प्रधानमन्‍त्रीको विशेष सम्बोधन : नेपालमा अत्यावश्यक बाहेकका सबै सेवा चैत २१ गतेसम्म बन्द

SHARE:

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको छ ।

k|wfgdGqL cf]nLaf6 cGtjf{tf{
k|wfgdGqL s]kL zdf{ cf]nL rf}yf] ;+ljwfg lbj;sf ;Gbe{df ;/sf/L ;~rf/dfWodsf k|d’v Pj+ ;~rf/sdL{nfO{ k|wfgdGqL lgjf; afn’jf6f/df cGtjf{tf{ lbg’x’Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्रीको घोषणाअनुसार अत्यावश्यक बाहेकका सरकारी, निजी र सामुदायिक तीनवटै क्षेत्रका कार्यालय, संघसंस्था बन्द हुनेछन् । सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीले भने यथावत् रूपमा आफ्नो काम गर्नुपर्ने छ ।

नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान आउँदो आइतबारदेखि चैत १८ गतेसम्म स्थगन गरिएको छ । लामो दूरीमा सञ्चालन हुने सबै प्रकारका सवारी साधन सञ्चालनमा पनि सोमबारबाट रोक लगाइएको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीको सम्बोधनमा उल्लिखित विषयलाई कार्यतालिका बनाएर तल्काल कार्यान्वयन गरिने बताए । सम्बोधनका विषयलाई अझै स्पष्ट गर्दै कार्यान्वयनमा लैजान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले मुख्य सचिव नेतृत्वको कार्यदललाई शुक्रबार नै निर्देशन दिएको छ । शनिबार कार्यदलले स्पष्ट खाका तयार पार्नेछ ।

नाकामा अनिवार्य स्वास्थ्य जाँच
सरकारले सीमा नाकामा स्वास्थ्य जाँच गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाएको छ । प्रधानमन्त्री ओलीले यससम्बन्धमा छिमेकी राष्ट्रहरूसँग समन्वय गर्नेबताएका छन् । उनले संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । यसका लागि मुलुकभरका अस्पतालबाट सेवा प्रदान, पर्याप्त औषधि र उपकरणको प्रबन्ध, आवश्यक जनशक्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको उनले बताएका छन् । ‘यस कार्यमा प्रत्यक्ष संलग्न चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायतका जनशक्तिलाई उचित प्रोत्साहन र उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवा सम्बन्धित कर्मचारी र सेवा प्रदायकलाई घरबाटै प्रदान गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

कालोबजारी गरे कडा कारबाही
सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारी साधन आवश्यकताअनुसार सञ्चालन हुनेछन् । निजी क्षेत्रसमेतको सहयोगमा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको प्रधानमन्त्री ओलीले जनाएका छन् । कालाबजारी गर्नेहरूप्रति भने कडा कारबाही हुने उनले बताएका छन् ।

अर्थतन्त्रबारे कार्यक्रम छिट्टै
विश्वव्यापी महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारे कार्यक्रमहरू ल्याउने बताए । ‘अर्थ व्यवस्थामा परेको र पर्न सक्ने प्रभाव विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने छ । उद्यमी तथा श्रमजीवीमा पर्न सक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ । त्यसलाई सम्बोधन गरिनेछ,’ ओलीले भनेका छन् ।

सार्क कोषलाई १० करोड
कोभिड–१९ रोकथामका लागि खडा भएको सार्क स्तरीय कोषमा नेपालबाट १० करोड रुपैयाँ योगदान गरिने प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा घोषणा गरेका छन् । सार्क मुलुकका सरकार/राष्ट्रप्रमुख र प्रतिनिधिबीच गत आइतबार भएको भिडियो कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलेआफ्नोतर्फबाट १ करोड अमेरिकी डलर योगदान गर्ने जनाउँदै कोषको प्रस्ताव गरेका थिए ।

अस्पताललाई जाँच नगर्ने छुट छैन
प्रधानमन्त्रीको सम्बोधनपछि बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा अस्पतालहरूले बिरामीलाई जाँच नगरी अन्यत्र रिफर गर्ने गरेको विषयमा शुक्रबार समीक्षा भएको छ । कुनै पनि अस्पताललाई आफूकहाँ आएका बिरामीलाई पर्याप्त नजाँची अन्यत्र पठाउन छुट नदिने समितिले निष्कर्ष निकालेको छ ।

 

सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौं ।

नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैं उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यसक्रममा मेरै नेतृत्वमा ५ वटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्दार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ ।

दोस्रोपटक मृगौला प्रत्यारोपणको लागि अस्पताल जानु अघि मैलै, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्य सचिवको नेतृत्वमा रहेको कार्यान्वयन समिति मार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्र मार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ ।

दिदिबहिनी तथा दाजुभाईहरु,
महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपाईहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु–
· सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
· भीडभाडबाट टाढै रहनु होस्,
· सकेसम्म घरमै बस्नुहोस्,
· अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,
· हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
· चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
· धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
· सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।
संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाईहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ ।
तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।

सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजी सहित सबै प्रकारका सवारी साधनहरू आवश्यकताअनुसार संचालन गर्ने व्यवस्था मिलाइएको छ ।
निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर, अप्ठ्यारो समयको फाईदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि समेत गरिने स्पष्ट पार्दछु, ।

विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ ।

दिदिबहिनी तथा दाजुभाईहरु,
तपाई हाम्रै स्वास्थ्य र सुरक्षाालई ध्यानमा राखि केही क्षेत्रहरुमा निम्नानुसारका उपायहरु लागु गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ ।
· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।
· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
· मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।
· महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।

यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ । म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ ।

संसदमा प्रस्तुत एवं एकमतले पारित गरिएको संकल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारहरुले यस समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो । यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै संघ÷संस्थाहरु र आमसञ्चार जगत समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आव्हान गर्दछु ।

मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आफू रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।

म अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेे समेत जानकारी गराउँदछु । यस महामारीसंग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं ।

तपाईहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबैप्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्र राष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु ।

मृगौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनु भएको मैले सुनेको छु । यस घडीमा मलुकले हामी सबैको दृढ ईच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।

२०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतालाई हामीले दृढताका साथ सामना गर्‍यौं । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढता सहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
धन्यवाद !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!