत, त्यो नै घलेगाउँको बारेमा राम्रोसँग भएको मिडिया कभरेज थियो । त्यसपछि म घलेगाउँ जाने भनेर गएको त छैन, तर त्यस क्षेत्रमा पुग्ने गरेको छु । तर डण्डले कहिल्यै घलेगाउँ पुगेको छैन । पटक पटकको प्रेम दाईको आग्रहमा पनि उनी त्यहाँ पुग्न सकेका छैनन् । त्यसैले उनले त्यस क्षेत्र भएर जाने इच्छा राखेका थिएन । यद्यपी पसगाउँ जाने बाटो घलेगाउँ पुग्दैन । तल बाग्लुङपानीबाट मालिङहुँदै साल्मे, घाम्राङ भएर जान्छ ।

हामीले त्यही बाटो रोज्यौं । पोखरा र दमौलीबाट जाने बाटो भन्दा बेंसीसहरबाट जाने बाटो रमाइलो रहेछ । बाग्लुङपानी डाँडाबाट मालिङ नपुगेसम्म डाँडैडाँडा बाटो छ । अनि मिदिम खोला झेरर फेरी साल्मेको डाँडा उक्लेर घाम्राङमाथीको भञ्ज्याङ हुँदै पसगाउँ पुग्नु रोमाञ्चक रह्यो । तर भञ्ज्याङबाट पसगाउँसम्मको बाटो भने केही अप्ठ्यारो रहेछ । सायद धेरै मान्छे नहिड्ने भएकोले बाटो नसम्याइएको होला । खासमा पसगाउँका मानिसहरुको किनमेल र बजार पोखरातिरै चल्छ । पसगाउँबाट र पोखराबाट दिनमा एउटा एउटा बस छुट्दा रहेछन् । त्यसले पनि सहज बनाएको रहेछ ।

पसगाउँ अझै पनि सहरीकरणले धेरै प्रभावित नबनाएको गुरुङ गाउँ हो । एकै ठाउँमा एक सय ५० घर झुरुप्प रहेको यो गाउँ अझै पनि मौलिक छ । दुई वटा घुमाउने घर अझै बचेका छन् । प्राय गुरुङ गाउँहरुको पहिचानको रुपमा रहेको घुमाउने घर धेरै अघि लोप भइसकेको छ । त्यसैगरी गाउँमा प्रशस्तै दुध, दही र मोही पाइन्छ । अझै पनि एक दुहुनो भैंसी पाल्ने घर धेरै नै छन् । अझै पनि अगेनामा दाउरा बालेरै भात पकाएको भेटियो ।

पसगाउँमा बिहान हेर्दा दुई ठाउँमा बच्चाहरुलाई ट्युसन पढाउँदै गरेको देखियो । एउटा होस्टल पनि रहेछ । धेरैको भनाईमा पसगाउँ शिक्षाको मामिलामा जागरुक छ । बच्चाहरुलाई पढाउनु पर्छ भन्ने बुझाई पसगाउँलेको छ ।

पछिल्लो समय घरबासको व्यवस्थाले पसगाउँलाई थप व्यवस्थित बनाएको देखियो । पाहुना आउने भएपछि गाउँघर सफा राख्नै पर्यो । घरहरुमा खेरा गएको कोठा वा कोठा थपेरै भएपनि पाहुनालाई राख्नका लागि व्यवस्थित बनाइएको पाइयो । करिव ८० जनालाई बास दिनसक्ने यो घरबास ठूलै हो । यद्यपी गाउँका सबै घरहरु घरबासमा रुपान्तरण भने हुनसकेको छैन ।

पसगाउँमा गुरुङ संस्कृति अझै जीवित छ । हाम्रो समुहलाई आमा समुहको नाच बाहेक अरु हेर्ने मौका मिलेन । तर, घाटु, सोरठी, कृष्ण चरित्रलगायतका सांस्कृतिक नाचहरु अझै देखाउने गरिएको गाउँलेहरुले बताए । अहिले धेरै गुरुङ गाउँहरुमा संस्कृतिको यो अभिन्न अंगहरु बाँकी छैनन् । लोप भएर गएको छ । कतिपय घरवास चलाएका गाउँहरुले सिकेर पुर्नजागरणको काम गरेपनि निरन्तरता कठिन भएको छ ।

पसगाउँको खाना पनि बिशेष रहेछ । अरु घरवासहरुमा भन्दा फरक यहाँ सिस्नुको खोलेलाई परिकारको रुपमा दिइयो । अनि टोंठा पनि सागको रुपमा रहेको थियो । अरु परिकार अरु घरवासमा पनि पाइन्छ । तर, सिस्नु र टोंठालाई पनि परिकारको रुपमा कमैले प्रस्तुत गर्छन् । बाँकी स्थानीय उत्पानहरु खुवाउने त छँदैछ । त्यसैगरेर यहाँको अर्को एउटा बिशेष चाही झिनुवा धानको भात पनि हो । आधुनिक र धेरै फल्ने धान लगाउने गर्दा धेरै ठाउँमा यो धान हराएको छ । मखमख बास्न आउने यो धानको चामलबाट बनेको भात विशेष प्रकारको हुन्छ । गाउँलेहरुका अनुसार उनीहरुले पाहुनाकै लागि भनेर पनि यो धान साँच्ने गरेका छन् ।

यहाँ हेर्न मिल्ने, घुम्न मिल्ने धेरै चिजहरु छन् । गाउँभन्दा तल रहेको भोंभों ढुंगा, शिव लिंग, कन्दनी गाईको पाइला जस्ता हेर्न लायक चिजहरु यहाँ छन् । त्यसैगरेर पुरानो गाउँसम्म हाइक गर्ने हो भने मनोरम हिमालय श्रृंखला पनि हेर्ने सकिन्छ । त्यसैगरेर चिया बगान, अलैंचीबारीलगायतका स्थानहरु पनि पसगाउँका अकर्षण हुन् ।

तर, अधिकांश घरबासहरुमा जस्तै यहाँ आउने पाहुनाहरुले पनि यस्ता हेर्ने र घुम्ने स्थानहरुमा पुगेको पाइएन । खासमा घरबासहरुमा नेपालीहरु जाने गरेका छन् । नेपालीहरुमा अझै पनि के हेर्ने, के खाने र किन जाने जस्ता भ्रमणमा जाँदा आधारभूत कुराहरुको तयारी गरेको पाइदैन । पसगाउँ जानेभने पछि राति पुग्ने र बिहान उठेर खाजा खाएर हिड्ने चलन कायमै छ । यसले त्यस ठाउँ पुगेर दृश्यावलोकनमा रमाउने, बिशेष परिकारको स्वाद लिने तथा संस्कृतिको अवलोकन गर्ने र बुझने जस्ता कुराहरु कम हुने गर्दछ ।

अरु धेरै गुरुङ गाउँहरुसँगको मिल्दो जुल्दो समस्या भनेको युवाहरुको अभाव पसगाउँमा पनि देखियो । पाहुनाको स्वागत सत्कारदेखि खानाको बन्दोबस्तीदेखि साँस्कृतिक कार्यक्रमको जोहोसम्ममा आमाहरु खटिएको देखियो भने युवाहरु गाउँमा ज्यादै न्यूनमात्र देखिए । अधिकांश रोजगारीलगायतका कारणले विदेशीएका र केही नेपालकै सहरमा केन्द्रित भएको पाइयो । अझै पनि गाउँठाउँमा गरिने उद्यमको सम्मान नहुने, कमाइ नहुने, एक पटक विदेश गएर हेरम् न त भन्ने भावना बढ्ने, पढाईलगायतले गर्दा गाउँमा बस्न मन नलाग्ने जस्ता कारणहरुले विदेशिनेको लहर बढेको हो । यसबाट पसगाउँ पनि पछुतो देखिएन । युवाहरु नभएकैले गर्दा सबै काममा आमाहरु नै खटिनु परेको हो ।

घरबासको व्यवस्था पछिल्लो समय लोकप्रिय हुँदै गएको छ । यसले गाउँहरुमा आर्थिक गतिविधि बढाएको छ । गाउँमा सहर बस्नेहरुको पैसा तिरेर खाने हुँदा आर्थिक गतिविधि बढेको छ । यसले गाउँमा उद्यमशिलता पनि बढेको छ । विगतमा त्यसै खाना खुवाउने, बास दिने र फलफुल लगायतका उत्पादनहरु दिने गाउँलेहरुले अहिले थोरै नै सहि त्यसको पैसा पाउन थालेका छन् । तर त्यसको लागि पनि युवाहरु छैनन्, घरहरु खाली हुँदै गएका छन् । यस्तो अबस्थामा घरवासले कहिलेसम्म निरन्तरता पाउला भन्ने चाहि प्रश्न ज्यूँका त्यूँ छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!