गुरुङ रामप्रकाश ‘समथिङ’
नेपालको राष्ट्रिय जनगणना २०४८ अनुसार दराइ जातिको जनसंख्या महिला ५ हजार ३ सय ८२ जना र पुरुष ५ हजार ३ सय ७७ जना गरी जम्मा १० हजार ७ सय ५७ जना रहेका थिए । राष्ट्रिय जनगणना २०५८ अनुसार दराइ जातिको जनसंख्या १४ हजार ८ सय ५९ जना थियो । त्यस्तै राष्ट्रिय जनगणना २०६८ अनुसार दराइ जातिको जनसंख्या महिला ८ हजार ९ सय ५३ जना र पुरुष ७ हजार ८ सय ३६ जना गरी जम्मा १६ हजार ७ सय ८९ जना रहेका छन् । यसरी हेर्दा २०५८ सालको जनगणनाको जनसंख्या भन्दा २०६८ सालको जनसंख्यामा १ हजार ९ सय ३० जनाले जनसंख्या बृद्धि भएको देखिन्छ । नेपाल सरकारले दराइ जातिलाई सिमान्तकृत समूहमा सूचीकृत गरेका छन् ।
नेपालमा बसोबास गर्ने जाति मध्ये दराइ जाति अल्पसंख्यक जातिमा पर्दछ । नेपालको लमजुङ जिल्लाको सिन्दुरे, लुर्लङकोट, खजेगाउँ, हाँडीखोला, ठुलास्वारा, भोर्लेटार, सिमलचौर, चिसंकु, नेतातान्द्राङ, कुन्छा र आमडाँडा मुख्य बसोबास रहेको क्षेत्र भएता पनि तनहँुको सिसाघाट, राम्चे, क्यामिन, धर्मपानी, रामथुंकी, तनहुँसुर त्यस्तै कास्की जिल्लाको सिद्ध र पोखरा भन्ने गाउँमा समेत बसोबास गरेको पाइन्छ ।
दराइ जाति जंगलको आसपास र खोलाको किनारमा बढी बसोबास गर्ने भएकोले उनीहरुको मुख्य पेशा भनेको माछा मारेर बेच्नु हो । माछा मार्नु संग–संगै नदीमा डुंगा चलाउने काम पनि संगै गर्छन । माछा मार्ने र डुंगा चलाउने परम्परागत पेशा भएर पनि होला यिनीहरु खोला किनारको आसपासमा बढी बस्न मन पराएको पनि । यसरी दुबै काम गरेको देख्दा माझी जाति भन्दा फरक पेशाको देखिन्न । यसरी नै दराइ जातिले जीविकोपार्जन गर्ने गर्दछ ।
मंगोल जातिको अनुहार भएका दराइ जाति धार्मिक दृष्टिकोणले बौद्ध धर्म मान्ने गर्दछ । उनीहरु जन्मदेखि मृत्युसम्मको संस्कार बौद्ध धर्मको विधि अनुसार सम्पन्न गर्दछ । उनीहरु भित्री देवताको रुपमा कुलदेवता र बाहिरी देवताको रुपमा बनदेवीलाई पूज्ने गर्दछ । बोल्ने भाषाको रुपमा नेपाली भाषा बोलेता पनि उनीहरु भोजपुरी र मैथिली भाषा बोल्ने गर्दछ । अरु जातिको जस्तो दराइ जातिमा बिहे गर्ने चलन त्यति झन्झटिलो खालको हुदैन । उनीहरु उमेर पुगेका केटा र केटी एक आपसमा मन परापर भएर सहमति गरी घरजम गरेर खाने निर्णयमा पुगेर एक ठाउँमा बसे भने बिहेको कर्म सकिएको मान्ने चलन छ । तर आर्यन समुदायको नजिक रहेका दराइ जातिमा भने बिहेको विधि विधान पु¥याएर मात्र बिहेको कार्य सक्ने चलन छ । उनीहरु सोही विधि अपनाई बिहे गर्दछ । दराइ जातिमा बिहे गर्दा केटा पक्षले केटीको बावु र आमालाई केही दस्तुर बुझाउने चलन रहेको पाइन्छ ।
त्यसैले चाहे मागी विवाह होस् वा प्रेम विवाह । केटीको बावु र आमालाई केटा पक्षले बुझाउनु पर्ने दस्तुर भने अनिवार्य रुपमा बुझाउनै पर्ने हुन्छ । यिनीहरुको दराइ जाति बाहेक अन्य जातिसंग पनि विवाह गर्ने चलन रहेको छ । यसरी अन्य जातिसंग विवाह गरी जन्मको सन्तान छोरा भएमा बावुको जात र छोरी भए आमाको जात लिने चलन कायम छ । जसलाई दराइ जातिले निरन्तरता दिएको देखिन्छ ।
दराइ जातिमा मान्छेको मृत्यु हुन गएमा गाड्ने र जलाउने दुबै चलन रहेको छ । तरै पनि लामाको निर्णयलाई उनीहरु मान्ने गर्दछ । जलाउने भन्दा गाड्ने बढी चलन देखिन्छ । जन्मेदेखि मृत्युसम्मको विधि विधान बौद्ध धर्म अनुसार गर्ने भएकोले मृत्यु संस्कार पनि बौद्ध धर्म अनुसार नै सम्पन्न गर्ने गर्दछ ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चाम्लिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन १९९९
६ लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक ताजपुरिया जातिबारे लेख प्रकाशन गरिनेछ)






