काठमाडौं । नेपालको तराईका जिल्लाहरुमा आन्दोलन चर्किएसँगै ३ नागरिकले ज्यान गुमाएका छन् ।
साउन १० गते आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले गोली चलाउँदा देवानगन्ज-४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने ९ जना स्थानीय घाइते भएका थिए । सोही घटनामा घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको विराटनगर न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ । यस्तै सिरहाको गोलबजारमा आज बिहीबार गोली लागेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।
तराई थप अशान्त बनिरहेको छ । सुनसरीका १० स्थानीय तहमा बिहीबार दिनभर कर्फ्यु जारी राखिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार राति ९ बजेदेखि ती पालिकामा कर्फ्यु आदेश जारी गरेको थियो । यस्तै सिरहाको लाहानमा बिहीबार दिउँसो ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी र धनुषाका तीन पालिकामा बिहीबार दिउँसो ३:३० बजेदेखि कर्फ्यु, वीरगन्जमा निषेधाज्ञा लगाइएको छ ।
सिरहा प्रशासनले गोलबजारसहित आसपासको क्षेत्रमा दिउँसो २ बजेदेखि जारी कर्फ्यु कार्यान्वयन गराउन सेना परिचालन समेत गरेको छ । संयमित बन्न सरकार, दल, नागरिक समाज, विभिन्न संघ संस्थाले आग्रह गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् ।
प्रधानमन्त्री शाहले उक्त दुःखद् घटनामा परी निधन भएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् । “घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ, म सबैमा विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्रीले भने ।
गृह मन्त्रालयले सोमबार बिहान बनाएको५ सदस्यीय छानबिन समितिले काम गरिरहेको जनाएको छ ।






