लन्डन माघ १७ । बेलायतको अल्डरसट निवासी ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिनाअपोइन्ट्मेन्ट कोरोना खोप दिइने भएको छ ।
शनिबार ३० जनवरी २०२१ प्रात: पि सि एन (Primary care networks) डाइरेक्टर डा लुइस पेन र स्वयंसेवक लिडर शाम ट्रस्लरसँगको छलफलअनुरुप केवल अल्डरसट निवासी ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सोमबार १ फेब्रुअरीदेखि शुक्रबार ५ फेब्रुअरीसम्म बिनाअपोइन्ट्मेन्ट पनि कोरोना खोप दिइने भएको जिआरएनसीका निवर्तमान अध्यक्ष जिब बेल्बासेले सूचनामार्फत जानकारी गराएका हुन् । उनले यथासम्भव छिटो प्रिन्सेस हल अल्डरसटमा गई लाइनमा बस्न अनुरोध गरेका छन् ।
उक्त खोपको लागि बिहान ११ बजेपछि र साँझ ४ बजेभन्दा पहिला लाइनमा बसिसकेको हुनुपर्ने सूचनामा उल्लेख छ । खोप लगाउन जाँदा जाँदा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको नाम कागजमा लेखेर लग्नुको साथै पासापोर्ट समेत लिएर जान बेल्वासेले अनुरोध गरेका छन् । पुन: यो प्रकृया यहाँहरुको लागि चलिरहने हुँदा एकैदिन वा एकै समयमा भीड नगरिदिन समेत अनुरोध गरिएको छ ।





