लन्डन । साउथ वेस्ट नेपाली समाज यूकेको अध्यक्षमा पुन: किसान जीसी चयन भएका छन् ।
२२ जुन २०२६ मा सम्पन्न समाजको तेस्रो अधिवेशनले जीसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र खड्का, खुला तीन उपाध्यक्षमा गङ्गा सापकोटा, राजन घले, मुक्ति खरेल र महिला उपाध्यक्षमा प्रतिमा ओली चुनिएका छन् ।
महासचिवमा डेभिड बनियाँ, सचिव नमस्ते केसी, कोषाध्यक्ष शम्भु पाण्डे, सहकोषाध्यक्ष उज्ज्वल कँडेल, युवा संयोजक कमल भण्डारी र महिला संयोजकमा उषा घिरी चयन भएको निर्वाचन समितिले जनाएकोछ ।
सदस्यहरू पीके क्षेत्री, राज डल्लाकोटी, देवेन्द्र बस्नेत, कृष्ण रामाजी, रोमन घले तथा सन्तोष ढकाल चुनिए ।
अधिवेशनबाट सल्लाहकार र संरक्षकसमेत छनोट गरिएको छ । जसअनुसार वरिष्ठ सल्लाहकार किशोर जीसी, सल्लाहकारहरू हरि काराखेती, माधव हुमागाई, धिरेन्द्र श्रेष्ठ, श्रीराम खरेल, कृष्ण गैरे र गणेश ओझाहरु छन् ।
संरक्षकको जिम्मेवारीमा हेम सेढाई र दीपक गिरी चुनिए ।

अध्यक्ष जीसीले आफूलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गर्ने सम्पूर्ण साउथ वेस्टवासी बुवा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेका छन् ।
उनले सर्वसम्मत रूपमा निर्वाचित भएका सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा संरक्षकहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।
‘ममाथि पुनः विश्वास गरी दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सुम्पनुभएकोमा सम्पूर्ण समाजप्रति म हृदयदेखि नै कृतज्ञ छु। यहाँहरूको विश्वास, साथ र सहयोगलाई उच्च सम्मान गर्दै आगामी कार्यकालमा समाजको एकता, विकास, पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणका लागि अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, ‘हामी सबैको साझा प्रयास, सहकार्य र सकारात्मक सोचले साउथ वेस्ट नेपाली समाजलाई अझ सशक्त, व्यवस्थित र उदाहरणीय संस्थाका रूपमा अगाडि बढाउनेछ भन्ने विश्वास लिएको छु ।’
साउथ वेस्ट नेपाली समाज यूकेको तेस्रो अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै निष्पक्ष, पारदर्शी र सौहार्दपूर्ण वातावरणमा सर्वसम्मत नेतृत्व चयन गराउन अहोरात्र खटिने समाजका अभिभावक तथा संस्थापक अध्यक्ष दीपक ढकाल र अमृत सेढाईप्रति अध्यक्ष जीसीले हार्दिक धन्यवाद गरे ।
‘उहाँहरूको अनुभव, मार्गदर्शन, समन्वयकारी भूमिका र संस्थाप्रतिको समर्पणका कारण अधिवेशन अत्यन्त सफल, व्यवस्थित र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। समाजको एकता, भाइचारा र साझा उद्देश्यलाई केन्द्रमा राखेर निर्वाह गर्नुभएको योगदान सदैव स्मरणीय रहनेछ,’ अध्यक्ष जीसीले भने ।











