एमाले–माओवादी एकताको चुरोकुरो

SHARE:

काठमाडौँ । ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया पूरा गरेर साँझ मुलुकको शक्तिशाली दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को विधिवत् घोषणा गरेका छन् ।

निर्वाचनका लागि तालमेलको घोषणा भएकै स्थान राष्ट्रियसभा गृहको हल मात्र होइन परिसर र प्रदर्शनीमार्गस्थितको सडकसम्म खचिखचाउ भएका कार्यकर्ता, समर्थक र सर्वसाधारणका बीच नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ६ बुँदे एकता घोषणासँगै समृद्धि र स्थिरतको नयाँ युग आरम्भ भएको उद्घोषसहित एमाले र माओवादी केन्द्र एकापसमा बिलय भएका हुन् ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीति र सशस्त्र युद्धको मोर्चाको पृष्ठभूमि बोकेका दुई ठूला कम्युनिष्ट पार्टीहरु समाजवादउन्मुख जनताको जनवादको कार्यदिशासहितको एकतामा पुग्नु नै उल्लेखनीय घटना सावित भएको छ । मदननगर बल्खुस्थित तत्कालीन एमालेको पुरानो कार्यालयमा जननेता मदन भण्डारी र जीवराज आश्रितको २५ औंँ स्मृति दिवसको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठकमा सम्मिलित अध्यक्षद्वय ओली र प्रचण्डसहितका नेता साँझसम्म एकता प्रक्रिया र त्यसपछिका उत्सवहरुमा व्यस्त रहे । संयोजन समितिको बैठकपछि एमालेको बालुवाटार र माओवादी केन्द्रको प्रचण्ड निवास खुमलटारमा बसेका अलगअलग केन्द्रीय बैठकले पार्टी एकताको सहमतिलाई अनुमोदन गरी अन्तरिम विधान र राजनीतिक दस्तावेज पारित गरेका थिए । त्यसअघि शीर्ष नेताहरुले बालुवाटारमा बलियो मानिने रुखका विरुवा रोपेर एकताको नयाँ सन्देश दिइसकेएको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै माओवादीको सचिवालय सदस्य दुवै दलको संयुक्त बैठकका लागि बालुवाटार गए । औपचारिक बैठक शुरु नहुँदै दुवै तर्फका नेताहरु एकापसमा बधाई साटासाट र खुशीयाली बाँड्न व्यस्त हुन थालेका थिए । उनीहरुले आपसमा हात मिलाउने, अंकमाल गर्ने र तस्बीर खिचाउने काम गरिरहँदा एकताको घोषणा भइसकेको जस्तो देखिन्थ्यो । संयुक्त बैठकमा नेकपाको केन्द्रीय कमिटी सदस्यकारुपमा शपथ ग्रहण गरेपछि भने पार्टीगतरुपमा घुलन भइसकेको थियो ।

तीव्ररुपमा विकसित भएको घटनाक्रमसँगै निर्वाचन आयोगमा नेकपा दल दर्तापछि राष्टिय«सभा गृहमा घोषणासभा भयो, जहाँ कार्यक्रमका लागि तोकिएको समयभन्दा धेरै अगाडि सहभागी र सञ्चारकर्मीको भीड लागिसकेको थियो ।
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका नेता, रक्षा र गृहमन्त्री तथा अन्य मन्त्रीहरुसहितका नेताको आगमन र ऐतिहासिक कार्यक्रम भएकाले सुरक्षा व्यवस्था गर्न सुरक्षा निकाय परिचालित थियो । अध्यक्ष ओलीले यो एकता केबल ठूलो दल वा बहुमतको दम्भका लागि नभएको बताउँदै आफूहरु पानीमा अक्सिजन र हाइड्रोजनमा घोलिएर झैँ हेर्दा हेर्दा एमाले र माओवादी केन्द्रको विघठनसँगै नयाँ पार्टीमा रुपान्तरित भएको बताए । अर्का अध्यक्ष प्रचण्डले आजको एकता आफूहरुको बलिदानको उपज भएको र यस घटनालाई ऐतिहासिक फड्कोका रुपमा लिनुपर्ने बताइरहँदा सहभागीको तालीको गडगडाहटले सभागृह गुञ्जिएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीको एकता, सहकार्य र संघर्षको लामो इतिहासतर्फ संकेत गर्दै ‘यो साना दुःखले आज्र्याको एकता होइन’ भन्दा दुवै दलको ऐतिहासिक विकासक्रम र शृखंलाको स्मरण गराएको थियो ।

सात महिने सकस
एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ । गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए ।

फरकफरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी रहेका दुई ठूला कम्युनिस्ट पार्टीको एकताले नेपाली समाजमा सकारात्मक चेतनाको सञ्चार गरिदिएको छ । सात महिनाको अवधिमा अनेकन विवाद, शंका र आशंकालाई पूर्ण विराम लगाउँदै आजसम्म आइपुग्दा एकताले मूर्त रुप लिएको छ ।

एकता प्रक्रियामा सहभागी नेताहरुले जुनसुकै बेला पनि एकताको घोषणा हुने सम्भावना रहेको बताउँदै आएका थिए । बुधबार तत्कालीन दुई पार्टीका अध्यक्षद्वयको महत्वपूर्ण र सघन छलफलपछि एकता प्रक्रियाले अन्तिम निष्कर्ष पाएको हो ।
वाम गठबन्धन बनाएर एकता प्रक्रियामा सहभागी हुँदा तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र र उम्मेदवारसहित जनतामा जाँदा नै एकताको सन्देश प्रवाह भइसकेको थियो ।

राष्ट्रियसभा गृहमा आज नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र समारोहमा नेताहरुले व्यक्त गर्नुभएको विचारलाई नै आधार मान्ने हो भने पनि ‘एकता साना दुःखले आर्जेको विषय पक्कै होइन र थिएन पनि ।’
नेपालको कम्युनिस्ट पार्टी स्थापनादेखि नै गुटबन्दी, टुटफुट र विभाजनको रेखाबाट अगाडि बढेको हो । विसं २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २००८ सालदेखि नै गुटबन्दीको शिकार भएको नेताहरुको टिप्पणी छ । विधिवत् रुपमा त २०१९ सालदेखि नै पार्टीमा विभाजन शुरु भएको हो ।

पछिल्लो पटक २०७४ असोज १७ गतेदेखि सुरु भएको एकता प्रक्रिया जेठ २ गतेसम्म आइपुग्दा एउटा इतिहास कोर्न सफल भएको छ । विघटित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का शब्दमा ‘अनेकन आशंकाका बीचमा एकता प्रक्रिया एउटा निष्कर्षमा पुगेको छ, यो नेपाली जनता र देशको आवश्यकताका आधारमा भएको हो ।’

वामगठबन्धन निर्माण गर्ने दिन असोज १७ गते नै एकता संयोजन समिति गठन गरिएको थियो । सुरुमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई समेत सो प्रक्रियामा सहभागी हुनुभएको थियो । तरपछि निर्वाचनको प्रक्रियामा सहमति नभएको भन्दै उनी यसबाट बाहिरिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निार्वचनलाई केन्द्रमा राखेर दुई पार्टीले गत कात्तिक २१ गते संयुक्त घोषणापत्र सार्वजनिक गरे । नेपालको इतिहासमा दुई ठूला कम्युनिस्ट पार्टीले निर्वाचन प्रयोजनाका लागि सार्वजनिक गरेको संयुक्त घोषणापत्र नै पहिलो थियो ।

एकता घोषणा कहिले गर्ने भन्ने बारेमा नेताहरुका फरक फरक धारणा सार्वजनिक हुन्थे । विभिन्न आशंका र अनेकताका खबर पनि आउने गरेका थिए । तर बुधबार ११ बजे पछिका घटनाक्रमहरु एकाएक सार्वजनिक हुन थाले । जुन विगतमा घोषणा गरिएजस्तै अप्रत्यासित लाग्ने खालका थिए ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एक्काएक्लै वार्ता भयो । वार्तामा सहजीकरण र आवश्यक सहयोगको जिम्मेवारीमा नेताद्वय विष्णु पौडेल र जनार्दन शर्मा हुनुहुन्थ्यो । सो बैठकले एकता घोषणा गर्न एकता समितिको बैठक बोलाउने निर्णय गरेको थियो । बुधबारै अपराह्न ४ बजे एमाले स्थायी समिति बैठक बस्यो र पार्टी एकताका लागि भएको सहमति अनुमोदन गरियो । बुधबार नै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्यो र एकता घोषणा अनुमोदन गर्ने निर्णय गर्‍यो ।

आज विहान आठ बजे २५ औं मदन आश्रित स्मृतिमा पहिलो पटक ओली र दाहाल सहभागी हुनुभयो । सो लगत्तै विहान ११ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्यो । सो बैठकलगत्तै एमाले केन्द्रीय समितिको बैठक बस्यो ।
सो लगत्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बस्यो । एकताको सम्पूर्ण प्रक्रिया बारेमा अध्यक्ष दाहालले जानकारी गराउनुभयो । अपराह्न १५ बजे दुवै पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बालुवाटारमा बस्यो र एमाले तथा माओवादी केन्द्र विघटन गरी नेकपाको सदस्यका हैसियतले शपथ ग्रहण गराइयो ।

शपथ ग्रहणलगत्तै निर्वाचन आयोग पुगेर एकीकृत पार्टीले पार्टी दर्ताका लागि निवेदन दियो । साँझ राष्ट्रियसभा गृहमा घोषणासभाको आयोजना गरेर दुवै पार्टी एक भएको जानकारी दिइयो । एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन् । यस्तै प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कूल संख्याको ६३ दशमलव ५० प्रतिशत हो ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो । निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७७९ मत मध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ ।

सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा सोही पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद छन् । यस्तै स्थानीय तहमा समेत सोही पार्टीको बहुमत छ । एकतापछि नेपालको इतिहासमा यो नै पहिलो र ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको रुपमा स्थापित भएको छ ।

घुलमिल हुँदै नेकपा नेता–कार्यकर्ता
नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो । नेता गुरुङले तत्कालै सच्याउँदै भने, “सरी, जिब्रो लटपटिएछ, केही समय पार्टीको नाम लिँदा यस्तो अलमल हुन सक्छ ।”

दुई दिनअघि मात्र एकता भएकाले पहिलो बैठक सञ्चालनका क्रममा नेता गुरुङले पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई आशन ग्रहण गराएपछि अध्यक्ष प्रचण्डलाई मञ्चमा बोलाउँदा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष भन्न पुग्नुभएको थियो । नेता गुरुङ, तत्कालीन माओवादी केन्द्रको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक भएकाले पनि उनको जिब्रोमा प्रचण्डलाई माओवादीका अध्यक्ष भन्ने आएको हुनसक्छ ।

नेकपा (एमाले) र केन्द्रबीच यही जेठ ३ गते ऐतिहासिक एकता भई नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि आज पहिलोपटक संयुक्त संसदीय दलको बैठक थियो । एक सय ६५ सदस्यीय प्रतिनिधिसभामा नेकपामा १७४ सदस्य छन् । बैठकमा सहभागी सांसदमात्र होइन कतिपय पूर्व सांसद र कार्यकर्ता पनि बैठकस्थल संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा नेताहरूसँग भेट्ने र बधाई दिने उद्देश्यले भेला भएका देखिन्थे ।

तत्कालीन एमालेका बाजुरामा पूर्व सांसद रत्नप्रसाद न्यौपानेले ढोकामा कुरेरै भए पनि बैठकमा छिर्दै गरेको अवस्थामा अध्यक्ष ओली र दाहाललाई हात मिलाएर बधाई दिन भ्याउनुभयो । “मैले दुवैलाई बधाई भन्न पाएँ । धन्यवाद भने । अब एकपटक भेटेर प्रदेश र जिल्ला तहको संगठनलाई समायोजन गर्ने प्रक्रियामा लाग्नेछु”, न्यौपानेले भने ।

एकताको केही समयसम्म दुवैतर्फका नेता कार्यकर्तामा घुलमिल र मातहतका कमिटीमा एकीकरणको प्रक्रिया चल्ने छ । आजको संसदीय दलको बैठकमा नेता कार्यकर्ताबीच एकापसमा बधाई साटासाट र राम्रोसँग परिचय नभएकाबीच परिचय आदानप्रदान भएको छ ।

सरकारको नीति कार्यक्रम र बजेट प्रस्तुतिको पूर्व सन्ध्यामा भएकाले संसद्का बैठकमा कसरी प्रभावकारीरूपमा प्रस्तुत हुने र एकताको सन्देशलाई देशव्यापी फैलाई विकास र समृद्धिमा कसरी केन्द्रित गर्ने भन्ने सम्बन्धमा अध्यक्ष ओली र दाहालबाट निर्देशन पाएपछि सांसदहरूमा उत्साह थपिएको देखिएको छ ।

अध्यक्ष ओली र दाहालले शुक्रबार धूम्रबाराही र पेरिसडाँडास्थितको कार्यालय अवलोकन र पदबहाली गर्दा पनि विगतमा दुई पार्टीमा रहेका नेता कार्यकर्ताको स्वागत पाएको थियो । दुवै कार्यालय र त्यहाँको भौतिक र अन्य वातावरणमा अध्यक्षहरू र सचिवालयमा रहेका नेताहरू घुलमिल हुन थालेपछि स्थायी कमिटी, केन्द्रीय कमिटी, सांसद र अन्य तहका नेता कार्यकर्तामा आपसी संवाद र सहजीकरण वृद्धि भएको मानिएको छ । संसदीय दलको बैठकपछि नेता गुरुङले सँग भने, “आज राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका पार्टीका सदस्यहरूको पहिलो संयुक्त बैठक बसी संसदीय दलमा एकताको प्रत्यक्ष सञ्चार भयो । अब शीर्ष नेताहरूले सल्लाह गरेर हामी उपनेता, प्रमुख सचेतक, सचेतकलगायतको जिम्मेवारी तोकेपछि प्रभावकारीरूपमा काम हुनेछ ।” उनले पार्टी एकताले समृद्धि र स्थिरताको जनताको चाहनामा उत्साह पैदा भएकाले सरकार र नेतृत्वले त्यस उत्साहलाई टिकाउने गरी काम गर्नुपर्ने बताए । पार्टीका स्थायी कमिटी सदस्य एवं सांसद छविलाल विश्वकर्माले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार भएको पार्टी एकताले देशव्यापीरूपमा नयाँ उत्साह पैदा भएको र चाँडै मातहतका कमिटीमा पुनर्गठन गर्नुपर्ने बताए ।

माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक मान्ने नेकपाले समाजवाद उन्मुख जनताको जनवादलाई आफ्नो कार्यक्रम अंगिकार गर्दै शान्तिपूर्ण लोकतान्त्रिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गरी जनतालाई विकास, समृद्धि र सामाजिक न्याय दिलाई समाजवादको आधार खडा गर्ने लक्ष्य लिएको छ ।

पार्टीले तीन महिनाभित्र मातहतका कमिटी र जनसंगठनको एकता गर्ने र त्यसबारे चाँडै बस्ने केन्द्रीय कमिटीले निर्णय लिने तयारी गरेको छ । ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिन र निर्वाचन आयोगबाट आधिकारिकता लिने प्रक्रियामा सो पार्टी छ । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!