काठमाडौं माघ २७ ।

कोरोनाको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ ।
यो हप्ता बेलायतमा दुई र अल्जेरियामा एक जना नेपालीको सङ्क्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ एनआरएनएले जनाएको छ । योसहित २१ देशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या तीन सय ३३ पुगेको छ ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५६ हजार दुई सय ४७ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।
समितिका अनुसार यो हप्ता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।


