वासिङ्टन चैत २१ । अमेरिकी संसद् भवनमा शुक्रबार दिउँसो भएको आक्रमणमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो सुरक्षाका लागि राखिएको ब्यारिकेडमा एउटा कारले ठक्कर दिएर अधिकारीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा सवार ती व्यक्ति ओर्लिएर प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेका थिए ।
आफूमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संदिग्ध आक्रमणकारीको २५ वर्षीय नोआह ग्रीनका रुपमा पहिचान खुलेको सीएनएनले जनाएको छ ।
क्यापिटल प्रहरी प्रमुख योगानन्द पिटम्यानका अनुसार आक्रमणमा परी प्रहरी अधिकृत विलियम बिली इभान्सको मृत्यु भएको हो । उनी १८ वर्षदेखि क्यापिटल पुलिस फोर्समा कार्यरत थिए । आक्रमणपछि अमेरिकी संसद् भवन वरपर भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।