लन्डन माघ १५ । लन्डनमा आत्महत्या गरेका गायक बद्री केसीको शव नेपाल ‘डेथ सर्टिफिकेट’ कारण ढिलाई भएको छ । शव नेपाल पठाउनको लागि सबै तयारी गरिएपनि ‘डेथ सर्टिफिकेट’ नआइसकेका कारण अहिलेसम्म पठाउन सकिएको छैन ।
पोस्टमार्टमको फाइनल रिपोर्ट आउन बाँकी रहेकाले ‘डेथ सर्टिफिकेट’ को लागि ढिलाई भएको उनका पारिवारिक स्रोतले जनाएको छ । केसीले गत जनवरी ८ तारिखका दिन आत्महत्या गरेका थिए । केसीको शव लन्डनको नर्थविक पार्क अस्पातलमा छ । स्वर्गीय केसीका बाबुआमा नेपालमा रहेकाले उनको अन्त्येष्टिका लागि शव नेपाल नै पठाउन लागिएको हो ।
लन्डनको एजवेरमा बस्दै आएका ३२ वर्षीय केसीको शव रुखमा झुण्डिएको अवस्थामा जनवरी ९ तारिख शनिबार बिहान फेला परेको थियो । पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए । केही वर्षअघि नेपाल फर्किएका उनी पछि फेरि बेलायत आएका हुन् ।