लन्डन । साहित्यकार तथा गीतकार जानु काम्बाङ लिम्बुको पाँचौं कृति खाम्योक हङकङमा सार्वजनिक गरिएको छ ।
हङकङ साहित्यिक साझा श्रृङ्खलाको १५८औं संस्करणसँगै जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टमा २६ जुलाई २०२६ मा प्रमुख अतिथि ताङ्ग्साङ्गथाबा काम्बाङ सयंग हङकङका अध्यक्ष राजकुमार काम्बाङ, कृतिका लेखक जानु काम्बाङ लिम्बु, विशेष अतिथिहरु यौची मोङ्ग डिस्ट्रिककी काउन्सिलर अरुणा गुरुङ, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष शमशेर तुम्बाहाम्फे, नेपाली महासंघ हङकङका अध्यक्ष नविन सुहाङ, एनआरएनए हङकङकी अध्यक्ष अनुराईलगायत खाम्योक उपन्यास सार्वजनिक गरेका हुन् ।

पुस्तकबारे हङकङ साहित्यिक साझा श्रृङ्खलाका संरक्षक राजकुमार राई, सल्लाहकार बज्रकुमार राई, मुन्धुमविद् भूपेन्द्र चेम्जोङ, उपन्यासकार बालिका बान्तावा राईले चर्चा गरेका थिए । नेपालीहरूले प्रवासमा (विशेष गरी बेल्जियममा) भोग्नु परेका जीवनका उकाली-ओराली, भोगाइ र गम्भीर वैचारिक पक्षहरूलाई खाम्योक उपन्यासमा सटिक रूपमा समेटिएको छ। पात्रहरूको सम्वाद र आन्तरिक चिन्तनमार्फत लिम्बुवानको सन्दर्भ तथा परदेशमा रहेर पनि आफ्नो माटोलाई अगाध माया गर्ने नेपाली मनहरूको कथा यसमा पोखिएको छ। कतै आँसु त कतै मुस्कानका साथ बगेको ‘खाम्योग’ले पाठकको मन जित्नेमा दुईमत नरहेको समीक्षकहरुले बताएका छन् ।
हङकङ साहित्यिक साझा श्रृङ्खलाकी संयोजक जुनू रानाको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित फुटबलर एन्जिला तुम्बापो सुब्बा, हङकङ नेपाली समाजका विशिष्ट व्यक्तित्व तथा साहित्यिक महानुभावहरूको भव्य उपस्थिति रहेको थियो। जसमा काम्बाङका विभिन्न विधाका प्रकाशित कृतिहरूमा ‘शिविरमा ईश्वर’ कवितासंग्रह, ‘अनुभव’, ‘जानु’ र ‘आँसुको लय’ गीति अल्बम, ‘नउघ्रेको जून’ कथासंग्रह, ‘फ्लाण्डरर्स फिल्डमा तमोरको सुसेली’ नियात्रासंग्रह आदि । काम्बाङले छैटौं कृति निबन्धसंग्रह प्रकाशोन्मुख रहेको जानकारीसमेत गराउनुभएको छ । सानैदेखि साहित्यमा झुकाव राख्नुहुने उहाँले देश छाडेर हङकङ पुगेपछि लेख्न सुरु गरेका हुन् । पहिलो कृति कवितासंग्रह ‘शिविरमा ईश्वर’, गीति एल्बम ‘अनुभव’ २०७२, कथासंग्रह ‘नऊघ्रेको जून’ र ‘जानु एल्बम’ २०७५, गीतिसंग्रह किताब ‘आँसुको लय’ २०७६ लगायत निरन्तर कोसेली पस्कँदै आएकी छन् ।






