
लण्डन । बेलायतस्थित नेपाली समाजसेवी, उद्यमी तथा व्यवसायीहरुले कोरोना भाइरसका कारण बेरोजगार भएका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्ने विभिन्न सामाजिक संजालमार्फत जनाएका छन् । चीनको हुवाङबाट शुरु भएको नोवल कोरोना भाइरसका कारण दस हजारभन्दा बढीको ज्यान गइसकेको छ भने लाखौं संक्रमित भएका छन् । नोवल कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलाइरहेको अवस्थामा पछिल्लो समय युरोप लगायत बेलायतमा समेत ठूलो संख्यामा संक्रमितहरु देखा परेको छ । उक्त कोरोना भाइरसकै कारण दिनप्रतिदिन उद्योग, व्यापार, पसल, कलकारखानाहरु बन्द हुदै आउँदा थुप्रै रोजगारबाट वञ्चित भएका छन् । रोजगारबाट बञ्चित भएका बेलायतमा रहेका त्यस्ता नेपाली विद्यार्थीहरुलाई सहयोगको आवश्यकता भए बस्न र खानाको निःशुल्क प्रवन्ध गर्ने समाजसेवी बिष्णु बञ्जाडे, ए स्टार फाईनान्सियल सर्भिसेस्का रमेश सराङ्गकोटी, एनआरएनए युकेकी उपाध्यक्ष रोजिना प्रधान राई र एनआरएनए युकेका उपाध्यक्ष सुनिल बाबु खड्काले विभिन्न सामाजिक संजालमार्फत सहयोग गर्ने जनाएका छन् ।
समाजसेवी बञ्जाडेले २ जना, ए स्टारका सराङ्गकोटीले २ जना, एनआरएनए युकेकी उपाध्यक्ष राईले ४ जना र अर्का उपाध्यक्ष खड्काले ६ जना विद्यार्थीलाई निःशुल्क खाना र बस्नको व्यवस्था गर्ने जनाएका छन् । अप्ठ्यारोमा रहेका त्यस्ता विद्यार्थीहरुले सामाजिक संजालमार्फत उनीहरुलाई सम्पर्क गर्न सकिने छ । त्यस्तै, यसैबीच एनआरएनए युकेका पूर्व उपाध्यक्ष, समाजसेवी एवं रेष्टुरेण्ट व्यवसायी शेरबहादुर सुनारले वृद्धबृद्धा गोर्खाजहरुलाई निःशुल्क खानाको व्यवस्था गर्ने समेत जनाएका छन् ।
यस्तो विषम परिस्थितिमा अप्ठ्यारोमा परेका त्यस्ता नेपाली विद्यार्थीहरुको सहयोगका लागि स्वतः स्फुर्त रुपमा आव्हान गरेका नेपाली उद्यमी तथा व्यवसायी एवं समाजसेवीको चारैतर्फ सामाजिक संजालमा प्रसंशा गरिएको छ ।
(यो समाचार सामग्री कोरोना भाइरस संक्रमणबारे बेलायतस्थित नेपाली समुदायलाई सचेत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा तयार पारिएको हो ।)







