नन्दकला
बिश्व कोरोना भाइरसले तहस नहस भएको छ । हरेक राष्ट्र मानव जीवन बचाउने लडाइमा होमिएका छन् । जीवन संरक्षणको लडाई भन्दा भिषण समस्या यसले स्वतः निम्त्याउने बिश्वब्यापी आर्थिक संकट हुने जानकारहरूको अड्कल छ । कैयन देशहरूले ठुल्ठूला आर्थिक निर्णयहरु लागू गरिसकेका छन् । मानवले निर्माण गरेको अर्थतन्त्र मानव संकटमै खर्च गर्नु बिबेकको सुन्दर अर्थ हुन सक्छ । आखिर मानव संरक्षणमा खर्च भएको अर्थतन्त्र मानवले नै पुनर्निर्माण गर्नेछन् । बिश्व कब्जा गर्ने कोरोनाबाट नेपाल पनि अछुतो रहने कुरै भएन, नेपालले पनि आफ्नै लडाई लडिरहेको छ । यतिबेला महत्वपूर्ण कुरा के छ भने युद्धको लागि चाहिने रणकौशलता पूर्ण बिकसित नभएको भएता पनि श्रोत र साधनको परिचालन र ब्यबस्थापनको प्रयास केन्द्र देखी स्थानीय तह सम्म युद्ध स्तर मै हुनू पर्दछ, होइन भने युद्ध हार को ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । प्रत्येक नागरिकले निभाउनु पर्ने कर्तब्य त छंदैछ । अहिलेको संकटलाई राष्ट्र, सरकार र नागरिक बिचको विश्वास निर्माणको अवसरको रूपमा लिनु पर्दछ । नेपाली जनजीवनको प्रकृतिलाई नजर गरी सिमाहरुमा नागरिकहरूले पाइराखेको कष्टलाई न्युनिकरण गर्न सरकारले कुनै कसुर बाँकी राखन हुदैन । त्रास भन्दा पनि प्राबिधिक तथ्यमा आधारित भएर स्रोत परिचालन र युद्ध स्तरको कार्यान्वयनद्वारा समस्या समाधान गरिनु पर्दछ तर यहाँ दुखदायी बिषय के छ भने राष्ट्र स्वास्थ्य संकटबाट थप्प हुँदा पनि राष्ट्र चलाउनेहरु ब्यक्तिगत पदीय र पार्टीगत कलहमा रूमलिरदा गैरजिम्मेवारिपनको पराकाष्ठा देखिन्छ । यस्तो उदाहरणले नागरिकमा घृणा र बेतृष्णा उत्पन्न गर्दछ ।
रोगी, कमजोर र निष्कृय माथि आक्रमण गर्नु कोरोनाको चरित्र हो । बलियालाई यसले केही गर्न सक्दैन । यसको प्रकृती अन्यायी छ, अत्याचारी छ र पापी छ । हेपने, लुत्ने र आतंक मच्चाउने बानी छ यसको । भारत नेपालको इतिहासमा थुप्रै खेप कोरोनाको रूपमा पसेको छ । कोरोना महामारीको संयोग पारेर नेपाली भूमिमा सडक निर्माण र उद्घाटन गर्नु नेपाली स्वाधिनताको हरण हो । जुन हरेक चेतनशिल नेपालीको लागी मृत्यु भन्दा कम दर्दनाक छैन । इतिहासका पानाहरू भारतको हेपाहा ब्यबहार, अत्याचार र लूतले भरिएका छन् तर बिडम्बना के छ भने यस्तो पृष्ठभूमिमा राष्टिृय स्वाधिनतामाथी आक्रमण हुँदा पनि थाहै नभए जसरी झसङ्ग हुने सम्बन्धित निकायका पदाधिकारीहरूको बेकारीपन र गैरजिम्मेवारपुर्न उत्तरले उनीहरूको औचित्य, सामथ्र्य र सक्षमता माथी प्रश्न उठ्छ। यस्तो महत्वपूर्न र सम्बेदनशिल बिषयमा काम गर्न पनि उपयुक्त समय पर्खेको भनाइले उनीहरूको कर्तब्यहीनता, मुकदर्सकता, मुर्खता र खतरनाक सोचाइ देखिन्छ। यस्तो सम्बेदनशिल बिषयले सरकारमा रहेकाहरू र सचेत नागरिकहरूको निद्रा भंग हुनु पर्ने हो तर उनीहरुको चालधाल, कृयाकलाप र प्रतिकृयाले यो जनाउंदछ की जिम्मेवार कुर्चीमा बसेकाहरू समस्याको सम्झना र समाधानको खोजी होइन, समस्यालाई बिर्सन चाहन्छन् । बेकारीपनमा दुख र रोग दोहोरिनु बिज्ञान सम्मत हो, प्राकृतिक नियम सम्मत हो किनकी छिमेकी चरित्र बिज्ञान जत्तिकै प्रमाणित छ इतिहास देखी अहिले सम्म। जब जब राष्ट्र चलाउने र जोगाउनेहरू ब्यर्थको आपसी कलहमा रुमलिरहन्छन् तब तब छिमेकीले गिद्दे दृष्टी लगाउने र झम्टने गरेको सृङ्खला सबैलाई बिदितै छ । आफ्नो घरमा आक्रमण हुँदा रक्षाकोलागी तत्पर नभै मुकदर्शक हुनू मृत सरह हुन्छ । राष्टिृयताको हरण हुँदा रक्षा गर्न ढिलाइ गर्नु अत्याचार सहनु र अत्याचारीको मनोबल बढाउनु हो, समस्या जतिल बनाउनु हो ।
राष्ट्रियताको बिकुल फुकेर कुर्ची हात पारेकाहरूको आँखा अगाडि स्वाधिनता लुटिदा मुकदर्शक बन्नुले थुप्रै गीतमा घन्किने स्वाभिमान र बहादुरी होइन, स्वार्थ, लोभ, कायरता र मूख्र्याई स्पष्ट हुन्छ । परदेशको स्वाधिनता र सीमा रक्षाको लागी ज्यान दिएर बहादुरी कमाउने नेपालीहरूको मुकदर्सकता र कायरता देखेर नेपाल आमाले इज्जत रक्षाको लागी गुहारी रहेको अनुभुती हुनूपर्ने हो । भारतको स्वाधिनता र सीमा रक्षाको लागी लाखौ नेपालीले थुप्रै युद्धमा होमिइ हजारौले जिवन आहुती दिएर लगाएको गुण भारतले तिनै बहादुरहरुको घरबारी लुटेर गुण तिरीरहेको छ, कस्तो बिडम्बना १ आफ्नै मातृभूमीको इज्जत पटक पटक लुट्ने भारतको सीमा रक्षामा ज्यान दिएर बहादुरीको अनुभुती गर्ने प्रथा माथी गम्भिर बिचार बिमर्स गर्न ढिलो भैसकेको छ । परभूमी रक्षाको लागी जिवन होम्ने मूर्खता होइन, मातृभूमीको स्वाधिनताको खातिर ऐक्यबद्दता गर्ने साहस र संकल्प गर्नु परेको छ । स्वच्छ, सामथ्र्य र सच्चा राष्ट्रप्रेमी नायकहरूलाई छान्न सक्ने बिबेक सिक्नु परेको छ ।
कुनै देश र त्यो देशको नागरिकले अर्का देश र त्यहाँको नागरिकहरुबाट पाउने ब्यबहार पहिलो देशको राष्ट्रिय एकता, सामथ्र्य, साहस र कर्मको बराबरी अनुपातमा हुन्छ भन्दा अत्ययुक्ती हुदैन, यो मानबीय प्रकृती अनुरुप प्रमाणित छ । बदमास, पापी, लोभी र अत्याचारीलाइ अनुरोध र नम्रताको केही अर्थ हुदैन, त्यो कमजोरीको जाहेरी मात्र हुन्छ । डर, त्रास, हेपाइ र अत्याचार यिनीहरूको मुख्य हतियार हुन । अरुको झगडा, किचलो र कमजोरी नै यिनीहरूका लागी सुनौला अवसरहरु हुन् । घरभित्र सद्भाव, समन्वय, सम्मान, सल्लाह र बिस्वास नभइ परायलाईनै गुहार्न जानु भनेको अरु हेपाइ, लुट र बेइजती आदी दुखको तयारी गर्नु जत्तिकै हो, इतिहास हेरे पुग्दछ । जादूको मन्त्रको रुपमा राजनीतिका सुन्दर सिद्धान्तहरू मुखाकर बनाई कर्नप्रिय भाकाका तर्क मार्फत कुर्ची जितेरमात्र राष्ट्रको बिकास र रक्षा नहुने तथ्य घाम जत्तिकै छर्लङ छ । स्वच्छ, सक्षम र आंटिलो नेतृत्वद्वारा राष्ट्र एकिकृत गर्दै सरल ढङ्गले समस्यासंग सिघ्र जुघ्नुपर्ने सधैको आबश्यकता हो । कानूनले जिम्मेवारी बहाली गरेका मात्र नभै हरेक नागरिक राष्ट्रिय संकटको बेला दलिय, सैदान्तिक, बर्गिय वा कुनै पनि भिन्नतालाई बिर्सेर समस्या पार लगाउनमा सहभागी हुनु पर्दछ, हरेक बिकसित देशका इतिहासमा यस्ता उदाहरणहरू पाईन्छ । आफूले दायित्व बोध नगर्ने तर काम बिग्री सकेपछि ठाडो औला गर्ने ब्यक्ति, बर्ग वा संस्था राष्ट्रप्रेमी हुन सक्दैन, स्वार्थी र अवसरबादी हुन्छ । देशको रक्षा र निर्माणको काम सरकारमा हुनेहरू र जनता दुबै पक्षको साझा जिम्मेवारी हो । अनिर्णय निस्कृयता, काटरता र लाचारीपन समस्या समाधानको उपाय हुनै सक्दैन, बरू दोहोरिरहने राष्ट्रिय संकटहरूको प्रमुख कारणहरू हुन् । न्यायको लागी अन्तरराष्ट्रिय निकाय गुहार्नु पनि स्वाधिनता समस्याको दिर्घकालिन उपाय होइन् । राष्ट्रिय एकता, सुशासन, कानुनी राज्य, सामथ्र्य बिकास, परिश्रम, अनुशासन, आत्मनिर्भरता आदी राष्ट्र बिकास र स्वाधिनताका अपरिहार्यताहरू हुन् ।
नन्द काला






